काठमाडौं । १३ वर्षयता पत्नी र छोरासँग अष्ट्रेलिया बस्दै आइरहेका छन्, झापाका ३० वर्षीय रोशन भण्डारी। काठमाडौंको एक कलेजमा १२ कक्षा पास गरी उच्च शिक्षाका लागि अष्ट्रेलिया गएका थिए रोशन। रहँदैबस्दै जाँदा कालान्तरमा उतैका नागरिक भए।
रोशन र उनका बुवा झापामै जन्मे र हुर्के। उनका हजुरबुवा पहाड तेह्रथुमबाट झापा बसाइँसराइ गरेका थिए।
समय अनुसार आन्तरिक बसाइँसराइ अनि बाह्य बसाइँसराइ कसरी हुन्छ भनेर विश्लेषण गर्नका लागि रोशन एउटा प्रतिनिधि उदाहरण हुन्। पछिल्लो समय हर्ने हो भने देश छोडेर गएका धेरै युवामा विदेशमै बसोबास गर्ने प्रवृत्ति बढ्दो छ। रोशन आफैं यो तथ्य स्वीकार्छन्।
‘बसोबास तथा बसाइँसराइ भनेको सामान्य कुरा हो, यो हरेक देशमा हुन्छ। अवसरको खोजी र आफ्नो व्यक्तिगत विकासको लागि गरिने बसाइँसराइ सामान्य हो। पछिल्लो समय नेपाली युवाहरूमाझ अवसर खोजी गर्ने र व्यक्तिगत विकासमा ध्यान केन्द्रित गर्ने प्रवृत्ति बढ्दो छ त्यही भएर पनि उनीहरू द्रुत रूपमा बसाइँसराइ गरिरहेका छन्’, रोशन भन्छन्। रोशनका अनुसार, बसाइँसराइ गर्दा एक किसिमको केही राम्रो गर्नै पर्छ भन्ने प्रेरणा पनि मिल्दो रहेछ।
‘हिजोआज देशमा केही गर्ने, देशमै बस्नुपर्छ भन्ने पनि छैन। प्रविधिको विकासले अहिले हामी संसारको जुनसुकै कुनामा बसेर पनि आफ्नो देशको विकासको लागि योगदान पुर्याउन सक्छौं त्यही भएर पनि बसाइँसराइको क्रम हरेक दिन बढ्दो छ’, रोशन भन्छन्।
२०२४ को सरकारी रिपोर्ट अनुसार स्वदेशमा आर्थिक अवसर नहुँदा दैनिक १७०० नेपाली विदेश जान बाध्य छन्। उक्त रिपोर्ट अनुसार नेपाली समुदाय अष्ट्रेलियाको ११औं ठूलो आप्रवासी समुदाय हो। सन् २०२१ मा अष्ट्रेलियामा नेपालीहरूको सङ्ख्या १,२९,८७० पुगेको थियो जसमा अधिकांश युवा छन्, जुन सन् २०११ को तुलनामा पाँच गुणाले बढेको हो।
त्यसैगरी, संयुक्त राज्य अमेरिकामा नेपालीहरू २०२० को जनगणना अनुसार सबैभन्दा छिटो बढ्दो एसियाली आप्रवासी जनसङ्ख्या थिए। जुन २०१० मा ५१,९०७ बाट बढेर २०२० मा २,०५,२९७ पुगेको थियो, जुन चार गुणाले बढेको थियो।
अमेरिकामा करिब १२,००० नेपालीहरू अध्ययन गर्छन्। पछिल्लो समययता कामको सिलसिलामा विशेषगरी खाडी मुलुक गएकाहरू फर्केर नेपाल नै आउने प्रवृत्ति देखिए पनि अध्ययनको लागि विदेश गएका युवाहरू माझ यो प्रवृत्ति थोरै छ।
धेरैजसो अध्ययनका लागि विदेश गएकाहरू उतै बसोबास गर्न थालेका छन्। सो कुरा हालसालै अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा भएको वर्ल्ड लिडर्स फोरममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि स्वीकारेका छन्।
‘युवाहरू जुन हिसाबले देश छाडिरहेका छन् त्यो राम्रो होइन। हो, नेपालमा उपयुक्त रोजगारीको अवसर छैन। त्यसैले देश छाडेर गएका अधिकांश युवा रोजगारीको सिलसिलामा छन्, र उनीहरू नेपाल नै फर्किनेछन्। विदेशबाट फर्किनेको तुलनामा देश बाहिर जानेको सङ्ख्या बढी छ। शिक्षाका लागि विदेश जानेहरू फर्किरहेका छैनन् तर पछि फर्किन सक्नेछन्’ प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यक्रममा बताए।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ५१,००० जनाले नो अब्जेक्सन सर्टिफिकेट लिइसकेका छन्।
विगत १६ वर्षको तथ्यांकले हालसम्म ६ लाख ४६ हजार १९६ एनओसी जारी गरेको देखाउँछ। सन् २००८ देखि २०२१ सम्म, ४,१६,३६४ एनओसी जारी भएको थियो। सन् २०२२ मा १,१७,५६३ एनओसी जारी भयो। सन् २००८/०९ मा विभिन्न देशका लागि २४,८२४ एनओसी जारी भएको थियो, जुन सन् २०१८/१९ मा ६३,२५९ भयो भने २०२२/२३ मा १,१७,५६३ एनओसी जारी भयो। सन् २०२३/२४ मा यो सङ्ख्या १ लाख १२ हजार ५९३ पुगेको छ।
प्रस्तुत तथ्यांकले के देखाँउछ भने अध्ययनको सिलसिलामा विदेश जाने युवाहरूको सङ्ख्या बढ्दै गइरहेको छ। यसको अर्थ विदेशमै बसोबास गर्नेहरूको सङ्ख्या पनि बढ्दै गइरहेको छ भन्ने पनि संकेत गर्दछ।
आप्रवासन विज्ञ जीवन बानियाँका अनुसार मानव सभ्यताको सुरुवातदेखि नै मानिसहरू एक ठाउँबाट अर्को ठाउँ जाने गर्थे। एक ठाउँबाट अर्को ठाउँ जाने क्रममा मानिसहरूले नयाँ–नयाँ कुराहरू खोज्ने चलन पनि पाइएको छ।
विभिन्न कालखण्डमा विभिन्न कारणले मानिसहरू बसाइँसराइ गर्दै आइरहेका छन्। विशेषत: स्रोतसाधनको सीमितताको कारणले मानिसहरू बसाइँसराइ गरेको पाइन्छ। पछिल्लो समय हेर्ने हो भने इतिहासमै पहिलो पटक यति धेरै मानिसहरू बसाइँसराइ गरिरहेका छन् भन्ने विभिन्न अध्ययनले देखाउँछ।
‘नेपालको हकमा वर्तमान अवस्थामा राम्रो अवसर र सामाजिक सुरक्षाको कमीको कारण नेपालीहरू बसाइँसराइ गरिरहेका छन्’, जीवन बताउँछन्। केही राम्रो गर्नुपर्छ भन्ने सपना, देशको बिग्रँदो शैक्षिक स्तर, विश्वविद्यालयहरूमा बारम्बार हुने हड्ताल र तालाबन्दी, फर्केर आएर देशमा केही गर्न धेरै गाह्रो छ भन्ने भाष्यले पनि धेरैजसो अध्ययनका लागि विदेश गएकाहरू उतै बसोबास गर्ने गरेका छन् भन्ने पनि बानियाँको बुझाइ छ।
अनलाइनखबरसँगको कुराकानीमा उनले यस विषयमा अरू थप कुराहरू पनि बताए। ‘नेपालमै अध्ययन गरेर अध्ययन गर्दा गरेको लगानी उठाउने वातावरण समेत नहुँदा धेरै युवा विदेश गएर उतै बसाइँसराइ गर्ने गरेका छन्’, उनी भन्छन्। यसो भन्दै गर्दा सबै अध्ययनका लागि विदेश गएकाहरू उतै बसिरहेका छन् भन्ने पनि होइन। फर्केर नेपाल आएकाहरू पनि छन् तर कम संख्यामा।
विज्ञहरूका अनुसार केही सीमित क्षेत्रहरू बाहेक फर्केर आएकाहरू धेरैजसोले राम्रा अवसर देख्दैनन् र फेरि विदेश फर्केर गएको पनि देखिएको छ।
फर्केर आउनेहरूमध्ये थोरै लगानीमा अर्थात् स्कलरसिपमा अध्ययन गरेका, नेपालमा केही समय काम गरिसकेका र यताको काम गर्ने माहोल राम्रोसँग बुझिसकेकाहरू पर्छन्, बानियाँले बताए।
विद्यार्थी पलायनको अवस्था यस्तै रह्यो भने नेपालमा जनशक्तिको अभाव हुने र विदेशमा बस्नेले आफ्नो ज्ञान र सीपलाई विभिन्न माध्यमबाट नेपाल ल्याउन सक्ने भए पनि जनशक्तिको अभाव रहेको जीवन बानियाँ बताउँछन्।
विद्यार्थीको थप बसाइँ सर्ने प्रवृत्ति जान्नको लागि अनलाइनखबरले इक्यानका पूर्वअध्यक्ष तथा रोयल एजुकेशन फाउन्डेसनका प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेसँग पनि कुराकानी गरेको छ।
उनका अनुसार विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरू तीन वर्गका छन्। पहिलो, स्वदेश फर्केर केही गर्ने सोच भएका, प्रायः त्यस्ता विद्यार्थीहरू बलियो आर्थिक पारिवारिक पृष्ठभूमिका हुन्छन्। दोस्रो, ऋण लिएर विदेश पढ्न जानेहरू, उनीहरूको पढ्दै कमाउने योजना हुन्छ र तेस्रो अध्ययन सिध्याएर उतै सेटल हुन मनसाय भएकाहरू। दोस्रो र तेस्रो प्रकारको सङ्ख्या पहिलो भन्दा बढी छ।
‘दोस्रो र तेस्रो श्रेणीका विद्यार्थीले आफ्नो जन्मभूमिको भविष्य देख्दैनन्’ पाण्डे भन्छन्, ‘पछि गएर आमाबुवालाई पनि विदेशमा बोलाउँछन्। विदेशमा शिक्षा सकेर नेपाल फर्केकाहरू प्रायः इनोभेसन, स्टार्टअप, कर्पोरेट हाउस र सरकारी आयोजनामा काम गर्ने गरेको देखिन्छ।’
नेपालमा राजनीतिक स्थायित्व, पाठ्यक्रमको स्तरोन्नति र प्रशस्त अवसर नहुँदासम्म विद्यार्थीमा बढ्दो बसाइँसराइको प्रवृत्ति कम नहुने उनको भनाइ छ। ‘त्यस्तै गरी नेपालमा शिक्षा र उद्योगबीच पनि ठूलो खाडल छ, त्यो खाडललाई पनि सम्बन्धित निकायले सम्बोधन गर्नुपर्छ’, पाण्डे भन्छन्।
प्रतिक्रिया 4