News Summary
Generated by OK AI. Editorially reviewed.- वर्षा ऋतु असारदेखि भदौसम्म हुन्छ । आयुर्वेद अनुसार यो समय शरीरमा विभिन्न परिवर्तन हुन्छन् ।
- यस समयमा हल्का र सुपाच्य खानपान र नियमित स्वच्छता र व्यायाम आवश्यक हुन्छ।
- घरेलु उपाय र सावधानी अपनाएर वर्षा ऋतुमा स्वास्थ्य र रोगप्रतिरोधक क्षमता बढाउन सकिन्छ।
वर्षा ऋतुले असारदेखि भदौसम्म नेपाल लगायत भारतीय उपमहाद्वीपलाई शोभायमान बनाउँछ। आयुर्वेद अनुसार, वर्षा ऋतु पानी तथा वायु तत्वसँग सम्बन्धित छ । यो समय पोषण र रूपान्तरणको समय हो । यो मानिन्छ कि यस ऋतुमा, वायुमण्डल र वातावरणका गुणहरूमा उल्लेखनीय परिवर्तन आउँछ, जसले हाम्रो शारीरिक र मानसिक स्वास्थ्यलाई असर गर्न सक्छ ।
यस ऋतुलाई शुद्धीकरण र विषाक्त पदार्थहरू हटाउने अवधि मानिन्छ किनकि वर्षालाई प्राकृतिक सफाइकर्ताको रूपमा हेरिन्छ, जसले वायुमण्डल र पृथ्वीबाट विषाक्त पदार्थ र अशुद्धताहरू धोइदिन्छ ।
नेपालमा सामान्यतया ६ वटा ऋतुहरू छन् । आयुर्वेद विज्ञानमा दिनचर्या तथा ऋतुचर्याको विशेष चर्चा गरेको पाइन्छ । हरेक ऋतुमा पृथक-पृथक आहार-बिहार तथा जीवनशैलीको वर्णन पाइन्छ ।

वर्षा ऋतु, अर्थात् झरी पर्ने समय, जुन प्रायः असारदेखि भदौसम्मको समय पर्दछ, यो ऋतु हाम्रो शरीरका लागि निकै संवेदनशील समय मानिन्छ । आयुर्वेद अनुसार, यो समयमा वातावरण चिसो र ओसिलो हुन्छ, जुन शरीरमा वात दोषलाई असन्तुलित पार्ने प्रमुख कारण बन्न सक्दछ ।
यसका साथै, गर्मी सक्किएर चिसो सुरु हुने बेलामा हाम्रो पाचनशक्ति पनि कमजोर हुन्छ, जसलाई आयुर्वेदमा ‘मन्दाग्नि भनिन्छ । त्यसैले झरीको मौसममा खाना राम्रोसँग नपच्ने, ग्यास, अपच, जोर्नी दुख्ने, थकान, आलस्यता, चर्म रोग, रुघाखोकी तथा अन्य समस्याहरू देखा पर्न सक्छन् ।
त्यसैले, आयुर्वेदले वर्षा ऋतुमा विशेष ख्याल गर्नुपर्ने कुरामा जोड दिन्छ । यस समयमा शरीरलाई सन्तुलनमा राख्न आहार बिहार, निन्द्रा, व्यायाम र सोचाइमा विशेष ध्यान दिनुपर्छ । यी सबै कुराहरूलाइ ध्यान दिदै ऋतु अनुसार चल्नुलाई नै आयुर्वेदमा ऋतुचर्या भनिन्छ ।
वर्षा ऋतुमा कस्तो खाना खाने ?
झरीको मौसममा धेरै चिल्लो, मसलेदार, अमिलो वा चिसो खानेकुरा हाम्रो शरीरका लागि राम्रो होइन। त्यसैले वर्षा ऋतुमा हल्का र सुपाच्य खाना खानुपर्छ। मधुर, अम्ल, लवण र स्निग्ध प्रधान आहारको प्रयोग गर्नु उत्तम मानिन्छ ।अन्नजस्तै पुरानो जौ, गहुँ र साली धान का परिकारबाट बनेका खानेकुरा खानु राम्रो हुन्छ । त्यसैगरी जमिनका जनावरहरूको मासु तथा मसलाले प्रशोधित मासुको रस, खिचडी, तातो दालभात, दालको सुप, अंगुरबाट तयार पारिएको वाइन, मकैको रोटी, तातो झोल भएको तरकारी, सागपात जस्ता खाना उपयुक्त हुन्छन् ।
तातोपानी पिउने बानी राम्रो हुन्छ । काँचो दूध, दही, चिउरा, आइसक्रिम, चिसो पेय पदार्थहरू यस समयमा नखानु बेस हुन्छ, किनभने यस्ता खानेकुराले ग्यास, अपचका साथै वात र कफको समस्या बढाउँछ ।
खानामा तिलको तेल, अदुवा, जिरा, हिंग, बेसार, मरिच आदि प्रयोग गर्नु राम्रो हुन्छ, जसले पाचन शक्ति बलियो बनाउँछ र वात तथा कफलाई सन्तुलनमा राख्छ । जति सकिन्छ तातो खाना, समयमै र सानो परिमाणमा खानु उत्तम हुन्छ।
बिहानदेखि रातिसम्म के-के गर्ने ?
वर्षा ऋतुमा बिहान चाँडै उठ्नु राम्रो मानिन्छ । शरीरमा तेलको मालिस गर्नाले रक्तसञ्चार राम्रो हुन्छ र जोर्नी दुख्ने समस्या कम हुन्छ। तिलको तेलले मालिस गरेर न्यानो पानीले नुहाउनु राम्रो हुन्छ । त्यसपछि हल्का व्यायाम वा योग गर्न सकिन्छ, जस्तै बज्रासन, त्रिकोणासन वा शवासन । गम्भीर व्यायाम, अति मैथुन वा धेरै दौडधूप गर्नुहुँदैन, किनभने पाचन शक्ति कमजोर हुन्छ।
बिहानको समयमा नाकमा २–२ थोपा तिलको तेल वा अणु तेल हाल्नाले चिसो लाग्ने, टाउको दुख्ने वा एलर्जी हुने समस्याबाट जोगिन सकिन्छ । चिसोबाट बच्न न्यानो हलुका कपडा लगाउने, शरीर सुकाएर राख्ने बानी अपनाउनु आवश्यक हुन्छ । वर्षा ऋतुमा दिनको समयमा सुत्नु राम्रो होइन, यसले पाचन प्रणाली झन् कमजोर बनाउँछ । रातको समयमा हल्का खाना खानुपर्छ । खाएर तुरुन्त सुत्नु हुँदैन, कम्तीमा २ घण्टा पर्खिनु राम्रो हुन्छ । ओछ्यान सफा र आरामदायी बनाउपर्छ । ढाड दुख्ने वा चिसॊ लाग्ने समस्या नहोस् भनेर शरीर ढाकेर सुत्नुपर्छ।
प्राकृतिक उपचार र घरेलु उपाय
वर्षा ऋतुमा रोगप्रतिरोधात्मक शक्ति घट्ने भएकाले केही आयुर्वेदिक औषधिहरू नियमित रूपमा सेवन गर्दा राम्रो हुन्छ । त्रिफला, गुडुची (गिलोय), हरितकी, दशमूल, हिंगवाष्टक चूर्ण आदि पाचन सुधार्न र रोग प्रतिरोधात्मक शक्ति बढाउन सहयोगी हुन्छन् । घरेलु रूपमा अदुवा र मह, तुलसीको पात, बेसार पानी, मरिच आदि प्रयोग गर्न सकिन्छ । दिनको एकपटक तातोपानीमा तुलसी, अदुवा र मरिच उमालेर पिउनाले रुघा, खोकी र संक्रमणबाट जोगिन सकिन्छ।
पानी, वातावरण र हाम्रो व्यवहार
झरीमा पानी पिउँदा पनि विशेष सावधानी अपनाउनुपर्छ । सकेसम्म उमालेर सेलाएको मनतातो पानी पिउनुपर्छ। खोला, ट्यांकी वा हिलोमाटो मिसिएको पानी पिउनुहुँदैन । साथै, पानीमा हिँड्नु, भिज्नु वा धेरै चिसो ठाउँमा बस्नाले शरीरमा रोग उत्तपन्न गर्न सक्छ ।
कपडा भिजेको भए तुरुन्त सुकाउनुपर्छ । झरी वा भिज्नबाट आफूलाई बचाउन बाहिर निस्कँदा छाता बोक्नुहोस् वा रेनकोट लगाउनु उपयुक्त हुन्छ । घर वरिपरि सफा राख्नु, फोहोर जम्मा हुन नदिनु, पानी जम्न नदिनु, झाडी फैलिन नदिनु निकै जरुरी हुन्छ ।
नियमित रूपमा साबुन पानीले हात धुनु, विशेष गरी खाना खानु अघि र आफ्नो वरपर सफा राख्नाले रोगहरूको संक्रमण रोक्न मद्दत गर्न सक्छ । धेरै परिश्रम गर्ने र लामो समय घाममा बस्ने जस्ता कुराहरूबाट बच्नु पनि आवस्यक हुन्छ ।
मानसिक र भावनात्मक स्वास्थ्य
वर्षा ऋतुमा सूर्यको प्रकाश कम हुने र वातको प्रकोप हुने हुनाले केही मानिसहरूमा मानसिक थकान, चिडचिडापन वा उदासीको भावना आउन सक्छ । त्यसैले सकारात्मक सोच राख्न, हाँसखेलमा संलग्न हुन, ध्यान र योग गर्न, संगीत सुन्ने वा मनपर्ने किताब पढ्नु राम्रो उपाय हुनसक्छ ।
बालबालिका, वृद्ध र रोगीहरूका लागि सल्लाह
बच्चा, वृद्ध र पहिले नै बिरामी भएका व्यक्तिहरूका लागि वर्षा ऋतुमा विशेष ख्याल गर्नुपर्छ । उनीहरूलाई न्यानो राख्ने, तातो खाना दिने, चिसोबाट बचाउने र नियमित तेल मालिस गर्ने गर्दा रोग प्रतिरोधक क्षमता बढ्छ । कुनै पनि औषधि प्रयोग गर्दा पहिले चिकित्सकसँग सल्लाह लिनु जरुरी हुन्छ ।
वर्षा ऋतु प्राकृतिक रूपमा रमाइलो समय भए पनि शरीरका लागि चुनौतीपूर्ण हुन्छ । यदि हामीले आयुर्वेदले बताएको अनुसार समयअनुकूल जीवनशैली अपनायौं भने वर्षा ऋतुमा पनि स्वस्थ, उर्जावान र रोगमुक्त जीवन बिताउन सकिन्छ । सस्तो, सजिलो र घरेलु उपायहरू अपनाएर आयुर्वेदिक ऋतुचर्या अनुसार चल्दा शरीर आफैंले रोगसँग लड्ने शक्ति प्राप्त गर्छ ।
प्रतिक्रिया 4