+
+
Shares

हर्क साम्पाङ नेतृत्वको पार्टीले झण्डै एक महिनासम्म पाएन दल दर्ताको प्रमाणपत्र

कानुननः दल दर्ताको निवेदन प्राप्त भएको ४५ दिनभित्र आयोगले निर्णय दिनुपर्ने हुन्छ । तर, आवश्यक कागजात पुगेको अवस्थामा छिटै पनि दल दर्ताको प्रमणपत्र दिन सकिने र दिँदै आएको आयोगका अधिकारीहरू बताउँछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ९ गते १५:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धरानका मेयर हर्क साम्पाङले श्रम संस्कृति पार्टी नामक नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
  • निर्वाचन आयोगले दल दर्ताको निवेदन प्राप्त भएको ४५ दिनभित्र निर्णय दिनुपर्ने कानुन छ।
  • निर्वाचन प्रयोजनका लागि दल दर्ताको प्रमाणपत्र कात्तिक ३० गतेसम्म लिनुपर्ने र मंसिर १ देखि १० गतेसम्म दल दर्ता हुने कार्यक्रम छ।

९ कात्तिक, काठमाडौं । धरानका मेयर हर्क साम्पाङले आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको एक महिना हुन लाग्यो । उनले श्रम संस्कृति पार्टी नामक दल दर्ताको निवेदन दिएका छन् ।

गत असोज १२ गते आइतबार साम्पाङले आफैँ निर्वाचन आयोग उपस्थित भएर दल दर्ताको निवेदन दिएका थिए । निवेदन दिएको झण्डै एक महिना हुन लाग्दा समेत श्रम संस्कृति पार्टीले आयोगबाट आधिकारिकता पाउन सकेको छैन ।

कानुननः दल दर्ताको निवेदन प्राप्त भएको ४५ दिनभित्र आयोगले निर्णय दिनुपर्ने हुन्छ । तर, आवश्यक कागजात पुगेको अवस्थामा छिटै पनि दल दर्ताको प्रमणपत्र दिन सकिने र दिँदै आएको आयोगका अधिकारीहरू बताउँछन् ।

आयोगका अनुसार साम्पाङ नेतृत्वमा दर्ता हुनका लागि पुगेको निवेदनमा दलको विधान स्पष्ट हुनुपर्ने भनेर भनिएको छ । सनाखत लगायतका प्रक्रया पुरा भएपछि दल दर्ताको प्रमाणपत्र दिइने आयोगले जनाएको छ ।

यीसहित १६ दल दर्ताको पर्खाइमा रहेका छन् । निर्वाचन आयोगबाट स्वीकृत कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने दलले यही कात्तिक ३० गते अगावै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्ने हुन्छ ।

त्यसपछि मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।

फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहनेछ । फागुन २१ गते विहान ७ बजेदेखि वेलुका ५ वजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम छ ।

समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुष १८ र १९ गते बन्दसूची पेश गर्ने कार्यक्रम रहेको छ।

कार्यतालिका अनुसार निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय मंसिर १ गतेदेखि १० गतेसम्म रहेका छ । यसकारण नयाँ दर्ता हुन चाहने दलले कात्तिक ३० गतेसम्म दल दर्ताको प्रमाणपत्र लिइसकेर निर्वाचन प्रयोजनका लागि फेरि मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ता गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?