“म तिम्रो पतिभन्दा पहिले तिम्रो मित्र हुँ । प्रेम कुनै सम्बन्ध वा शरीरमा बाँधिएको हुन्छ र ?”
हो, यसै भन्छन् नाटक ‘लोई हिंड कबिरसँगै’ मा कबिर आफ्नी नवदुलही लोईलाई । सम्बन्धको व्यापारीकरण र झुटो प्रेमको बिगबिगीले आक्रान्त बनेको आजको मानिसलाई कबिर र लोईको साँचो प्रेमले ओतप्रोत तिलस्मी संसारमा विचरण गराउँछ नाटक ‘लोई’ ले ।
प्रेमको सुन्दर, बृहत् र अनुपम परिभाषा लिएर भर्खरै नेपाली पाठक माझ नाटक ‘लोई’ ले प्रवेश गरेको छ । हिन्दी साहित्य जगतका ख्यातनाम लेखक प्रताप सोमवंशीद्वारा लिखित यस नाटकलाई पवन थापाले नेपालीमा अनुवाद गरेका छन् । जीवनमा छाएको अँध्यारोलाई पन्छाउँदै उज्यालोतिर पाइला बढाउन हाम्रो प्रेमिल हृदयले हामीलाई सक्षम बनाएको छ भन्ने वाणी र विचारले कबिरलाई लाखौं मानिसको हृदयमा वास गरायो ।
कबिरको यस्तो सुन्दर विचार र वाणीलाई कायम रहन दिने, त्यसलाई अझ सूक्ष्मता र सरलताका साथ आम मानिसको बीचमा सघन रूपले फैलाउने काम उनकी पत्नी लोईले गरेकी हुन् । तर समाजले लोईलाई कहिल्यै सम्झन, आफ्नो हृदयमा सम्मानपूर्वक सजाएर राख्न सकेन । राख्तो हो त यसअघि नै लेखिंदो हो ‘लोई’ । तर जब लेखियो उनलाई केन्द्रमा राखेर, लोईलाई पूर्ण न्याय दिएर लेखियो । ‘लोई’ लाई लेखक प्रताप सोमवंशीले जत्तिकै न्याय यसका अनुवादक पवन थापाले पनि गरेका छन् ।
लोईमा भएका हरेक दृश्य, संवाद, भजन र दोहाको नेपालीमा सुन्दर र सहज ढंगले अनुवाद गरिएको छ । नाटकलाई धेरै हदसम्म नेपालीकरण गर्ने प्रयास गरिएको छ । अनुवादकले नेपाली पाठकलाई नाटकको बनोट, ध्वनि, दृश्य आदिमा नेपाली सुगन्ध र स्वाद पस्किने प्रयत्न गरेका छन् । यो नाटक पढ्दा लाग्छ लोई र कबिर नेपालकै कुनै गाउँमा प्रेमालाप गरिरहेका छन् । समाजको कुरीति र कुप्रथा विरुद्धको बहस छेडिरहेका छन् । मन माझा-माझ गरिरहेका छन् ।
‘लोई’ नाटक मार्फत थापाले नेपाली पाठकलाई ६५० वर्ष अघिको भारतको भूगोल, संस्कृति र परिवेशमा प्रवेश गराएका छन् । नाटक पढ्दै गर्दा पाठक इतिहासको त्यस घडीमा विचरण मात्र गर्दैन, ऊ त्यही संसारमा प्रेमपूर्वक बाँधिन्छ । लोईको संसारमा प्रविष्ट गरेपश्चात् प्राप्त भएको नवअनुभव र नवबोधको निम्ति लेखक/अनुवादक प्रति आभारी पनि हुन्छ पाठक ।
यस नाटकको क्यानभासमा प्रतिबिम्बित समाज हेर्दा लाग्छ हामीले आफू बाँचेकै समाजको ऐना ‘लोई’ मा हेरिरहेका छौं । लोईले उजागर गरेको तत्कालीन सामाजिक, सांस्कृतिक र राजनीतिक अवस्था अहिलेको समाजको भन्दा खासै भिन्न छैन । यही समानताले पाठकलाई ‘लोई’ को झन्झन् नजिक तुल्याउँछ ।
शिल्पको हिसाबले पनि ‘लोई’ उम्दा छ । एरिस्टोटलले प्रस्ताव गरेका नाटकमा हुनुपर्ने सम्पूर्ण तत्व : कथानक, पात्र, विचार तत्व, पद रचना, दृश्य विधान र गीत ‘लोई’ मा सन्तुलित ढंगले समविष्ट गरिएका छन् । लोईलाई केन्द्रमा राखेर लेखिएको यस नाटकमा समानताको अवधारणालाई केन्द्रमा राखिएको छ । समाजमा भएको कुरीति र विसंगतिको विरुद्ध नाटकका नायिका र नायकले गरेको संघर्षको कथा बोकेर ‘लोई’ को कथानक अघि बढेको छ ।
‘लोई’ का पात्रहरू स्पष्ट रूपले दुई कित्तामा बाँडिएका छन्- असल र खराब । मौैलवी, जोगी, पण्डित र शासक वर्गले अन्याय, ढोंग, अत्याचार जस्ता खराब प्रवृत्तिको प्रतिनिधित्व गरेका छन् भने नाटकका मुख्य पात्रद्वय लोई र कबिरले मानव जीवनका असल पक्षहरू प्रेम, समानता र सत्यताको प्रतिनिधित्व गरेका छन् । यस संसारमा भएका हरेक प्राणीलाई समान भावले हेर्नुपर्छ, समान व्यवहार गर्नुपर्छ भन्ने विचार तत्वलाई लोई र कबिर पात्रले न्याय गर्न सकेका छन् ।
कबिर र लोईले आफ्नो व्यवहारमा प्रस्तुत गरेका छन् : महिला र पुरुष समदर्शी हुन् न कि प्रतिस्पर्धी । कबिर भन्छन्, “म महिला र पुरुषमा भेद गर्दिनँ । वास्तवमा म कसैप्रति भेद गर्दिनँ । गलत गर्ने जो कोही चाहे त्यो पण्डित होस्, मौलवी होस्, पुरुष होस्, महिला होस्, हिन्दु होस् वा मुसलमान, म उसको विरुद्ध जहिले खडा हुन्छु । म हरेक प्राणीलाई समान रूपले सम्मान र प्रेम गर्छु । चाहे त्यो सर्प नै किन नहोस् !”
कबिरको यही विचारलाई लोईले आफ्नो व्यवहारद्वारा सम्प्रेषित गरेकी छिन् । उनले कबिरलाई उसको गन्तव्यसम्म पुर्याउन दिशानिर्दिष्ट गरेकी छिन् । लोई कबिरको अन्धभक्त भएर होइन सच्चा मित्र भएर उसको गल्ती औंल्याउँछिन् । कबिरले अभिव्यक्त गरेको स्त्रीद्वेषी भनाइको लोई प्रतिवाद गर्छिन् ।
त्यसैले कबिर भन्छन्, “लोई तिमी मेरो निम्ति नदी हौ, जसले मलाई प्रभुरूपी समुद्रसम्म पुग्ने सही दिशा देखाएको छ । जब म सही हुन्छु तिमी मेरो साथ, मेरो बराबरीमा खडा भएकी छौ । जहाँ म गलत हुन्छु, त्यहाँ मेरो गलतको प्रतिवाद गरेर तिमी मेरो सामुन्ने खडा भएकी छौ ।”
नाटकमा लोई र कबिर बेग्लै अस्तित्व भइकन पनि एक-अर्काको अस्तित्वमा अन्तरघुलन भएका छन् । समाजमा देखिएका विसंगति र असमानताको विरुद्ध संयुक्त युद्ध छेड्छन् । शान्तिपूर्ण वाक् युद्ध । लोई र कबिर यो विश्वास गर्छन् कि मानिस जन्मको आधारमा होइन, उसको कर्मको आधारमा महान् हुन्छ । मानिसलाई उसको आर्थिक हैसियत अनुसार व्यवहार गर्नु सरासर गलत हो ।
धर्मको नाममा धर्मका ठेकेदारले डर पैदा गरेर मानिस माथि हैकम जमाउँछन् । जबकि ईश्वर र अल्लाहले सधैं प्रेम मात्र गर्न जान्दछन् । प्रभुले आफ्ना भक्तहरूमा केवल प्रेम बाँड्न जानेका हुन्छन् । प्रभुको नाममा डर र घृणा फैलाउने त धूर्त र पापी मानिसले हो । त्यसैले गलतको विरुद्धमा लडिरहन्छन् निरन्तर लोई र कबिर । थापिरहन्छन् सत्य र समानताको निम्ति ज्यानको बाजी ।
‘लोई’मा देख्न सकिन्छ लोईको अनन्त आत्मबल । लैंगिक स्टेरियोटाइपलाई चुनौती दिंदै नाटकको नायक कबिरको उद्धारकर्ताको रूपमा प्रस्तुत भएकी लोईलाई पाठक प्रेम नगरी रहन सक्दैन ।
नाटक ‘लोई’ मा शब्द चयन, नाटकले प्रदान गर्न खोजेको विचारलाई बोक्न सामर्थ्यवान् छन् । दृश्य विधान पाठकको निम्ति रुचिकर र मनोविनोदी छ । स्टेजको साजसज्जा, पात्रको भेषभूषा त्यस समयको झल्को दिने खालको छन्, जसले गर्दा नाटक बुझ्न पाठकलाई सहज भएको छ ।
पाठकले त्यसबेलाको समाजको झल्को पाएको छ । गीत-संगीतले पाठकको ध्यान बाँधिराख्न सफल भएको छ । तर भाषाको क्लिष्टताले गर्दा दोहा र भजन बुझ्न पाठकले केही असहज महसुस गर्नेछन् । दोहा र भजनका कुनै कुनै अंश ज्यादै सरल र सुन्दर ढंगले नेपाली रंगमा रंगाएर प्रस्तुत गरिएका छन् भने कतिपय अंशको भाव अनुवाद नभएर केवल शब्दानुवाद मात्रै भएको छ । जसले गर्दा पाठकलाई भजन र दोहा बुझ्न कठिन हुने देखिएको छ ।
तर विषयवस्तु र शिल्पीको हिसाबले ‘लोई’ लाई हेर्दा नेपाली पाठकले एउटा उम्दा नाटक पाएका छन् । यस नाटकमा कबिर भगवान्, जादुयी व्यक्तित्व होइन एक आम मानिस, एक पत्नीव्रता पति, मायालु छोरा, प्रेमिल बुबा, सत्यनिष्ठ मानिसको रूपमा प्रकट भएका छन् । कबिरलाई पाठकले उनका अनुयायी मार्फत होइन, उनकी पत्नी मार्फत चिन्ने मौका पाउँछन् ।
वास्तवमा भन्ने हो भने यो नाटक इतिहासको गर्तमा कतै विलीन भएकी, कोइलाको कालो धुलोले ढाकेर, समाज-सिर्जित कोइला खातमा दबिएर बसेकी हीराको कथा हो । जसको चमकलाई नाटकले पाठक सामुन्ने उजागर गरिदिएको छ । लोई एक हीरा हो भने यो पुस्तक त्यस हीरालाई सजाएर शिरमा लगाउन तयार पारिएको मुकुट हो ।
प्रतिक्रिया 4