म फेरि त्यसरी नै बगिरहेको छु, जसरी म पाँच दशक पहिले बग्दथें। कात्तिक महिनामा पनि शक्तिशाली फराकिलो कञ्चन र निर्मल जलधारा कलकलाउँदै छु। मेरो कलकलाउँदो आवाजबाट मैले मेरो विगत स्मरण गराउँदै सन्देश दिंदैछु।
फुलचोकी डाँडा शिर पारेर अनेकन् डाँडाकाँडा वनजङ्गलका जल आफूमा समाएर म निरन्तर बग्छु। मेरो उत्पत्ति फुलचोकी आसपासका डाँडाहरू भूमिडाँडा, कलाँती, कुशादेवी हुँदै पनौती सचितीर्थको त्रिवेणी धाममा पद्मावती, रुद्रावती, लीलावती र पुण्यमती संगम हुँदै भएको छ। अनेकौं धार्मिकस्थलहरूमा भक्तालुलाई पवित्र बनाई नमोबुद्ध, रोशी पालिकाहरू हुँदै म नेपालथोक सुनकोशीमा समाउँछु।
म यिनै रोशी सभ्यताको जननी, धार्मिक आस्थाको केन्द्र, जीवनामृत जल प्रवाहसँगै यस भेगका दैनिकी र खेतीपाती सिञ्चित गर्छु। म रोशी सभ्यताको रहनसहन, धर्मसंस्कृति, जल पारिस्थितिक प्रणालीको केन्द्र र कोशीको एक प्रमुख धारा हुँ।
म वन जङ्गल र चट्टानबाट संकलित पानीका धाराहरू आफूमा समाहित गरेर बग्छु। वन जङ्गलमा भएका रूख–बिरुवा बुट्यान मेरो लागि प्राकृतिक चाल्नी हुन्। जमिनबाट बग्ने मैला र दूषित पानीलाई प्राकृतिक रूपमा सङ्ल्याउन जंगलका रूख बोटविरुवाका जराहरूले चाल्नीको काम गर्दछन्।
त्यही सङ्लो पानी पहाडका चट्टानमा ठोक्किंदै आएका जल तरङ्ग निर्मल धारा ममा समाउँछन्। तर दशक भयो, मेरो उत्पत्ति क्षेत्रमा अनेकन् वन जङ्गल मासिए। दर्जनभन्दा बढी ठाउँमा ठूल्ठूला पहाड उत्खनन् गरी चट्टानहरू फोडेर लगिए, त्यस ठाउँमा कंकड र धुलाका अजंग पहाड मात्र बाँकी रह्यो।
मेरा उद्गम पहाडहरू थिलथिलो र धुजा-धुजा बनाए। म कलकलाउँदै बग्ने मेरा बाटामा सडक करिडोर बनाइए। कंकड र धुलाका पहाड थुपारिए। अनियन्त्रित र अव्यवस्थित बस्ती र संरचना बसाइए।
कंकड र धुलोले म अस्वस्थ भएँ, मेरा जलाधार कमजोर र धमिला भए, मेरा प्राकृतिक चाल्नी नासिए। कल्भर्ट बनाई मलाई पाइपमा सीमित गर्न खोजियो। दायाँ–बायाँ ठूल्ठूला पर्खाल र करिडोर सडक बनाई नहरीकरण र मलमूत्र सिधै मिसाई ढलकरण गरिएँ।
मेरो तीरमा बसेका नगर र बस्तीहरूका सबैखाले फोहोर मैलाका डंगुर सहज र सरल व्यवस्थापन म नै भएँ। हरेक नगरका मलमूत्र प्रशोधन नगरी सिधै ममा मिसाइयो जसले गर्दा म दुर्गन्धित, प्रदूषण र संक्रमण फैलाउने रोगी भएँ।
अब म झरी थेग्न सक्दिनँ। जमिनबाट बग्ने मैलो पानी सङ्ल्याउने जङ्गल र चट्टान नासिएर हिलो लेदोपानी ममा समेटिन्छ। एकैछिनको झरीले माटो र हिलो सहितको पानी मसँगै बग्न खोज्छन् र म कलकलाउँदै हिंड्ने मेरो बाटो यिनैले छेक्छन्।
मेरो उद्गम चट्टानका अनियन्त्रित र अव्यवस्थित दोहनले पहाड थिलथिलो भयो। त्यही थिलथिलो पहाड पहिरो भएर मेरो प्रवाह अवरोध गर्न खोजे। ठाउँ–ठाउँमा म यस्तै पहिरोले थुनिएँ, थुनिएका ठाउँहरू विस्फोट भएर मैले मेरो सभ्यता बगाएँ।
गाउँ बगे, मलाई साँघुरो पारेर मेरो बहावलाई नियन्त्रण गर्न बनाइएका पर्खालरूपी लगामहरू बगे। सडक करिडोररूपी मेरो बाटो बगे। मेरो रौद्र रूपसँगै मेरा अनेकन् सन्तति बगे।
पाइप र ढलमा सीमित गर्न खोजेका मेरो पारिस्थितिक प्रणाली बगे। यही उत्कर्षको पीडा पछि मैले केही समयको लागि भए पनि मेरो पुरानो स्वरूप पाएँ र मेरो सन्ततिलाई मेरो पुरानो रूपको झल्को दिएँ।
अझ पनि मेरा घाउहरू आलै छन्। मेरो उद्गममा अझै पनि नासिएका वनजङ्गल सहित अजङ्गका ठूला–ठूला धुला र कंकडका पहाड छन्। हरेक वर्ष वर्षामा धमिलिन्छु, पानीसँगै बग्ने यी धुला र कंकडले मसँगै मेरो सभ्यतालाई अझ पनि धेरै पिरोल्न बाँकी नै छ। हिउँदमा अझै बढी दुर्गन्धित, प्रदूषित रोगी भई सन्ततिमा महामारी फैलाउन बाँकी नै छ।
मेरो संरक्षण गर्न नसके पनि अतिक्रमण र दोहन रोक। म स्वस्थ रहे, रोशी सभ्यता स्वस्थ रहन्छ। म थलिए, रोशी सभ्यता थलिन्छ। म जीवन हुँ, म प्रकृति हुँ, म आस्था केन्द्र हुँ, मलाई बचाऊ। रोशी सभ्यतालाई बचाऊ।
लेखक काठमाडौं युनिभर्सिटीका सहप्राध्यापक हुन्।
प्रतिक्रिया 4