+
+
Shares

यी ७ व्यक्तित्व, जसको जीवनशैली स्वयं एक पाठशाला बन्यो

सापेक्ष सापेक्ष
२०८२ साउन ८ गते १६:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्रिस्टियानो रोनाल्डोले ४० वर्षको उमेरमा पनि कडा आत्म-अनुशासन र दैनिक व्यायामबाट आफ्नो फिटनेस कायम राखेका छन्।
  • अरिजित सिंहले सरलता, विनम्रता र सादा जीवनशैली अपनाएर लाखौं मानिसको मन जितेका छन्।
  • एलन मस्कले टेस्ला, स्पेसएक्स र न्यूरालिंक जस्ता कम्पनीमार्फत ठूलो सपना देख्ने र जोखिम उठाउने क्षमता देखाएका छन्।

संसारमा यस्ता थुप्रै मानिसहरू छन्, जसको मुख्य प्रतिभा र क्षमता (पेशा भनौं) अर्कै हुन्छ । तर उनीहरूले त्यससँगसँगै आफ्नो जीवनशैली, आचरण र सोचबाट समेत लाखौं मानिसहरूलाई प्रभावित पारेका हुन्छन् । ती उनीहरूको सफलताका पछाडि लुकेका केही विशेष गुणहरू हुन् ।जो सबैसँग हुँदैन ।

यहाँ त्यस्तै आफ्नो पेशाभन्दा बाहिरी गुणका कारणले लाखौंको मन जितेका ७ व्यक्तिहरूबारे चर्चा गरिएको छ ।

१. क्रिस्टियानो रोनाल्डो

क्रिस्टियानो रोनाल्डो फुटबलको दुनियाँमा एउटा ठूलो नाम हो । उनी आफ्नो असाधारण खेल कौशल, गोल गर्ने क्षमता र अनगिन्ती उपाधिका लागि परिचित छन् । त्यससँगै अनुशासन, अथक परिश्रम र मानसिकताका कारण पनि उनी विश्वभर चिनिन्छन् ।

४० वर्षको उमेरमा पनि उनले आफ्नो फिटनेस र खेलको स्तर युवावयमा झैं कायम राख्नुको मुख्य कारण नै उनको कडा आत्म-अनुशासन हो । रोनाल्डोले आफ्नो खानपान, सुत्ने समय र दैनिक व्यायाममा कहिल्यै सम्झौता गर्दैनन् । उनी हरेक दिन घण्टौँ जिममा बिताउँछन् । र आफ्नो शरीरलाई एक मेसिनजस्तै दुरुस्त राख्छन् ।

उनको यही समर्पण र परिश्रमको चाहनाले गर्दा फुटबलमा रुचि नभएका मानिसहरू पनि उनको जीवनशैलीबाट प्रभावित छन् । उनी आफू जतिसुकै सफल भए पनि निरन्तर सिक्ने र सुधार भइरहनुपर्छ भन्ने मान्यता राख्छन् । जसले उनलाई खेलकुदको संसारमा एक प्रेरणादायी व्यक्तित्व बनाएको छ ।

२. अरिजित सिंह

अरिजित सिंहलाई अहिले भारतका सबैभन्दा लोकप्रिय र सफल गायकको रूपमा लिइन्छ । उनको जादुमयी आवाज र बेजोड प्रस्तुतिले सबैलाई मोहित बनाउँछ । तर, उनी आफ्ना गीतका लागि मात्रै नभएर सरलता, विनम्रता र कोमलता स्वभावका कारण पनि लाखौं मानिसको प्रिय बनेका छन् । उनी कुनै ठूलो सुपरस्टारको जस्तो व्यवहार गर्दैनन् । विलासी जीवनशैली अपनाउँदैनन् ।

सादा जीवनशैली, नम्र बोली र अरूप्रति सम्मान गर्ने उनको स्वभाव छ । यसले गर्दा मानिसहरूलाई उनी आफ्नै परिवारका सदस्य जस्ता लाग्छन् । उनी प्रायः सार्वजनिक कार्यक्रममा पनि सामान्य पोशाकमा देखिन्छन् । र आफ्ना प्रशंसकहरूसँग सहज रूपमा घुलमिल गरिरहेका हुन्छन् ।

गायनले त उनी सफल भए नै, त्यसबाहेक सफलताको शिखरमा पुगेर पनि आफ्नो अस्तित्व नबिर्सने उनको यो गुणले पनि उनलाई एक महान् गायक बनाएको छ ।

३. किनु रिभ्स

हलिउड अभिनेता किनु रिभ्सलाई ‘म्याट्रिक्स’, ‘जोन विक’ जस्ता सफल फिल्महरूले विश्वभर चिनायो । तर उनको अभिनयभन्दा बढी उनको मानवीय स्वभाव, दयालु मन र निस्वार्थताका कारण उनलाई धेरैले सम्मान गर्छन् ।

उनी आफ्नो पैसा विलासी जीवनमा खर्च गर्नुको सट्टा परोपकारी काममा लगाउँछन् । र, प्रायः आफ्नो फिल्मको टिमलाई बोनस दिने गर्छन् । सार्वजनिक यातायातमा यात्रा गर्ने, आम मानिससँग खुलेर कुरा गर्ने र अप्ठ्यारोमा परेकालाई सहयोग गर्ने उनको बानीले गर्दा उनी अरू हलिउड कलाकारभन्दा फरक छन् ।

आफ्नो दु:खद् व्यक्तिगत जीवनका बाबजुद (जस्तै: प्रेमिकाको निधन र बहिनीको रोग) पनि उनी सधैं अरूको भलाइका लागि सोचिरहन्छन् । लागिरहन्छन् । सकारात्मक ऊर्जा फैलाइरहन्छन् । उनको यो नम्रता र उदारताले गर्दा धेरैले उनलाई वास्तविक जीवनको नायक मान्छन् ।

४. एलन मस्क

एलन मस्क पेशाले एक दूरदर्शी उद्यमी, इन्जिनियर र आविष्कारक हुन् । उनी टेस्ला (विद्युतीय सवारी साधन), स्पेसएक्स (अन्तरिक्ष खोज) र न्यूरालिंक (न्यूरोटेक्नोलोजी) जस्ता क्रान्तिकारी र विश्वप्रसिद्ध कम्पनीका मालिक हुन् ।

तर मानिसहरू उनलाई केवल एक सफल व्यापारीको रूपमा मात्र चिन्दैनन् । ठूलो सपना देख्ने, जोखिम उठाउने क्षमता भएको र त्यसलाई पूरा गर्न निरन्तर लागिरहने स्वभावका लागि पनि चिन्छन् ।

उनी आममान्छे भन्दा फरक तरिकाले सोच्छन्, जुन सामान्य व्यक्तिले कल्पना पनि गर्न सक्दैन । जस्तो: उनी मानव जातिलाई मंगल ग्रहमा पुर्‍याउन लागि परेका छन् । मानव चेतनालाई प्रविधिसँग जोड्न लागि परेका छन् । र, उनी दिवास्वप्न मात्र देखिरहेका छैनन्, तिनलाई पूरा गर्न रातोदिन काम पनि गरिरहेका छन् ।

त्यसबाहेक उनी परम्परागत सोचलाई चुनौती दिन्छन् । असम्भव लाग्ने लक्ष्यहरूलाई पनि सम्भव बनाउन लाग्छन् । कहिल्यै हार मान्दैनन् । उद्यमभन्दा उनका यी गुण युवा पुस्ता माँझ प्रसिद्ध र प्रेरणादायी छ ।

५. महात्मा गान्धी

महात्मा गान्धी भारतका एक महान् नेता र स्वतन्त्रता सेनानी हुन् । उनलाई राजनीतिज्ञ, नेता भनौं । उनले बेलायती उपनिवेशवादबाट भारतलाई स्वतन्त्रता दिलाउन अहिंसात्मक आन्दोलनको नेतृत्व गरेका थिए ।

उनी यी विशेषणसँगै अहिंसा, सत्याग्रह र सामाजिक न्यायका लागि प्रसिद्ध छन् । सादा जीवनशैली, उच्च विचार, आत्म-अनुशासन र सत्यप्रतिको अटल निष्ठाका लागि उनलाई विश्वभरका धेरै मानिसहरूले मान्ने गरेका छन् ।

शारीरिक बलको सट्टा नैतिक बल र शान्तिपूर्ण प्रतिरोधले पनि ठूला शक्तिहरूलाई झुकाउन सकिन्छ भन्ने कुरा उनले देखाइदिए । उनको दर्शनले मार्टिन लुथर किङ जुनियर र नेल्सन मन्डेलाजस्ता विश्वका अन्य महान् नेताहरूलाई पनि प्रेरणा दियो । यसरी उनी राजनीतिक नेता मात्र नभएर मानवता, शान्ति र न्यायका लागि पनि चिनिन्छन् ।

६. बिल गेट्स

बिल गेट्स माइक्रोसफ्ट कम्पनीका सह-संस्थापक हुन् । पीसी कम्प्युटरलाई आजको स्थानमा ल्याउन उनको ठूलो भूमिका छ । पेशाले उनी एक उद्यमी र सफ्टवेयर डिजाइनर हुन् । तर त्यससँगै उनी परोपकारी कामहरूका लागि पनि चिनिन्छन् ।

गेट्सले माइक्रोसफ्टलाई विश्वको सबैभन्दा ठूलो सफ्टवेयर कम्पनी बनाएर प्रविधिमा आम मानिसको पहुँच स्थापित गरे । उनको त्यो दूरदृष्टि, समस्या समाधान गर्ने क्षमता र निरन्तर सिक्ने इच्छाले मानिसहरूलाई प्रभावित पारेको छ ।

हालका वर्षहरूमा उनले आफ्नो परोपकारी संस्था ‘बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन’ मार्फत विश्वव्यापी रूपमा स्वास्थ्य, गरिबी निवारण र शिक्षामा ठूलो योगदान गरिरहेका छन् । हालै उनले आफ्नो सारासम्पत्ति मानव कल्याणमा खर्चने पनि बताएका थिए । यसरी उनको उद्यमशीलतासँगै कल्याणकारी स्वभाव धेरैका लागि प्रेरणा बनेको छ ।

७. लियोनल मेस्सी

लियोनल मेस्सी विश्व फुटबलका एक महान् खेलाडी हुन् । उनी क्रिस्टियानो रोनाल्डो समान आफ्नो असाधारण खेल कौशल, गोल गर्ने क्षमता र अनगिन्ती उपाधिका लागि चिनिन्छन् ।

तर मेस्सीलाई उनको विनम्रता, शान्त स्वभाव र समूहप्रतिको समर्पणका लागि पनि धेरैले प्रशंसा गर्छन् । उनी मैदानमा जतिसुकै उत्कृष्ट प्रदर्शन गरे पनि, गोल गरे पनि वा उपाधि जितेपछि पनि कहिल्यै अनावश्यक घमण्ड देखाउँदैनन् ।

उनको स्वभाव सधैं शान्त र संयमित रहन्छ । मेस्सी आफ्नो व्यक्तिगत सफलताभन्दा टिमको सफलतालाई बढी महत्त्व दिन्छन् । टिमका साथीहरूसँग मिलेर खेल्न रुचाउँछन् । उनको यो नम्रता र टिमप्रतिको निष्ठाले गर्दा फुटबलका प्रशंसकहरू मात्र नभई अन्य मानिसहरू पनि उनको व्यक्तित्वबाट प्रभावित छन् ।

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?