+
+
Shares

‘सिंहदरबारले विश्वास जगाउन नसक्दा युवा बाहिरिए’

बसाइँसराइ स्वाभाविक प्रक्रिया हो । जापान, अमेरिकाबाट पनि मानिस बाहिर जान्छन् । विदेशमा रहेका दक्ष नेपालीहरूलाई फर्काउन नीति र लगानीको वातावरण बनाउनुपर्छ । नेपालबाट विदेश जाने र फर्कनेको सन्तुलन नमिलेको ठूलो गुनासो हो । त्यसको तालमेल मिलाउन आवश्यक छ ।

गणेश गुरुङ गणेश गुरुङ
२०८२ साउन २३ गते १२:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मानव इतिहास बसाइँसराइको कथाले बनेको छ र अफ्रिकाको रिफ्ट भ्यालीबाट मानिसहरू संसारभर फैलिएका छन्।
  • नेपालमा आर्थिक, सामाजिक र राजनीतिक कारणले बसाइँसराइ हुन्छ र जोखिम मोलेर नयाँ ठाउँमा जानेहरूले प्रगति गर्छन्।
  • नेपालबाट युवाहरू विदेश जाने मुख्य कारण ज्याला, सुविधा र राजनीतिक अस्थिरता हुन्, जसले पुस फ्याक्टर र पुल फ्याक्टर सिर्जना गरेका छन्।

मानव इतिहास नै बसाइँसराइको कथाले बनेको छ । मानवको उत्पत्ति भएको मानिने अफ्रिकाको रिफ्ट भ्यालीबाट मानिसहरू पानी, खाना अनि सुरक्षाको खोजीमा हिंडे र एकठाउँबाट अर्कोमा सर्दै संसारभर फैलिए । इथियोपियाले यो कुरालाई गर्वका साथ दाबी गर्छ, जहाँ मानव अवशेषहरू संरक्षित छन् । लाखौं मानिस ती अवशेष हेर्न जान्छन् । यसले मानव सभ्यताको प्रारम्भिक यात्रालाई झल्काउँछ ।

मान्छेले आफ्ना आधारभूत आवश्यकता– पानी, खाना र सुरक्षाको खोजीमा सधैं नयाँ गन्तव्य खोज्यो । पानीको स्रोत नजिक बस्ती बसाल्यो, खानाको खोजीमा जंगल पस्यो र सुरक्षाको लागि बलियो संरचना बनायो । यो प्रक्रिया आज पनि जारी छ । तर, आधुनिक सन्दर्भमा जीविकोपार्जन, शिक्षा र राम्रो जीवनशैलीको आधारमा नयाँ गन्तव्यको खोजी हुन थालेको छ ।

नेपालमा एक ठाउँबाट अर्कोमा जाने प्रवृत्ति स्पष्ट देखिन्छ । हामीले विगतका उदाहरणबाट पनि बुझ्न सक्छौं, जोखिम मोलेर नयाँ ठाउँमा जानेहरूले नै धेरै प्रगति गरेका छन् । यद्यपि, यो प्रक्रियामा कतिपयहरूले झनै दु:ख पाएका र बिग्रेका उदाहरण पनि छन् ।

बसाइँसराइका प्रवृत्तिबारे बुझ्न हामीले आर्थिक, सामाजिक र राजनीतिक संरचनालाई केलाउनुपर्छ । केवल बेरोजगारी वा आर्थिक कारणले मात्र बसाइँसराइ हुँदैन । सामाजिक मनोविज्ञान, प्रणालीको असफलता र युवाहरूको आकांक्षासँग पनि बसाइँसराइ जोडिएको छ ।

नेपालमा बसाइँसराइ नयाँ कुरा होइन । सन् १९६० को दशकमा अमेरिकी सरकारले ‘डीडीटी’ छरेर तराईमा मलेरिया उन्मूलन गरेपछि पहाडबाट तराई झर्ने लहर चल्यो । मेरो गाउँबाट पनि धेरै मानिस भैरहवामा झरे । पहाडमा दुईछाक खान नपुग्नेहरूले तराईमा सम्भावना देखे ।

जोखिम मोलेर झर्नेहरूले जग्गा लिए, व्यवसाय गरे र सम्पन्न भए । अहिले मेरो गाउँमै अडिएकाहरूको जमिन बाँदर डुल्ने ठाउँ भएको छ । यता तराईमा झर्नेहरूले चोक–चोकमा सम्पत्ति जोडे । यस्ता इतिहासले देखाउँछ– जोखिम मोलेर नयाँ ठाउँमा जानेहरूले प्रगति गर्छन् ।

आन्तरिक बसाइँसराइले नेपालमा जनसंख्याको चापलाई पनि बदलिदियो । पहाडमा जनसंख्याको ठूलो चाप थियो, मलेरिया उन्मूलनबाट बस्न योग्य भएपछि तराई झर्नेहरूको संख्या बढ्यो । यो प्रक्रिया आज पनि विदेशतिरको बसाइँसराइमा झल्कन्छ, जहाँ युवाहरू नयाँ सम्भावनाको खोजीमा बाहिरिरहेका छन् ।

नेपालबाट युवाहरू विदेश जाने मुख्य कारण ज्याला र सुविधाको भिन्नता हो । नेपालमा निर्माण कम्पनी वा हाइड्रोपावरमा काम गर्ने मजदुरले मासिक ३० हजार कमाउँदा खाडी मुलुक वा मलेसियामा त्यति नै तलबमा थप सुविधा र जागिरको सुरक्षा पाउँछ । त्यहाँ केही वर्षको करार हुन्छ, बीमा हुन्छ, बस्ने–खाने सुविधा हुन्छ । र, राम्रो काम गरेमा बढुवाको सम्भावना हुन्छ ।

नेपालमा भने ठेकेदारले काम नसकेसम्म राख्छ । जागिरको ग्यारेन्टी हुँदैन । खाडी मुलुकमा प्रणालीले काम गर्छ । राम्रो काम गरेमा बढोत्तरी हुन्छ, कल्याणकारी कोषले परिवारलाई क्षतिपूर्ति दिन्छ । यस्ता सुविधाले युवालाई तान्छ ।

त्यसमाथि गच्छे अनुसार युवाले गन्तव्य रोजिरहेका हुन्छन् । मेरो अनुसन्धानले देखाएको छ– नेपालको आर्थिक वर्गीकरणले विदेश जाने गन्तव्य निर्धारण गर्छ ।

धनी वर्ग, जसलाई मैले ‘क वर्ग’को भनेको छु, उनीहरू अमेरिका, बेलायत, अस्ट्रेलिया जान्छन् । मुख्यत: पढाइ र राम्रो तलबका लागि उनीहरू थातथलो छाडेर हिंड्छन् ।

त्यसपछि आउँछ – मध्यम वर्ग, जसलाई ख र ग वर्ग भन्छु । उनीहरू जापान, कोरिया, हङकङ जस्ता देशमा जान्छन् ।

निम्न मध्यम वर्ग, अर्थात् घ वर्ग, जो खाडी मुलुक र मलेसियामा मजदूरी गर्न जान्छन् । सबैभन्दा गरिब, अर्थात् ङ वर्ग, भारत जान्छ ।

अझ च वर्ग– नेपालकै मुस्ताङ, मनाङ जस्ता ठाउँका होटलमा काम गर्न जान्छ । त्यसबाहेक सबैभन्दा तलको – छ वर्ग, जो कहीं पनि जान सक्दैन । उनीहरू गाउँमै खेतबारी हेर्ने, अधियाँमा काम गर्ने गर्छन् ।

यो वर्र्गीकरणले देखाउँछ, विदेश जाने निर्णयमा तीन कुराले ठूलो भूमिका खेल्छ ।

पहिलो, नेटवर्क—सम्पर्क र सूचनाको पहुँच । यदि कसैको सम्पर्क बलियो छ र सूचनाको पहुँच छ भने उसले राम्रो गन्तव्य रोज्न सक्छ ।

दोस्रो, पैसा तिर्न सक्ने इच्छा र लगानी गर्ने पहुँच । तेस्रो, व्यक्तिको सीप र दक्षता । यी तत्वले वैदेशिक रोजगार र नेपालभित्रै काम गर्न जाने गन्तव्य निर्धारण गर्छ ।

खाडी मुलुक र मलेसियामा जानेहरू प्राय: २०–३० वर्षका पुरुष हुन्छन् । पछिल्लो समय महिलाको संख्या पनि बढ्दो छ, विशेषगरी इजरायलको केयर गिभिङ क्षेत्रमा । यी युवाहरू सामान्यत: एसएलसी पास वा प्लस टु पास नभएका, निम्न मध्यम वर्गका हुन्छन् ।

उनीहरूसँग सीमित सीप हुन्छ, स–साना आवश्यक तालिम लिएका हुन्छन् । यो समूहले नेपालको विप्रेषणमा ठूलो योगदान दिन्छन् । तर, सम्पन्न देश गएकाको जति उनीहरूको कथा चर्चामा आउँदैन ।

युरोप–अमेरिका जस्ता सम्पन्न देश जानेहरू पनि धेरै छन् । यी सबै कोणबाट हेर्दा नेपालबाट युवा पलायनका दुई मुख्य पक्ष छन् : पुस फ्याक्टर (नेपालबाट हिंड्न प्रेरित गर्ने पक्ष) र पुल फ्याक्टर (गन्तव्य मुलुकले आकर्षित गर्ने पक्ष) ।

पुस फ्याक्टरमा नेपालको राजनीतिक अस्थिरता पहिलो कारण हो । हाम्रा नेताहरू रोल मोडल बन्न सकेनन् । आशा जगाउने एउटा पात्र पनि युवाको नजरमा देखिएन । जनमानसमा उनीहरूलाई भ्रष्टको रूपमा हेरिन्छ ।

प्रणालीको असफलता दोस्रो कारण हो, जसले युवालाई मुलुक छाड्न प्रेरित गरिरहेको छ । मालपोत, नापी, पासपोर्ट, यातायात कार्यालयमा गएर सेवा लिन खोज्दा पाँच दिन धाएपछि निराश हुन्छ । ‘यो देशमा केही हुँदैन’ भन्ने भाष्यले उसलाई विदेश जान प्रेरित गर्छ । सरकारी जागिरमा घुस मागिने, अन्यत्र अनावश्यक तनाव दिने अनुभवले पनि युवालाई निराश बनाउँछ ।

सिंहदरबारप्रति युवाको विश्वास शून्य छ । यो विश्वासको कमीले युवालाई अहिलेको अवस्थामा बसेर काम गर्ने प्रेरणा दिंदैन । यस्ता भाष्य झन् बलियो बन्दै गइरहेको देखिन्छ, जुन केही हदसम्म सत्य पनि हो, तर पूर्ण सत्य भने होइन । नेपालमा सम्भावना छ, तर सही नीति र कार्यान्वयनको अभाव छ ।

मुलुकको गन्जागोल परिवेशका बीच विदेशी गन्तव्य मुलुकहरूको आकर्षक पक्ष अर्थात् ‘पुल फ्याक्टर’ले युवालाई थप बल पुर्‍यायो । विदेशको ज्याला र सुविधा पहिलो आकर्षण हो । दोस्रो, नयाँ अनुभवको रहर युवामा छ ।

२०–३० वर्षका युवामा नयाँ ठाउँ देख्ने, समुद्र हेर्ने, ३० तले भवनमा काम गर्ने उत्साह हुन्छ । तेस्रो, ‘पियर प्रेसर’ले काम गर्छ । साथीभाइ, छिमेकी, नातागोताका कारण ‘म पनि विदेश जान्छु’ भन्ने भावना जगाउँछ ।

विदेश गएर फर्केका केही व्यक्तिहरूले नेपालमा ठूलो योगदान दिएका छन् । हेमराज ढकालले जापानमा सिकेको अनुभव लिएर नेपालमा आईएमई स्थापना गरे, जसले मनी ट्रान्सफरको क्षेत्रमा क्रान्ति ल्यायो । यस्ता कैयौं उदाहरण छन् ।

एउटा उदाहरण छ, एउटा स्कूलको प्रिन्सिपलले एकपटक विद्यार्थीलाई आफ्नै देशमा केही गर्नुपर्छ, यहीं पढ्नुपर्छ भनेछन् । परिवारको अनुरोधमा ती प्रिन्सिपलले विद्यार्थीलाई यहीं बस्न मनाउन खोज्दा उनले भनेछन्– सर, तपाईं विदेश नगएको भए अहिले यसरी स्कूल चलाएर बस्न सक्नुहुन्थ्यो ? त्यसैले म पनि एकपटक गएर फर्कन्छु ।

ती प्रिन्सिपलले मलाई सुनाएको यो उदाहरणले पनि देखाउँछ – विदेशमा सिकेको सीप र अनुभवले नेपालमा सम्भावना सिर्जना गर्न सकिन्छ भन्ने विश्वास आम युवामा छ । यसरी विभिन्न कारण युवाहरू बाहिर गइरहेका छन् । यस्तो अवस्थामा के गर्ने त ?

सरकारले अवसर सिर्जना गर्ने नीति बनाउनुपर्छ, कार्र्यान्वयन र अनुगमन गर्नुपर्छ । गलत कुरालाई प्रणालीले दण्डित गर्नुपर्छ । स्टार्टअपका लागि लोनको व्यवस्था गर्न बैंकहरूलाई प्रोत्साहन गर्नुपर्छ । सूचनाप्रविधिको क्षेत्रमा ठूलो सम्भावना छ, तर करको नाममा ठूला कम्पनीहरूलाई भगाउने काम बन्द गर्नुपर्छ । यस्ता बाधा–अड्चन हटाए मात्रै पनि नेपाली युवाले ठूलो फड्को मार्न सक्छ ।

विदेशमा बसेका दक्ष नेपालीहरूलाई फर्काउन नीति र लगानीको वातावरण बनाउनुपर्छ । बसाइँसराइ स्वाभाविक प्रक्रिया हो । जापान, अमेरिकाबाट पनि मानिस बाहिर जान्छन् । तर, नेपालबाट जाने र फर्कनेको सन्तुलन मिलेन भन्ने ठूलो गुनासो हो । यसको तालमेल मिलाउन आवश्यक छ ।

(समाजशास्त्री एवं श्रमिक मामिलाका विज्ञ गुरुङसँग अनलाइनखबरकर्मी कौशल काफ्लेले गरेको कुराकानीमा आधारित ।)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?