+
+
पुस्तकांश :

जब खसीको सिङमा एआईजी र खरेल देखें…

मैले नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई ३० लाख र नेकपा एमालेलाई १० लाख रुपैयाँ चुनाव खर्च पठाइदिएँ । एमाले नेता माधवकुमार नेपालले उक्त रकम पार्टीको खातामा जम्मा गरिदिनू भन्नुभएछ ।

अच्युतकृष्ण खरेल अच्युतकृष्ण खरेल
२०८१ कात्तिक ३ गते १३:०९

म स्थानीय चुनाव सम्पन्न भइसकेपछि पुनर्बहाली भएको थिएँ । आम निर्वाचन गराउने काम बाँकी थियो । चुनाव आउँदा नेताहरू पैसाको जुगाड गर्न कुनै सम्भावित ठाउँ छाड्दैनन् । उनीहरूले निशाना साध्ने भनेका हामी जस्तै उच्च ओहोदामा बसेका मान्छे नै हुन् । खुमबहादुर खड्का र शरतसिं भण्डारीले चाहेको पनि त्यही होला । उनीहरू चुनाव खर्च जुटाउने नाममा तस्करी लाइन खोल्ने सुरमा थिए होलान् ।

गिरिजाप्रसाद कोइराला भने यस्ता गलत कार्य रोकिनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । गृहमन्त्री गोविन्दराज जोशी पनि तस्करी रोक्न कटिबद्ध हुनुहुन्थ्यो । उहाँहरूसँगको सहकार्यमा मैले कहिल्यै दबाब महसुस गरिनँ ।

चुनाव नजिकिंदै थियो । चुनावी खर्च जोहो गर्न नेताहरूलाई चटारो थियो । विभिन्न राजनीतिक दलका नेताहरू केही आर्थिक सहयोगको आशमा मुख खोलिरहेका थिए । चुनावमा उठेका उम्मेदवार केही न केही बहानामा नजिकिन आउँथे र सहयोगको अपेक्षा राख्थे । तिनलाई दिने पैसा कहाँबाट ल्याउने ? किन दिने ? सम्पर्कमा आएजति सबै उम्मेदवारलाई पैसा बाँडेर सकिने कुरा थिएन । कुनै जुक्ति निकालेर सबैको मुख बन्द गर्ने उपायको खोजीमा रहें । केही रकम जम्मा गरी पार्टी अध्यक्षका हातमा दिएर व्यक्तिगत सहयोगको बाटोलाई पूर्णविराम लगाउने निष्कर्षमा पुगें । सहयोग गर्न पनि पहिले त आफूसँग हुनुपर्‍यो, कसैसँग मुख खोलेर भन्न पनि गाह्रो ।

मैले भरत जिसीसँग सल्लाह गर्ने निधो गरें । उनी त्यतिबेला उपत्यका अपराध महाशाखामा कार्यरत थिए । मैले विश्वास गर्न सक्ने प्रहरी अधिकृतहरूमा पर्थे ।

म एआईजी हुँदा एउटै दशैंमा ४०–५० वटा खसी आइपुग्थ्यो । विभिन्न जिल्लाका प्रहरीले पठाइदिने । पहाडी जिल्लाबाट पनि आउँथ्यो । दशैंमा हाकिमकहाँ खसी पुर्‍याउन नसक्नेको सरुवा, बढुवा सब रोकिन्छ भन्ने भ्रम थियो ।

कर्तव्यनिष्ठ प्रहरीका रूपमा चिनिएका एसपी भरत जिसी वास्तवमै इमानदार र खरो स्वभावका थिए । प्रहरी जीवनमा तोकिएका जिम्मेवारीहरू कुशलतापूर्वक सम्पन्न गर्न सक्ने खुबी मात्र थिएन उनमा, गैरकानुनी तथा आचरण विपरीतका कार्यबाट टाढा रही एउटा व्यावसायिक प्रहरीमा हुनुपर्ने गुण समेत मैले पाएको थिएँ । अपराध अनुसन्धानको पाटो होस् या समसामयिक समस्याका गुत्थी, उनीसँग सल्लाह लिंदा केही उपाय निस्कन्छ भन्ने मेरो बुझाइ थियो । मैले विश्वास गर्न सक्ने प्रहरी अधिकृतहरूमा उनी पनि थिए मेरा विश्वासका पात्र । भरत जिसीलाई बोलाएँ र सल्लाह गरें ।

दुई प्रमुख पार्टीका अध्यक्षलाई दिन ४०–५० लाख रुपैयाँ कसरी जम्मा गर्ने भनी सल्लाह गर्दा उनले भने, ‘सर, म मिलाएर जम्मा गरेर ल्याउँछु ।’ ‘कसरी ?’ मैले सोधें, ‘दुई नम्बरी कारोबार गर्नेहरूबाट पैसा जम्मा गर्न मेरो सहमति छैन ।’

‘प्रतिष्ठित उद्योगी, व्यापारीबाट सहयोगस्वरूप लिन सकिन्छ सर’ उनले भने, ‘सहयोग लिएबापत उनीहरूलाई कुनै किसिमको वाचाबन्धन गरिंदैन ।’ भरतले केही दिनमै ४० लाख रुपैयाँ ल्याएर मलाई दिए ।

मैले नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई ३० लाख र नेकपा एमालेलाई १० लाख रुपैयाँ चुनाव खर्च पठाइदिएँ । एमाले नेता माधवकुमार नेपालले उक्त रकम पार्टीको खातामा जम्मा गरिदिनू भन्नुभएछ । खातामा जम्मा पनि भएछ । निर्णय गर्ने तहमा छँदा हामीकहाँ झेल्नुपर्ने अर्को समस्या हो, चाकडी ।

पहिले म तल्लो तहमा छँदा आफूभन्दा माथिल्ला हाकिमको शिष्टाचार राख्ने चलन थियो । जागिर खाएको कैयौं वर्षसम्म हामीले विभिन्न तहमा शिष्टाचार मात्र पुर्‍याए पुग्थ्यो । त्यही शिष्टाचार एउटा लक्ष्मणरेखाबाट अगाडि बढेपछि चाकडीमा परिणत हुन्छ ।

तपाईं कसैकहाँ दशैंमा टीका लगाउन जानुभयो, सुख-दुःखमा सरिक हुनुभयो भने त्यो शिष्टाचार भयो । दशैं बिदाबाट फर्केर आउँदा घ्यू–तेल ल्याइदिन थाल्नुभयो, विदेशबाट आउँदा आफ्नो गच्छेभन्दा ठूलो उपहार ल्याइदिनुभयो भने त्यो चाकडी भयो ।

अर्को फरक, शिष्टाचार जहिले पनि दोहोरो हुन्छ, जबकि चाकडी एकोहोरो हुन्छ । शिष्टाचार निस्वार्थ हुन्छ भने चाकडीमा केही न केही स्वार्थ लुकेको हुन्छ । प्रहरी–प्रशासनमा पनि पहिलेको शिष्टाचार विस्तारै चाकडीमा परिणत हुँदैगयो ।

चाकडीको अर्को हद त आईजीपी डीबी लामाको पालामा भयो । उहाँ कतै निरीक्षणमा जाँदा बाहिर आँगनदेखि भित्र कोठासम्म रातो कार्पेट बिछ्याउने । सलामी लिने ठाउँमा उस्तै । राजपरिवारको सिको गर्दै पञ्चकन्याले फूलमाला अर्पण गर्ने चलन पनि बसालियो ।

म एआईजी हुँदा एउटै दशैंमा ४०–५० वटा खसी आइपुग्थ्यो । विभिन्न जिल्लाका प्रहरीले पठाइदिने । पहाडी जिल्लाबाट पनि आउँथ्यो । दशैंमा हाकिमकहाँ खसी पुर्‍याउन नसक्नेको सरुवा, बढुवा सब रोकिन्छ भन्ने भ्रम थियो । कति हाकिमहरूले त्यसो गरे पनि होलान् । मातहतका अधिकृतको कामको वजनभन्दा दशैंमा आउने खसीको तौलका आधारमा मूल्याङ्कन गर्ने हाकिमहरू नभएका होइनन् । मलाई भने यस्तो संस्कार देखेर दिक्क लाग्थ्यो । मैले देखेसम्म यसलाई निरुत्साहितै गरें ।

जो–जो अधिकृत मलाई घरैमा भेटेर खसी दिन आउँथे, उसलाई ठाउँको ठाउँ हप्काएर खसी सहित फिर्ता पठाइदिन्थें । मेरो यस्तो बानी थाहा पाएकाहरू म घर नभएका बेला आउन थाले । त्यस्तालाई घरमा छिर्नै नदिनू भनी सुरक्षाकर्मीलाई अह्राएको हुन्थें । तै के छाड्थे र ! सुरक्षाकर्मीका आँखा छलेर बाहिर बुटामा बाँधेर पनि हिंड्थे । म थाहा पाएसम्म त फेरि बोलाएर फिर्ता लग्नै लगाउँथें । कहिलेकाहीं भने कसले ल्यायो, थाहा हुन्थेन ।

हुँदाहुँदा कतिसम्म भयो भने, एकचोटि त मेरो घरबाहिर पाखाभरि खसी नै खसी !

यसरी आफ्ना हाकिमहरूका निम्ति जिल्लाबाट खसी बोकेर ल्याउनेले त्यसको सिङमा नाउँ लेखेका हुन्थे । सेतो इनामेलले एकापट्टि पद, अर्कोपट्टि थर । जस्तो– मेरो नाममा आउने खसीको एकापट्टि सिङमा एआईजी लेखिएको हुन्थ्यो भने अर्कोपट्टि खरेल । यसरी आफ्नो नाउँ लेखिएको खसी देख्दा म लाजले भुतुक्कै हुन्थें ।

ताज्जुब लाग्थ्यो, प्रहरी जस्तो निष्ठा र इमानको पेशामा पनि यो कस्तो संस्कार बसाल्यौं हामीले !

चाकडीको अर्को हद त आईजीपी डीबी लामाको पालामा भयो । उहाँ कतै निरीक्षणमा जाँदा बाहिर आँगनदेखि भित्र कोठासम्म रातो कार्पेट बिछ्याउने । सलामी लिने ठाउँमा उस्तै । राजपरिवारको सिको गर्दै पञ्चकन्याले फूलमाला अर्पण गर्ने चलन पनि बसालियो । मैले आफू आईजीपी भएपछि रातो कार्पेट नबिछ्याउनू भनेर परिपत्र नै गरें । खसी लगायत कुनै पनि उपहार ल्याउन रोक लगाउँदै सबै प्रहरी एकाइमा परिपत्र पठाएँ ।

दशैं बेला आईजीपीदेखि उच्च प्रहरी अधिकृतहरूलाई विदेशी रक्सीको बोतल पठाइदिने अर्को चलन छँदैछ । विभिन्न व्यापारिक समूह वा व्यक्तिले सल्काएको यो रोगबाट धेरै संस्था ग्रसित छन् । अब त स्थिति कस्तो आइसक्यो भने, रक्सी पाउने हाकिमलाई समेत रक्सीको लोभ लाग्न थालिसक्यो । दशैंं आउने बेला भएपछि कतिपय हाकिमहरू रक्सीको बोतल पाइने आशमा दिन गन्दै बस्न थालिसके ।

मेरो आईजीपी कार्यकालभरि यस्ता कसैलाई भित्र छिर्नै छुट थिएन । त्यस्ता व्यक्तिलाई पहिला त घरै छिर्न नदिनू, छिरिहाले पनि तिनले ल्याउने धागो समेत उपहार नलिनू भन्ने परिवारलाई निर्देशन थियो । त्यही भएर जिल्लाका अधिकृतहरू मकहाँ उपहार लिएर छिर्नै दकस मान्थे ।

मैले आफ्नो बुताले भ्याएसम्म यो प्रवृत्ति रोक्न पहल गरें । अहिले कम भएको होला, प्रवृत्ति ज्युँदै छ ।

दशैं बेला काठमाडौंस्थित विभिन्न दूतावासले उपहारस्वरूप पठाउने रक्सी भने मैले पनि ग्रहण गरें ।

(पब्लिकेसन नेपालयबाट प्रकाशित पुस्तक अच्युतकृष्ण खरेलको आत्मकथाबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?