
News Summary
Generated by OK AI. Editorially reviewed.- दार्चुलाका भट्टले नेपालमा शिक्षा र रोजगारीको अभावले युवाहरू विदेशिन बाध्य भएको बताए।
- उनी जापानमा अध्ययन र काम गरी नेपालमा सुशासन, शिक्षा सुधार र लगानी वातावरण आवश्यक भएको बताउँछन् ।
- भट्टले नेपालमा विश्वस्तरीय विश्वविद्यालय र राजनीतिक स्थिरता नभए युवाहरू फर्कन नसक्ने उल्लेख गरे ।
सुदूर नेपाल, दार्चुलाको लेकम गाउँपालिकामा जन्मिएको म अहिले ‘सुदूर देश’ जापानलाई कार्यस्थल बनाएर बसेको छु । मेरो जन्मभूमि लेकम गाउँपालिकामा जस्तो अति दुर्गम गाउँमा बिजुली थिएन, सडक थिएन । आधारभूत सुविधा सपना जस्तै थिए ।
तर, ती कुराले मलाई सपना देख्नबाट रोक्न सकेन । सानैदेखि विश्वका उत्कृष्ट विश्वविद्यालयहरूमा पढ्ने रहर थियो । पढाइमा अब्बल भएकाले यी कुरा सम्भव छ जस्तो लाग्थ्यो । स्थानीय स्कूलमा कक्षा १० पास गरें, भारतको झुलाघाटबाट प्लस टू, कञ्चनपुरबाट बीएस्सी र त्रिभुवन विश्वविद्यालयबाट एमएस्सी पूरा गरें ।
पढाइसँगै मैले केही समय नेपालका विभिन्न स्कूलमा पढाउने अवसर पाएँ । तर, देशको अवस्थाले मलाई यहाँ टिक्न दिएन । माओवादी द्वन्द्वको समय, देश अस्थिर थियो, आर्थिक अवस्था कमजोर थियो ।
परिवारको एक्लो छोरा भएकाले बुवाआमासँगै बस्ने इच्छा त थियो, तर परिस्थितिले मलाई सन् २०११ मा जापान पुर्यायो । यो मेरो व्यक्तिगत विषय भयो । यसरी नेपालका हजारौं युवाको कथा विदेशी भूमिमा बनिरहेका छन् । देशमा केही गर्छु भन्ने आशा बोकेर अडिने प्रयत्न गरिरहेको व्यक्ति पनि अन्तत: परिस्थितिले विदेशिन बाध्य भएको धेरै देखेको छु ।
जापान पुग्दा त्यहाँ भूकम्प र सुनामीले तहसनहस बनाएको थियो । न्यूक्लियर प्लान्ट (आणविक भट्टी)मा भएको विस्फोटले संसार त्रसित थियो । तैपनि, म पढाइ र अनुसन्धानका लागि त्यहाँ गएँ । जापानको विकास, अनुशासन र समयको पालनाले मलाई गहिरो छाप छोड्यो ।
दोस्रो विश्वयुद्धपछि तहसनहस भएको जापान कसरी विश्वको अग्रणी अर्थतन्त्र बन्यो ? यो प्रश्नले मलाई सधैं सोचमग्न बनायो । जापानमा बस्दा मैले विकासको सूत्र बुझें– नीतिगत स्थिरता, अनुशासन र गुणस्तरीय शिक्षा । त्यहाँको हरेक कुरा व्यवस्थित छ– साना पसलदेखि ठूलो सरकारी कार्यालयसम्म ।
एउटा पसलमा सामान किन्न जाँदा मान्छे लाइनमा उभिन्छन्, आफ्नो पालो कुर्छन् । नगरपालिकामा कर्मचारी र मेयरहरू जनताको काममा घुँडा टेकेर सेवा गर्छन् । यो अनुशासन र व्यवस्थित प्रणालीले मलाई नेपालको अवस्थासँग तुलना गर्न बाध्य बनायो ।
कारण, नेपालमा एउटा सानो सिफारिशका लागि सरकारी कार्यालयमा घन्टौं कुरेर बस्नुपर्छ । त्यसमाथि पनि हात जोडेर बिन्ती गर्नुपर्छ । नोकरशाही, राजनीतिक अस्थिरता र अवसरको कमीले यहाँको वातावरण निराशाजनक छ ।
म सन् २०१३ मा जापानमै आफ्नो पढाइ सकेर नेपाल नफर्किएको पनि होइन । देशमै केही गर्नुपर्छ भन्ने दृढ इच्छाशक्ति थियो । गणतन्त्र आएको थियो, देशमा केही परिवर्तन होला, आर्थिक समृद्धि आउला भन्ने आशा थियो । नेपाल फर्किएर मैले गैरसरकारी संस्थाहरूमा काम गरें, तर यहाँको शासकीय संरचना र अव्यवस्थाले मलाई निराश बनायो ।
सरकारी कार्यालयमा काम गर्न जाँदा बिहानदेखि बेलुकासम्म कुरेर बस्नुपर्ने । सामान्य काम गर्न जाँदा पनि भनसुन गर्नुपर्ने, अनेक बाधा खेप्नुपर्ने, घुस दिनुपर्ने । यो अनुभवले मलाई फेरि जापान फर्किनँ बाध्य बनायो ।
त्यसपछि टोकियो विश्वविद्यालयमा सार्वजनिक नीति पढें, र अहिले जापानकै एभरेस्ट इन्टरनेशनल स्कूलमा काम गर्छु । तर, मेरो मन नेपालमै छ । म जस्ता धेरै नेपाली विदेशमा छन्, जो फर्कन चाहन्छन् । फर्कन नेपालको वातावरणले साथ दिनुपर्छ ।
जापानमा बस्दा मैले नेपाली आप्रवासीहरूको अवस्था नजिकबाट देखें । विशेषगरी कक्षा १२ सकिएलगत्तै विदेश पुग्ने युवाहरूको कथा दु:खद् छ । उनीहरू न भाषा राम्रोसँग जान्दछन्, न संस्कृति बुझ्छन्, न त आत्मनिर्भर बन्न सिकेका हुन्छन् ।
नेपालमा परिवारले बढी माया र संरक्षणमा राख्ने प्रवृत्तिका कारण उनीहरू विदेशमा स्वतन्त्र जीवन र आइपरेका चुनौती सामना गर्न तयार हुँदैनन् । त्यसैले उनीहरू रेस्टुरेन्ट, प्याकिङ वा साधारण काममा सीमित हुन्छन् ।
यो देख्दा लाग्छ– हाम्रा ‘ए’ ग्रेडका मस्तिष्कहरू विदेशमा सामान्य काममा खेर गइरहेका छन्, जसलाई म नेपालका ‘क्रिम लेयर’ का विद्यार्थी भन्छु । नेपालको सम्भावनालाई यस्ता कुराले झन् कमजोर बनाइरहेको छ ।
मैले जापानमा नेपाली आप्रवासी परिवारका बच्चाहरूलाई पढाउने अवसर पाएँ । उनीहरूको पारिवारिक संरचना, सामाजिक अवस्था र चुनौतीहरू नजिकबाट देखें । यो अनुभवले मलाई नेपालको शिक्षा प्रणाली र सामाजिक संरचनाबारे गहिरोसँग सोच्न बाध्य बनाउँछ ।
नेपालमा युवाहरू किन टिक्दैनन् ? यो प्रश्नको जवाफ खोज्दा धेरै कुरा स्पष्ट हुन्छ । पहिलो, हाम्रो शिक्षा प्रणाली सैद्धान्तिक छ, व्यावहारिक छैन । विद्यार्थीलाई किताबी ज्ञान मात्र सिकाइन्छ, तर जीवन जिउने सीप, जोखिम व्यवस्थापन वा उद्यमशीलता सिकाइँदैन । अबका विद्यार्थीले यस्ता कुरा खोज्छन् । नयाँ पुस्तासँगै नयाँ पाठ्यक्रम र शिक्षण शैलीको आवश्यकता भइसकेको छ ।
कक्षा १२ सकिएलगत्तै कन्सल्टेन्सीहरूले विद्यार्थीलाई विदेशको लोभ देखाउँछन् । ती युवाहरूले न भाषा सिकेका हुन्छन्, न त परदेशको परिवेश बुझ्छन् । सोलुखुम्बु, ताप्लेजुङ वा दार्चुलाबाट आएका विद्यार्थी काठमाडौं समेत राम्रोसँग चिन्न नपाई सीधै विदेश पुग्छन् ।
विदेशमा उनीहरूले नयाँ संस्कृति, भाषा र कामको बोझसँग जुध्नुपर्छ । जापान, अमेरिका, अष्ट्रेलिया वा क्यानडामा पुगेर उनीहरू रेस्टुरेन्टमा भाँडा माझ्ने, तरकारी प्याक गर्ने वा डेलिभरीको काममा लाग्छन् । हाम्रा उत्कृष्ट मस्तिष्कहरू विदेशमा सस्तो श्रममा खर्च भइरहेका छन् ।
नेपालको आर्थिक अवस्था कमजोर छ । काठमाडौं र टोकियोको महँगी लगभग बराबर छ, नेपालको आम्दानी न्यून छ । सरकारी जागिरमा प्रवेश गर्न पहुँच चाहिन्छ । निजी क्षेत्रमा पनि पर्याप्त अवसर छैन ।
नेपालमा विश्वस्तरीय विश्वविद्यालयहरूको अभाव छ । विश्वका विकसित देशहरूमा हार्वर्ड, अक्सफोर्ड वा टोकियो विश्वविद्यालय जस्ता संस्थाले उत्कृष्ट जनशक्ति उत्पादन गर्छन् । नेपालमा यस्ता संस्था छैनन् । हाम्रा क्षमतावान् विद्यार्थी पनि अवसर खोज्दै विदेशिन्छन्, जो फर्कने सम्भावना न्यून छ । अझ ठूला अवसर र सपनाले तिनलाई उतैउतै डोर्याउन थालिसकेको छ ।
जापानमा मैले देखें– त्यहाँका विश्वविद्यालयले विद्यार्थीलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउँछन् । नेपालमा यस्तो संस्था भएको भए हाम्रा युवाहरू पक्कै टिक्थे । उसोभए म जस्ता ४० को दशकमा हिंड्दै गरेका युवादेखि भर्खरका जेन–जीलाई देशमा टिकाउन वा फर्काउन के चाहिन्छ त ?
पहिलो, विश्वस्तरीय विश्वविद्यालयको स्थापना । कम्तीमा दुईवटा विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने विश्वविद्यालय भए पढ्न जानेहरू यहीं रोकिन्छन् ।
दोस्रो, लगानीको वातावरण । सरकारले विदेशी र स्वदेशी लगानीकर्ता आकर्षित गर्न कर छुट, अनुदान लगायत सहज नीति दिनुपर्छ । जापानमा त लगानीकर्तालाई रातो कार्पेट बिछ्याइन्छ । नेपालमा पनि यस्तो वातावरण बने उद्योग खुल्छन्, रोजगारी सिर्जना हुन्छ र युवा टिक्छन् ।
तेस्रो, सुशासन र अनुशासन । सरकारी कार्यालयमा कामको गति बढाउनुपर्छ । समयबद्ध सेवा प्रवाह हुनुपर्छ । एउटा सानो सिफारिशका लागि दिनभर कुरेर बस्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ ।
चौथो, राजनीतिक स्थिरता । पुराना सोच भएका नेताहरूले विश्राम लिएर नयाँ पुस्तालाई नेतृत्व दिनुपर्छ । नेपालमा यस्तो वातावरण भएको भए म फेरि विदेशिनुपर्ने थिएन । गणतन्त्र आएपछि मैले देशमै केही गर्छु भन्ने सोचेर फर्किएको थिएँ । तर, के भयो त ? त्यसैले जबर्जस्ती फर्काए पनि टिकाउन सकिंदैन ।
विश्व बुझिसकेका युवालाई यहाँ टिकाउन राजनीतिक/प्रशासनिक सुधारमा काम गर्नुको विकल्प छैन । हाम्रो देशमा सुशासनको कमीले धेरै सम्भावना गुमिरहेका छन् ।
त्यसैले यसबारे धेरै गफ गर्ने, युवा विदेशीय भनेर गुनासो गरेर मात्र अर्थ छैन । अझै म जस्ता धेरै नेपाली विदेशमा छन्, जो फर्कन चाहन्छन् । तर, फर्कनका लागि देशले हामीलाई यहाँ अडिने वातावरण बनाउनुपर्छ ।
(जापानको टोकियोमा बसेर काम गरिरहेका दार्चुलाका भट्टसँग अनलाइनखबरकर्मी कौशल काफ्लेले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया 4