+
+
Shares
कभर स्टोरी :

युवालाई अवसर पुगेन, भविष्यको भर भएन

युवाले देशभित्र अवसर देख्न छाडेका छन् । राम्रो शिक्षा, सँगसँगै कामको अवसर अनि सुरक्षित भविष्यको कल्पना सहित युवाहरू विदेशिने क्रम तीव्र बनेको छ ।

कौशल काफ्ले कृष्णसिंह धामी कौशल काफ्ले, कृष्णसिंह धामी
२०८२ साउन २३ गते १९:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका युवाहरू रोजगार र अध्ययनका लागि विदेश जान ठूलो संख्यामा लागेका छन्, २०८२ असार मसान्तसम्म ९ लाख ७५ हजारले वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएका छन्।
  • युवाहरूले नेपालमा सरकारी जागिरमा घुस मागिने र अवसरको अभाव देखेर विदेश जाने निर्णय गरेका छन्, जसले देशको युवा पलायन बढाएको छ।
  • शिक्षाविद् र समाजशास्त्रीहरूले युवा पलायनमा आर्थिक मात्र नभई राजनीतिक, सामाजिक र सांस्कृतिक कारणहरू पनि महत्वपूर्ण रहेको बताएका छन्।

२३ साउन, काठमाडौं । कैलालीका दिनेश बडुवाललाई सानैबाट नेपाल प्रहरीको जागिर खाने धोको थियो । उनले सकेको मिहिनेत गरिरहे । उमेर अनुसार आफूलाई ‘फिट’ राखिरहे । जसै १८ पार गरे, नेपाल प्रहरीमा असईको फारम भरे । सबै परीक्षा पास गरे । तालिम पनि भ्याए ।

बडुवाल भन्छन्, ‘अन्तिममा पोस्टिङ हुने बेला सात महिना तालिम हुन्छ नि त ! त्यो बेला चाहिं आधा तलब दिन्छ, त्यो पनि पूरा गरेको थिएँ ।’

तर, अन्तिम चरणमा पुग्दा उनीसँग घुस मागियो । चार/पाँच लाख दिए जागिर पक्का हुन्छ भनेर भनियो । उनको परिवारले छोराको जागिरको लागि पैसा दिने मनस्थिति पनि नबनाएको होइन ।

‘पैसा दिन नसक्ने भएर हैन । तर, आज घुस दिएर असई बनौंला, यसले मलाई बिगार्छ । भोलि यो लगानी उठाउन मैले पनि घुस खानुपर्छ । त्यसैले बरु जागिर नै खान्नँ भनेर छोडिदिएँ’ यसो भन्दै गर्दा उनी आक्रोशित भइसकेका थिए ।

भर्खर १९ वर्षमा हिंड्दै गर्दा उनका पाइला अब देश छोड्न आतुर छन् । सरकारी जागिर खान घुस दिनुपर्ने, अनि अरू कामले पनि जीवन धान्न धौ–धौ हुने जोखिम देखेपछि कोरियालाई उनले अबको गन्तव्य बनाएका छन् ।

सोमबार त्रिपुरेश्वरस्थित राहदानी विभागमा भेटिएका बडुवाल पासपोर्ट बनाउन आउँदा पाएको सेवाबाट पनि आजित थिए । उनका अनुसार, दिउँसो दुई बजे सबै काम सकिइसकेको थियो । तर, अन्तिममा पैसा बुझाउने बेला अनलाइनबाट हुँदैन भनिदियो । बाहिरबाट काम मिलाउनुपर्‍यो । उनी यसबाट झनै आजित सुनिए । ‘जान्छु भन्दा त सुख छैन । के बस्नु यहाँ ?’ उनले भने ।

‘अनि नेपाल बस्ने गरी नफर्कने त अब ?’ अनलाइनखबरको प्रश्नमा बडुवालले भने, ‘अलि पैसा कमाउँछु अनि फर्कन्छु । त्यहीं केही गर्छु । अर्काको देशमा त सधैं कसरी अडिन सकिएला र ? तर, एकपटक टन्न कमाउनु त पर्‍यो नि !’

मध्यमवर्गीय परिवारमा जन्मिएका बडुवालको परिवारमा चारजनामध्ये एकजना दाइ कोरियामै छन् । बुवाले पनि भारतबाट कमाएर ल्याउँछन् । सरकारी जागिरमा ‘सेटिङ मिलाउन’ नचाहेका कान्छा छोराले कोरियन भाषा सिकेका छन् ।

उनी अचेल बागबजारको एक भाषा प्रशिक्षण केन्द्रमा धाइरहेका छन् । यसकै लागि कैलालीबाट काठमाडौं आएर होस्टल बसेर तयारी गरिरहेका छन् । मौका मिल्नासाथ कोरिया पुगेर पैसा पठाउन आतुर देखिन्छन् ।

‘अब तीन दिनमा पासपोर्ट आउँछ रे ! त्यसपछि फारम खुल्दैछ । सबै मिलाएर कोरिया गएपछि आनन्दै’, बडुवाल निष्फिक्री बने ।

*****

भक्तपुरको सानोठिमीमा रहेको एनओसी कार्यालयमा हस्याङफस्याङ गर्दै यताउता गरिरहेका थिए, कपनका बिपिन गौतम । पाका उमेरका उनी झ्यालबाट चियाउँदै कर्मचारीले मागेका कागजात दिंदै थिए । कति कागज नचिन्दा अलमल हुन्थ्यो उनलाई । हतारहतार भनिहाल्थे– ‘के गर्नु हजुर, त्यति पढिएको छैन । हाम्रो पालामा यस्ता थिएनन्, अहिले केके पो कागजात हो यो ।’

यद्यपि, बिपिन ‘निरक्षर’ होइनन् । उनी ट्राफिक प्रहरीका पूर्वडीएसपी रहेछन् । आफ्नो भान्जीको एनओसी बनाइदिनको लागि केही दिनयता सानोठिमी धाउनु उनको दैनिकी बनेको थियो । त्यही सिलसिलामा सानोठिमीमा भेटिएका उनले भने, ‘मेरो एउटा छोरा पनि आईटी पढ्न विदेशमै छ । भान्जी पनि मास्टर्स गर्न बाहिर जानें भनेपछि सहयोग गरिदिन आएको हुँ ।’

एनओसी लिनेहरुको भिड

गौतमका अनुसार उनकी भान्जीले नेपालमा साइन्समा प्लस टु गरिन् । त्यसपछि स्नातक गर्न भारत गइन् । आँखा सम्बन्धी विषय रोजेकी उनलाई नेपालको पढाइ त्यति विश्वसनीय लागेन ।

समयमा परीक्षा नहुने, नतिजा नआउने जस्ता प्रशासनिक झन्झटले नेपाल बस्न नपरे हुन्थ्यो भन्ने लागिरह्यो रे ! अब सोही विषयमा स्नातकोत्तर गर्न बेलायत जाने सुरमा छिन् । त्यसकै लागि सहयोग गरिदिन आएका थिए, गौतम ।

‘मेरी भान्जीमा धेरै प्रतिभा छ । उनको सपना ठूलो छ, र हामी परिवारले पनि उनको यो चाहनालाई सहयोग गर्छौं । नेपालमा पढ्ने वातावरण छैन, बाहिर नै एक्सप्लोर गर्छु भनेपछि रोक्ने कुरा पनि त भएन’, उनले भने ।

पछिल्लो समय युवाहरूमा नेपालमा केही नभएर भन्दा पनि विश्वस्तरमा प्रतिस्पर्धी बन्न खोज्दा नयाँ अवसर खोजिरहेको गौतमको बुझाइ छ । उनका अनुसार धेरै आफन्त/छोराछोरी किन बाहिर जान चाहन्छन् भन्दा उनीहरूलाई विश्वस्तरमा प्रतिस्पर्धा गर्नु छ । डिजिटल युगले सबै कुरा एक क्लिकमा हेर्न सिकाएको, देखाएको छ । सोही अनुसार सपनाको आकार पनि फराकिलो भएको छ ।

‘यसकै छटपटी हो जस्तो लाग्छ यी कुरा । नेपालमा केही नभएर भन्दा पनि बाहिर धेरै कुरा भएर गएका हुन्’, गौतमले अनुभव सुनाए ।

*****

काठमाडौंमै हुर्केकी सुजिता कार्की अमेरिकामा छिन् । परिवारकी कान्छी छोरी उनलाई बाबा–ममीले पसल र सामान्य जागिरको कमाइबाट पढाएर हुर्काए । छोराछोरीकै भविष्यको लागि भनेर बनेपाबाट उनको परिवार काठमाडौं आएको थियो ।

बुबा–ममीले काठमाडौंमा देखेको भविष्य छोराछोरीलाई भने क्रमश: साँघुरो लाग्न थाल्यो । कार्की अहिले अमेरिकामै रहेर स्नातकोत्तर गर्दैछिन् । ‘शुरुमा त विदेश जान्नँ भन्ने थियो । साथीहरू भने प्लस टु सकेरै जाने कुरा गर्थे । कति त गए । तर, म अलमलमा थिएँ’, कार्कीले सुनाइन् ।

नेपालमै स्नातक गरेपछि ग्यालेक्सी टेलिभिजनमा काम गर्न थालिन् । त्यसपछि कान्तिपुर टेलिभिजनमा काम गरिन् । राष्ट्रियस्तरको मिडियामा काम गर्दा थप नयाँ अनुभव बटुल्न पाइन् । उनका अनुसार यसरी काम गर्दा सिक्ने अवसर त थियो, तर भविष्य अनिश्चित । तलब कहिले आउँथ्यो, कहिले आउँदैनथ्यो । त्यही बेला समाजशास्त्रमा स्नातकोत्तर गर्न मदन भण्डारी कलेज भर्ना भइन् । तर, मनमा एउटा प्रश्न सधैं खट्कियो– अब के त ?

कार्कीकी दिदी पनि विदेशमै थिइन् । त्यसैले उनले पनि विदेश नै जाने सोचिन् ।

‘दिदीले भन्नुभयो– तँलाई बाहिर आउन मन छैन ? नेपालमा भर छैन, बरु बाहिर आए कमसेकम पढाइ र कमाइको आँट त हुन्छ’ कार्कीले भनिन्, ‘यी कुराले मलाई झस्कायो । यताउता अस्थिर जागिर गर्नुभन्दा बाहिर गए ‘पढाइ पनि राम्रो, कमाइ पनि राम्रो’ हुन्छ भन्ने भयो ।’

कार्कीको काठमाडौंमै घर थियो । त्यसैले उनी सोच्थिन्– काठमाडौंमा घर नहुनेले सामान्य जागिरबाट कसरी धान्छन् ? उनको घर थियो, तैपनि पैसा पुग्दैनथ्यो । बिजनेस गर्ने कुरा पनि गफमै सकियो । न पूँजी (इन्भेस्टर) मिल्यो, न सोचे जसरी ऋण । त्यसैले एकपटक विदेश गएर पढाइ पनि सक्ने, पैसा पनि कमाउने सोच उनमा आयो ।

‘नेपाल हाम्रो जन्मभूमि हो । माया छ । नेपालमा केही पनि छैन पनि भन्दिनँ, गर्न सक्नेलाई होला । तर, त्यहाँबाट निस्केर हेर्दा धेरै कमीहरू देखिन्छन् । नयाँ अवसरको ढोका खुल्छन् । एक्सपोजर पाइन्छ । त्यसैले पनि हामी जस्ता शहरमै हुर्किएका साथीहरूको पनि विकसित देशतर्फ आकर्षण बढेको छ’, कार्कीले भनिन् ।

*****

गत सोमबार त्रिभुवन विमानस्थल पुग्दा सदा झैं भीड थियो । लाग्थ्यो, पूरै देश बाहिरिइरहेको छ । त्यसमा पनि युवाहरूमा देखिएको छटपटीले देशभित्रका अप्ठ्यारा र विदेशको आकर्षण बोलिरहेको थियो । भावुक मुद्रामा भेटिएका अधिकांश बोल्न सक्ने अवस्थामा थिएनन् । छोड्न आउने र छोडेर जानेहरूका आँखामा देखिएका आँसुले सिंगो देशको अवस्था बोलिरहेको भान हुन्थ्यो । यता राहदानी विभाग, एनओसी शाखामा पनि युवा पुस्ताको लाइन उल्लेख्य देखिन्थ्यो ।

कति बाहिरिए ?

वैदेशिक रोजगार विभागका महानिर्देशक कमल भट्टराईका अनुसार हाल ३५ लाखभन्दा बढी नेपाली विदेशमा काम गरिरहेका छन् । नेपालबाट वैदेशिक रोजगार ऐन २०४२ जारी भएदेखि औपचारिक रूपमा वैदेशिक रोगजारीमा जाने गरेको देखिन्छ भने २०६५ सालदेखि विभागले वैदेशिक रोजगारीमा जानेहरूको व्यवस्थित रेकर्ड राख्दै आएको छ ।

२०६५ सालदेखि २०८२ को असार मसान्तसम्ममा नेपालबाट ९ लाख ७५ हजार २६६ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएको अभिलेखबाट देखिन्छ ।

विदेश जानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामबद्ध युवा

गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै ८ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति (पुन: श्रम स्वीकृति सहित) लिएर वैदेशिक रोजगारीमा गए । कोरोना महामारीको समय निकै कम भएको वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको दर त्यसयता हरेक वर्ष बढ्दो छ ।

गत वर्ष अघिल्लो वर्षको तुलनामा ९७ हजार बढी श्रमिक विदेश गएका थिए । पछिल्लो पाँच वर्ष २०७७ को असारदेखि २०८२ को असार मसान्तसम्ममा ३१ लाख ४८ हजार ६७८ नेपाली रोजगारीका लागि विभिन्न मुलुकमा गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।

यो अवधिमा ६ लाख ९९ हजार ८४ जना नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न अनुमति पत्र (एनओसी) लिएका थिए । आर्थिक वर्ष २०७८/७९ मा ४० हजार ४७७ वटा एनओसी जारी भएकोमा २०८१/८२ मा १ लाख २३ हजार ५८९ वटा एनओसी जारी भएको शिक्षा मन्त्रालयको एनओसी शाखाले जनाएको छ ।

सन् २०२४ मा १ लाख ८२७ जना नेपालीले अस्थायी आवास अनुमति लिएर विदेश गएका छन् । त्यस्तै ६६ हजार ८३५ जनाले पीआर लिएर विदेशिएका छन् । ३३ हजार ९०९ जना डिपेन्डेन्टमा गएका छन् भने १ लाख ३१ हजार ७९६ जनाले ‘फेमिली/रिलेशन’ अन्तर्गत विदेश गएको अध्यागमन विभागको तथ्यांकले देखाएको छ । सन् २०२३ मा ‘टेम्पररी रेसिडेन्स भिजिट’ मार्फत ९२ हजार ३४९, पीआर लिएर ७० हजार ९१५, डिपेन्डेन्ट मार्फत २० हजार ६१३ विदेश गएका छन् ।

हाल विदेश जानेमध्ये अधिकांश युवा रहेको महानिर्देशक भट्टराईको भनाइ छ । नेपालबाट ४० वर्ष मुनिका व्यक्ति मात्रै वैदेशिक रोजगारीमा जान पाउने गरेका छन् । तर, विदेशमा लामो समयदेखि काम गर्दै आएकाहरूको उमेर बढी हुँदा ४० वर्षमाथिका समेत विदेशमा काम गर्दै आएका छन् ।

‘पढ्न जानु प्रतिष्ठाको विषय’

शिक्षाविद् डा. विष्णु कार्कीका अनुसार, सन् १९९० को दशकभन्दा पहिले विदेश जाने चलन कम थियो, त्यसपछि विदेश जानु प्रतिष्ठा र पैसा कमाउने माध्यमका रूपमा स्थापित भयो । हुनेखाने वर्गले छोराछोरीलाई प्रतिष्ठाका लागि विदेश पठाए भने नहुने वर्ग पैसा कमाउन खाडी मुलुक गए ।

पहिले विदेश जानुको कारण पढाइ र प्रतिष्ठा थियो भने अहिले पढाइका साथै काम गरेर पैसा कमाउन पाइने अवसर मुख्य आकर्षण बनेको छ । त्यसमाथि नेपालका विश्वविद्यालयहरूले रोजगारीसँग शिक्षालाई जोड्न नसकेकाले विद्यार्थीहरू आकर्षित हुन नसकेको कार्की बताउँछन् ।

राजनीतिक अस्थिरता, हड्ताल र गुणस्तरको कमीको धारणाले गर्दा नेपाली विश्वविद्यालयहरू विद्यार्थीविहीन भएर बन्द हुने अवस्थामा पुगेको उनको विश्लेषण छ ।

‘राज्यले देशलाई आवश्यक पर्ने विषयहरू (जस्तै: इन्जिनियरिङ, विज्ञान, प्रविधि)मा विद्यार्थीलाई प्रायोजन गरेर पढाउनुपर्छ । राज्यको लगानीमा पढेका विद्यार्थीलाई निश्चित समय देशमै काम गर्नुपर्ने गरी करार गराउनुपर्छ’ कार्कीले भने, ‘उद्योग र कम्पनीहरूलाई नेपाली जनशक्ति नै भर्ना गर्नका लागि प्रोत्साहन गर्नुपर्छ, आवश्यक परे बाध्यकारी बनाउनुपर्छ ।’

समयमै यो समस्या सम्बोधन नगरिए नेपालले दोहोरो संकट भोग्नुपर्ने शिक्षाविद् कार्की बताउँछन् । पहिलो, थप युवा जनशक्ति विदेश पलायन हुने क्रम अझै बढ्नेछ । दोस्रो, देशका विश्वविद्यालयहरू पूर्ण रूपमा धरासायी हुने अवस्था आउन सक्छ ।

यसले सही संकेत नगरेको भन्दै उनी शिक्षा मन्त्रालय र योजना आयोग जस्ता निकायहरू पनि उदासीन भएको आरोप लगाउँछन् । युवा विदेशिने क्रमसँगै यहाँ रहेका युवालाई झन् निराश बनाइरहेको कार्कीको बुझाइ छ ।

शिक्षाविद् बालचन्द्र लुइँटेलले नेपालमा युवा पलायनको विषयमा नकारात्मक विषय मात्रै आउँदा गलत धारणा बनेको बताए । सकारात्मक कुरालाई छायाँमा राखेर भएका रिपोर्टिङले गलत भाष्य बनाएको उनको तर्क छ ।

लुइँटेलका अनुसार नेपालको शिक्षा क्षेत्रमा क्रमिक सुधार भइरहेको छ । अहिले काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेसनमा मास्टर्स तहमा ४५० विद्यार्थी भर्ना भएका छन्, जसमध्ये ३० जना विदेशी विद्यार्थी छन् । यस्ता सकारात्मक पक्षलाई पनि बाहिर ल्याइनुपर्ने उनको भनाइ छ ।

‘युवाहरू अवसरको खोजीमा विदेश गइरहेका छन्, जुन सत्य हो । तर यहाँ पनि धेरै राम्रा कुरा भइरहेका छन् । १२ कक्षाको नतिजा र अन्य शैक्षिक उपलब्धिहरू सकारात्मक छन् । तर, नकारात्मकता मात्र फैलाउँदा मान्छेमा निराशा बढ्छ’ उनले भने, ‘त्यसैले अब राम्रो गर्दै जाने र भएका राम्रा कुरालाई देखाउने/आम जनतालाई थाहा दिने गर्नुपर्छ ।’

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा हिजोका दिनभन्दा आजको समाज खुला र उदार भएकाले यो अवस्था बढेको बताउँछन् । ‘शिक्षा क्षेत्रमै हेर्दा, पहिलाको तुलनामा अधिकांश सूचकांक नसुध्रिएको हैन । तर, हिजोभन्दा आज बाहिर जाने लहर किन बढ्यो ? यसको एउटै कारण– हरेकले सपनाको दायरा बढाए, समाज पनि उदार र खुल्ला भयो । ग्लोबलाइजेसनले बाहिर जान पनि सहज बनायो’, माथेमाले भने ।

शिक्षक र शैक्षिक गुणस्तर सुधार हुँदै गए पनि विश्वविद्यालयमा हुने अराजकता, अन्य बेथितिले पनि बाहिरिन प्रोत्साहन गरिरहेको माथेमाको तर्क छ । उनका अनुसार राजाको कालमा त राहदानी पाउन नै गाह्रो थियो । विदेशमा बस्न पनि अहिले जस्तो सहज थिएन । अवसर पनि कम थियो । मान्छे नेपालमै परिवारसँग बस्न रुचाउँथे । तर अहिले युरोप, अमेरिका, क्यानडामा म्यानपावरको माग र खुला नीतिले युवालाई बाहिर जान सजिलो भएको छ ।

‘त्यसमाथि विदेशमा पढ्दै काम गर्ने वातावरणले पनि युवालाई तानेको छ’ माथेमाले भने, ‘यसबाट के बुझ्न सकिन्छ भने, हिजो अवसर कम भएर युवा रोकिएका थिए । अहिले अवसर र खुलापनले बाहिर जाने ट्रेन्ड बढेको हो । यो बाध्यता मात्र नभई नयाँ सिकाइ र अवसरको खोजी पनि हो ।’

‘युवाको आशा र भरोसा छैन’

नेपालमा पछिल्लो समय युवाहरू देश छोडेर बाहिर जाने प्रवृत्ति तीव्र बन्नु केवल आर्थिक अभाव मात्रै नभई राजनीतिक, आर्थिक र सामाजिक–सांस्कृतिक पक्षहरू पनि कारक रहेको बताउँछिन्, समाजशास्त्री डा. मीना पौडेल ।

नेपालमा युवाहरूको विदेशिने प्रवृत्तिको जरोमा राजनीतिक निराशा, रोजगारीको अभाव र सांस्कृतिक दबाब रहेको उनी बताउँछिन् । डा. पौडेल भन्छिन्, ‘फेरि यहाँ सम्भावना नै नभएको पनि होइन । भएका थोरै सम्भावना पनि युवाहरूले देख्न छोडे । योचाहिं झन् दु:खलाग्दो कुरा हो ।’

समाजशास्त्री पौडेलका अनुसार युवाहरूमा एकदमै निराशा छ । उनीहरूमा यो देशमा केही हुँदैन, कुनै नेता ठीक छैनन्, सबै खत्तम छ भन्ने सोचले जरो गाडेको छ । विशेषगरी प्लस टुदेखि स्नातक तहसम्मका युवाहरूमा त्यस्तो निराशा झनै गहिरो रूपमा देखिन्छ ।

राजनीतिक अस्थिरता र नेतृत्वप्रतिको अविश्वासले उनीहरूलाई देशमा भविष्य नदेख्ने बनाएको छ । झनै त्यसमाथि आर्थिक कारणले पनि ठूलो भूमिका खेलिरहेको पौडेल बताउँछिन् । सीमित रोजगारीले पनि युवालाई टिक्न गाह्रो बनाएको छ ।

पौडेल भन्छिन्, ‘पढाइ सकेर मैले यो काम गर्छु, यो उद्यम गर्छु वा यो जागिर खान्छु भन्ने आशा युवाहरूमा छैन । प्रणालीले काम नगर्दा हरेक क्षेत्रमा भनसुन चाहिने अवस्थाले स्वतन्त्र र खुला प्रतिस्पर्धाबाट काम पाउने सम्भावना कम भएको छ ।’ यी सबै कारणले युवालाई विदेशतिर आकर्षित गर्छ, जहाँ उनीहरूले नेपालमा भन्दा धेरै कमाइ हुने आशा गर्छन् ।

डा. मीना पौडेल

विदेशमा पनि सोचे जस्तो सहज नहुने पौडेल बताउँछिन् । ‘बाहिर गएर सोचे जस्तो नपाए पनि, उनीहरूले जे पाए त्यसैमा चित्त बुझाउनुपर्छ, किनकि नेपालमा त त्यो पनि छैन नि भन्ने बुझाइ आम युवामा रहेको पाउँछु’ उनी थप्छिन्, ‘अचेल प्लस टु सक्नासाथ पहिलो विकल्पमा सिधै विदेश जाने कुरालाई राख्दा भएका अवसर पनि युवाले यहाँ देख्न छाडिसके ।’

सामाजिक–सांस्कृतिक कारण

सामाजिक–सांस्कृतिक कारणले पनि युवाहरूलाई देश छोड्न मनोवैज्ञानिक दबाब दिन्छ । ‘पल्लो घरको मान्छे गयो, ओल्लो घरको दाइ पनि गयो, साथी गयो, उसको साथी पनि गयो । म यहाँ एक्लै के गर्छु ?’ भन्ने संस्कृति पनि विकास हुँदा झन् बाहिरिने दर बढिरहेको देखिन्छ ।

पौडेलका अनुसार, निश्चित उमेर र पढाइ पूरा गरेपछि देशमा बस्नु असफलताको संकेत स्थापित हुन थालेको छ । सबै जना विदेश जाँदा कतै नगएको मान्छेलाई आफूले नसकेर नगएको भन्ने लघुताभाष हुन थाल्छ । समाजले पनि त्यसैगरी प्रश्न गर्न थाल्छ । त्यसैले आफू ‘नालायक र असफल ठहरिन्छु’ भन्ने मनोवैज्ञानिक दबाबले पनि युवा विदेशिने गरेको उनले बताइन् ।

‘यस्ता सांस्कृतिक दबाबले पनि युवाहरूलाई विदेश जाने बाटोलाई मात्र विकल्प ठान्न बाध्य बनाएको छ । त्यसैले सरकारले एकीकृत आप्रवासन नीति बनाउनुपर्छ, जसले श्रम कूटनीतिलाई समेटोस् र युवाहरूलाई देशमै अवसर देखाउन सकियोस्’ पौडेलले भनिन्, ‘साथै, सामाजिक जागरूकता र शिक्षा मार्फत यो ‘विदेशिने संस्कृति’ लाई कम गर्न सकिन्छ । यहाँका भएका सीमित सम्भावनालाई पनि युवाले देख्ने र बुझ्ने वातावरण बनाउन जरूरी छ ।’

आर्थिक पाटो मात्रै कारक हो ?

नेपाल सम्पन्न देश हुन्थ्यो भने यसरी विदेशिने युवाको संख्यामा कमी हुन्थ्यो होला ? विश्वभरका प्रवृत्तिले देखाउँछन् कि मानिसहरूले देश छोड्ने कारण केवल गरिबी होइन, यसमा धेरै कुरा जोडिएर आउँछन् ।

आर्थिक समस्यासँगै राजनीतिक, सामाजिक, वातावरणीय र व्यक्तिगत कारणहरूले पनि मानिसलाई आफ्नो देश छोड्न बाध्य बनाउँछ । विभिन्न अध्ययनले पनि यो पाटोलाई सतहमा ल्याएको देखिन्छ ।

जस्तो कि, ‘क्यास्टेली (२०१८) : ड्राइभर्स अफ माइग्रेसन’ले भन्छ – युद्ध, दमन, जनसंख्या वृद्धि, शहरमा बस्ने चलन, शिक्षा, स्वास्थ्य र प्राकृतिक प्रकोप वा जलवायु परिवर्तन जस्ता कारणले मानिसहरू बसाइँ सर्छन् । यो अध्ययनले बसाइँ सर्ने निर्णय केवल एक कारणले नभई व्यक्तिगत र सामाजिक कुराहरू मिसिएर बन्ने देखाएको छ ।

त्यस्तै, मिक्स्ड माइग्रेसन सेन्टर (एमएमसी)ले एक लाखभन्दा बढी शरणार्थी र आप्रवासीसँग कुराकानी गरेर तथ्यांक संकलन गरेको थियो । उक्त अनुसन्धानले देखाउँछ कि मानिसहरू गरिबीका कारण मात्र देश छोड्दैनन् । युद्धको असर, अन्यत्रको राम्रो जागिर वा अवसरको खोजी र जलवायु परिवर्तनका समस्याले पनि बसाइँ सर्न प्रेरित गर्छ ।

यो अध्ययनले मानिसहरूले कसरी र किन नयाँ देश रोज्छन् भन्ने निर्णय प्रक्रियालाई पनि बुझाउँछ । संयुक्त राष्ट्रसंघ र विश्व बैंकका प्रतिवेदनहरूले पनि बसाइँ सर्ने धेरै कारण औंल्याएका छन् । जस्तो: राम्रो जागिर, शिक्षा, परिवारसँग भेटघाट, युद्ध र दमनको हैरानी, प्राकृतिक विपद् र मानवअधिकारको हनन जस्ता कुराहरूले मानिसलाई आफ्नो देश छोड्न बाध्य बनाउने यी अनुसन्धानको निष्कर्ष छ ।

क्रोनिक पोभर्टी रिसर्च सेन्टरको अध्ययनले पनि बसाइँसराइलाई प्रेरित गर्ने विभिन्न तत्वमध्ये गरिबी एउटा कारण मात्र भएको बताउँछ । बरु सबै गरिब मानिसले बसाइँ सर्ने अवसर पाउँदैनन्, तर केही सामाजिक समूहहरू बढी चलायमान हुन्छन् । उदाहरणका लागि, शिक्षित वा सम्पर्क भएका व्यक्तिहरूले नयाँ देशमा गएर अवसर पाउने सम्भावना बढी हुन्छ ।

त्यसैले यी सबै अनुसन्धानको मुख्य निष्कर्ष छ– बसाइँ सर्नु एक स्वाभाविक र बहुआयामिक प्रक्रिया हो । यसमा गरिबी एउटा कारण हो, तर युद्ध, सुरक्षा, शिक्षा, जलवायु परिवर्तन, व्यक्तिगत चाहना र सामाजिक परिस्थितिहरू पनि उत्तिकै महत्वपूर्ण छन् ।

त्यसैले देश कति सम्पन्न छ भन्ने कुराले मात्र युवाहरू विदेशिने वा नविदेशिने भन्ने नहुने बताउँछन्, समाजशास्त्रका अध्यापक डा. दिपेश घिमिरे । भन्छन्, ‘नेपाल सम्पन्न देश भएको भए पनि बसाइँ सर्ने प्रवृत्ति पूर्ण रूपमा रोकिंदैन, तर यसलाई व्यवस्थापन गर्न चाहिं सकिन्थ्यो होला ।’

घिमिरेको विश्लेषणमा नेपालमा नीतिगत अवरोध हुनु, अवसरहरूलाई नदेख्नु र विश्वव्यापीकरणको प्रभाव पर्नु मुख्य कारण हो । यदि नेपाल आर्थिक रूपमा सम्पन्न भएको भए, केही हदसम्म यो प्रवृत्ति कम हुन सक्थ्यो, तर पूरै रोकिन सम्भव थिएन । किनभने भएको ठाउँबाट अझ राम्रो ठाउँ खोज्दै जानु मानिसको आधारभूत चरित्र नै हो । त्यो प्रवृत्ति मानव इतिहासको अभिन्न हिस्सा हो ।

‘इतिहास हेर्दा नेपालबाट मानिसहरू बर्मा, भुटान, कम्बोडिया, थाइल्यान्डसम्म पुगेका छन् । यो नयाँ कुरा होइन’ उनले भने, ‘पहिले पश्चिमबाट पूर्वतिर बसाइँ सर्ने ढाँचा थियो, तर अहिले यो विश्वव्यापी भएको छ । विश्वव्यापीकरण र प्रविधिले मानिसको गतिशीलता सजिलो बनाएको छ । आज यहाँ छौं, भोलि पासपोर्ट र पर्सि भिसा लिएर कुनै देश पुग्न सकिन्छ ।’

घिमिरेको प्रश्न छ– ‘यदि गरिब भएरै कोही विदेशिन्छ भने, भुटान जस्तो नेपालको भन्दा दोब्बर प्रतिव्यक्ति आय भएको देशबाट पनि मानिसहरू किन बसाइँ सरिरहेका छन् ?’ भारत र चीन जस्ता तीव्र विकास भइरहेका देशहरूमा पनि यो प्रवृत्ति उत्तिकै छ । चीनबाट पश्चिमा देशमा विश्वविद्यालय जाने लहर उत्तिकै छ । त्यसैले युवा पलायनको विषयलाई देशको गरिबीसँग मात्र जोडेर हेर्न नहुने उनी बताउँछन् ।

‘राम्रो अवस्थामा यी कुराको व्यवस्थापन गर्न सकिन्छ । अब जेन–जीहरू उद्यमी सोच राख्ने खालका छन् । केही नयाँ गरौं भन्ने त्यस्ता युवालाई यहाँ रोक्न नीतिगत सुधारको काम गर्नुपर्छ’ समाजशास्त्री डा. घिमिरे भन्छन्, ‘हामीले आफ्ना कामकारबाही सुधार गर्‍यौं र विश्वास गर्‍यौं भने अहिले गइरहेको दरमा भने धेरै कमी आउँछ । जानेसँगै आउने र फर्कनेको संख्या पनि त्यो अवस्थामा बढ्छ । त्यसैले राज्यले यसतर्फ ध्यान दिनुपर्छ ।’

कभर स्टोरी
लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?