घटना हो, सन् १९८९ को । लन्डनको नेसनल थियटर दर्शकहरूले भरिभराउ थियो, जहाँ लगभग चार घण्टा लामो नाटक ‘ह्याम्लेट’ मञ्चन भइरहेको थियो । ह्याम्लेटको भूमिकामा थिए, अभिनेता ड्यानियल डे-लुइस । दर्शकहरूबाट नाटकले मिश्रित समीक्षा पाइरहेको थियो । ड्यानियल डे-लुइसको अभिनयलाई लिएर आलोचकहरूले आलोचनासँगै आक्रमण पनि गरिरहेका थिए, ‘फिल्म अभिनेता’को ट्याग लगाएर । त्यो समय थिएटरकाले फिल्मलाई तल्लो दर्जाको कला र कलाकारका रूपमा चिन्दथे । त्यो वर्षौँदेखि चलिरहेको विवाद थियो, फिल्म र थिएटरबिचको ।
ड्यानियलले आफ्नो करियर थिएटरबाटै सुरू गरेका थिए । उनको निमित्त थियटर जरा थियो, जहाँ उनले उभिन सिकेका थिए । यसरी उनले आफ्नो धरातललाई छाडेर फिल्मलाई टेकेको थियटरकाले त्यति रूचाएका थिएनन् । उनले एकपछि अर्को फिल्ममा काम गर्न थालेपछि उनको पहिचान एउटा फिल्म अभिनेताको रूपमा विकसित भइसकेको थियो । नाट्य कम्पनी ‘रोयल शेक्सपियर कम्पनी’सँग काम नगर्ने निर्णय लिएपछि उनी झनै आलोचित हुन पुगेका थिए । उनको सो निर्यणलाई अपमानको रूपमा लिएका थिए, उक्त कम्पनीले ।
‘ह्याम्लेट’ नाटकले पाइरहेको खराब समीक्षा र आफ्नो अभिनयलाई लिएर भइरहेको आक्रमणले उनी निराश भएका थिए । उक्त नाटकको मञ्चन ६५ पटक भइसकेको थियो । अब केवल सात शो मात्र बाँकी थियो । ६६ औँ शो चलिरहेको थियो, सधैँझैं । नाटकमा एउटा विशेष दृश्यको समय आएको थियो, जहाँ ह्याम्लेटले आफ्नो मृत बुबाको प्रेतसँग संवाद गर्नुपर्ने थियो । त्यहीँ बेला एकाएक डेनियल भुइँमा लडे र रून थाले । उक्त दृश्यले सबैलाई चकित तुल्यायो । त्यसपछि उनलाई मञ्चपछाडि लगियो जहाँ उनले रूँदै भने, ‘म सक्दिनँ…. म सक्दिनँ । म फर्केर जादिनँ ।’ यसरी चलिरहेको नाटक बिचमै रोकिन पुगेको थियो । उनी गहिरो मानसिक थकानबाट गुज्रिरहेका थिए, त्यसैले चिकित्सकहरूले उनलाई केही समय मञ्चबाट टाढै रहने सल्लाह दिए । बाँकी शोहरूमा उनको स्थानमा अर्कै कलाकारले खेले । त्यो समय उक्त घटना निकै चर्चित भएको थियो । त्यस घटनाले ड्यानियललाई ठूलो मानसिक तथा भावनात्मक तनाव दिएको थियो । त्यसपछि उनलाई कहिल्यै थियटरमा देखिएन । एक प्रकारले उनले थियटरबाट सधैंका निमित्त अवकाश लिए ।
त्यो बेला वास्तवमा उनलाई मञ्चमा के भएको थियो भनेर अनेक थरिका अड्कल-अनुमानहरू लगाइयो । तर, उनले दिएको स्पष्टीकरणले त्यो उनको निकै व्यक्तिगत अनुभव रहेको देखाउँथ्यो । उनका अनुसार उनले मञ्चमा आफ्ना मृत बुबाको प्रेतलाई देखेका थिए । उक्त गहिरो तथा शक्तिशाली अनुभूतिले उनलाई अत्यन्तै भावुक र अस्थिर बनाएको थियो, जसका कारण उनले स्टेज छाड्नु पर्यो नाटक मञ्चन भइरहेको समयमा ।
उनी १५ वर्षको हुँदा उनका बुबा, सेसिल डे-लुइसको मृत्यु भएको थियो । आफ्नो बुबाको मृत्युले उनलाई धेरै नै प्रभाव पारेको थियो, जसले गर्दा उनी औषधि खाएर केही महिना अस्पतालसमेत भर्ना हुनुपरेको थियो । उनले उक्त घटनाबारे भनेका थिए, ‘त्यो बेला मैले भ्रम देखिरहेको थिए, जहाँ बुबाको प्रेत थियो । म उहाँसँग कुरा गरिरहेको थिएँ । तर, मैले मञ्च छोडेको कारण त्यो थिएन । मैले मञ्च छोड्नुपर्यो किनभने म पूर्णरूपमा रित्तो भइसकेको थिएँ । मभित्र केही थिएन । मैले भन्नु पर्ने केही थिएन… दिन सक्ने केही थिएन । यदि कसैले कोही पात्र भएर अभिनय गरिरहेको छ भने पक्कै पनि उसले आफ्ना अनुभवहरूबाट केही लिने गर्छन् । जब म ह्याम्लेट भएँ, आफ्नो बुबा ( ‘ह्याम्लेट’का बुबा ) को प्रेतसँग संवाद गर्नु पर्ने थियो.. मैले आफ्नै मृत बुबालाई सम्झिएँ । हाम्रो सम्बन्ध सम्झिएँ ।’
त्यो बेला थियटरका एक कलाकारले भनेका थिए, ‘मैले कसैलाई पनि समीक्षा यसरी व्यक्तिगत रूपमा लिएको कहिल्यै देखेको थिइनँ । तर, डेनियलले लिए । उनी खराब समीक्षाले विक्षिप्तझैं भएका थिए । हामी कलाकारले सधैं मञ्चबाहिर र भित्रको जीवनलाई व्यवस्थापन गर्न जान्नुपर्छ । एक दिन ड्यानियललाई भेट्न जाँदा उनी घरमा ‘ह्यामलेट’कै स्क्रिप्ट लिएर बसिरहेका थिए ।’
यसरी अभिनयको गहिराइमा डुब्ने कलाकारहरूको मानसिक स्वास्थ्यका चुनौतीहरू हुन्, यस्ता प्रकृतिका घटनाहरू ।
त्यो त्यही वर्ष ( सन् १९८९ ) थियो, जुन वर्ष उनले निर्देशक जिम शेरेडनको ‘माई लेफ्ट फुट’ खेलेका थिए, आयरिस लेखक तथा चित्रकार, क्रिस्टी ब्राउनको भूमिकामा । मस्तिष्क पक्षघातका पीडित क्रिस्टी ब्राउनको आत्मकथामा आधारित ‘माई लेफ्ट फुट’मा आफ्नो आइकोनिक भूमिकाका लागि ड्यानियलले एकेडेमी अवार्ड, बाफ्टा अवार्डसहित थुप्रै पुरस्कारहरू जिते ।
क्रिस्टी ब्राउन आफ्नो बायाँ खुट्टालाई मात्र चलाउन सक्थे । ड्यानियलले उक्त पात्रको अवस्थालाई गहिरोसँग बुझ्न मस्तिष्क पक्षघात क्लिनिकमा आठ हप्ताजति समय बिताए, जहाँ उनले अपाङ्गता भएका थुप्रै व्यक्तिहरूसँग मित्रता स्थापित गरे, उनीहरूलाई नजिकबाट बुझ्न । आफ्ना औँलाले लेख्न र चित्र बनाउन पनि सिके । उनले फिल्मको सम्पूर्ण छायांकन अवधिभर ह्वीलचेयर छाडेनन्, जसले गर्दा फिल्मका स्टाफहरूले उनलाई हरेकदिन गाडीभित्र र बाहिर बोक्नुपर्ने हुन्थ्यो । उनलाई चम्चाले खाना खुवाउनु पर्थ्यो । उनलाई ‘क्रिस्टी’ नामले सम्बोधन गर्नुपर्थ्यो ।
यसरी उनले ब्राउनको जीवनका सबै पक्षहरूलाई नजिक र गहिरोसँग अनुभव गर्न खोजे । अफवाह यस्तो पनि थियो, उनले छायांकनको क्रममा ह्वीलचेयरमा बसेर आफ्नो शरीर बांगो बनाएका कारण दुईवटा करङ भाँचिएका थिए, जसलाई उनले पछि गलत भएको बताए ।
सन् १९९७ मा आएको फिल्म ‘द बक्सर’ पछि उनले पाँच वर्षसम्म फिल्म दुनियाँबाट विश्राम लिए । त्यो अवधिमा उनले फर्निचर र जुत्ता बनाउने काम गरे । ‘द बक्सर’मा उनी आयरिस बक्सर ड्यानी फ्लिनको भूमिकामा थिए । उक्त पात्र खेल्नुभन्दा अघि उनले बक्सिङको प्रशिक्षण लिएका थिए, लगभग १८ महिनाजति । उनी कुनै प्रोफेसनल बक्सरझैं भइसकेका थिए । धेरैले भन्न थालेका थिए, उनले अब बक्सिङलाई आफ्नो करियरको रूपमा अघि बढाउनेछन् । उनका प्रशिक्षक ब्यारी म्याकगुइगनले समेत भनेका थिए, ‘ड्यानियल बक्सिङमा यति कुशल भइसकेका थिए कि बेलायतका शीर्ष १० मिडलवेट बक्सरहरूलाई हटाइदियो भने उनी एक पेशेवर बक्सरका रूपमा जो कसैसँग पनि प्रतिस्पर्धा गर्न सक्षम छन् ।’ उनले फ्लिनले जस्तै आफ्नै हातमा पनि कच्चा ट्याटु खोपे ।
यस्ता थुप्रै उदाहरणहरू छन्, जसमा उनले आफ्नो पुरै शक्ति र आत्मा पोखिदिएका छन्, कुनै पात्र, चरित्रका निमित्त ।
सन् १९८५ मा जब उनी फिल्म ‘माई ब्यूटीफुल लन्ड्रेट’मा छानिएका थिए, निर्देशक ‘स्टेफन फ्रियर्स’लाई नयाँ कलाकार ड्यानियलप्रति त्यति विश्वास थिएन । उनी कन्भिन्स हुन सकिरहेका थिएनन्, के ड्यानियलले कक्षाको एक फटाहा विद्यार्थीको भूमिकालाई न्यायोचित तरिकाले निभाउन सक्ला ? त्यसपश्चात ड्यानियलले निर्देशकलाई धक्की भरिएको पत्र लेख्न थाले, ‘यदि तैँले मलाई यो भूमिका दिएनस् भने म तेरा खुट्टा भाँचिदिन्छु ।’ यसरी एक फटाहाले बोल्ने शैलीले गर्दा अन्तत: निर्देशक विश्वस्त हुन पुगे ।
सन् १९९२ को ऐतिहासिक फिल्म ‘द लास्ट अफ द मोहिकन्स’मा हकआईको मुख्य भूमिका निभाउनका लागि ड्यानियलले बिल्कुलै बाहिरी जीवनशैलीलाई अपनाए । त्यसका लागि उनले डुंगा बनाउन सिके । बञ्चरो राम्रोसँग चलाउन सिके । जनावरहरूको छाला निकाल्ने र तिनीहरूको पकवान बनाउन सिके । बन्दुक चलाउन सिके । यतिसम्म कि उनी परिवारसँग हुँदा बन्दुक नै लिएर बस्ने गर्थे । सन् १९८८ मा आएको फिल्म ‘द अनवियरएबल लाइटनेस अफ बिइङ’मा उनले एक मस्तिष्क शल्यक्रिया चिकित्सकको भूमिका निभाउनका लागि चेक भाषा समेत सिके ।
सन् १९९३ मा फिल्म ‘इन द नेम अफ द फादर’का लागि उनले करिअरकै सबैभन्दा धेरै मानसिक तथा शारीरिक कष्ट भोग्न पर्यो । त्यसमा उनले सन् १९७४ को आईआरए गिल्फोर्ड पबमा भएको बम विस्फोटको गलत आरोपी ‘जेरी कन्लन’को भूमिका निभाउन ५० पाउण्डभन्दा बढी तौल घटाएका थिए । त्यति मात्रै नभएर उनी परित्यक्त कारागारमा दुई दिन र रात एकान्तमा बिताएका थिए, बिनाकुनै खाना र पानी । फिल्म ‘ग्याङ्गस् अफ द न्युयोर्क’को छायाकंकको क्रममा उनलाई निमोनिया भएको थियो, कोट लगाउन अस्वीकार गरेर । उनी चरित्रमै रहन चाहन्थे । उनले औषधि समेत लिन मानेका थिएनन् ।
ड्यानियलको अभिनयका लागि चिनिने अर्को फिल्म हो, पल थोमस एंडरसनको ‘देर विल बी ब्लड’, जुन सन् २००७ मा प्रर्दशनमा आएको थियो । फिल्ममा उनले डेनियल प्लेनभ्यूको भूमिकामा अभिनय गरेका थिए, जो १९औँ शताब्दीको अन्तिम र २०औँ शताब्दीको प्रारम्भमा दक्षिण क्यालिफोर्नियामा कच्चा तेल खोज्दै हिंड्ने एक व्यवसायी थिए । ड्यानियलले आफूलाई तयार पार्न तेलसम्बन्धि थुप्रै किताबहरू पढे । जब फिल्म प्रर्दशनमा आयो, ‘देर विल बी ब्लड’लाई समिक्षकहरूले २१औं शताब्दीको उत्कृष्ट फिल्महरूमा सामेल गराए । फिल्मले ८०औं एकेडमी अवार्डमा, आठ विधामा मनोनयन प्राप्त गर्यो । डेनियलले त्यस फिल्मबाट सर्वश्रेष्ठ अभिनेता का लागि ओस्कर जिते, दोस्रोपटक ।
स्टिभन स्पिल्बर्गको ‘लिंकन’का लागि उनले फिल्मको छायाकंन अवधिभर आफूलाई ‘मिस्टर प्रेसिडेन्ट’ भनेर सम्बोधन गर्नुपर्ने अडान राखे । ‘अब्राहम लिंकन’को स्वभाव बुझ्नका लागि उनले अमेरिकी गृहयुद्धको युगका तस्बिरहरूलाई गहिरोसँग अध्ययन गरे । पछि उनले भनेका थिए, ती तस्बिरहरूमा उनले आफ्नो प्रतिबिम्ब देख्ने गर्थे भनेर । ड्यानियलले लिंकनको भूमिकाको तयारी गर्न एक वर्ष समय मागेका थिए । त्यो अवधिमा उनले लिंकनको बारेमा लेखिएका सयभन्दा बढी पुस्तक तथा उनका भाषण र लेखहरू पढे । लिंकनसँग शारीरिक समानता देखाउन आफ्नो वजन घटाए । छायांकनको अवधिभर उनी लिंकनको आवाज निकालेर बोले ।
लिंकन फिल्मले खुबै प्रशंसा पाएको थियो, विशेषगरी ड्यानियलको अभिनयलाई लिएर । फिल्म व्यावसायिक रूपमा सफल पनि भएको थियो । त्यहीँ समय उनलाई टाइम म्यागजिनले आफ्नो कभरमा ‘विश्वको महानतम अभिनेता’ को रूपमा प्रस्तुत गरे । लिंकनबाटै उनले दोस्रो गोल्डेन ग्लोब र तेस्रो ओस्कार जिते । उनी पहिलोपटक तीन पटक सर्वश्रेष्ठ अभिनेताको ओस्कार जित्ने कलाकार बने ।
‘ब्रिस्टल ओल्ड भिक’मा अभिनयको प्रशिक्षण लिए पनि ड्यानियललाई एक मेथड एक्टरका रूपमा विश्वभर चिनिने गर्छ, जसले आफ्ना भूमिकाप्रति निरन्तर रूपमा समर्पण र अनुसन्धान गर्दै आएका छन् । मेथड एक्टिङ यस्तो प्रकारको एक्टिङ हो, जसमा कलाकारले पात्र, चरित्रको आन्तरिक भावनाहरूलाई पहिचान गरेर, बुझेर र अनुभव गरेर उक्त भूमिकामा पूर्णरूपमा समाहित भई वास्तविकता तथा भावनात्मक रूपमा आफूलाई बाँध्ने अथवा बाँच्ने गर्दछ । यो मुख्यत: कलाकारको निमित्त भावनामुखी तथा मनोवैज्ञानिक प्रकृया हो । मेथड एक्टिङको यस प्रकृयालाई लि स्ट्रासबर्ग र एलिया कजानले १९३० को दशकमा अमेरिकी अभिनय स्टुडियोहरूमा विकास गरेका थिए ।
तर, यसलाई पहिलो पटक १९०० को दशकको सुरुवातमा रुसी अभिनेता र नाट्य निर्देशक कन्स्ट्यान्टिन स्टानिस्लाव्स्कीले आविष्कार गरेका थिए । स्टानिस्लाव्स्कीले यसलाई त्यतिबेला मेथड एक्टिङ भनेर चिनाएका थिएनन्, तर उनका विचारहरूले कलाकारहरूलाई विश्वसनीय पात्रहरू निर्माण गर्न मद्दत पुर्याउने मोडेल सिर्जना गरेका थिए ।
स्टानिस्लाव्स्कीको दृष्टिकोण तथा मान्यता थियो, कलाकारहरूले आफ्ना व्यक्तिगत अनुभव र सम्झनाहरूबाट वास्तविक भावनाहरू निकाल्न प्रोत्साहित हुनुपर्छ र पात्रहरूसँग सम्बन्ध बनाउनुपर्छ । मेथड एक्टिङ त्यस समयको परम्परागत, नाटकीय तथा शास्त्रीय अभिनयको विपरित उभिएको थियो ।
लिंकनको लागि ओस्कार जितेपछि, ड्यानियलले केही समय अभिनयबाट विश्राम लिने घोषणा गरे । पाँच वर्षपछि सन् २०१७ मा उनले पल थोमस एन्डरसनको फिल्म ‘फ्यान्टम थ्रेड’मा अभिनय गर्दै स्क्रिनमा फर्किए । उक्त फिल्मबाट पुन: उनी सर्वश्रेष्ठ अभिनेताको लागि ओस्कारमा मोनोनयन भए । सोही वर्ष जुन २०१७ मा फिल्म प्रदर्शन हुनुभन्दा अघि उनले अभिनयबाट सधैंका निमित्त अवकाश लिने घोषणा गरे । उनले मेथड एक्टिङकै कारण अभिनयबाट विश्राम लिएका हुन् भन्ने सबैले अड्कल लगाए ।
उनले पछि एक अन्तर्वार्तामा भनेका थिए, ‘म अर्को प्रोजेक्टमा जोडिन चाहन्न । म थाकिसकेँ ।’ पात्र तथा चरित्रको भूमिकामा आफ्नो गहिरो लगाव र समर्पणका कारण उनी वास्तवमै मानसिक रूपमा थकित भइसकेका थिए । यस्ता थुप्रै कलाकारहरू छन्, जसले समय समयमा विश्राम लिएका छन्, आफ्ना व्यक्तिगत जीवन र मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनको लागि ।
यसरी सबैभन्दा बढीपटक ( तीनपटक ) सर्वश्रेष्ठ अभिनेता ओस्कर प्राप्त ड्यानियल साठी वर्षको उमेरमा स्टिभन सोडरबर्ग, केन लोच र ज्याक निकोलसन जस्तै फिल्मका महान व्यक्तित्वहरूको श्रेणीमा सामेल भए, जसले सबैलाई चकित पारेर आफ्ना सहकर्मीहरू र दर्शकहरूप्रति आभार व्यक्त गर्दै अभिनयबाट रिटायरमेन्टको घोषणा गरे ।
अमेरिकी अभिनेता ज्याक निकोलसनले सन् २०१० पछि अभिनयमा कम उपस्थिति देखाएका छन् । उनले आफ्नो मानसिक स्वास्थ्य र उमेरका कारण अभिनयमा फिर्ता नआउने निर्णय गरेका थिए । त्यस्तै निर्देशक तथा अभिनेता स्टिभन सोडरबर्गले सन् २०१३ मा आएको ‘बिहाइन्ड द क्यान्डलबरा’ पछि अभिनयबाट सन्यासको घोषणा गरे । उनले आफ्नो जीवनलाई नयाँ दिशामा अघि बढाउन चाहन्थे । ब्रिटिश निर्देशक केन लोचले केही वर्षअघि आफूलाई निर्देशकको भूमिकामा मात्र सीमित राख्ने भनी भविष्यमा अभिनय नगर्ने निर्णय गरेका थिए । कलाकार सिगोर्नी वीभर सन् २०१० पछि अभिनयमा कम देखिन थालेकी छिन् । उनी आफ्नो परिवार र व्यक्तिगत जीवनलाई प्राथमिकता दिइरहेकी छिन् । त्यस्तै ओस्कर विजेता डस्टिन हफम्यानले स्वास्थ्यको कारणले केही समयको लागि अभिनयबाट बाहिरिने निर्णय गरेका थिए ।
यी यस्ता उदाहरणहरू हुन्, जसले दर्शाउँछन्, कलाकारहरूले अवकाश लिने निर्णय प्राय: उनीहरूको व्यक्तिगत, सामाजिक तथा व्यावसायिक कारणहरूमा आधारित हुन्छन् । लगातार काम गर्दा हुने मानसिक र शारीरिक थकान तथा समस्याका कारण कैयौँ कलाकारहरू अभिनयबाट टाढा रहन्छन् । धेरैजसो अभिनेता र अभिनेत्रीहरूले भने आफ्ना व्यक्तिगत जीवनलाई ध्यान दिन रंगिन दुनियाँबाट भाग्छन् । केही कलाकारहरू भने आफूलाई सृजनात्मक रूपमा असन्तुष्ट महसुस भएको तथा उत्कृष्टता प्राप्त गर्न असफल भएकै कारण पनि अवकाश लिन्छन् ।
निर्देशन, लेखन वा अन्य सृजनात्मक कामहरू जस्ता नयाँ अवसरहरूमा संलग्न हुन केही कलाकारहरू अभिनय छोड्ने गर्छन् । कतिपय कलाकारहरू भने राजनीतिक जीवनमा प्रवेश गरेसँगै आफ्नो करियरबाट अवकाश लिन निर्णय गर्छन् । महिला कलाकारहरू भने वैवाहिक जीवनमा सुरु गरेपछि अथवा गर्भधारण गरेपछि आफ्नो परिवार र बच्चालाई ध्यान दिन अभिनयबाट टाढा बस्छन् ।
जेनिफर एनिस्टन, ड्र्यू बैरीमोर, जर्ज क्लूनी, हली बेरी, मिया फार्रो, शार्लोट रमलिङ, डेमी मूर, मेरी के एडम्स, रेचेल एम्स, सुजी एमिस, लिसा बोनट, जस्टिन बर्फिल्ड, माइकल जे. फक्स, क्यारिन पार्सन्स, सन कनरी, शैली डुवल, जो पेसी, जेन फोंडा, यसरी विभिन्न कारणहरूले अभिनयबाट टाढा तथा अवकाश लिएका कलाकारहरूको लिस्ट निकाल्ने हो भने लामो हुन जान्छ । यस्ता केही कलाकारहरू पनि छन्, जो आफ्नो फिल्म अथवा अभिनयलाई लिएर भएको आलोचना र खराब समीक्षाले गर्दा अभिनयबाट टाढा रहन पुगे ।
मेथड एक्टिङ्गले गर्दा कलाकारहरू गहिरो रूपमा चरित्रमा डुब्ने गर्छन्, जसले गर्दा उनीहरूमा मानसिक प्रभाव पर्न जान्छ । विशेषगरी जब कलाकारहरूले अघात अथवा त्रासदीपूर्ण, डरलाग्दो भूमिकाहरू निर्वाह गर्छन्, उनीहरूको भावनात्मक संलग्नताले विभिन्न प्रकारका मानसिक स्वास्थ्य समस्या तथा चुनौतीहरू निम्त्याउने गर्छन् ।
यसरी चरित्रहरूको भावनामा गहिरो रूपमा डुबेर उनीहरूको संघर्ष, पीडा र भावनात्मक अवस्थालाई अवलम्बन गर्दा फिल्म सकेपश्चात पनि उनीहरूमा दुःख, रिस वा डरको भावहरू उत्पन्न हुन जान्छन्, जसले गर्दा उनीहरूको व्यक्तिगत जीवनमा पनि असर पर्न जान्छ । उदाहरणका लागि, ‘द डार्क नाइट’मा जोकरको भूमिका निर्वाह गर्ने कलाकार हिथ लेजरले यस भूमिकाको भावनात्मक वजनसँग संघर्ष गरेको बताइन्छ, जसले सम्भवतः उनलाई असामयिक मृत्युसम्म पुर्याएको थियो ।
मेथड एक्टिङ्ग गर्ने कलाकारहरूलाई चरित्रसँग बाँधिन आफ्नै अतीतका अनुभव वा आघातका प्रयोग गर्ने गर्छन् । ती अनुभूतिहरूले मानसिक घाउका पाप्राहरूलाई पुन: उप्काउने काम गर्छन् । शेली डुवलले ‘द शाइनिंग’मा एक समस्याग्रस्त पत्नीको भूमिका निर्वाह गरेकी थिइन्, जसले उनलाई दीर्घकालीन समयसम्म भावनात्मक पीडा भएको थियो । यसरी कुनै पनि भूमिकामा अत्यधिक डुबेर अभिनय गर्दा कलाकारहरूले आफ्नै पहिचान र चरित्रको पहिचानबीच पनि छुट्याउन गाह्रो हुँदै जान्छ, जसले गर्दा उनीहरू वास्तविक र अवास्तविकबिच फस्ने गर्छन् । यस्तो प्रकारको असर आफूले थुप्रैपटक अनुभव गरेको बताउँछन्, ड्यानियल डे-लुइस ।
जिम क्यारीले फिल्म ‘म्यान अन द मुन’मा एन्डी कफम्यानको भूमिका निर्वाह गरेपछि आफ्नो पहिचानसँग संघर्ष गर्नुपरेको कुरा बताएका थिए । ‘ब्ल्याक प्यान्थर’मा खलनायकको भूमिकाको मनोदशाबाट बाहिर निस्कन अभिनेता माइकल बी. जोर्डनलाई निकै नै चुनौती भएको बताएका थिए । त्यस्तै ‘हाउस अफ गुच्ची’मा आफ्नो भूमिकामा अत्यधिक डुबेको अभिनेत्री तथा गायिका लेडी गागाले पनि मानसिक कठिनाइको सामना गर्नु परेको बताएकी थिइन् ।
मेथड एक्टिङ्गले दीर्घकालीन मानसिक स्वास्थ्यमा प्रभाव पार्ने गर्दछ । मेथड एक्टिङ्ग गर्नेहरूमा निद्राको कमी, भावनात्मक थकावट, डिप्रेशन, चिन्ता तथा अन्य मनोवैज्ञानिक लक्षणहरू देखा पर्ने गर्छन् । सायद यिनै कारणहरू थिए, ड्यानियलले अभिनयबाट अवकाश लिनुको पछाडि ।
तर, तीन पटकका ओस्कार विजेता ड्यानियल डे-लुइस अभिनय करियरको अन्त्यको घोषणा गरेको सात वर्षपछि फेरि पर्दामा देखिने भएका छन् । उनी फिल्म ‘एनीमोन’ मा देखिन लागेका हुन्, जसलाई उनकै छोरा रोनन डे-लुइसले निर्देशन गर्दैछन् । फिल्मको स्क्रिप्ट बुबा-छोराले सँगै लेखेका हुन्, जुन पारिवारिक सम्बन्धहरू, विशेषगरी बुबा, छोरा र दाजुभाइबीचको सम्बन्धमा केन्द्रित हुनेछ । ६७ वर्षीय ड्यानियल यस फिल्ममा अनुभवी बेलायती कलाकारहरू; सीन बीन र सामन्था मोर्टनसँग अभिनय गर्नेछन् । ड्यानियलका २६ वर्षीय छोरा रोनान डे-लुइस एक चित्रकार तथा चलचित्र निर्माता हुन् । ‘एनीमोन’ उनको पहिलो फिचर फिल्म हुनेछ ।
यसरी ड्यानियल मात्र एक्ला कलाकार होइनन्, जो पुन: फर्किएका छन्, अवकाशपछि पनि । सूची निकाल्ने हो भने लामै हुन जान्छ । कोही पनि मान्छे आफ्नो घरबाट टाढा धेरै समयसम्म रहन, बस्न नसक्दा रहेछन् । ड्यानियल लामो समयदेखि हलिउडबाट टाढा रहे । आफ्नो व्यक्तिगत तथा निजी जीवनलाई लुकाएरै राख्न रूचाउने उनले विरलै अन्तर्वार्ता दिए । उनले सार्वजनिक कार्यक्रममा पनि त्यति सहभागिता देखाएनन् । केही सार्वजनिक उपस्थितिहरू देखाए तर आफ्नै परिवारसँग । अन्य मान्छेहरू तथा छिमेकीहरूले उनलाई बेलाबेला क्याफेमा, ग्रोसरी स्टोरमा, पत्रिका पसलमा देख्ने गर्थे तर उनीहरूले ड्यानियललाई उनकै अबस्थामा छाडिदिन्थे । उनी आम मन्छेको जीवन बिताइरहेका थिए, सरल । यसरी सात वर्षपछि आफ्नो घर फर्किरहेका ड्यानियललाई मेरो शुभकामना छ । म उनलाई पर्दामा हेर्न आतुर छु ।
वेलकम ब्याक ड्यानियल !
प्रतिक्रिया 4