
News Summary
Generated by OK AI. Editorially reviewed.- पौडेल शल्यचिकित्सक तथा कविले नेपाली चलचित्रको वर्तमान स्थिति र परिवर्तनलाई विश्लेषण गर्नुभएको छ।
- उहाँले नेपाली चलचित्रमा मौलिकता र नेपालीपनको महत्व र गीत–संगीतको भूमिका चर्चा गर्नुभएको छ।
- उहाँले सफल र असफल चलचित्रको मापदण्ड र नेपाली चलचित्रको सांस्कृतिक महत्त्वलाई उजागर गर्नुभएको छ।
पछिल्ला तीन वर्षमा मैले पन्ध्रभन्दा बढी नेपाली चलचित्र हेरेछु। म कुनै समीक्षक होइन, न त कला र सृजनाको गहिरो आकलन गर्न सक्ने विश्लेषक। प्राविधिक दृष्टिकोणले फिल्मको विश्लेषण गर्न सक्ने वा गुण-दोष छुट्याउने तहको व्यक्ति पनि होइन। एक सामान्य नेपाली दर्शक हुँ, जो सिनेमा हेर्न मन पराउँछ, कथाले छोएपछि अनुभूतिलाई शब्द मार्फत पोख्ने प्रयास गर्छ। यही प्रयासको सानो प्रतिबिम्ब मात्र हो, यो लेख।
नेपाली चलचित्रमा पछिल्ला केही वर्षयता सकारात्मक परिवर्तनको लहर चलेको स्पष्ट महसुस हुन्छ। नेपाली चलचित्रको परिवर्तन केवल प्रविधि, प्रस्तुति र अभिनयको स्तरमा मात्र सीमित छैन। अचेल नेपाली माटोमै उम्रिएको र आफ्नै परिवेशमा गुथिएको कथावस्तु, नेपालीपनको सुगन्ध भेटिन्छ।
पहिले-पहिले नेपाली चलचित्रमा हिन्दी वा अन्य विदेशी सिनेमाको प्रभाव प्रष्ट देखिन्थ्यो। प्रेमकथा होस् वा द्वन्द्वप्रधान, यिनीहरू प्रायः नक्कल जस्तै लाग्थे। यद्यपि, पश्चिमेली र हिन्दी चलचित्रबाट अधिकतम प्रभावित भएर लेखिएका वा बनाइएका कैयौं चलचित्रमा पनि आंशिक रूपमा नेपाली माटोको सुगन्ध र नेपालीपन मिसिएको नपाइने होइन, र केहीले नेपाली मौलिक कला–संस्कृतिलाई उजागर गर्ने भरथेग प्रयास पनि गरिरहेका थिए, तर ती प्रयास सशक्त थिएनन्, सतही र कमजोर थिए।
अहिले स्थिति फेरिएको छ। अहिले गाउँ घरका कथा, भुईंका कथा, दबिएका कथाहरू आफैं बोल्न थालेका छन्। ठूलो पर्दामा जीवन्त रूपमा देखिन थालेका छन्। आफ्नै समाज, आफ्नै परिवेशबाट उठेका कथाहरू पर्दामा हेर्न पाउँदा म जस्ता हजारौं नेपाली दर्शक पक्कै पनि हर्षित, उत्साहित र गर्वित महसुस गर्छौं। यो परिवर्तनले नेपाली चलचित्रलाई नयाँ उँचाइतर्फ उन्मुख गराइरहेको छ।
‘घामपानी’, ‘गाउँ छोडेको बाटो’, ‘बाह्र गाउँ’, ‘साम्भाला’, ‘अन्जिला’ अनि ‘पूर्णबहादुरको सारङ्गी’जस्ता चलचित्रले हामीलाई हाम्रै जीवन, हाम्रै समाजको ऐना देखाए। पछिल्लो चलचित्र ‘ऊनको स्वीटर‘ ले त्यो परम्परालाई अझ मौलिक तरिकाले पस्किएर अझ आत्मीय बनायो। चलचित्र शुरू भएदेखि नै लाग्यो, ‘हो, यो त हाम्रै कथा हो—हाम्रै गाउँको, हाम्रै मनको। अनि यी परिदृश्यहरू हाम्रै जीवनका संघर्ष र सपना हुन्।’ यी चलचित्रहरूले हामीले केही वर्षयता देख्दै आएको नेपाली सिनेमाको रूपान्तरणलाई अझ सशक्त रूपमा उजागर गरेको कुरालाई नकार्न सकिंदैन।
दर्शकको अपेक्षा
कुनै पनि चलचित्र हेर्दा दर्शकको पहिलो उद्देश्य विशुद्ध मनोरञ्जन प्राप्त गर्नु हो। चलचित्र मनोरञ्जक विविध पक्षबाट हुन्छ। जस्तै चलचित्रको कथावस्तु, पात्र चयन र कलाकारिता, संवाद र दृश्यहरू अनि सबैभन्दा महत्वपूर्ण पक्ष हो गीत–संगीत। चलचित्र र त्यसको कथा क्षणिक हुन्छ भने गीत–संगीत कालजयी हुन्छ।
तुलसी घिमिरेको निर्देशनमा बनेको ‘चिनो’ चलचित्र त्यसबेलाको सबैभन्दा सफल चलचित्र हो। जसले त्यो चलचित्र सिनेमाघरमा गएर हेरे, उनीहरूले अहिले त्यो क्षण सम्झिँदा चलचित्रको सम्पूर्ण कथा नसम्झेलान्। तर ‘मोहनी लाग्ला है’ भन्ने गीत सुन्ने बित्तिकै चिनो चलचित्र र राते काइँलालाई पक्कै सम्झन्छन्। त्यसरी नै, ‘मायाको बारीमा प्रीतिको फूल’ (कुसुमे रुमाल), ‘कान्छी हे कान्छी (कान्छी), ‘सुन कथा एउटा गीत’ (साइनो), ‘यो कथा हो सपना मेरो’ (सपना), ‘चियाबारीमा हो चियाबारीमा’ (लाहुरे) जस्ता गीतहरूले ती चलचित्रहरूलाई कालजयी बनाएका छन्।
एक दुई दशकयता पनि सफल सिनेमा आए। हेरियो। हेरुन्जेल सिनेमा असाध्य मन पर्यो। तर अहिले कथा याद छैन, गीत जिब्रोमै झुन्डिएका छन्, जस्तो कि – तिम्रो मनैको फूल टिपी, चोरीदेउ चोरीदेउ, मलाई पनि अंग्रेजीमा बोल्न सिकाइदेऊ न, सुर्के थैली खै, कुटुमा कुटु आदि। यी गीतहरूले चलचित्रको कथा र लोकप्रियतालाई हदैसम्मको उँचाइ दिलाए।
परन्तु आजकल संगीतलाई चलचित्रमा त्यति स्थान दिएको देखिंदैन। कथा सुहाउँदो र कथालाई अघि बढाउने सान्दर्भिक गीत भन्दा पनि व्यावसायिक प्रयोजनको लागि वा औपचारिकताको लागि मात्र एक–दुई वटा गीत समेटिएको पाइन्छ जुन गीतको कथासँग कुनै तालमेल हुँदैन। शायद त्यसै कारणले होला फिल्म संगीत खस्किंदै गएको। कमजोर संगीतका कारण केही औसत र राम्रै फिल्महरू पनि हेरुन्जेल खल्लो लाग्छन्। सशक्त संगीत विनाको चलचित्र, नुन विनाको तरकारी जस्तै लाग्दछ— रंगीन त छ तर स्वादहीन।
सफल र असफल चलचित्रहरू
चलचित्र सफल भयो कि असफल ? यसको उत्तर रेखाबाट होइन, धेरै कोणबाट खोज्नुपर्छ। यो प्रश्नको उत्तर केवल बक्स अफिसमा होइन, दर्शकको मुटुमा खोज्नुपर्छ। निर्माताको नजरमा लगानी उठेर नाफा कमाउनु सफलता हो भने, कलाकारका लागि दर्शकको हृदयमा स्थान बनाउनु नै सर्वोत्तम पुरस्कार हो। आलोचक र समालोचकले कलात्मक गहिराइ खोज्छन् भने, दर्शकको चाहना भनेको अन्ततः मनोरञ्जन हो, चाहे त्यो भावनात्मक होस् या हास्यात्मक, वीर रसको होस् या करुण रसको।
साँचो कुरा के हो भने, दर्शक कहिल्यै पूर्वाग्रही हुँदैनन्। उनीहरूले ‘यो फिल्म हेर्ने, त्यो नहेर्ने’ भनेर पूर्वयोजना बनाउँदैनन्, सल्लाह गर्दैनन्। तर यस्तो लाग्छ संसारभरिका दर्शकहरूले सल्लाह गरेरै कुनै चलचित्रलाई अभूतपूर्व सफलता दिलाउँछन् त कुनै चलचित्र रिलिज भएको एक दुई दिनमै दर्शक नपाएर पाखा लाग्छन्। दर्शकहरू त केवल नयाँ अनुभव बटुल्ने अवसरको खोजीमा हुन्छन्।
फुर्सतको समयलाई सदुपयोग गर्दै परिवार वा साथीभाइसँगै फिल्म हेर्न जानुलाई बिदा वा उत्सव मनाउने एउटा उत्तम विकल्पको रूपमा अपनाउँछन्। कहिलेकाहीं मन पर्ने कलाकारको नामले केही दर्शकहरू हलसम्म तानिएलान् तर केवल नामले मात्र फिल्म टिक्दैन, चल्दैन। यदि त्यसो हुने हो भने, तारा जस्तै चम्कने स्टारहरूको हरेक चलचित्र सधैं सफल हुन्थ्यो। तर वास्तविकता फरक छ, किनभने दर्शक अन्ततः कथा, भावना र प्रस्तुतिमा बाँधिन्छन्, नाममा होइन।
राम्रो चलचित्र दर्शकले सहजै चिन्छन्। त्यसैले राम्रो चलचित्र सबैलाई मन पर्छ नायक जो होस्। राम्रो गीत बारम्बार गुन्जिरहन्छ गायक जो होस्। प्रभावशाली कथा र आत्मामा गुञ्जिने फिल्म संगीत बारम्बार दोहोरिन्छ, मुखमा झुन्डिन्छ, हृदयमा गड्छ र अमर हुन्छ।
चलचित्र विविध स्वादका हुन्छन्, केहीले हँसाउँछन्, केहीले रुवाउँछन् अनि केहीले गम्भीर जीवनदर्शनमा डुबाउँछन्। तर हाँसो मात्र मनोरञ्जन होइन; कहिलेकाहीं आँशुले पनि गहिरो सन्तोष दिलाउँछ। ‘दर्पणछायाँ’ वा ‘जात्रा’ हेर्दा हाँसोले पेट दुख्दछ भने, ‘दक्षिणा’, ‘अन्जिला’, वा ‘पूर्णबहादुरको सारङ्गी’ हेर्दा सुँक्क सुँक्क रुने दर्शकको हृदय पनि उत्तिकै तृप्त हुन्छ। ‘बाह्र गाउँ’ को द्वन्द्व होस् या ‘साम्भाला’को मौन पीडा, दुवैले दर्शकलाई आफ्नै तरिकाले सुखान्त तवरले बन्धक बनाउँछन् र अन्ततोगत्वा दर्शकलाई अलौकिक प्रसन्नता दिलाउँछन्।
हरेक चलचित्र एक अन्तरमनको संघर्ष हो, विचारको, मिहिनेतको र कलाको घर्षण हो। निर्माता, निर्देशक, कलाकार, सबैले नयाँ सृजनामा प्राण दिन्छन्, आफ्नो बलबुताले भ्याएसम्म अध्ययन र मिहिनेत गर्छन्। कहिलेकाहीं चलचित्रका लागि असाध्यै ठूलो लगानी हुन्छ, विश्वका सुन्दरतम दृश्यहरू पर्दामा ल्याइन्छन्। तर त्यो चमकधमक मात्रै पर्याप्त हुँदैन। यदि फिल्मको केन्द्रमा सशक्त कथा छैन भने, ती दृश्यहरू पनि केवल फुस्रो सजावट मात्र लाग्न थाल्छन्।
त्यसोभए, के हो त चलचित्रलाई जीवन्त बनाउने त्यो मुख्य खुराक ? सबैभन्दा महत्वपूर्ण खुराक भनेकै चलचित्रको विषयवस्तु हो जसलाई कथा र पटकथाको रूपमा पर्दामा उतारिन्छ। मौलिक विषयवस्तु, नयाँ दृष्टिकोण, गहिरो पात्र निर्माण, यिनै चलचित्रका सच्चा मेरुदण्ड हुन्। मौलिक कथावस्तु र कथामा नयाँपन सबैभन्दा महत्वपूर्ण आकर्षण हुन्।
जब दर्शकले कुनै पात्रमा आफूलाई देख्छ, आफ्नो जीवन, समाज वा सपनाहरू त्यस कथाभित्र भेट्छ, तब त्यो चलचित्र उसकै बन्न पुग्छ। दुईदेखि तीन घण्टा त्यो पर्दामा आफूलाई हराएर, आफ्नै जिन्दगीको केही अंश फेरि बाँच्न खोज्छ। कथाभित्र हराएर एउटा जिन्दगी फेरि भोग्न खोज्छ। यसरी दर्शकलाई बाँध्ने शक्ति सफल चलचित्रको सार हो।
यदि कथाले दर्शकको मनस्थितिलाई पक्रिन सक्यो भने दर्शकहरू बाँधिन्छन् नत्र भड्किन्छन्। सफल चलचित्र यहीं अब्बल सावित हुन्छन् भने असफल चलचित्र यहीं चुक्छन्। सफल चलचित्र त्यही हो, जसले दर्शकको चेत, मन र आत्मालाई स्पर्श गर्छ। असफल चलचित्र त्यही हो, जसले केवल आँखामा त झल्किन्छ, तर हृदयमा बस्न सक्दैन। साँचो अर्थमा सफल चलचित्र त्यही हो जुन आँखाले मात्र हैन, मनले पनि हेर्ने गरिन्छ, हृदयले महसुस अनि आत्माले स्वीकार गरिन्छ।
चलचित्रको मुटु र आत्मा : गीत–संगीत
चलचित्रको मुटु कथा हो भने, आत्मा संगीत हो। जब एकपटक पर्दामा गुन्जिरहेको कुनै गीतले मन छुन्छ, त्यसले चलचित्रलाई सजीव बनाउँछ। संगीतले दर्शक–श्रोताहरूलाई भावनामा बगाउँछ, दृश्यहरूलाई गहिराइ दिन्छ।
गीत–संगीत चलचित्रको आत्मा किन पनि हो भने, जसरी आत्मा विना जीवनको कल्पना गर्न सकिंदैन, त्यस्तै मौलिक र उत्कृष्ट गीत–संगीत विना चलचित्रमा प्राण हुँदैन। यसलाई केवल पृष्ठभूमि सजाउने साधन वा व्यावसायिक प्रचारको माध्यम हैन, कथा बनोटको गहिरो अभिव्यक्ति भनेर बुझिनुपर्छ, प्रयोग गरिनुपर्छ।
चलचित्र केवल दृश्यहरूको शृङ्खला मात्र होइन, त्यो त संगीतले भरिएको जीवन्त अनुभव हो, जहाँ गीतले भावना बोल्छ, संगीतले कथालाई बगाउँछ, अनि दर्शक त्यो धारासँग बग्छन्। हामी फेरि त्यही आत्मीय संगीतको खोजीमा छौं, जुन कानले मात्र हैन, मनले पनि सुन्छ हृदयले आत्मसात् गर्छ।
सुगम संगीत र कर्णप्रिय मौलिक गीतको खडेरी परिरहेको समयमा अलिकति पनि आशा जगाउन आएको छ ‘धान पाक्यो रापले, फकाउँछ काफ्ले’ गीत। आजभन्दा दश–बीस वर्षपछि पनि यो गीत गुन्जिरहनेछ, अनि यही गीतको कारणले ऊनको स्वीटर चलचित्र इतिहासको पानामा जीवित रहिरहनेछ। ‘चरी चट्ट परी’, ‘चेप्टे चेप्टे पेरुङ्गो’, ‘चरीले काफल टिप्यो’ जस्ता गाउँघरे चलनचल्तीका शब्द र मौलिक भाकामा रचिएका गीतहरूले खडा गरेको धरोहरमा एउटा अर्को कोसेढुङ्गा थपिएको छ भन्दा अत्युक्ति नहोला।
चलचित्र कलाको विशिष्ट र उत्कृट स्वरुप हो। कालजयी र सफल सिनेमा बन्नलाई कथा र संगीत दुई अपरिहार्य पाटा हुन्। चलचित्र केवल मनोरञ्जन होइन, सांस्कृतिक दस्तावेज हो। एउटा युगको अभिलेख हो। ‘अन्जिला’, ‘पूर्णबहादुरको सारङ्गी’ र ‘ऊनको स्वीटर’ जस्ता सृजनाहरू केवल कथा होइनन्, ती त आत्मीय अनुभूति हुन्, जसले हामीलाई हाम्रो अस्तित्वसँग जोड्दछन्।
हामी जस्ता मनोरञ्जनप्रेमी चलचित्र-पारखीहरूको समान आकाङ्क्षा हुन्छ- कलाकर्मीले चलचित्र बनाउँदा कलामा ध्यान दिंदा कथा कमजोर नहोस्, भुईंमान्छेको कथा बुन्दा वा कुनै समुदाय, जाति वा धर्मको सबल पक्षलाई उजागर गर्न खोज्दा अर्को पक्षलाई अवहेलना नहोस्, कुनै जात, जाति, समुदाय वा धर्म र संस्कृतिमाथि आघात नपुगोस्।
अन्जिला, पूर्णबहादुरको सारङ्गी र ऊनको स्वीटर जस्ता सृजना केवल चलचित्र मात्र होइनन्, अविस्मरणीय अनुभूति हुन्, सर्जक र दर्शकलाई जोड्ने आत्मीय कडी हुन्। यी चलचित्रहरू हामी सबै नेपालीको कथासँग मेल खाने, मन छुने र पहिचान दिलाउने सिनेम्याटिक दस्तावेजहरू हुन्। यी सबै उल्लिखित चलचित्रहरू सकिएपछि केहीबेर म चुपचाप बसें– सोचें, महसुस गरें, अनि लामो सास फेरेर भनें, “यस्तो चलचित्रले नेपाली सिनेमाको पहिचान अझ प्रगाढ बनाउँछ। भोलिको पुस्ताले पनि यी चलचित्रहरू हेरेर पुर्खाहरूको जीवनचरित्र बुझ्नेछ।”
(पौडेल शल्यचिकित्सक तथा कवि, गीतकार हुन्।)
प्रतिक्रिया 4