३० कात्तिक, विराटनगर । २०७९ सालको निर्वाचनअघि एउटा अटोमा हाते माइक बोकेर प्रचारमा हिँड्दा हर्क साम्पाङलाई ठूला भनिएका दलले प्रतिस्पर्धी नै मानेनन् । कारण थियो, २०७६ को स्थानीय तह उपनिर्वाचन पाएको जम्मा ४२२ मत र ठूला दलको संगठन ।
स्वतन्त्र उम्मेदवारको रुपमा दललाई गाली गरेर २०७९ सालको निर्वाचन जितेका साम्पाङले श्रमदान अभियान चलाए । हराउँदै गएको श्रम संस्कृतिलाई पुन: प्रयोगमा ल्याएका साम्पाङ फेसबुक स्टाटस र सार्वजनिक अभिव्यक्तिका कारण चर्चामा आइरहे ।
खासमा धरान उपमहानगरभित्र उनले न उपमेयरसँग न वडाध्यक्षहरुसँगै विश्वास बढाउन सके । कहिले पत्रकारलाई दुर्व्यवहार गरेर त कहिले निर्णय र काममा एकलाैटी पारामा चल्ने हुँदा उनको काफी आलोचना भइरहेको हुन्छ ।
तर हर्क भने आफ्नै तालमा हिँडिरहेका छन् । दललाई गाली गरेर सुरु भएको उनको राजनीति मेयर निर्वाचित भएको ३ वर्षमै दल निर्माण गर्ने अवस्थामा पुगेका छन् । आफूलाई श्रम संस्कृतिको ब्राण्ड दाबी गर्ने साम्पाङले ‘माटो’ चुनाव चिन्ह लिएर श्रम संस्कृति पार्टी दर्ता गरेका छन् ।
जेनजी आन्दोलनपछि स्वतन्त्र र वैकल्पिक शक्ति भनिएका दलहरू एक ठाउँमा उभिनुपर्ने आवाज उठिरहेका बेला उनले आफ्नो नेतृत्वमा श्रम संस्कृति पार्टी दर्ता गरे । अन्य अभियान्ताहरू नयाँ दल दर्ताको तयारीमा जुटिरहदा साम्पाङ आफ्नो पार्टी विस्तारमा लागेका छन् ।
पार्टी दर्ताको प्रमाणपत्र पाएपछि उनले १७ कात्तिकमा मोरङको लेटाङमा पहिलो सभा गरे । त्यसपछि धरान, तरहरा(सुनसरी) र पाँचथरको फिदिममा सभा गरे । आइतबार उनले इलामको माङ्सेबुङमा पार्टी समिति घोषणा सभा गरे । ती स्थानमा गरिएका सभामार्फत साम्पाङले ठूला दललाई स्पष्ट सन्देश दिएका छन्, ‘आफ्नो शक्ति विस्तार हुँदैछ ।’

साम्पाङका सभाहरू कोशी प्रदेशको उत्तरी क्षेत्रमा केन्द्रित छन् । जनजाती बाहुल्य रहेको क्षेत्रमा उनका कार्यक्रम केन्द्रित छन् । उनले गरेको आमसभामा स्व:स्फूर्त रुपमा सयौं मानिस सहभागी भएका छन् ।
‘हर्क साम्पाङको क्रेज धरानमा भन्दा बाहिर धेरै छ,’ राजनीतिक विश्लेषक राजेन्द्र शर्मा भन्छन्, ‘जसले (धरान) बुझेको छ, त्यहाँ कमजोर छ ।’
धरानमा भने साम्पाङको प्रभाव तुलनात्मक रुपमा कमजोर देख्छन्, उनी । साम्पाङसँग अहिले ठूला दलसँग असन्तुष्ट र कोशी प्रदेशको पहिचान पक्षधर उभिएको छ ।
‘उनको जुन धरातल छ नि, त्यो धरातलमा असन्तुष्ट (पूराना दलसँग) मानिसहरूको समूह छ र पहिचानवादीहरूको समूह छ । तर सैद्धान्तिक विचारले गाइडेड छैन, विचारले गाइडेड नभएको कारणले गर्दा भोलि के भन्ने प्रश्न छ ,’ शर्माले भने, ‘समाजवादतिर जाने हो कि, साम्यवादतिर जाने हो कि, प्रजातान्त्रिक अभ्यासमा खुल्ला समाजतिर जाने हो कि यी सबै कुरामा उनको अहिलेसम्म स्पष्ट विचार आएको छैन ।’
दल दर्तापछि प्रचारप्रसारमा होमिएका साम्पाङ धरान उपमहानगरपालिकामा भन्दा बढी उनी पार्टीको काममा बढी केन्द्रित भएका छन् । पालिकामा मेयरको उपस्थितिका विषयमा उपमेयर अइद्रविक्रम बेघा बोल्न मान्दैनन् । ‘मेयरको आफ्नो कार्यभार छ, उपमेयरको आफ्नै छ,’ उनले भने, ‘म नियमित कार्यालयमा छु, उहाँको विषयमा उहाँलाई नै सोध्नुहोला ।’
आइतबार हर्क साम्पाङ इलामको माङ्सेबुङ पुगेका थिए । माङ्सेबुङमा उनले आयोजना गरेको पार्टी समिति घोषणा सभामा स्थानीयको उपस्थिति उल्लेख्य थियो ।
पार्टीको भेलामा सहभागी भएकाहरूलाई उनले प्रश्न गरे, ‘म त यो देशको लाटो मान्छे हो, तपाईंहरू पनि म जस्तै लाटो बन्न तयार हो ?
सहभागीहरूले एकै स्वरमा भने– हो ।

उनले औजार बोक्न र पसिनाको क्रान्ति गर्न तयार हो ? भन्दै प्रश्न गर्दा भिड्ले ‘हो’ भन्ने जवाफ दियो । त्यसपछि साम्पाङले भने, ‘त्यसो भए तपाईंहरूलाई श्रम संस्कृति पार्टीमा हृदयदेखि स्वागत छ ।’
करिब ४० मिनेट बोलेका उनले देश बनाउनका लागि पार्टी खोलेर अघि आएको बताए । ‘यो देश टाठाबाठाहरूले बिगारेको हो,’ उनले भने,‘ टाठाबाठाहरूले भत्काएको बिगारेको देश तपाईं हामीजस्ता लाटा मान्छेहरूले बनाउनुपर्छ ।’
हर्क साम्पाङले गर्ने सभाहरूमा मानिस स्व:स्फूर्त रुपमा सहभागी भइरहेका छन् । ‘अरु पार्टीतिर तेल बाँडेर, गाडी पठाएर मान्छे भेला गरेको भन्ने सुनिन्छ, तर, हर्क साम्पाङको भेलामा स्व: स्फूर्त रुपमा मानिस भेला भइरहेका छन्,’ हर्क साम्पाङको गतिविधि नियालिरहेका भैरव आङ्ला भन्छन्, ‘लेटाङ, तरहरा, फिदिमको भेलामा सोचे भन्दा धेरै मानिस थिए, माङ्सेबुङमा पनि त्यस्तै छ ।’
हर्क साम्पाङले गठन गरेको श्रम संस्कृति पार्टीको सुनसरी, सोलुखुम्बु, ताप्लेजुङ, पाँचथरमा जिल्ला समिति गठन भइसकेको छ ।
विभिन्न पालिकामा पनि पार्टी समिति गठन भएको छ । मलेसिया कतार र युएईमा पनि पार्टीको समिति गठन भएको छ ।
‘सार्वजनिक भएको ३–४ वटा जिल्लाको हो, अहिलेसम्म ३०–३५ जिल्लामा तदर्थ समिति गठन भएको छ, पालिकाहरूमा समिति गठन भइरहेको छ,’ श्रम संस्कृति पार्टीका महासचिव आरएन राई भन्छन्, ‘जिल्ला र र थुप्रै नगरहरूमा समिति गठन भइसक्यो, सातवटै प्रदेशमा हाम्रो अभियन्ताले काम गरिरहनु भएको छ ।’
महासचिव राईका अनुसार तदर्थ समिति गठन भएका पालिका र जिल्लाहरूको विवरण संकलन भइरहेको छ । ‘धेरै ठाउँमा साथीहरू स्व:स्फूर्त रुपमा जोडिनु भएको छ,’ उनले भने, ‘जनलहर चलेको छ ।’
मेयर छाडेर चुनाव लड्दैछन् हर्क
दल दर्तापछि हर्क साम्पाङ पालिकाको कामसँगै पार्टीको संगठन विस्तारमा खटिएका छन् । उनले धरान उपमहानगरपालिकाको मेयरबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी गरेका छन् ।
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा उनले सुनसरी क्षेत्र नम्बर १ बाट लड्ने तयारी गरेका हुन् ।
यो क्षेत्र नेकपा एमालेको गढ मानिन्छ । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–१ बाट जनता समाजवादी पार्टी नेपालका तर्फबाट अशोक राई निर्वाचित भएका थिए । राईलाई एमालेले समर्थन गरेको थियो ।
श्रम संस्कृति पार्टीका महासचिव राई पार्टी अध्यक्षसमेत रहेका मेयर साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी गरिरहेको जानकारी दिए ।

‘चुनाव लड्नुपर्छ, लोकतान्त्रिक पद्धतिमा प्रतिस्पर्धा गरेर आउने हो,’ उनले भने, ‘हामी चुनाव लड्नुपर्छ भन्ने लाइनमा छौँ, अध्यक्ष स्वयं पनि चुनाव लड्नुपर्छ भन्ने लाइनमा हुनुहुन्छ, अब अन्तिम निर्णय चुनावको मनोनयनको बेला थाहा हुन्छ ।’
सामाजिक अभियन्ताका रुपमा काम गरेका साम्पाङले २०७९ को स्थानीय चुनावमा २० हजार ८२१ मत पाएर मेयर पदमा विजयी भएका थिए । त्यसबेला नेपाली कांग्रेसका किशोर राई १६ हजार ५९ मत प्राप्त गरेका थिए । नेकपा एमालेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत पाएकी थिइन् ।
मेयर साम्पाङले चुनाव लड्ने तयारी गरिरहेको सुनसरी– १ मा धरान उपमहानगरका २० वटा वडा पर्छन् । बराह क्षेत्र नगरपालिकाका ५ वटा र रामधुनी नगरपालिकाकाका २ वडा पर्छन् ।
एमालेको गढ मानिने सुनसरी क्षेत्र नम्बर –१ म २०४८ मा एमालेबाट मनमोहन अधिकारी, २०५१सालको मध्यवधि चुनावमा लीला श्रेष्ठ सुब्बा, २०५६ सालको निर्वाचनमा कुन्ता शर्माले जितेका थिए । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा माओवादीका किरणकुमार राईले जितेका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेबाट कृष्णकुमार राई र २०७४ मा एमालेकै जयकुमार राई निर्वाचित भएका थिए । २०७९ मा एमालेको समर्थनमा जसपा नेता अशोक राई निर्वाचित भए । उनी पूर्व एमाले हुन् ।

धरानका बासिन्दासमेत रहेका विश्लेषक राजेन्द्र शर्मा प्रतिनिधिसभा निर्वाचनका विषयमा अहिल्यै आंकलन गर्न नसकिने बताउँछन् ।
‘हिजो लौरो चुनाव चिन्ह लिएर उनी उठ्दा धरानमा उनले जित्छन् भनेर कसैले पत्त्याएकै थिएन । तर, विविध कारणले उनले चुनाव जिते । अब राष्ट्रियस्तरको राजनीतिमा उनी होमिँदैछन्,’ उनले भने,‘ साम्पाङको पार्टीले समानुपातिक भोट धरानभन्दा बाहिरबाट ल्याउँछ ।’
प्रत्यक्ष निर्वाचित हुने सम्भावना भने प्रतिस्पर्धात्मक रहेको उनले बताए । ‘यो साढे तीन महिनामा उनले प्रत्यक्ष निर्वाचित हुने जनमत कसरी बनाउलान् त्यो एउटा शंकाकै घेराभित्र छ,’ उनले भने, ‘चुनाव हो, एकै रातमा कहाँबाट कहाँ पुग्छ, त्यो एक किसिमको म्याजिकल रिजल्ट आउन सक्छ ।’
प्रतिक्रिया 4