दशैं आउन थालेपछि काठमाडौंमा उपत्यका बाहिरबाट आएर पेशा व्यवसाय गरिरहेका मानिसहरुका बीच धेरैले एकअर्कालाई सोध्ने प्रश्न हो, ‘घर कहिले जाने ?’ यो प्रश्न सोध्ने र उत्तर दिने दुवैलाई थाहा हुन्छ– घर भनेको बाल्यकालमा हुर्के बढेको वा बाआमा बसिरहेको ठाउँ हो ।
तराईतिर वा काठमाडौंमा पनि दशक अगाडिसम्म पनि पहाड मूलका मानिसले आफ्नो घर तराईको जिल्ला बताउँदा, थप प्रश्न सोध्ने गरिन्थ्यो, ‘पहाड घरचाहिं कता हो ?’ परिचित मानिसबीच वा कार्यक्षेत्रमा परिचय भएका व्यक्ति बीचमा ‘घर कता हो ?’ भन्ने प्रश्न ठिकै लागे पनि यात्रामा एक दुई घण्टा वा त्योभन्दा कम समय सँगै हुने मानिसले सोध्दा भने धेरै मानिसलाई अजिब लाग्छ, । र, त उत्तरमा, ‘के फरक पर्छ र ?’ देखि ‘तपाईलाई किन चाहियो ?’ जस्ता रुखा प्रतिउत्तर आउँछन् ।
यो वर्षको दशैं नजिकिँदै गर्दा आएको बाढी पहिरोले सडक बिगारेका कारण काठमाडौंमा बस्ने धेरै मध्यम वर्गीय परिवारका सदस्यलाई ‘यस्तै बस्ने कि घर जाने ?’ भन्ने दुविधाले थिचिरह्यो । यसै दुविधाका बीच धेरैले पहिलो पटक घर नजाने निर्णय गरे । घर नजाने भनेर बसेका कतिपय भने अन्तिम समयमा निर्णय बदलेर घर हिँडेका पनि भेटिन्छन् । कैयौं मानिस बाढीपहिरोको कहरकै बीच दुःखसुख घर पुगे ।
यो लेख काठमाडौंमा, सामाजिक सञ्जालमा, यात्राका क्रममा र गाउँमा गएपछि गाउँमा मानिसहरु बीच भएका गफगाफका आधारमा तयार गरिएको हो । जसमा काठामडौंमा पेशा व्यवसाय गरेर मध्यम वर्गिय परिवारका मानिसले गर्ने घरको व्याख्या जोडिएको छ ।
यसभित्र ‘घर’ अर्थात् बाआमा बसिरहेको वा आफू जन्मेहुर्केको ठाउँसँगको सम्बन्ध, महत्व, घरसँग जोडएको भावना र शक्ति, घरभित्रको विभेद र पराइपनका साथसाथै घर भएर पनि घरविहीन हुर्किरहेको पुस्ताको सवाललाई केन्द्रमा राखिएको छ ।
घर अर्थात् सम्पत्ति र शक्ति
घर भन्नेबित्तिकै धेरैको मनमा आउने विम्ब रहेछ रहेछ– लालपुर्जामा आफ्नो नाम भएको नीजि सम्पत्ति । जति नै राम्रो, महँगो र सुविधासम्पन्न भए पनि भाडा तिर्ने डेरा वा फ्ल्याटलाई घर नमान्ने धेरै मानिस छन् ।
उमेरमा ४० लाग्दै गर्दा मानिसहरुले दिने सल्लाहको सूची र दशैंमा दिने आर्शिवादमा नछुट्ने एउटा आर्शिवाद रहेछ, ‘छिट्टै एउटा घर होस् ।’ तर, गाउँमा घाँस काट्दा-काट्दै, गोठमा काम गर्दागर्दै उच्च शिक्षाको रहरमा शहर छिरेर सानोतिनो पेशा व्यवसाय गरिरहेको मध्यमवर्गीय परिवारलाई कहिले पेशा व्यवसायलाई फैलाउने कुरा ठूलो लागेर आउँछ भने कहिलेकाही घर बनाउने कुरा ठूलो लागेर आउँछ ।
आफ्नै घर चाहिन्छ भन्ने मनोविज्ञान निर्माण हुनुमा घाम र हावा कम छिर्ने भुईतलाको डेरा, बत्ति-पानीको पैसाको झमेलादेखि भित्तामा एउटा फोटो झुण्ड्याउन खोज्दा, ‘भित्तामा किला नठोक्नू’ भन्ने घरबेटीको भनाइ, पाहुना आउँदा गरिने निदिखुदी र हेपाहापनका कारण आत्मसम्मानमा लागेको चोटलगायतका तत्वले काम गर्ने रहेछन् ।
तैपनि, काठमाडौंमा सानोतिनो घर बनाएकामध्ये पनि धेरैलाई दशैंमा भने त्यो घर घरजस्तो लाग्दैन रहेछ । घरमा तालाचाबी लगाएर बाआमा बसिरहेको वा आफू हुर्केको गाउँमा जाने गरेको पाइन्छ । यसबाट घर भनेको केवल आफ्नो स्वामित्वको निजी भवन मात्रै होइन रहेछ भन्ने बुझिन्छ ।
घर अर्थात् परिवार र समुदाय
दशैंको बेलामा घरको पर्यायवाची भनेको आफ्नो अग्रज पुस्ता जहाँ छन् त्यही ठाउँ वा हुर्केबढेको ठाउँ हुने गरेको पाइन्छ । यही मनोभावनाका कारण काठमाडौंमा आफ्नै घरमा दशैं मान्न बसेका धेरैलाई लागिरहन्छ, ‘काठमाडौंको बसाइँ घर गएजस्तो हुने रहेनछ ।’ त्यसरी घर गएजस्तो नहुनुमा बसेर रमाइलो गर्ने पुराना (बाल्यकालका) साथी नहुनु, आफन्तहरुसँग भेटघाट नहुनुको भूमिका हुन्छ । किनभने मानिस आफ्नो समुदायमा हुनु भनेको बाल्यकालका सम्झनाहरु ताजा हुनु, आफन्तहरुबीच आत्मीयता पुनःस्थापना गर्नु र आफू जन्मेहुर्केको ठाउँमा आएका परिवर्तनहरुलाई विश्लेषण गर्नु र त्योसँगैका रमाइलो जोडिएका हुन्छन् । जसले गर्दा मानिसलाई ऊ एक्लो छैन भन्ने महशुस गराउँछ ।
शहरमा ती सबैको कमीका कारणले मानिसलाई एक्लोजस्तो महशुस गराउँछ । आफ्नोपन, सामूहिक भावना पुस्तौं पुस्तादेखिको जानपहिचानको सम्बन्धको पनि घर हो । त्यसैले त घर नजाने भनेर निर्णय गरेका मानिसहरु पनि दशैंको एक दुई दिन अगाडि लर्को लागेर गाउँ फर्किरहेका छन् ।
घर भित्रका घरविहीनहरु
घरभित्र आफ्नोपनका साथसाथै कयौँका लागि घर बिरानो लागेपनि जानुपर्ने बाध्यता रहेको छ, विशेषगरि बुहारीहरुका लागि । हाम्रो पुस्ताले सानैबाट सुन्दै आएको, ‘महिला (समाजको भाषामा आईमाई)को घर पनि हुन्न, थर पनि हुन्न’देखि माइतीघर, पराइघरजस्ता घरका शब्दावलीले घरसँग जोडिएका विविधतामा लैगिंकताका सवाल जोडिन्छन्।
दशैं धेरै बुहारीको लागि भाडादेखि भाडासम्मको सफर पनि हो । अर्थात् खाना पकायो भाडा धोयो, फेरि पकायो फेरि धोयो गर्दा गर्दै दशैं सकिन्छ । घरका सबैजना बसेर रमाईलो गरिरहँदा, आफूले काम गरिरहनु पर्दाको भोगाइले धेरैलाई पराइ घर वा आफू कामदारजस्तो महशुस गराइरहन्छन् । तर, के बुहारीलाईभन्दा छोरीलाई सजिलो छ त दशैंमा ?
श्रीमान् विदेशमा भएकी, माइतीघर नजिकै भएकी, लामो समयदेखि लैंगिक विभेदविरुद्ध काम गर्ने संस्थामा कार्यरत मेरी एक साथीलाई ‘यो वर्ष त सर हुनुहुन्न, दशैं यतै होला है ? भनेर सोधेकी थिएँ। उत्तरमा उनले भनिन्, ‘चाडबाडमा त माइत जान्न, घरै जाने हो ।’ र, उनले थपिन्, ‘हामीले मात्रै अधिकारका कुरा गरेर हुन्न, घरमा भाउजुबुहारी हुन्छन् । उनीहरुको आफ्नो योजना हुन्छ, आफ्नो सोच हुन्छ । हामीहरु त्यहाँ जाँदा उनीहरुलाई पनि अप्ठ्यारो, आफूलाई पनि अप्ठ्यारो अवस्था बन्छ । नन्द अमाजुलाई काम लगाउन उनीहरुलाई असजिलो, उनीहरुको व्यवस्थामा गएर आफूले म गर्छु भन्न आफैंलाई अप्ठेरो । माइतमा गएपछि जे दिन्छन्, त्यही खानपर्यो । बरु आफ्नो (श्रीमानका बाआमाको) घर गयो, डाडुपन्यूँ समायो आफूलाई मनपरेको पकायो, उनीहरु पनि खुशी, आफू पनि खुशी ।’ उनले भनेको पक्ष पनि धेरैको घरभित्रको सत्य हो ।
भूमण्डलीकरणमा हुर्किइरहेको घरविहीन पुस्ता
काठमाडौंमा हुर्किरहेका बालबालिकालाई कसैले ‘घर कहाँ हो ?’ भनेर सोधे ‘हाम्रा घर त धेरैवटा छन्’ वा ‘हाम्रो त घर छैन’ वा आफू बसिरहेको ठाउँको बारेमा भन्ने सम्भावना हुन्छ । कयौं बालबालिका लागि घरको प्रश्न अप्ठेरो प्रश्न हो ।
‘हाम्रा घर धेरै छन्’ भन्ने बच्चाको व्याख्या हुन्छ-‘आमाको बाआमाको घर, बाबाको बाआमाको घर, अर्को शहरमा रहेका मामा, काका वा ठूलो बा, फुपु, सानी आमा, ठूली आमाको घर, अनि आफू बस्दै आएको घर । सबै घरमा वर्षमा दुईचार दिन बस्दा आफ्नै जस्तो भने हुन्छ । तर, उनीहरुको कसैसँग पनि गहिरो सम्बन्ध बन्दैन।
न त व्यक्तिसँग, न त समाजसँग, न त उक्त घरसँग उनीहरुको भावनात्मक सम्बन्ध मजबुत बन्छ । जसले गर्दा अर्को पुस्ताले सायदै घर जाने भनेर अहिलेको जस्तो शहर नै खाली गरेर घर फर्किने अवस्था आउँछ । साथसाथै आफ्नो समुदाय भन्नेकुरा पनि हराउँदै जाने सम्भावना हुन्छ ।
अन्त्यमा, आम दिनमा घर भनेको निजी सम्पत्ति पनि हो तर आफ्नोपनसहितको घर भनेको बलियो सम्बन्ध भएका मानिसहरुको समुदायिक पहिचान पनि पनि हो । वर्तमान समयसम्ममा महिलाका लागि घर भनेको विभेदसहितको ठाउँ पनि हो । वर्तमान हुर्किरहेको पुस्ताको लागि ‘घर’ भन्ने सामुदायिक सम्बन्ध कमजोर बन्दै गएको छ । र, पनि घर भनेको धेरैको लागि आफ्नोपन महसुस हुने ठाउँ हो ।
प्रतिक्रिया 4