+
+

नेपाल समाजवादी पार्टीको विधान अधिवेशन कात्तिक ५ र ६ गते पोखरामा

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ३ गते १८:२७

२ कात्तिक, पोखरा । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले विधान अधिवेशन कात्तिक ५ र ६ गते पोखरामा गर्ने भएको छ ।

जनता समाजवादी पार्टीबाट अलग भएपछि २०७९ असारमा नेपाल समाजवादी दर्ता भएपछि पहिलो पटक पोखरामा विधान अधिवेशन हुन लागेको हो ।

अधिवेशनमा डा. भट्टराईले पार्टीको विधान र राजनीतिक प्रतिवेदन पेश गर्ने छन् । नयाँ संरचनामा गइसकेपछि पार्टी निर्माणको मोडालिटी, अबको बाटो र देश कसरी बनाउने सकिन्छ भन्नेबारे २ दिनसम्म गहन छलफल गर्ने डा. बाबुराम भट्टराईले बताए ।

अधिवेशनपछि ३ तहमै पार्टी निर्माण र अभियानमा लाग्ने भट्टराईको भनाइ थियो । माओवादी त्यागेपछि नयाँ शक्ति पार्टी हुँदै नेपाल समाजवादीसम्म आइपुग्दा डा. भट्टराईले वैकल्पिक राजनीतिको अभ्यास गरेको र अब चाहिँ असली वैकल्पिक पार्टी कस्तो हुन्छ भनेर देखाउने भट्टराईले बताए ।

सत्तादेखि सत्तासम्मको दौडजस्तो राजनीति बनेको भन्दै भट्टराईले समाजसँग राजनीति कसरी जोड्न सकिन्छ भनेर आफूहरुले गम्भीर छलफल गर्ने बताए । ‘पार्टीको घोषणापत्र र विधान अधिवेशनमा मिहिन छलफल हुन्छ’, डा. भट्टराईले भने, ‘वैकल्पिक राजनीतिक शक्ति निर्माणको आधारबारे छलफल गर्छौं ।’

वैकल्पिक शक्ति र सरकारका सिद्धान्त तथा प्रतिवद्धताहरु, आर्थिक विकास तथा समृद्धिको अवधारणा लक्ष्य र नीतिहरु, लोकतन्त्रको सवलीकरण, सुशासन, नयाँ वैकल्पिक शक्ति र समाजवादको अपरिहार्यता तय गरिने उनले बताए ।

घोषणा पत्र, नीति तथा कार्यक्रम र अहिलेको पार्टीहरुप्रतिको दृष्टिकोण पनि प्रस्तुत गरिने भट्टराईको भनाइ थियो । माघसम्म महाधिवेशन पनि गरिने भट्टराईले बताए ।

नेपाली समाजले तुरुन्तै फलको अपेक्षा गर्ने तर त्यसको प्रतिफल ढिलो प्राप्त हुने भट्टराईको भनाइ थियो । २०७२ सालमा संविधान जारी भएपछि एउटा राजनीतिक चरण सकिएको भन्दै आफूले नयाँ यात्रा सुरु गरेको र हिजोको नयाँ शक्ति निर्माणको अभियानमै रहेको भट्टराईले बताए ।

अधिवेशनमा देशभरबाट ५ सयभन्दा बढी सहभागी हुने नेता आमोद थापा (किरण) ले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?