
News Summary
Generated by OK AI. Editorially reviewed.- सिनेमा संख्या र अभिनय क्षमताका आधारमा यी अभिनेत्रीहरु दर्शकमा बढी रुचाइएका छन् र प्रभावकारी मानिन्छन्।
‘अभिनेतालाई ६१ लाख रुपैयाँ पारिश्रमिक दिँदा अभिनेत्रीले कति पाए ?’ केही समयअघि एउटा सिनेमाको लफडा चलिरहँदा धेरैले यही प्रश्न गरे । निर्देशक र निर्माताले यसको उत्तर दिन सकेनन् । ‘हरेक कुरा खुलाउन जरुरी छैन’ भनी उल्टै जंगिए ।
त्यहाँ उपस्थित अभिनेत्रीका लागि यो सबैभन्दा असहज परिस्थिति थियो । उनले न सगर्व आफ्नो पारिश्रमिक भन्न सक्थे, न निर्धक्क लुकाउन नै । उनले जसोतसो प्रश्नलाई मत्थर बनाएर आफ्नो बचाउ गरिन् ।
यो सांकेतिक दृश्य थियो, नेपाली सिनेमाको एउटा पाटो उदांगो बनाउनलाई । जसले अभिनेत्रीहरुको परिस्थिति र मनस्थितिलाई स्पष्ट दर्शाउँछ । जहाँ अभिनेताहरु १८ देखि ५० लाखसम्म पारिश्रमिक बुझेका धाक लगाइरहेका छन्, त्यही अभिनेत्रीहरुले पारिश्रमिक लुकाउनुपर्ने बाध्यता आइलाग्छ ।
सिनेमाभित्र पनि पुरुष सत्ताले बाजी मारिरहेको यो पृष्ठभूमिमा बेलाबखत रेखा थापाको हाँक सही लाग्छ । उनी आफैं सिनेमा निर्माण गर्छन्, आफैंलाई केन्द्रीय चरित्रमा उभ्याउँछन् र आफैं हिरो बन्छन् । रेखाले एक सिनेमामा आफ्नै मनोभाव झल्कने संवाद बोलेकी छिन्, ‘छोरीको शरीर लिएर के जन्मिएकी थिएँ, हजार लडाइँ लड्नुपर्यो । बारम्बार छोरी हुन सिकायो यो समाजले । तर, म मान्छे बन्न चाहन्थें ।’
नेपाली सिनेमाले अभिनेता र अभिनेत्रीमाझ बनाएको यो फराकिलो खाडलको प्रसंग यही थाँती राखौं ।
यतिबेला चानचुन डेढ दर्जन अभिनेत्री सक्रिय छन् । यसमा अघिल्लो पुस्ता र पछिल्लो छिमलका सराबारी मिसिएका छन् । त्यसमध्ये कुन अभिनेत्री बढी रुचाइएका छन् ? कसको उपस्थितिले दर्शकमा तरंग पैदा गर्छ ?
सिनेमा संख्या, अभिनय क्षमता र निर्वाह गरेका भूमिकाले यी प्रश्नहरुको उत्तर बोक्छ । त्यसैले यसको हिसाब–किताब मिलाउनका लागि दुई प्रश्न हल गर्नुपर्ने हुन्छ ।
एक, पछिल्लो वर्षहरुमा कसले सबैभन्दा बढी सिनेमा खेले ?
दुई, कसको अभिनय प्रभावकारी रह्यो ?
मिरुना मगर
व्यवसायिक रुपले सफल सिनेमाहरुको लस्करमा मिरुना मगरको नाम पहिलो पंक्तिमा छ । जारी, ऊनको स्वीटर, कवड्डी, मनसरा जस्ता सिनेमासँगै उनले आफूलाई दर्विलोसँग नेपाली सिनेमामा उपस्थित गराइन् । खासगरी दयाहाङ राईसँग उनको केमेस्ट्री जमेको छ । जनजाति अनुहारमा उनको भूमिका खोजिन्छ । ग्रामिण गेटअप, स्वभाविक अभिनय र पात्र रुपान्तरणमा मिरुना अब्बल छिन् ।
स्वस्तिमा खड्का
सन् २०१५ मा प्रदर्शित ‘होस्टल रिटर्नस्’ बाट करियर सुरु गरेकी हुन्, स्वस्तिमा खड्काले । सानोतिनो भूमिकाबाटै स्वस्तिमाले आफ्ना यात्रालाई लम्बेतान मात्र बनाइनन्, उत्तिकै शानदार पनि । एकपछि अर्को सिनेमामा उनी थप मझिदै आइन् र सिंगो कथालाई डोहोर्याउन सक्ने सामर्थ्य जुटाइन् । बुलबुल, चिसो मान्छे जस्ता सिनेमामा उनले आफ्नो चरित्रलाई अजम्बरी बनाइन् ।
केकी अधिकारी
शालिन र सौम्य व्यक्तित्वले मात्र होइन उस्तै अभिनय क्षमताले पनि केकी अधिकारीलाई लोकप्रिय बनाएको छ । सिनेमा र समाजलाई राम्ररी बुझेकी उनी दर्शकमा गहिरो प्रभाव छाड्न सफल छिन् । त्यसैले त डेढ दशक लामो करियरमा उनी कहिँ सुस्त लाग्दैनन् ।
आँचल शर्मा
व्यवसायिक हिसाबले सफल मानिदै आएको सिनेमा शृंखला ‘नाई नभन्नु ल–४’बाट डेब्यु गरेकी आँचल शर्मा त्यसयता अविछिन्न छाइरहेकी छिन् । शत्रु गते, डिग्री माइला, दु:खी आत्मा जस्ता चलचित्रहरुमा उनले काम गरिन्, जसले बजारमा कब्जा जमायो । चञ्चल एवं चुलबुले भूमिकामा उनलाई बढी सुहाउँछ ।
वर्षा राउत
अभिनेत्री वर्षा राउतको भागमा त्यस्ता चलचित्रको थुप्रो छन्, जो व्यवसायिक रुपले एकदमै सफल भए । जस्तो, छक्का पञ्जा, जात्रा, जात्रै जात्रा, मिस्टर झोले, छक्का पञ्जा–२ । हुन त उनको डेब्यु चलचित्र पनि त्यस्तै थियो, नाइ नभन्नु ल–४ । मोडलिङबाट करियर सुरु गरेकी वर्षा नेपाली सिनेमाले खोजिरहने अनुहारमध्येकी एक हुन् ।
सुरक्षा पन्त
आलोक नेम्बाङ निर्देशित ‘अझै पनि’मा सहायक भूमिका गर्दै सिनेमामा पर्दापण गरेकी सुरक्षा प्रभावकारी अभियन क्षमताका कारण उत्तिकै गतिशिल छिन् । धनपति, गोपी, के घर के डेरा, बहाव जस्ता सिनेमामार्फत उनले अभिनयमा विविधता पस्किइन् । आमा र बुलाकीमा सुरक्षाले आफूलाई जसरी रुपान्तरण गरिन्, त्यसले धेरैको ध्यान तान्यो । कुनैपनि चरित्रलाई रोचक र कुशलतापूर्वक निर्वाह गर्ने क्षमता उनीसँग छ ।
वर्षा सिवाकोटी
नाइ नभन्नु ल–२, छक्का पञ्जा–५, परदेशी–२, वीर विक्रम–२ जस्ता सफल चलचित्रको शृंखलामा जोडिइन्, वर्षा सिवाकोटी । करिब एक दशक लामो करियरमा उनी उस्तै र उही रफ्तारमा छिन् । पशुपतिप्रसाद, गाँजाबाजा जस्ता चलचित्रमा उनको फरक प्रस्तुति निकै रुचाइयो ।
सनिश भट्टराई
अभिनेता विराज भट्टले आफ्ना पुत्र समीर भट्टलाई जुन चलचित्रबाट सार्वजनिक गरे, त्यसैको सहायक भूमिकामा थिइन् सनिशा भट्टराई पनि । चलचित्र हो, १२ गाउँ । बजारमा ठूलै हल्लीखल्ली मच्याएको यही चलचित्रबाट सनिशा पनि धेरैको नजरमा परिन् । १२ गाउँमा उनले कान्छो छिमलका समीरसँग स्क्रिन शेयर गरिन् भने चलचित्र नरसिंह अवतारमा अघिल्लो पुस्ताका सर्वाधिक प्रिय अभिनेता राजेश हमालसँग । यस्तै पछिल्लो समय उनी सर्वकालीन उपन्यास ‘शिरीषको फूल’मा एउटा अजम्बरी भूमिकाबाट रंगमञ्चमा पर्दापण गरिन्, सकम्बरीमार्फत ।
जसिता गुरुङ
सन् २०१८ मा प्रदर्शित ‘लिली बिली’बाट डेब्यु गरेकी जसिता गुरुङले पहिलो चलचित्रबाटै राम्रो प्रभाव छाड्न सफल भइन् । त्यसपछि उनले लभ स्टेशन, फर्की फर्की, ज्याकी आइएम ट्वान्टीवान जस्ता चलचित्रहरुमा अभिनय गरिन् । अहिलेका पुस्ताका धीरज मगर, अनमोल केसी, प्रदीप खड्कासँग उनको जोडी बढी रुचाइयो ।
सृष्टि श्रेष्ठ
मिस नेपाल २०१२ की शीर्ष उपाधि बिजेता हुन्, सृष्टि श्रेष्ठ । उनले गाजलुबाट चलचित्रमा डेब्यु गरिन्, जहाँ उनको अनस्क्रिन जोडी अनमोल केसी थिए । त्यसपछि रोमियो एन्ड मुना, बाँध मायाले, पोइ पर्यो काले, चिसो एस्ट्रे, द रेड सुटकेस, द सेक्रेट्स अफ राधा जस्ता चलचित्रमा उनी देखिइन् । गाजलु र द रेड सुटकेसबाट उनले धेरैको ध्यान आफूतर्फ खिच्न सफल भइन् ।
नीति शाह/दिव्या रायमाझी
नीति शाह पछिल्लो समय सक्रिय अभिनेत्रीहरुको सूचीमा छिन् । यस्तै दिव्या रायमाझीको तीव्रता पनि बढ्दो छ । यी दुवै अभिनेत्री नयाँ सम्भावनासहित नेपाली सिनेमामा आएका छन् । जदौ, मोहर, नरसिंहा अवतार, खजुरे ब्रो, ज्वाई साब जस्ता चलचित्रबाट नीति आफ्नो क्षमता पहिल्याउँदैछिन् । ‘एक्टर’बाट डेब्यु गरेकी दिव्या क्रमश: नयाँ नयाँ चलचित्रमा अनुबन्धित भइरहेकी छिन् ।
अहिले सर्वाधिक रुचाइएका यी अभिनेत्रीहरुको सूची सिनेमा र सिनेमा बाहिरका व्यक्तिहरुबाट छनौट गरिएका हुन् । यसमा निर्देशक, स्क्रिप्ट राइटर एवं समीक्षक, चलचित्र विकास बोर्डका पूर्व पदाधिकारी, युवा नेता, फिल्म स्टडिजका विद्यार्थी समावेश छन् ।
प्रतिक्रिया 4