पंगेनीजी अफिस आए। हाजिर गरे अनि हिंडे। अफिसबाट गएपछि पंगेनीजीको एकल गन्तव्य भनेको भट्टी नै थियो। यो सबैलाई थाहा थियो। त्यहाँ मस्त मदिरापान गरी मदमस्त भएर बेलुकीपख मात्रै घर फर्किनु उनको दैनिकी थियो। यो पनि दुनियाँलाई थाहा थियो।
अझ उनका सहकर्मीहरूलाई भलिभाँती थाहा थियो। टन्न जाँड धोकेर घर फिर्दा बाटोमा रिस उठे जति जम्मैलाई गाली गर्न भ्याउँथे। कसैलाई पाखुरै सुर्कन्थे। कसैलाई हप्कीदप्की गर्थे। कुनै कुनै दिन उनको सेड्युलमा राजनीतिक दलका शीर्षस्थ नेताहरू पनि पर्थे। उनलाई चिन्ने कतिपय मान्छेहरू ‘यस्ता जँड्याहासँग के कुरा गर्नु´ भन्दै तर्किंदै हिंड्थे।
घरमा पनि उनलाई स्पष्टीकरणको कुनै गुन्जाइस थिएन। सधैंको दैनिकी यस्तै भएपछि सोधेर पनि के साध्य र! त्यसैले वर्षौंदेखि उनको यो दैनिकी जारी थियो। १० बजे अफिस आउनु, १२ बजेको आसपासमा जानु उनको नियमितता थियो।
ई-हाजिरीको चलन न आइसकेकोले बेलुकीको क्लोजिङ्ग हाजिरी भोलिपल्ट वा पर्सिपल्ट गर्दा पनि हुने जमाना थियो त्यो। चालुगिरी र ठालुगिरीमा उस्ताद कतिपय कर्मचारीहरूले महिनाभरीको हाजिरी एकै दिन भ्याउँदै थोक हाजिरी पनि गर्थे। त्यो अर्कै कुरा भो।
यसरी पंगेनीजीले हाटा (हाजिर गरेर टाप ठोक्ने काम) गरेकोमा अफिसमा कसैको पनि कुनै वाधा विरोध हुँदैनथ्यो। उल्टै बेला बेलामा आउने छड्केबाट समेत बचाइदिन्थे। उनका साथीभाइहरू त्यस्ता छड्के टोलीका हाकिमलाई ‘अफिसकै एउटा सानो कामले एकछिन बाहिर जानु भा’छ आइहाल्नुहुन्छ´ भनिदिन्थे।
हुन त अफिसमै बसे पनि उनको कुनै काम थिएन। केही गरी काम दिइहाल्यो भने पनि या त गर्दै गर्दैनथे या त अरूलाई भिडाउँथे। कथम् गरिहाले भने काम उल्टै बढाइदिन्थे। बिगारिदिन्थे। तैपनि कसैले गुनासो भने गर्दैनथे।
करीब पाँच वर्षपछि पंगेनीजी कुन्नि कसरी हो पूरै सुध्रे। दुनियाँलाई तीन छक्क पार्दै सुध्रे। जाँडरक्सी त छुनै छाडेछन्। चुरोट खैनी जस्ता अम्मल पनि बारेछन्। तर अफिस आउने र हाटा गर्ने बानी भने छाड्दै छाडेनन्।
अबचाहिं हाटा गरेर उनी भट्टीतिर होइन अन्तैतिर लाग्न थालेछन्। करीब करीब दुई महिनासम्म त धेरैले ‘यसको गन्तव्य उही त हो नि’ भन्दै बसे। कसैले खोजीनिती पनि गरेन। पंगेनीजीले कसैलाई भन्दा पनि भनेनन्। तर उनको गतिविधि र अरू धेरै सङ्केतहरू यो परिकल्पना अर्थात् ‘गन्तव्य पुरानै´ को विरुद्धमा थिए।
न बिहान अफिस आउँदा मुख सुन्निएको हुन्थ्यो। न डुङडुङती गन्ध नै आउँथ्यो। पहिलाका फूकीढल उनी हृष्टपुष्ट र पोटिला हुँदै गएका थिए। मुहारमा भिन्नै किसिमको चमकदमक देखिन्थ्यो। कलम समाउँदा थरथर काँप्ने हात अहिले दृढ देखिन्थ्यो। तथापि उनले कलम समाउने चाहिं हाजिर गर्नलाई मात्रै थियो। अफिसको काम त उनी गर्दै गर्दैनथे। मान्छेसँग बोल्ने, प्रस्तुत हुने काइदामा पनि फरकपन दृष्टिगोचर हुन थालेको थियो।
पहिलेका त्यस्ता कुनै पनि इन्डिकेटरहरू अहिले नभएपछि कसै कसैले शंका पनि गर्न भ्याए। यस्तै शंकालुहरूको शंका बढ्दै गएपछि उनी हाजिर गरेर भट्टीतिर जान छाडेको कुरा सबैले थाहा पाए। ‘आखिर जान्छन् चाहिं कहाँ?´
अब सबैको चासो यसैमा भयो। जाँडरक्सी छाडेका छन्। जुवा तास खेल्ने बानी पहिला पनि थिएन। अहिले पनि छैन। ‘रङ्गीन कला’ का अतिरिक्त अभ्यासमा उनी निकै पछाडि थिए। यस्तोमा उनलाई चासो नै थिएन। पहिला पनि र अहिले पनि।
‘आखिर जान्छन् चाहिं कहाँ?´
खुद्रा चासो अब थोकमा व्यक्त हुन थाल्यो। तर कसैले सोधेन।
चासो राख्नेहरूले पछि थाहा पाएरै छाडे कि उनले एउटा सानोतिनो कृषि फार्म खोलेका छन् भनेर। कसैले बधाई दिए। कसैले शुभकामना दिए। कोही इर्ष्याले जले। कोही डाहाले छट्पटिए। यस्तो जँड्याहा कसरी यस्तो किसिमले सप्रियो भनेर कति मान्छेहरू त तीन छक्क पनि परे।
यही बीचमा एकदिन उनले आफ्ना साथीहरूलाई फार्म देखाउन लगे। उनको कृषि फर्ममा दुई जनाले त ढुक्कैले प्रत्यक्ष रोजगारी पाएका थिए। कुखुरापालन, बाख्रापालन, तरकारी खेती इत्यादी राम्रैसित फस्टाएको थियो। एक बिघा तीन कट्ठा जग्गा भाडामा लिएर कृषि विकास बैंकबाट कर्जा लिएर उनले यो फार्म खोलेका रहेछन्।
कृषि फार्म खोलेपछि उनको अरू सबै दैनिकी फेरिए पनि हाटाको दैनिकी भने फेरिएन। अफिस आउनु, हाटा गर्नु र आफ्नो फार्ममा जानु नयाँ दैनिकी थियो। उनको फार्म हेर्दा उनी परिश्रमी, लगनशील र मिहिनेती कृषक हुन् भन्न सङ्कोच मान्नुपर्ने कुनै अवस्था नै थिएन। उता अफिसतिर हेर्दा भने कामचोर, भगुवा र हाटावाल कर्मचारी नै थिए। जँड्याहा अब भन्दैनथे।
आफ्नो कृषि फार्मबाट अफिसको जागिरले भन्दा निकै धेरै कमाउन थाले तर पनि खै किन हो कुन्नि उनले जागिर छोड्न भने सकेकै थिएनन्। शायद बीस वर्ष खाई पेन्सन पकाइछाड्ने लोभ हुँदो हो। त्यसैले हत्तपत्त छोड्न मन नलाग्ने चीजको नाम नै जागिर हो अथवा ‘नपाउञ्जेल पाउनै गाह्रो पाएपछि छाड्नै गाह्रो´ चीजको नाम पनि जागिर नै हो!
उनी जँड्याहा हुँदा पनि हाटा नै गर्थे भने सुध्रिएपछि पनि हाटा नै गरे। यो मात्रै एक समानता थियो उनको अघिल्लो जागिरे जीवन र पछिल्लो जागिरे जीवनमा। यही समानता नै उनको कुरा काट्ने आधार बन्दियो। यही समानता नै अख्तियारमा उनको नाममा थुप्रै बेनामी उजुरी पर्ने आधार बन्दियो।
‘कोही भने दिनभरि अफिसमा काम गर्ने; पंगेनीजी भने हाटा गरेर आफ्नो व्यतिगत काम गर्ने। अनि तलब बराबर!´ कुरो सोह्रै आना अन्यायपूर्ण थियो। यो अन्यायका स्रोत पंगेनीजी पहिलादेखि नै थिए। तर पछिल्लो अन्याय भने उनको विरादरीमा असह्य भो।
अन्ततोगत्वा उनले कि हाटावाला जागिर छोड्नुपर्ने भो कि हाटा गर्ने गलत बानी। उनले बानी छोडेनन् बरू पेन्सन सेन्सन सब माया मारेर जागिर नै छोडे। उनले जागिर छोडेको आज पन्ध्र वर्ष भैसकेछ तर एउटा प्रश्नले आजसम्म पनि उनलाई चिमोटिरहन्छ- ‘अख्तियारमा उजुरी म नामूद जँड्याहा हुँदा चाहिं किन परेन ?!’
प्रतिक्रिया 4