
प्रविधि महत्वपूर्ण भए पनि दर्शकलाई आकर्षित गर्ने मुख्य कुरा कथा नै हो । कुनै फिल्म हेर्दा त्यसमा कुन प्रविधि प्रयोग भएको छ भन्ने कुराले दर्शकलाई खासै फरक पार्दैन ।
उनीहरूलाई त केवल कथाले बाँधेर राख्न सकोस् र एउटा राम्रो अनुभव दिन सकोस् भन्ने मात्र हुन्छ । यसकारण फिल्म निर्माताहरूले राम्रो र अर्थपूर्ण कथा भन्नका लागि प्रविधिलाई कसरी सदुपयोग गर्छन् भन्ने कुरा मुख्य हो ।
उदाहरणका लागि, आईम्याक्स जस्ता विशेष ढाँचाका फिल्महरूले दर्शकलाई छुट्टै अनुभव दिन्छन् । जुन सामान्य डिजिटल संस्करणभन्दा फरक हुन्छ । विभिन्न प्लेटफर्म अनुसार दर्शकलाई अनुभव दिनकै लागि फिल्मका विभिन्न संस्करण बनाइने गरिन्छ ।
अहिले नेपाली सिनेमा एनालगबाट डिजिटलसम्म र हलबाट ओटीटी प्लेटफर्मसम्म आइपुगेको छ । मेरो फिल्म ‘लूट’ बनाउँदा हामीले सिलिकन इमेजको टूके ९द्दप्० रिजोलुसन क्यामेरा प्रयोग गरेका थियौं । किनकि त्यो समयमा बजेटको हिसाबले राम्रो र उपलब्ध क्यामेरा त्यही थियो । पैसा भएको भए त्योभन्दा गतिलो क्यामेराले खिच्थ्यौं होला ।
नेपालमा अहिले विदेशमा प्रयोग भइरहेका धेरैजसो प्रविधिहरू उपलब्ध छन् । तर पनि हामी केही पक्षमा पछि छौं । पहिलो, भिजुअल इफेक्ट्स (भीएफएक्स) – यो प्रविधि केही फिल्ममा प्रयोग भए । तर राम्रो भएनन् । अहिले हामीले यसलाई राम्रो सदुपयोग गर्न सकिरहेका छैनौं । किनभने यो धेरै महँगो छ । ग्रीन स्क्रिन वा डिजिटल प्रोजेक्सन जस्ता प्रविधिहरूको प्रयोग लागतका कारण चुनौतीपूर्ण छ ।
दोस्रो, सेट डिजाइन र प्रप्स– हाम्रो फिल्महरूमा ठूला प्रप्स र राम्रो सेट डिजाइनको अभाव देखिन्छ । यसको मुख्य कारण लागत र दक्ष मानव स्रोतको कमी हो । जति खर्च गर्यो, त्यति राम्रो सेट बनाउन सकिन्छ । तर यसमा बजेटको समस्या आउँछ ।
तेस्रो, लर्निङ र डाइनामिक फिल्म निर्माण – हामीले देखेको, जानेको र सुनेको भरमा काम गरिरहेका छौं । शायद त्यसले गर्दा उत्कृष्ट स्तरमा पुग्न सकेका छैनौं । यद्यपि, केही जनाले यसमा काम पनि गरिरहनुभएको छ ।
यति हुँदाहुँदै पनि क्यामेरा र लाइटको पाटोमा पहिलाभन्दा धेरै सुधार भएको छ । त्यसमा हामीले सन्तुष्ट हुन सकिन्छ । भलै सुधारको पाटो अझै छन् । ध्वनि माध्यममा पनि राम्रो काम भइरहेको छ । यो क्षेत्रमा थोरै मानिसहरू भए पनि राम्रो काम भइरहेको भन्न सकिन्छ ।
यी सबैमा फेरि बजेट र बजार गएर ठोक्किन्छ । नेपाली फिल्म उद्योगमा बजेट एउटा प्रमुख अवरोध बनेर जहिल्यै आउँछ । किनकि हाम्रो बजार सानो भएकोले व्यापार र लगानीको सीमाबारे हेर्नुपर्ने हुन्छ ।
अहिले नेपालमा इन्डोर स्टुडियो थपिंदै गएका छन् । तर त्यस्तोमा काम गर्न फिल्महरूले सकेका छैनन् । ठूला स्टुडियो सेटअपका लागि धेरै स्रोत चाहिन्छ । भलै अहिले प्रोडक्सन हाउसहरूले विज्ञापन, म्युजिक भिडिओ खिचिरहेका छन् ।
ती छोटो समयमै शूट गर्न सकिन्छ । तर फिल्मका लागि लामो समय चाहिन्छ । एउटै सेट पनि हुँदैन । धेरै सेट बनाउन लाग्ने खर्च धान्न गाह्रो हुन्छ । त्यसमाथि फिल्म आफैंमा एउटा उत्पादन हो । तर विज्ञापन अरू कुनै उत्पादनको लागि खिचिन्छ । त्यसमाथि फिल्मलाई राम्रो गर्नुपर्ने, लगानी उठाउनुपर्ने बाध्यात्मक अवस्था हुन्छ ।
यो बाहेक हामी अर्को पाटोमा खुशी हुन सक्छौं । त्यो भनेको प्रसारण माध्यम र दर्शकको पहुँच हो । पहिलेको तुलनामा नेपालमा हलहरूको संख्या कम छ । भएका पुराना हलहरू बन्द भइरहेका छन् । तर, अहिले धेरैजसो हलहरू मल्टिप्लेक्स भएकाले स्क्रिनको संख्या बढेको छ । धेरै ठाउँमा हुनुपर्थ्यो, छैन । तर भएकोमा धेरै स्क्रिन छन् । यसले दर्शकलाई फिल्म हेर्न सहज र सुविधाजनक बनाएको छ ।
त्यस्तै ओटीटी प्लेटफर्महरू विकल्पका रूपमा आएका छन् । जसलाई फिल्म निर्माताहरूले भरपुर सदुपयोग गर्न सक्छन् । यद्यपि ओटीटी आफैंलाई पनि बजार विस्तार गर्न मार्केटिङ चाहिएको अवस्था छ । तर थिएटरमा फिल्म हेर्ने र घरमा परिवारसँग बसेर ओटीटीमा हेर्ने दुवैको आफ्नै छुट्टै अनुभव छ ।
आजकल हरेक मानिसहरूसँग हातहातमा मोबाइल फोन छ । उनीहरूसँग मनोरञ्जनका अन्य वैकल्पिक साधनहरू छन् । यसकारण उनीहरूलाई हलसम्म तान्न फिल्ममा एउटा बलियो कारण चाहिन्छ ।
‘ओहो, यो फिल्म त हेर्नैपर्छ’ भन्ने भएपछि मात्रै मानिसहरू हलसम्म पुग्ने अवस्था छ । त्यसमाथि हाम्रोमा फिल्म हेर्ने दर्शकको प्रतिशत निकै कम छ । त्यसमा ३/४ लाख मान्छेले हेरे पनि फिल्म सुपरहिट मानिन्छ । यति सानो बजारमा हालसालै चलेका धेरैजसो फिल्महरू दर्शकहरूको आपसी कानेखुसी (माउथ पब्लिसिटी) राम्रो भएपछि मात्र हिट भएका हुन् ।
मार्केटिङकै भरमा चल्ने फिल्महरू धेरै थोरै छन् । त्यसैले राम्रो फिल्म बनायो भने हलमा पनि मानिसहरूले हेर्छन् र ओटीटीमा पनि । मुख्य कुरा फिल्मले दर्शकको ध्यान खिच्न सक्नुपर्छ । संसारभरि नै यही छ – जति नै मार्केटिङ गरे पनि फिल्म राम्रो छैन भने त्यो चल्दैन ।
एउटा कुरा थपिहालौं– ओटीटीमा जाँदा नेपाली फिल्म चोरिन्छ भनेर खासै डराउनुपर्दैन । कारण पाइरेसी व्यावसायिक लाभका लागि हुन्छ । हलिउड र बलिउडका फिल्महरू व्यापारिक फाइदाका लागि पाइरेट हुन्छन् । नेपालमा नेपाली फिल्महरूको पाइरेसी व्यावसायिक हिसाबले हुँदैन ।
नेपाली जति पनि फिल्म पाइरेट भएका छन्, ती साथीभाइलाई देखाउन वा व्यक्तिगत स्तरमा मात्र भएका हुन् । पछिल्लो समय टिकटक वा फेसबुक लाइभमा राख्ने जस्ता प्रवृत्ति देखिए पनि व्यावसायिक तहको चोरी होइन । व्यावसायिक लाभ नदेखेकाले नेपाली फिल्महरूको ठूलो स्तरमा पाइरेसी हुँदैन । रिलिजको केही समयपछि नि:शुल्क युट्युबमा आउने फिल्महरूलाई टोरेन्टमा राख्नुको कुनै औचित्य पनि हुँदैन ।
भविष्यको बाटो, अब हामीले राम्रो स्क्रिन–प्ले बनाउन छोड्नुहुँदैन । किनकि फिल्मको कथा राम्रो नभएसम्म दर्शकको हेर्ने नजर बदल्न सकिंदैन । फिल्मको जग भनेको कल्पनाको संसार हो । र यसलाई विश्वसनीय बनाउन सक्ने कला हुनुपर्छ ।
अन्य फिल्म उद्योगहरूले पनि शुरुमा वास्तविक स्थानमा र उपलब्ध स्रोतसाधनमै फिल्म बनाएर आफ्नो बजार ठूलो बनाएका हुन् । हाम्रो पनि विस्तारै विकास हुँदै जान्छ । फिल्महरू राम्रो बन्दै गए बजार पनि ठूलो हुन्छ । थप सम्भावनाका बाटाहरू खुल्छन् ।
(निर्देशक बस्नेतसँग अनलाइनखबरका लागि सापेक्षले गरेको कुराकानीमा आधारित ।)
प्रतिक्रिया 4