+
+
Shares
कभरस्टोरी विचार :

‘अब क्यामेरा वा प्रविधिको लागि सिनेमा बन्ने भयो’

संसारमा जतिसुकै प्रविधिको विकास भए पनि हाम्रो सिर्जनात्मक अभिव्यक्ति त्योभन्दा बढी विकसित हुनुपर्छ । सिर्जनात्मक अभिव्यक्तिको विकास अभावमा संसारमा हुने जुनसुकै प्राविधिक विकास उपलब्धिविहीन हुन्छन् ।

मनोज पण्डित मनोज पण्डित
२०८२ साउन १६ गते २१:१२

सेल्युलाइटबाट डिजिटल फिल्म मेकिङमा गइरहँदा त्यसको लाभ लिने सम्भवत: म पहिलो पुस्ताको व्यक्ति हुँ । आज डिजिटल प्रविधिले हामी जस्ता फिल्ममेकरहरूलाई धेरै फाइदा दिएको छ ।

पहिरो कुरा, त्यसले सीमितता घटाएको छ । पहिले म्यानुअल प्रविधिमा सिर्जनात्मक काम गर्न धेरै सीमा हुन्थे । अहिले केही नयाँ प्रयोग गर्न धेरै सम्भावना भएको छ ।

आरामले काम गर्न आत्मविश्वास दिएको छ । पहिले धेरै पक्षमा परनिर्भरता हुनुपर्थ्यो । अहिले लचिलोपन र स्वतन्त्रताको अनुभूति दिएको छ ।

सैद्धान्तिक विश्लेषण गर्ने हो भने यी सबै प्रविधिहरू विश्वव्यापीकरणका कारण नेपालसम्म स्वाभाविक प्रक्रियाबाट आएका हुन् । ती प्रविधि विकास गर्नमा नेपाली सिनेमा क्षेत्रको कुनै योगदान छैन । हामी त केवल यसका उपभोक्ता हौं ।

हामी विस्तारै प्रविधिलाई साधन (अब्जेक्ट) को रूपमा भन्दा पनि विषय (सब्जेक्ट)को रूपमा लिन थालिरहेका छौं । फलस्वरूप यसले हाम्रो फिल्म मेकिङमा प्रभुत्व सिर्जना गरिरहेको छ ।

आजको प्रविधि हाम्रो लागि साधन बन्नुपर्छ । तर यस्ता प्रविधि हामीमाथि हाबी भइरहेका छन् । हामी अहिले यस्तो ‘ट्रयाप’ मा परेका छौं कि पछिल्लो १५/२० वर्षको नेपाली फिल्म मेकिङको विकासबारे सबैभन्दा पहिला प्रविधि मात्र देख्छौं । त्यस्तो हुनुको कारण प्रविधिको सहज उपलब्धता र यसको गुणस्तरको विकास हो ।

तर यथार्थमा प्रविधिलाई नै सिनेमा मेकिङको मूल सार बनाउनु हुने थिएन । हामीले त प्रविधि विकासको महत्वलाई प्राथमिकता दिन थालेका छौं । पहिले हामी ‘सब्जेक्ट’ थियौं किनभने ‘अब्जेक्ट’को अभाव थियो । तर, अहिले प्रविधि यति धेरै उपलब्ध र शक्तिशाली भयो कि फिल्म मेकिङको चेतना नै ‘अब्जेक्ट’ बन्यो । प्रविधि चाहिं ‘सब्जेक्ट’ बनिदियो ।

अहिलेको सबैभन्दा ठूलो खतरा प्रविधिको प्रभुत्व र सिर्जनात्मकता बीचको संघर्ष हो । मानिसहरू अहिले ‘म यो क्यामेरा वा त्यो क्यामेरामा फिल्म खिच्ने’ भन्दै कुरा गरिरहेका हुन्छन् । सिनेमा अब क्यामेरा वा प्रविधिको लागि बन्ने भयो ।

यसले सिनेमालाई ‘सब्जेक्टिभ एक्सपिरियन्स प्रोसेस’ बाट विस्तारै ‘अब्जेक्टिभ प्रोसेस’ को रूपमा विकास हुन थालेको छ । जुन अहिले नेपाली सिनेमाको सबैभन्दा ठूलो ‘ट्रयाप’ हो ।

अहिले सिनेमा हेर्दा ‘क्यामेराले खिचेको कथा’ जस्तो देखिन्छ । त्यससँगै आउने भिजुअल, कलर, साउन्ड, म्युजिक आदिको संकलन जस्तो मात्रै देखिन थालेको छ । जबकि मूलमा सिनेमेटिक अनुभव हुनुपर्थ्यो । त्यो ‘एस्थेटिक’ अहिले विस्तारै ‘मेसिनिजम’ तर्फ गइरहेको छ ।

अहिले हामी ‘पोस्ट ह्युमनिजम’ अर्थात् उत्तरमानवतावादको कालखण्डमा छौं, जहाँ प्रविधि मानव हितका लागि हुनुपर्थ्यो । तर, अहिले प्रविधि मानव हित विकासमाथि नै हाबी भइरहेको छ । सिनेमेटिक विकासमा पनि प्रविधि हावी भइरहेको छ । यो संकट बढ्दो छ ।

हाम्रो सोच नै टेक्नोलोजी ड्रिभन हुँदा हरेक कुरालाई प्राविधिक आँखाले मात्रै हेर्न थालेका छौं । यसले हामीलाई ज्यादा प्राविधिक बनाइरहेको छ । प्रविधिप्रतिको यो लालसाले हाम्रो ‘ह्युमनिजम’ (मानवता) को सारलाई गुमाउँदै लगेको छ ।

विश्व सिनेमामा क्रिस्टोफर नोलन जस्ता निर्देशकहरूले प्रविधिलाई सिनेमेटिक अनुभव बढाउन प्रयोग गर्छन् । तर, हाम्रोमा प्रविधि प्रयोग गर्दा सिनेमेटिक अनुभव नै गुम्ने अवस्था छ । प्रविधिको हिसाबले कुनै सिनेमा उदाहरण दिन मिल्ने खालका पनि छैनन् ।

संसारमा जतिसुकै प्रविधिको विकास भए पनि हाम्रो सिर्जनात्मक अभिव्यक्ति त्योभन्दा बढी विकसित हुनुपर्छ । सिर्जनात्मक अभिव्यक्तिको विकासको अभावमा संसारमा हुने जुनसुकै प्राविधिक विकास उपलब्धिविहीन हुन्छन् ।

प्रविधि भनेको मानव अभिव्यक्तिको बहुआयामिकता हो । यसको सार भनेको मानव अभिव्यक्तिलाई कसरी सबैभन्दा स्वतन्त्र र प्रामाणिक हिसाबले भन्न सकिन्छ भन्ने कुराको ‘इन्ह्यान्समेन्ट’ हो ।

आज अभिव्यक्तिको अभावले गर्दा प्रविधि एकदमै सतही र खोक्रो भएको छ । प्रविधि खोक्रो हुने बित्तिकै त्यो अनुभव गर्ने व्यक्तिको लागि प्रविधिको प्रतिनिधित्व नै सिनेमाको लागि सबैभन्दा ठूलो बोझ बनिदिन्छ ।

प्रविधिको सबैभन्दा ठूलो सामर्थ्य भनेको ‘इन हाइडिङ’ (लुकेको अवस्था)मा हुनु हो । यसको अनुपस्थितिको प्रस्तुति नै सिनेमेटिक अनुभव हो । तर, हाम्रोमा त्यो संवेदनशीलताको विकास भएन ।

हाम्रो समाज ‘वैज्ञानिक समाज’ होइन । हामीले विज्ञान के हो ? प्रविधि के हो ? अभिव्यक्ति के हो ? वस्तुपरकता के हो ? भन्ने कुराको भिन्नता बुझेका छैनौं । प्रविधि त अन्तत: ‘माइन्ड’ (मन) को अभिव्यक्ति हो ।

तर, हाम्रो ‘मन’ को परिपक्वताको अभावमा हामीले प्रविधिलाई साँच्चिकै बुझ्न सकेका छैनौं । यसको सारलाई बुझ्न सकेका छैनौं । नतिजास्वरूप हामीले प्रविधिलाई हाम्रो अक्षमता लुकाउने ढाल पनि बनाउन थालिसकेका छौं ।

संसारका नामुद फिल्ममेकरहरूले प्रविधिलाई कलात्मक माध्यम बनाउँछन् बनाउँछन् । जब यो माध्यम हुन्छ, तब यो ‘मिडिया’ पनि बन्छ । अनि अभिव्यक्ति र मिडियाको सहकार्यबाट एक किसिमको सुन्दर अनुभव जन्मन्छ । यसरी प्रविधि वास्तवमा कलाकारको आर्टिस्टिक टुल्स, आर्टिस्टिक मिडिया हुनुपर्ने हो ।

हामी भने यसलाई अझै हतियारको रूपमा प्रयोग गर्न खोजिरहेका छौं । हतियार कसरी चलाउने र किन चलाउने भन्ने स्पष्ट उद्देश्य हामीसँग छैन । त्यसैले त्यो हतियार केवल हिंसा मात्र देखिन्छ । प्रविधि हाम्रो सौन्दर्य चेतनाको पाटोमा हिंसा बनेको छ । यसले हामीलाई सहज बनाउनुपर्ने ठाउँमा झन् जालमा पारिदिएको छ । आइम्याक्सले खिचे पनि उही हाल हुने अवस्था छ ।

संसारमा जतिसुकै प्रविधिको विकास भए पनि हाम्रो सिर्जनात्मक अभिव्यक्ति त्योभन्दा बढी विकसित हुनुपर्छ । सिर्जनात्मक अभिव्यक्तिको विकासको अभावमा संसारमा हुने जुनसुकै प्राविधिक विकास उपलब्धिविहीन हुन्छन् । हामी ‘प्रविधिको त विकास भयो’ भनेर कुरा गर्छौं, तर त्यो प्रविधि कसरी अधिकतम उपलब्धिमूलक हुन्छ भन्ने कुरामा अनभिज्ञ छौं । अहिले हामी त्यही भ्रममा परिरहेका छौं ।

हाम्रो सिनेमा आजसम्म एस्थेटिक मिडिया बनेको छैन । हामी एस्थेटिक तहमा पुगेकै छैनौं । ‘यसले यस्तो क्यामेरामा खिच्यो, मैले यस्तो ल्याएको छु’ भन्ने एउटा लालसा लिएर मात्र हिंडिरहेका छौं । यसले सिनेमालाई ‘इन्टर्नलाइज’ (आन्तरिकीकरण) गर्न सकेका छैनौं, यसलाई केवल ‘एक्सटर्नलाइज’ (बाह्यीकरण) मात्र गरिरहेका छौं भन्ने देखाउँछ ।

प्रविधिको विकास पनि ‘एक्सटर्नलाइजेसन’ को चरणमा मात्र छ । राम्रा फिल्ममेकरहरूले संसारमा प्रविधिलाई ‘इन्टर्नलाइज’ गरिरहेका छन् । हामीले ‘इन्टर्नलाइज’ गर्न नसक्नु नै हाम्रो कमजोरी हो । यसो हुँदा विकसित प्रविधिको हामीले पूर्ण रूपमा अनुभव गर्न पाएका छैनौं ।

‘दासढुंगा’ त्यसबेलाको सामान्य प्रविधिबाट खिचिएको थियो । तर त्यसलाई कलात्मक स्वतन्त्रताका लागि अधिकतम प्रयोग गर्न खोजिएको छ । ‘लूट’ लाई ट्रेन्ड सेटर फिल्म बनाउनुमा पनि प्रविधिलाई आफ्नो कलात्मक अभिव्यक्तिको साधन बनाउनु थियो ।

यो कुरा फिल्म मेकिङको मूल उद्देश्य अनुसार फरक हुन सक्छ । यदि फिल्ममेकरहरू दर्शकलाई उत्कृष्ट, अनौठो अनुभव दिन चाहन्छन्, उनीहरूलाई अनौठो संसारमा प्रवेश गराउन वा अनुभव गराउन चाहन्छन् भने त्यस्तो फिल्म मेकिङ प्रक्रियामा प्रविधि सहयोगी हुन जान्छ ।

तर, जब मुख्य उद्देश्य नै ‘प्रविधि’को मात्र फाइदा लिने र आफ्नो स्वार्थ पूरा गर्ने हुन्छ, तब कहिल्यै पनि राम्रो सिनेमा बन्न सक्दैन ।

(निर्देशक पण्डितसँग अनलाइनखबरका लागि सापेक्षले गरेको कुराकानीमा आधारित ।)

लेखक
मनोज पण्डित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?