‘कोरियालीहरूले साहित्यमा नोबेल पुरस्कार जित्दैनन्’ यही भन्दै एउटा पात्रले कोरिया छाडेर क्यानडा सर्छ, बाह्र वर्षको उमेरमा, फिल्म ‘पास्ट लाइभ्स’मा। ओस्कारमा उत्कृष्ट फिल्म तथा अन्य विधामा मनोनित भएको ‘पास्ट लाइभ्स्’ प्रदर्शनमा आएको लगभग एक वर्षपछि कोरियाकी चर्चित लेखिका ‘हान काङ’ले साहित्यमा नोबेल पुरस्कार जितिन्। उनी उक्त पुरस्कारबाट सम्मानित हुने पहिलो एसियन महिला लेखक बन्न पुगिन्।
अहिले उनको चर्चा साहित्य वृत्तको कुनाकाँप्चा जताततै भइरहेको छ। विजेता घोषणा भएपछि उनले ‘आफू पूर्णरूपमा सम्मानित महसुस गरिरहेको’ बताएकी थिइन्, तर उनले आफ्नो जितको उत्सव भने मनाउन अस्वीकार गरिन्। त्यो उनको पक्कै आश्चर्यचकित अभिव्यक्ति तथा निर्णय थियो। उनले आफूलाई स्पष्ट पार्दै बताएकी थिइन्, ‘यस जितले ठूला जिम्मेवारीहरू पनि थपिदिएका छन्। अब म केवल कोरियाली लेखक मात्रै रहिनँ।’ युक्रेन र प्यालेस्टाइनमा भइरहेको युद्धका कारण हरेक दिन ज्यान गुमाउनु परेका मान्छेहरूलाई ध्यानमा राखेर आफूले नोबेल पुरस्कारको उत्सव मनाउन उचित नभएको उनले बताइन्।
प्राय: नोबेल पुरस्कार तथा अन्य प्रतिष्ठित पुरस्कारहरूले लेखक वा अन्य व्यक्तित्वहरूलाई उत्पीडन, युद्ध र अन्यायको विरुद्ध सार्वजनिक रूपमा उभिन महान् अवसर प्रदान गर्दछ। तर, सबै पुरस्कार विजेताहरूले उक्त अवसरको भरपूर उपयोग गर्दैनन् अथवा गर्न सक्दैनन्। हान काङका बुबा, जो आफैं पनि एक प्रख्यात लेखक हुन्; एक पत्रकार सम्मेलनमा उपस्थित भएर उनकी छोरीको उक्त सन्देशलाई सञ्चारमाध्यम तथा साहित्यप्रेमीहरूमा व्यक्त गरेका थिए, ‘युद्ध बढ्दै गइरहेको र हरेक दिन मान्छेहरू मर्दै गइरहेको अवस्थामा हामी कसरी उत्सव मनाउन सक्छौं ?’
सुरूमा हान काङका बुबा तथा लेखक ‘हान सेङ-वोन’लाई आफ्नो छोरीले नोबेल पुरस्कार जितेको खबर झुट लागेको थियो। छोरीले उक्त पुरस्कार यति चाँडै जित्लिन् भनेर उनले कल्पना समेत गरेका थिएनन्। उनले बताएका थिए, ‘स्वीडिस एकेडेमीका निर्णायकहरूले अक्सर वृद्ध लेखक तथा कविहरूलाई नोबेल पुरस्कारका लागि चयन गर्छन्। मलाई लागेको थियो, मेरी छोरीले अझै केही वर्ष पर्खनुपर्छ।’ त्यसैले उनी त्यस रात उक्त खबरलाई असत्य मानेर निदाएका थिए।
हान काङ साहित्यमा नोबेल पुरस्कार जित्ने १८औं महिला हुन्। यो पुरस्कार जित्नेहरूमा केवल १५ प्रतिशत महिला रहेका छन्। तर, २१औं शताब्दीको शुरूआतसँगै भने यो सूचीमा महिला लेखकहरूको उपस्थिति उल्लेखनीय रूपमा बढेको छ। गत बाह्र वर्षमा, ६ जना विजेता महिला छन्, जसले साहित्यमा महिलाहरूको बढ्दो प्रभावलाई प्रतिबिम्बित गरेको देखिन्छ। यो ऐतिहासिक उपलब्धिभन्दा अघि हान काङ ‘बुकर अन्तर्राष्ट्रिय पुरस्कार’बाट पनि सम्मानित भइसकेकी थिइन्, सन् २०१६ मा। उपन्यास ‘द भेजिटेरियन’ मार्फत उनी सो पुरस्कार जित्ने पहिलो दक्षिण कोरियाली लेखक बनेकी थिइन्। त्यो बेला पनि उक्त समाचारले देशभर उत्साहको लहर ल्याएको थियो। धेरैले बुकर पुरस्कारलाई साहित्यको नोबेल पुरस्कारपछि दोस्रो दर्जाको रूपमा हेर्ने गर्छन्।
कोरियाली आधुनिकतावादी कवि ‘यी साङ’को एउटा कविताको पङ्क्ति छ, ‘मान्छेहरू बोटबिरूवाहरू हुनुपर्छ’। उक्त पङ्क्तिलाई ‘हान काङ’ले जापानी उपनिवेशवादको समयमा कोरियाली इतिहासको हिंसा विरुद्धको एक प्रकारको प्रतिरक्षात्मक अडान तथा बिम्बका रूपमा बुझेकी थिइन्। उनी त्यस पङ्क्तिबाट निकै नै प्रभावित भएकी थिइन्, जसले उनलाई एक प्रकारले ‘द भेजिटेरियन’ लेख्न प्रेरणा दिएको थियो। ‘द भेजिटेरियन’ हानको पहिलो उपन्यास हो, जुन अंग्रेजीमा अनुवाद भएको थियो। द भेजिटेरियन नै हान काङलाई विश्वव्यापी ख्याति दिलाउने कृति बन्न पुग्यो। ‘न्यू योर्क टाइम्स’ले उक्त किताबलाई २०१६ को सर्वश्रेष्ठ दश किताबहरूको सूचीमा चयन गरेको थियो। त्यो बाहेक किताबले २१औं शताब्दीको उत्कृष्ट सय किताबमा पनि आफूलाई अटाएको छ।
द भेजिटेरियन यस्तो पात्रको कथा हो, जसले एक डरलाग्दो सपना देखेपछि अचानक मासु खान छोड्छिन् र अन्ततः आफूलाई रूखमा परिणत हुँदै गइरहेको महसुस गर्छिन्। तीन भागमा विभाजित कथालाई मुख्य पात्र ‘यङ-हे’को श्रीमान्, यौन-आशक्त ज्वाइँ र ईर्ष्यालु तर चिन्तित दिदीको दृष्टिकोणबाट देखाइएको छ। ‘हान काङ’कै सन् १९९७ मा प्रकाशित छोटो कथा ‘द फ्रुट अफ माई वमेन’ मा आधारित हो, द भेजिटेरियन।
त्यो बेला ‘द भेजिटेरियन’को अंग्रेजी अनुवाद विवादास्पद बनेको थियो। कोरियाली भाषा तथा संस्कृतिमा पर्याप्त ज्ञान नभएको हुँदा अनुवादक ‘डेबोरा स्मिथ’को अनुवादमा केही आधारभूत त्रुटिहरू देखिएका थिए। त्योसँगै हान काङको मौलिक कोरियाली शैलीलाई परिवर्तन गरेको आरोप पनि लगाइएको थियो, ‘डेबोरा स्मिथ’लाई। उनलाई हानको लेखनको भावनात्मक गहिराइलाई सही रूपमा व्यक्त गर्न नसकेको भनेर भनिएको थियो।
थुप्रै पाठक तथा सहकर्मीहरूले अनुवादको शुद्धताबारे लेखकलाई गुनासो पनि गरेका थिए। केही आलोचकहरूले अनुवादले हानको नाजुक, सटिक र सम्प्रेषण शैलीलाई अतिरञ्जित गरेको र उनीद्वारा प्रयोग गरिएका शब्दहरूको अर्थलाई फेरबदल गरेको भनेर आरोप लगाएका थिए। अनुवादले लेखकको विचारधारा र लेखनको विशिष्टता सही रूपमा प्रस्तुत गर्न असफल भएको हुँदा किताबको सन्देश र विषयवस्तुमा फरक दृष्टिकोण आइपुगेको उनीहरूले बताएका थिए।
केहीले भने अंग्रेजी भर्सनलाई अनुवाद नभएर एडेप्टेसन मात्र भएको बताएका थिए। उक्त विवाद त्यो बेला विशेषगरी कोरियाली पाठक तथा साहित्यिक वृत्तमा छलफलको विषय बनेको थियो। जब अंग्रेजी अनुवादको विवाद उठेको थियो, हान काङले विवादलाई धेरै बढ्न नदिई विषयलाई शान्तिपूर्ण ढंगले सम्बोधन गरेकी थिइन्। उनको स्वीकारोक्ति थियो, ‘अनुवाद र लेखन दुई फरक-फरक प्रक्रियाहरू हुन्, जसमा सधैं केही न केही अन्तर रहन्छ। कुनै पनि अनुवादले मूल भाषाका सबै पक्षहरूलाई सम्पूर्ण रूपमा समेट्न असमर्थ हुन्छन्, त्यसैले केही कुराहरू फरक रूपमा आउनु स्वाभाविक हो।’ तर, उनले डेबोरा स्मिथको कामको प्रशंसा गर्दै भनेकी थिइन्, ‘साहित्यलाई नयाँ भाषामा अनुवाद गर्नु भनेको पुनर्जन्म दिने जस्तै हो। उनले किताबलाई नयाँ पाठकसामु पुर्याउन ठूलो भूमिका खेलेकी छन्, जसले पुस्तकलाई अन्तर्राष्ट्रिय स्तरमा ध्यानाकर्षण गर्न सहयोग पुर्याएको छ। म खुसी छु।’
हानले अनुवादको विवादबारे व्यक्तिगत रूपमा कुनै गम्भीर टिप्पणी गरिनन्। उनले अनुवादको माध्यमबाट आउने प्राकृतिक भिन्नता र सांस्कृतिक अनुकूलनप्रति केही हदसम्म सहानुभूति देखाउँदै भनेकी थिइन्, ‘अनुवादकले आफ्नो परिश्रम र समर्पणका साथ काम गरेकी छिन्। पुस्तकको सारलाई अन्तर्राष्ट्रिय पाठकसमक्ष पुर्याउनु आफैंमा ठूलो कुरा हो। उनले पुस्तकलाई नयाँ जीवन दिएकी छिन्।’
अनुवादक डेबोरा स्मिथले द भेजिटेरियनको अनुवाद सन् २०१५ मा गरेकी थिइन्। आफू उक्त कृतिको गहिराइ र सन्देशबाट निकै नै प्रेरित तथा प्रभावित भएको उनले बताएकी थिइन्। भनिन्छ, स्मिथले द भेजिटेरियन अनुवाद गर्नुभन्दा तीन वर्षअघि मात्रै कोरियाली भाषा सिक्न सुरु गरेकी थिइन्। द भेजिटेरियनको अनुवादको प्रक्रिया शुरू गर्नुअघि उनले हानको लेखनी विशेषताहरू र कोरियाली सांस्कृतिकलाई बुझ्न केही समय लगाएकी थिइन्। उनले कृतिलाई गहिरो रूपमा बुझ्न धेरै अध्ययन तथा अनुसन्धान गरेकी थिइन्, तर जब विवाद निस्कियो उनी केही आत्तिइन्।
उनले विवाद बारे भनेकी थिइन्, ‘अनुवाद गर्नु आफैंमा एक चुनौतीपूर्ण प्रक्रिया हो। अझ कोरियाली साहित्यलाई अंग्रेजीमा अनुवाद गर्दा सांस्कृतिक र भाषागत भिन्नताहरूले थप जटिलता आउने गर्दछ। कुनै पनि अनुवादले मूल कथाको सम्पूर्णता तथा सन्देशलाई पूरै समेट्न सक्दैनन्।’ उनले त्यो विवादको समयमा रचनात्मक आलोचनालाई सकारात्मक रूपमा लिंदै अनुवादमा केही आधारभूत त्रुटिहरू भएको स्वीकारेकी पनि थिइन्।
अहिलेको सन्दर्भमा हेर्दा, ‘द भेजिटेरियन’को अंग्रेजी अनुवादले अन्तर्राष्ट्रिय साहित्यिक समुदायमा हान काङको लेखनलाई पहिचान दिलाउन महत्त्वपूर्ण भूमिका खेलेको छ, जसले कोरियाली साहित्यलाई विश्वव्यापी बनाउने प्रक्रियामा ठूलो योगदान पुर्याएको मान्न सकिन्छ। त्यो मात्रै नभएर हानलाई साहित्यमा नोबेल पुरस्कार जिताउनुमा ‘द भेजिटेरियन’को भूमिका कस्तो छ, सबैलाई थाहा छ।
यसरी कथाका भावनात्मक, सांस्कृतिक, ऐतिहासिक, राजनीतिक तथा सामाजिक गहिराइ तथा तत्वहरूलाई सही र न्यायोचित तरिकाले अनुवाद नहुँदा विगतमा थुप्रै विवाद उत्पन्न भएका थिए, हारुकी मुराकामीदेखि इजाबेल एलेन्डेसम्मका उपन्यासहरूमा। सूची लामै छ।
अनुवादकहरूले शब्दहरूसँगै कथाको सन्देश र भावनालाई पनि अनुवाद गर्नुपर्छ। त्योसँगै लेखकको शैलीलाई पनि उनीहरूले जोगाउनुपर्छ। जब अनुवादमा शैली परिवर्तन हुन्छ, पाठकहरूले कथाको गहिराइ र अर्थलाई गुमाउन सक्छन्। अनुवादकहरूले कहिलेकाहीं लेखकको विचारलाई व्याख्या गर्दा केही फरक दृष्टिकोण आउन सक्छ, जुन विवादको बीउ बन्न जान्छ। कहिलेकाहीं कुनै विशेष संस्कृति वा सन्दर्भसँग सम्बन्धित शब्द तथा भावनाहरूलाई अनुवाद गर्न केही कठिन हुन जान्छ, जसले गर्दा पाठकहरूलाई मूल अर्थ बुझ्न कठिनाइ पर्न सक्छ। हरेक भाषाको आफ्नो विशेष व्याकरण र संरचना हुन्छ। एउटा भाषामा सजिलै व्यक्त गर्न सकिने विचार तथा भावनालाई अर्को भाषामा त्यति सहज रूपमा पोख्न सकिंदैन। कहिलेकाहीं एउटा शब्दको बहुअर्थले पनि अनुवादमा भिन्नता ल्याउन सक्छ। लामो वाक्य र संरचनालाई अनुवादकले सरल बनाउन खोज्दा पनि कहिलेकाहीं केही विवरण गुम्न सक्छ।
पछि फेरि अनुवादक डेबोरा स्मिथले भनेकी थिइन्, ‘म मान्छु, द भेजिटेरियनको अंग्रेजी अनुवाद केही हदसम्म फरक किताब हो। कुनैको पनि लिटरल ट्रान्सलेट हुँदैन अथवा गर्न सकिंदैन। किनभने हरेक भाषाको व्याकरण फरक हुन्छ। शब्दावली भिन्न हुन्छ। यहाँसम्म कि संकेत तथा चिह्नहरूले समेत फरक अर्थ राख्छन्। हरेक अनुवादमा अनुवादकले आफ्ना केही रचनात्मकता गाँसेका हुन्छन्।’ पछिका संस्करणहरूमा हानसँग मिलेर स्मिथले त्रुटिहरू सच्याउन काम गरेकी थिइन्।
प्रतिक्रिया 4