
अभाव र विभेद । जब यी दुई कुरा जीवनमा एकसाथ आइलाग्छ, मान्छे ‘बिचरा’ बन्छ । यसरी बिचरा भएर बाँच्ने जीवन वास्तवमा जीवन जस्तो हुन्न । हरिभक्त कटुवालले लेखेजस्तै,
‘भित्रभित्रै खोक्रिएर बाहिर–बाहिर बाँचेको
एटमको त्रासले चुसेको
समस्याको भूतले सताएको
यो जिन्दगी खै के जिन्दगी ।’
हुन त यो एक मामुली कथा हो, मेरो आफ्नै । तर मैले बाँचेको धरातलसम्म ओर्लिएर बाँच्न धेरैलाई कठिन हुन्छ । त्यो कठिन जीवन गुजार्दै आज म त्यो बिन्दुमा आइपुगेको छु, जहाँ चौडा छाती बनाएर बाँच्न सक्छु । तर यो अभिमानको होइन, स्वभिमानको कथा हो ।
अभावको कथा
म दलितको कोखमा जन्मिएँ । त्यसमाथि दुर्गममा । खोटाङ जिल्लाको जन्तेढुंगा भन्ने त्यो ठाउँमा हामीलाई खान–लगाउनै नपुग्ने । त्यहाँ आलु मात्र फल्थ्यो । बुवाआमा त्यही आलु बोकेर बेंसी झर्थे । अनि धान, मकै, दाल आदिसँग साटेर घर ल्याउँथे । तर यसरी जोहो गरेको अन्नले पनि हाम्रो छाक टर्दैनथ्यो । हामी भोकभोकै हुन्थ्यौं ।
त्यसै त दुःख । त्यसमाथि आमा बिरामी । आमाको उपचार गर्न बुवा कहिले धामीकहाँ पुग्नुपर्ने, कहिले अस्पताल धाउनुपर्ने । धामीले कहिले कालो बोका माग्ने, कहिले गाग्रो माग्ने । अस्पतालको खर्च उस्तै । हामीसँग भएको थोरै जायजेथा सकिन कति बेर लागेन ।
घरपरिवार विचल्ली भएपछि बुवा भारततिर जान्थे, काम खोज्दै । कोइलाखानीमा काम गर्थे । चार–पाँच महिना काम गरेपछि जम्मा गरेको केही पैसा लिएर घर फर्कन्थे ।
यसरी हाम्रो परिवार भगवान भरोसामा बाँचेको थियो । त्यसबेला आमालाई के लागेछ भने, ‘यहाँ यसरी नै बस्ने हो भने बालबच्चाहरु भोकले नै मर्नेछन् ।’ उनले घरसल्लाह गरेर त्यस ठाउँ छाड्ने निधो गरिछिन् । ‘कम्तीमा छोराछोरीलाई तराईसम्म लगेर छाडियो भने भोकले मर्नेछैन, बनीबुतो गरेर भएपनि एक छाक खानेछन्’ आमालाई यस्तै लाग्यो ।
अन्ततः एक बिहान झिटीगुम्टा बोकेर हाम्रा आमाबुवाले त्यस ठाउँ छाडे । हामीलाई डोर्याउँदै उनीहरु उदयपुरको बेलका नगरपालिकामा आइपुगे । र, त्यही सानो छाप्रो हालेर बस्ने बन्दोबस्ती मिलाए ।
विभेदको कथा
गरिब हुनु, त्यसमाथि दलित हुनु । हेलाहोचो कतिसम्म हुन्छ ? मैले अनुभव गरेको छु । प्राय: मान्छेहरुले हामीलाई मान्छे गन्दैनथे । हाम्रो घरको संघार टेक्दैनथे । हामीले छोएको खाँदैनथे । हामीलाई विश्वास गर्दैनथे । गाउँ–समाजमा हामी एक्लो थियौं ।
त्यो विभेद छिचोल्दै मैले जेनतेन कक्षा दश पास गरें । मलाई घरको दुःखले सधैं सताउँथ्यो, सधैं अत्याउँथ्यो । त्यसैले घरपरिवारको दुःख टार्न भनी मैले पनि घर छाडें ।
म काठमाडौं आएँ, गाडी सिकेर ड्राइभर बन्छु भनर्र । गाडी चलाउन सिकियो भने कम्तीमा केही पैसा आर्जन गर्न सकिन्छ । घरखर्च पठाउन सकिन्छ । आफैं पनि बाँच्न सकिन्छ । मलाई यस्तै लागेको थियो ।
गाडी सिक्न ललितपुरको ड्राइभिङ सेन्टरमा पुगें । तर चिनेजानेको विचौलियाले मलाई झुक्याएर अर्कैतिर पठाइदियो । म अन्तै गाडी सिक्न थालें । त्यहाँको सिकाइ पार लागेन । न मैले गाडी चलाउन जानें, न लाइसेन्स नै निकाल्न सकें ।
रोजीरोटी खोज्दै भौतारिरहेको बेला सुमन तामाङ भन्ने साथीले मलाई कुण्डलिनी अस्पतालमा पुर्यायो । त्यहाँ मैले फूल र बगैंचा रेखदेख गर्ने काम पाएँ । फूललाई मलजल गर्ने, गमलाहरु मिलाउने, बिरुवा काँटछाट गर्ने । त्यसका लागि मलाई मासिक २५ सय रुपैयाँ तलब दिइन्थ्यो । जबकि यत्तिका पैसाले कोठाभाडा तिर्न पनि गाह्रो हुने ।
साथी सुमनसँगै मिलेर हामीले त्यहाँ सानो क्यान्टिन सुरु गर्यौं । घरबाट चामल लिएर बिरामी अनि स्टाफका लागि खाना बनाउन थाल्यौं । त्यससँगै ११, १२ बजे राति म मसाज गरिदिन मान्छेको घर–घर पुग्थें । मलाई सुमनले मसाजको तालिम दिएको थियो ।
यसरी दुःखसुख काम गरेर केही पैसा घर खर्चका लागि पठाउँथे । तर त्यहाँ एकजना मुटुरोग विशेषज्ञ थिए । उनले भनेछन्, ‘फलानोले छोएको बिरामीले नखालान् कि ? स्टाफ र बिरामीले नरुचाउँलान् कि ?’
एक जना योग प्रशिक्षक थिए, जसले मैले पकाएको चिया नै नखाने । म उनका लागि चिया बनाएर लगिदिन्थें । पछि जुठो गिलास लिन जाँदा उनको चिया जस्ताको तस्तै हुन्थ्यो । मैले छोएको कारण उनले चिया नखाएका हुन् भनी बुझ्न मलाई गाह्रो थिएन ।
यस्तो विभेदले मलाई भावनात्मक रुपमा निकै कमजोर बनायो । मैले त्यहाँको काम छाडिदिएँ । त्यसपछि मलाई नयाँ बानेश्वरको नेचर केयर अस्पतालमा काम मिल्यो, १० हजार रुपैयाँ मासिक तलबमा । त्यहाँ मैले फिजियोथेरापीबारे थप दक्षता हासिल गर्ने मौका पाएँ । केही वर्ष काम गरेपछि द्वारिका होटलमा काम पाएँ । त्यहाँ मेरो मासिक पारिश्रमिक १२ हजार थियो । साढे तीन वर्षसम्म द्वारिकामा काम गरेपछि म साउदी अरब गएँ, डेढ लाख रुपैयाँ खर्चिएर ।
साउदीको जबैलस्थित लाभोना होटलमा म फिजियो थेरापिस्टको रुपमा काम गर्न थालें । तर त्यहाँ पनि विभेद खेप्नुपर्यो ।
ग्राहकहरुलाई के लाग्दोरहेछ भने नेपाल भनेको सानो देश हो । गरिब देश हो । यस्तो देशको मान्छेलाई स्पा सेवाबारे केही थाहा हुन्न । यत्तिको ठूलो होटलमा आएर नेपालीहरुले काम नै गर्न सक्दैनन् । हामी पहिलो लटका नेपाली थियौं, त्यहाँ फिजियोथेरापिस्टको रुपमा काम गर्ने । त्यसैले उनीहरुले हामीलाई पत्याएनन् र तिरिसकेको पैसा पनि फिर्ता लिएर जान्थे ।
यसरी मैले अनेक तहका विभेद झेलें ।
लगावको कथा
साउदी अरबमा मेरो सुरुवाती कमाइ नेपाली ४५ हजार रुपैयाँ जति हुन्थ्यो । तर ओभरटाइम र टिप्सवापतको कमाइ दोब्बर हुन्थ्यो । यसरी कमाएको पैसाले घरको ऋण चुक्ता गरियो । माइली दिदीको विवाह गर्दा र दाइको विवाह गर्दा हामीलाई ऋणमाथि ऋण लागेको थियो ।
त्यहीको कमाइले मैले गाउँमा एक बिघा खेत किनें, आठ लाख रुपैयाँमा । त्यही खेतको चामलले हामीलाई खान पुग्ने भयो ।
एक दिन नेपालमै भएको साथी सुमनले भन्यो, ‘अब नेपालमै केही गरौं । एउटा स्पा खोलौं, भयंकर चल्छ ।’ यसो भन्नका लागि उनीसँग दुईवटा कुरा थिए, एक त त्यस क्षेत्रको अनुभव र अर्को चाहिं सुनिश्चित ग्राहक । वडाअध्यक्ष, ठेकेदारहरुको होटल थियो । उनीहरुले आफ्नो ग्राहकलाई स्पा सेवाका लागि त्यही पठाउँछु भनेका रहेछन् ।
हामी दुवैले बराबरी पैसा जुटायौं । करिब तीस लाख रुपैयाँमा स्पा सेन्टर सुरु भयो, धुलिखेलमा । म आफ्नै स्पा चलाउने भनी साउदीबाट नेपाल फर्किएँ ।
स्पालाई राम्ररी चलाउन सकियो भने दैनिक १५–२० हजार रुपैयाँ कमाइ हुन्छ भन्ने हाम्रो आकलन थियो । यसले आर्थिक रुपमा हामीलाई राम्रै फलिफाप हुनेवाला थियो । तर हामीले स्पा सुरु गर्नु र कोरोना महाव्याधिले विश्वलाई तर्साउनु एकसाथ भयो । हामी डुब्यौं ।
भएको पैसा सकियो । न खल्तीमा पैसा छ, न रोजगार । अब के गर्ने ?
दुःख र अभावलाई झेल्न सकियो भने सुख र सफलताले आफ्नो ढोका खोल्नेरहेछ । म यत्तिकै बरालिंदै थिएँ, साउदी अरबबाट पहिलेको मालिकको फोन आयो । उनले फोनमा भने, ‘हेर, म यहाँ अरु २०० वटा स्पा सुरु गर्दैछु । तिमी काममा फर्क ।’
म साउदी जाने तयारीमा लागें । यहीबेला झटपट मेरो मनमा के लाग्यो भने आफू एक्लो साउदी जानुभन्दा अरु साथीहरु पनि म जस्तै बनाएर लैजानु उत्तम हुन्छ । किनभने मेरो साहुलाई दक्ष मान्छे चाहिएको छ, हामीलाई रोजगार ।
मैले गाउँमा गएर साथीभाइ बटुलें । काठमाडौंमा ल्याएर फिजियोथेरापीको तालिम दिएँ । पहिलो चरणका १० जनालाई मैले साउदी पठाइदिएँ । उनीहरुले गरेको काम र पाएको पैसाले मेरो जीवनको अध्याय नै बदलिदियो ।
अब पूर्णकालीन फिजियोथेरापी प्रशिक्षण दिने र आफूले उत्पादन गरेको जनशक्ति स्थानीय अस्पताल वा विदेशमा पठाउने निर्णयमा पुगें । अन्ततः ४० हजार रुपैयाँ पैसाबाट एउटा बेड, केही सरसामान जुटाएर एउटा अफिस नै सुरु गरे, आयुर्वेदिक वेलनेस स्पा सेन्टरको नाममा ।
त्यहीमार्फत मैले दाइ र भाइलाई पनि विदेश सीप सिकाएर विदेश पठाएँ । दाइलाई फिस्टुलालगायत केही समस्या थियो, जुन अहिले पूर्णतया निको भइसकेको छ । उनीहरु दुवै विदेशमा बसेर मेरै काममा सहयोग गरिरहेका छन् । हामी तीन दाजुभाइ सगोलमा कमाइ गर्छौं र खर्च पनि । आफ्नै बलबुतोमा हामीले काठमाडौंलगायत केही ठाउँमा जग्गा जोड्यौं ।
अहिले हाम्रो घरको स्थिति त्यस्तै छैन, जुन हिजो थियो । आज सबै खुसी छन् । विभेद र अभाव छिचोल्दै हामी आज यो बिन्दुसम्म आइपुगेका छौं, जहाँ सन्तुष्टि छ ।
प्रतिक्रिया 4