
News Summary
Generated by OK AI. Editorially reviewed.- उतिबेला फिल्महरू रिलमा खिच्दा, त्यसलाई धुलाउन भारतकै भर पर्दा समय र पैसा दुवै धेरै लाग्थ्यो। तर, डिजिटल युगसँगै त्यो समस्याबाट छुटकारा मिलेको छ।
- आजको दिनमा नेपाली फिल्महरू एट के (8K) रिजोलुसनसम्म खिच्न थालिसकिएको छ। तर विश्वमा आइम्याक्स जस्तो प्रविधिमा रमाइरहँदा भीएफएक्स, इनडोर स्टुडियो जस्ता प्रविधिहरूमा नेपाली फिल्म आलोकाँचो नै देखिन्छ।
- डिजिटल प्रविधिको विकासले नेपाली फिल्म उद्योगमा सुटिङ, एडिटिङ र प्रचारमा ठूलो सुधार ल्याएको छ र उद्योगले अझै प्राविधिक र सिर्जनात्मक सम्भावना राख्छ।
१६ साउन, काठमाडौं। कुरो सन् १८८८ को हो। बेलायतको लिड्समा फ्रान्सेली आविष्कारक लुइस ले प्रिन्स एउटा भिडियो खिच्छन्, जम्मा दुई सेकेन्डको। त्यस भिडियोमा उनको परिवारका सदस्यहरू बगैंचामा खेल्दै गरेका हुन्छन्। त्यस भिडियोलाई आज ‘राउन्डहे गार्डेन सिन’ नामले चिनिन्छ।
उक्त रेकर्डिङ प्रिन्स आफैंले तयार पारेको सिङ्गल लेन्स क्यामेराबाट खिचिएको थियो। आज प्रिन्सको त्यही भिडियोलाई विश्वको पहिलो रेकर्डेड फिल्म मानिन्छ। तर त्यसमा कुनै कथा थिएन।
उनको यो काम पछि गएर लुमिएर ब्रोदर्स र थोमस एडिसन जस्ता अन्य आविष्कारकका लागि क्यामेराको प्रविधि परिमार्जन गर्न निकै सहयोगी साबित भयो। सोही कारण आज उनलाई ‘सिनेम्याटोग्राफीका पिता’ को नामले समेत चिन्ने गरिन्छ।
लुइस ले प्रिन्सको उक्त उपलब्धि आधारभूत थियो। त्यसमा अन्य आविष्कारकहरूले थप परिमार्जन गर्दै लगे। आज सिनेमालाई जन्म दिने श्रेय भने लुमिएर ब्रोदर्स (अगस्ट र लुइस) लाई जान्छ। किनकि, यी फ्रान्सेली दाजुभाइले १८९५ डिसेम्बरमा पेरिसमा पैसा लिएर पहिलो पटक दर्शकलाई फिल्म देखाएका थिए। जुन थियो- वर्कर्स लिभिङ द लुमिएर फ्याक्ट्री।
४६ सेकेन्डको उक्त फिल्ममा कारखानाबाट बाहिर निस्कने कामदारहरूको दैनिक दृश्य देखाइएको थियो। उक्त फिल्म उनीहरूले सिनेम्याटोग्राफ नामक उपकरणबाट खिचेका थिए। जसमा मोसन पिक्चर क्यामेरा, फिल्म प्रिन्टर, प्रोजेक्टर लगायत अन्य उपकरण थिए। र, त्यो उपकरणलाई उनीहरूले प्याटेन्ट पनि गराएका थिए।
त्यस समयमा लुमिएर ब्रोदर्सले अन्य फिल्महरू पनि बनाए। सार्वजनिक स्थानमा फिल्म प्रदर्शनी पनि गरे। त्योभन्दा पनि उनीहरूले आफ्नो आविष्कारलाई व्यवसायीकरण गर्न थाले। भन्नुको अर्थ, अरूहरूलाई सशुल्क बिक्री–वितरण तथा सञ्चालन सम्बन्धी तालिम दिन थाले।
यसले सिनेमालाई लोकप्रिय बनाउन मद्दत गर्यो। सिनेमालाई वैज्ञानिक कुराबाट व्यावसायिक उद्योग तथा मनोरञ्जनको स्रोत बनाउन मार्ग देखायो।

त्यसपछि थोमस एडिसनले भिटास्कोप नामक प्रविधि बनाए। जसले फिल्महरूलाई सार्वजनिक रूपमा देखाउन ठूलो सहयोग गर्यो। त्यसपछि फिल्म र क्यामेरालाई लिएर प्रशस्त कामहरू भए। हुँदै गए।
****
सन् १८०० दशकको उत्तरार्धलाई चलचित्रको प्रारम्भिक चरण मानिन्छ। यो समयमा चलचित्र श्याम–श्वेत र ध्वनिरहित हुन्थे। सन् १८९४ देखि १९२९ सम्म फैलिएको यो समयलाई ‘साइलेन्ट एरा’ भनिन्छ। कतिपय फिल्म हलमा प्रदर्शन गरिंदा पियानोवादकदेखि पूर्ण अर्केस्ट्रासम्म पनि राखिन्थे। त्यसको उद्देश्य दृश्यसँगै आवाज देखाउनुहुन्थ्यो। तर सबैमा यसो गर्न सम्भव थिएन।
त्यसपछि सन् १९२७ मा ‘द ज्याज सिङ्गर’ नामक फिल्म रिलिज हुन्छ। यो फिल्म ध्वनि सहितको विश्वको पहिलो फिल्म हो। यो फिल्मपछि टल्किज् चलचित्र (आवाजसहित) को सुरुआत हुन्छ। यद्यपि, यो फिल्मभन्दा अघि नै रङ्गीन फिल्महरू बन्न थालिसकेका थिए। तर तिनीहरू प्रारम्भिक चरणमा थिए। अर्थात्, ‘द ज्याज सिङ्गर’ले आवाजको प्रविधिमा क्रान्ति ल्याए जस्तो रङले त्यतिबेलासम्म व्यापकता पाइसकेको थिएन।
सन् १९३० पछिको दशकमा भने थ्री-स्ट्रिप टेक्निकलर प्रविधि विकास भयो। यसबाट रातो, हरियो र नीलो रङ प्रयोग गरी चलचित्रमा रङ भर्ने काम गरिन्थ्यो। सन् १९३२ को वाल्ट डिज्नीको कार्टुन ‘फ्लावर्स एन्ड ट्रिज’ बाट यो प्रविधि शुरु भएको थियो। यसपछि भने विस्तारै रङ्गीन र आवाज सहितका फिल्महरू पनि बन्न थाले। यी प्रविधिहरू पनि सहज हुँदै गए।
****
संसारमामा चलचित्रको उदय भएको आधा शताब्दीपछि मात्रै यो माध्यम नेपाली भूमिमा भित्रिएको देखिन्छ । नेपाली चलचित्र क्षेत्रको विकास क्रमलाई खोतल्दै जाने हो भने त्यति लामो इतिहास छैन । नेपाली भूमिमै बनेको पहिलो चलचित्र आमा (वि.सं. २०२२), निजी क्षेत्रबाट पहिलो पटक बनेको माइतीघर (वि.सं. २०२३) लाई चलचित्र निर्माणको थालनी मान्दा त नेपाली सिनेमाले जम्मा ६ दशक हाराहारी मात्रै पार गरेको छ ।
आमा फिल्म तत्कालीन श्री ५ को सरकारको सूचना विभागले निर्माण गरेको थियो। फिल्मलाई हीरासिंह खत्रीले निर्देशन गरेका थिए। यो फिल्ममा शिवशंकर मानन्धर र भुवन चन्द मुख्य कलाकार थिए। तर यी दुवै फिल्म श्याम–श्वेत थिए।

नेपालकै पहिलो रंगीन फिल्म भने कुमारी हो। जसलाई प्रेमबहादुर बस्नेतले २०३४ सालमा बनाएका थिए। यो फिल्मपछि नेपाली चलचित्र उद्योग रङ्गीन युगमा प्रवेश गरेको थियो।
निजी क्षेत्रबाट बनाइएको पहिलो नेपाली फिल्म भने ‘माइतीघर’ हो। सुमोनान्जली फिल्मस् प्रालिले निर्माण गरेको यो फिल्म २०२२ मा रिलिज भएको थियो। यसमा माला सिन्हा र चिडम्बरप्रसाद लोहनीले मुख्य भूमिका निभाएका थिए। यो फिल्मले फिल्म उद्योगमा निजी क्षेत्रको सक्रियता शुरु गरेको मानिन्छ।
यसरी फस्टाउँदै गएको फिल्म उद्योगलाई थप संस्थागत र पोषण गर्न सरकारले २०२८ सालमा शाही नेपाल चलचित्र संस्थान स्थापना गर्यो। जुन आज चलचित्र विकास बोर्डका नामले चिनिन्छ।
बोर्डका अनुसार आजको दिनसम्म नेपालमा १,२०५ फिल्म बनिसकेका छन्। तीमध्ये २२२ डिजिटल र ९८३ सेलुलाइट फिल्म हुन्। तथ्याङ्कले नेपालमा लामो समय रिलमा आधारित भएर खिचिने फिल्म बनेको देखाउँछ।
त्यस्तै ‘कागबेनी’ नेपालको पहिलो डिजिटल फिल्म हो। यो टू के (2K) रिजोलुसनमा खिचिएको थियो। २०६४ ताका निर्माण भएको यो चलचित्रलाई भूषण दाहालले निर्देशन गरेका छन्। यस फिल्ममा सबै छायाङ्कनदेखि सम्पादनसँग डिजिटल प्रविधि प्रयोग गरिएको थियो। यसकारण पनि यो फिल्मलाई नेपाली सिने उद्योगमा महत्वपूर्ण मोड मानिन्छ।
त्यसयता नेपालमा एनिमेटेड, साई-फाई (विज्ञान कथामा आधारित) फिल्म पनि बनाउन प्रयास गरिएका छन्। तर ती त्यति सफल भएनन्। महत्त्वपूर्ण मोड बनेनन्।
आजको दिनमा नेपाली फिल्महरू एट के (8K) रिजोलुसनसम्म खिच्न थालिसकिएको छ। तर विश्वमा आइम्याक्स जस्तो प्रविधिमा रमाइरहँदा भीएफएक्स, इनडोर स्टुडियो जस्ता प्रविधिहरूमा नेपाली फिल्म आलोकाँचो नै देखिन्छ। तर उद्योगका व्यक्तिहरू भने आधा शताब्दी लामो उद्योगमा प्रविधिले मारेको फड्कोमा सन्तुष्ट हुनुपर्ने बताउँछन्।
सुटिङ प्रविधिमा व्यापक परिवर्तन
उद्योगमा ३० वर्षदेखि सक्रिय सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधान विगत सम्झँदा शुरुमा रिल (एनालग फिल्म) मा फिल्म खिच्दा धेरै कठिनाइहरू भोगेको सुनाउँछन्। उनका अनुसार त्यसबेला प्रविधिको अभाव र उपलब्ध उपकरणहरूको सीमितताका कारण विभिन्न समस्या उत्पन्न हुन्थे।

तीमध्ये मुख्य समस्या फिल्मको गुणस्तरमा आउने ह्रास थियो। शुरुमा फिल्महरू ३५ एमएममा ब्ल्याक एन्ड ह्वाइटमा सुटिङ हुन्थे। त्यसपछि कलर फिल्मको जमाना आउँदा पनि केही समय ३५ एमएममै सुटिङ भयो।
तर, पछि जब फिल्मको निर्माण १६ एमएममा झर्यो, तब गुणस्तरमा ‘डाउनग्रेड’ (ह्रास) आयो । १६ एमएममा खिचिएका यी फिल्महरूलाई प्रदर्शन गर्न ३५ एमएममा ‘ब्लो अप’ गर्नुपर्थ्यो। कारण त्यसबेलाका हलहरूमा ३५ एमएममा मात्र फिल्म प्रदर्शन हुने व्यवस्था थियो। त्यसरी ‘ब्लो अप’ गर्दा फिल्मको गुणस्तरमा सम्झौता गर्नुपर्थ्यो।
अलिपछि डिजी बेटा जस्ता सुरुआती डिजिटल फर्म्याटहरू आए। तर हल फर्म्याटमा नभएकाले तिनलाई पनि ३५ एमएमको पोजिटिभ प्रिन्टमा ‘ब्लो अप’ गरेर मात्र प्रदर्शन गर्नुपर्थ्यो। यी कारणले फिल्मको गुणस्तरमा ह्रास आउँथ्यो।
अर्को महत्त्वपूर्ण समस्या उपकरणहरूलाई म्यानुअल चलाउनुपर्थ्यो। किनकि, एनालगमा फिल्म खिच्दा म्यानुअल उपकरणहरूका कारण धेरै कठिनाइ हुन्थ्यो। आधुनिक स्टेडीक्याम, रोनिन र ड्रोन जस्ता उपकरणहरूको अभावमा सिनेम्याटोग्राफीको काम निकै चुनौतीपूर्ण थियो।
त्यो समयमा एरियल सटहरू लिन ठूलो चुनौती थियो। हेलिकोप्टर नै प्रयोग गर्नुपर्थ्यो। तर त्यसो गर्दा पनि प्रायः सटहरू राम्रो नआउने वा भाइब्रेट हुने गर्थ्यो। यसैगरी लाइटिङ (प्रकाश व्यवस्थापन) को लागि आवश्यक उच्च ऊर्जा पनि एउटा प्रमुख समस्या थियो।
किनकि, एनालग फिल्मका लागि प्रयोग हुने लाइटिङ उपकरणहरूलाई ठूलो जेनेरेटर वा थ्री फेज लाइनको आवश्यकता पर्थ्यो। यसले सुटिङको लागि तयारी र व्यवस्थापनमा धेरै खर्च र जटिलता थप्थ्यो।
तर, आज घरकै सिङ्गल फेज मिटरबाट पनि फिल्मको लाइटिङ आवश्यकता पूरा गर्न सकिन्छ। त्यसमा डिजिटल क्यामेरा हुँदा रिल सकिने कुरालाई धेरै सोचिरहन परेन। किनकि, कलाकारहरूले बारम्बार टेक खाँदा आर्थिक बोझ पनि उत्तिकै थपिरहेको हुन्थ्यो।
यद्यपि, अहिले जुन हिसाबले डिजिटल प्रविधिको विकास भयो, त्यसले फिल्म मेकिङलाई धेरै हदसम्म सहज बनाएको छ।
एडिटिङमा आत्मनिर्भर नेपाल
फिल्म एडिटिङमा करिब २० वर्ष जति बिताइसकेकी रक्षासिंह राणासँग एनालगमा काम गरेको अनुभव छैन। उनले डिजिटल प्रविधिबाटै उद्योगमा एडिटिङको काम गर्न थालेकी थिइन्। तर डिजिटल प्रविधि भए पनि उनले यसमा एउटा परिवर्तन देखेका छन्।

उनले नेपालमा पहिलो पटक नन्-लिनियर एडिटिङ सिस्टमका रूपमा भित्रिएको एभिड सिस्टममा काम थालेकी हुन्। त्यो बेला अहिलेको जस्तो सामान्य डेस्कटपमा एडिटिङ हुँदैनथ्यो। बरु एउटा कोठै भरिने गरी ठूलो सेटअप हुन्थ्यो, जसमा दुईवटा कम्प्युटर र ठूलो सीपीयू हुन्थ्यो।
फिल्म एडिट गर्न पहिले बिटा क्यासेटबाट फुटेजलाई हार्ड ड्राइभमा क्याप्चर गरिन्थ्यो। त्यसपछि हार्ड ड्राइभमा एडिट गरेर अन्य फर्म्याटमा आउटपुट दिइन्थ्यो। तर तीमध्ये कतिपय काम गर्न भारतको मुम्बईमा भर पर्नुपर्थ्यो।
किनकि, ३५ एमएम नेगेटिभमा सुटिङ गरिसकेपछि त्यसलाई मुम्बई लगेर प्रोसेसिङ गरिन्थ्यो। त्यहाँबाट २५ फ्रेम फर्म्याटमा परिवर्तन गरेर बिटा क्यासेटमा नेपाल ल्याइन्थ्यो। त्यसमा एडिटिङ गरेपछि फेरि ‘कटलिस्ट’ मुम्बई पठाइन्थ्यो। जसअनुसार नेगेटिभ काटेर मात्र पोस्ट-प्रोडक्सनको बाँकी काम हुन्थ्यो।
यो काम गर्न एक हिसाबले निकै झन्झट थियो। फिल्म एडिट गरेर सिध्याउन महिनौं पनि लाग्न सक्थ्यो। एकफेर राणाले त्यस्तै सामना गरिन्। फिल्म थियो, ‘जीवन रेखा’ । त्यसबेला सो फिल्मको पहिलो ड्राफ्ट नै साढे चार घण्टा जस्तो बन्यो। त्यो बेला तीन घण्टालाई फिल्मको स्ट्यान्डर्ड लेन्थ मानिन्थ्यो। एक घण्टा काट्न उनलाई दुई/तीन महिना लागेको थियो।
फिल्म एडिट गर्न त्यसबेला प्राविधिक रूपमा परनिर्भरताको यस्तो अवस्था थियो। तर अहिले त्यस्तो समस्या नभएको उनको विश्वास छ। अचेल पनि कतिपय फिल्ममेकर एडिटिङका लागि भारतमा जाने गरेका छन्। तर अब त्यस्तो बाध्यता नभएको उनको भनाइ छ। फिल्म एडिटिङका लागि नेपाली फिल्ममेकरहरूले भारतमा भर पर्नु नपर्ने राणा दाबी गर्छिन्।
आज नेपाली फिल्म उद्योगमा फाइनल कट प्रो र प्रिमियर प्रो जस्ता आधुनिक सफ्टवेयरहरू प्रयोग गरेर एडिटिङको काम गरिन्छ। तर अझै पनि धेरैजसो पाइरेटेड सफ्टवेयर प्रयोग गरेर काम गरिने तीतो यथार्थ भएको उनी बताउँछिन्। ओरिजिनल सफ्टवेयर किन्न सक्ने आर्थिक हैसियत नभएकाले त्यस्तो बाध्यता सिर्जना भएको उनी सुनाउँछिन्।
यी चुनौतीका बाबजुद नेपाली सिनेमा प्राविधिक रूपमा कमजोर नभएको उनको भनाइ छ। उनी विदेशी सिनेमाको तुलनामा नेपाली कलर करेक्सन, कलर ग्रेडिङ र क्यामेरा वर्कमा कुनै कमजोरी नरहेको र नेपाली टेक्निसियनहरू पनि कम नभएको बताउँछिन्।
पोस्टर डिजाइन र चलचित्र प्रचारमा नवीनता
हलसम्म दर्शकलाई तान्न फिल्मको पोस्टर निकै महत्त्वपूर्ण हुन्छ। त्यसमा प्रचार रणनीतिले पनि ठूलै प्रभाव पार्छ। पछिल्लो समय यो कुरामा जमिरहेका छन्, भीमसेन शाही अर्थात् रोयल भीमसेन।
उनले चलाएको ट्राइडेन्ट कन्सेप्ट नामक कम्पनीले साम्बाला, पुजार सार्की, ऊनको स्वेटर लगायत ९५ बढी फिल्महरूको काम गरेको छ। उनका अनुसार पहिलेका नेपाली चलचित्रका पोस्टरहरूमा बलिउडको प्रभाव धेरै देखिन्थ्यो।
त्यतिबेला पोस्टरहरूमा मुख्यतः नायक-नायिकाको अनुहार (फेस भ्यालु) लाई प्राथमिकता दिई टाउको मात्र राखिन्थ्यो। तर अहिले पोस्टर डिजाइनमा ठूलो परिवर्तन आएको छ। अहिलेका दर्शकलाई आकर्षित गर्ने पहिलो सामग्री तथा मुख्य माध्यम चलचित्रको पोस्टर बनेको छ।
यसका लागि शीर्षक लेखन (टाइटल), क्यालिग्राफी र टाइपोग्राफी जस्ता कुरामा विशेष जोड दिइरहेको भीमसेन सुनाउँछन्। यसका साथै पोस्टर डिजाइन मात्र नभई चलचित्रको प्रचार रणनीतिमा पनि व्यापक परिवर्तन आएको उनको बुझाइ छ।
पहिले माइकिङ गर्दै टोल-टोल र गाउँ-गाउँ गएर फिल्मको प्रचार गरिन्थ्यो। हलमा ट्रेलर देखाउने, पोस्टर टाँस्ने, एफएम तथा पत्रिकामा विज्ञापन दिने चलन थियो। तर आज डिजिटल युगमा सबैको हातमा मोबाइल भएकाले डिजिटल माध्यम नै दर्शकहरूसँग जोडिने मुख्य माध्यम बनेको उनी सुनाउँछन्।
कुनै पनि फिल्मको सामाजिक सञ्जालमा छुट्टै पेज बनाएर प्रचारप्रसार गर्न आफ्नै कम्पनीले थालेको उनको दाबी छ। त्यसमा कुन सामग्री कति बजे सार्वजनिक गर्ने ? कसरी दर्शकलाई आकर्षित गर्ने ? जस्ता कुराहरूदेखि फिल्मको घोषणा, प्रदर्शन र त्यसपछिका गतिविधिबारे जानकारी दिने उनी सुनाउँछन्।

त्यस्तै आजभोलि बिलबोर्ड तथा डिजिटल स्क्रिनतिर फिल्महरूको विज्ञापन गरिन थालेको उनी बताउँछन्। उनको अनुभवमा पोस्टर डिजाइन र प्रचारप्रसारमा नेपाल अन्य फिल्म उद्योग बराबर नै छ। त्यसमा कति मात्रा र लगानी भन्ने कुरा भने फरक भएको भीमसेनको बुझाइ छ।
सन्तोषजनक वृद्धि, सम्भावना अझ बढी
ओस्कार फिल्म कलेजका प्राचार्य रामराजा दाहाल नेपालमै फिल्म सम्बन्धी औपचारिक शिक्षा (जस्तै कलेजहरूमा पढाइ) को सुरुआत हुनुले प्राविधिक विकासमा ठूलो सहयोग पुग्ने अपेक्षा गर्छन् । यसको कारणमा पढेर आउने जनशक्तिले नयाँ प्रविधि, विश्वभरका फिल्म निर्माणका शैली र विभिन्न विधिबारे खोजी र जानकारी राख्ने उनको भनाइ छ। जसले गर्दा उद्योगमा नयाँ विचार र प्रविधिहरू भित्र्याउन सहयोग पुग्ने उनी सुनाउँछन्।
त्यस्तै, आजसम्म भएको नेपाली फिल्म उद्योगको प्राविधिक विकासलाई सकारात्मक मान्न सकिने उनको भनाइ छ। उतिबेला फिल्महरू रिलमा खिच्दा, त्यसलाई धुलाउन भारतकै भर पर्दा समय र पैसा दुवै धेरै लाग्थ्यो। एउटा १० मिनेटको रिललाई नै करिब ७/८ हजार रुपैयाँ लाग्थ्यो। त्यसले गर्दा राम्रो नभए पनि मन बुझाउनुपर्ने अवस्था थियो।
तर, डिजिटल युगको आगमनले त्यो बाध्यताबाट छुटकारा दिएको छ। क्यामेराहरू पहिलेको तुलनामा अझै महँगा भए पनि अन्य पाटो धेरै सजिलो भएको छ। समय र पैसाको बचत भएको छ। राम्रो नतिजाका लागि मन लागेसम्म रिटेक लिएर काम गर्न सम्भव भएको छ।
नेपाली फिल्म उद्योगमा भीएफएक्स (भिजुअल इफेक्ट्स), सम्पादन र ध्वनि (साउन्ड) डिजाइन लगायत क्षेत्रमा सुधार आएको दाहाल बताउँछन्। आवाजमा एम्बियन्ट साउन्ड, फोली, आवश्यक स्थानमा मात्र म्युजिक स्कोर गर्ने, मौनता (साइलेन्स) लाई पनि शक्तिशाली तत्वको रूपमा प्रयोग गर्ने परिवर्तन आएको उनी सुनाउँछन्। तर सोचेजति हुन भने नसकेको उनको भनाइ छ। त्यसका लागि प्रविधि मात्र होइन, दक्ष जनशक्ति, सिर्जनात्मकता र दूरदृष्टि आवश्यक पर्ने उनको भनाइ छ। समग्रमा सन्तोषजनक वृद्धि तर सम्भावना अझ बढी भएको दाहाल बताउँछन्।
फिल्म भनेको दृश्य र ध्वनिको मिश्रण हो। यो प्राविधिक कुरा हो। पटकथा राम्रो हुनु त फिल्मका लागि अनिवार्य छँदैछ, प्राविधिक पाटो पनि त्यति नै राम्रो हुनु आवश्यक छ।
यसरी फरक-फरक क्षेत्रका व्यक्तिहरू नेपाली फिल्म उद्योगमा भइरहेको प्राविधिक विकासलाई सकारात्मक नजरबाट नै हेर्छन्। त्यसमा उनीहरूको सीमित कुरामा मात्र गुनासो छ।
प्रतिक्रिया 4