+
+

कुम्भकारलाई माटोका भाँडा बनाउन भ्याइनभ्याइ

रासस रासस
२०८१ कात्तिक ४ गते ९:२०

४ कात्तिक, इनरुवा । इनरुवा नगरपालिका–२ का २५ वर्षीय विनोद पण्डित बिहानै उठेर माटो मुछ्न थालिहाल्छन् । त्यसभरी उनी दिनभर भाँडा बनाउने काममै व्यस्त बन्छन् ।

तिहार र छठपर्वलाई लक्षित गरेर पण्डितले माटोका भाँडा बनाउन थालेका हुन् । पण्डितको उद्देश्य चाडपर्वका बेला सबैलाई माटोका भाँडा सहज रूपमा पुर्‍याउने रहेको छ । सदरमुकाम इनरुवा, लौकही, हरिपुरलगायत स्थानमा रहेका कुम्भकार चाडपर्वलाई लक्षित गरेर माटोको भाँडा बनाउने काममा व्यस्त बनेका छन् ।

स्थानीय दरपी पण्डितका अनुसार कुम्भकार समुदाय तिहार र छठपर्वलाई लक्षित गरी माटोको घैला, दियो, धुपदानी, कलशलगायतका भाँडाकुँडा बनाउने काममा व्यस्त छ । भाँडा बनाउन काँचो कुमाले माटोको प्रयोग हुने गरेकाले दुई हप्ता अगाडिदेखि नै उनीहरुले माटोको जाहो गर्ने गरेका छन् ।

एक महिना अगाडिसम्म विभिन्न समस्याका कारण माटो ल्याउन नसक्दा भाँडा बनाउन ढिला भएकाले अहिलेदेखि नै भाँडा बनाउने काममा लागेको स्थानीय बचिया पण्डितले बताए । ‘नजिक माटो पाइँदैन, टाढाबाट प्रतिट्रयाक्टर १० हजारदेखि २० हजार रुपैयाँसम्ममा माटो खरिद गरी ल्याउनुपर्ने बाध्यता छ’, उनले भने ।

तिहार र छठपर्वमा दियो, चौमुखे दियो, कलशलगायत सामग्रीको अत्यधिक माग हुने भएकाले त्यसलाई लक्षित गरेर माटोका भाँडा बनाउने काममा लागेको पण्डितको भनाइ छ । चाडपर्वका बेलामा एउटा परिवारले एक लाखदेखि ५ लाख रुपैयाँसम्म माटोको दियो बनाएर बिक्री गर्ने गरेका छन् ।

चाडपर्वका बेलामा एउटा परिवारले माटोको भाँडाबाट ५० हजारदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको बेचनीदेवी पण्डितले बताए । आफूहरूले बनाउने माटोको भाँडा बिक्री गर्न सुनसरी सदरमुकाम इनरुवासहित इटहरी, धरान, धनकुटा, झापालगायत ठाउँसम्म जाने गरेको बेचनीले बताए । कुम्भकार समुदायका अधिकांश व्यक्तिको रोजीरोटी माटोका भाँडाकुँडा बनाउने रहेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?