+

नाकले कसरी वायु शुद्धीकरण गर्छ ?

२०८२ असार  २२ गते १७:५८ २०८२ असार २२ गते १७:५८
नाकले कसरी वायु शुद्धीकरण गर्छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नाक शरीरको मुख्य अंग हो र श्वासप्रश्वास, गन्ध पहिचानमा भूमिका खेल्छ।
  • नाकको संरचना र कार्यलाई बुझ्न आवश्यक छ, र यसको स्वच्छता र हेरचाह महत्वपूर्ण छ।
  • आयुर्वेदले नाकको महत्व र स्वच्छता उपायहरूलाई जोड दिन्छ, जस्तै जलनेती र नस्य।

नाक मानव शरीरको एक महत्वपूर्ण अंग हो, जसले श्वासप्रश्वास, गन्ध पहिचान र अनुहारको सौन्दर्यमा महत्वपूर्ण भूमिका खेल्छ । नाक शरीरको बाहिरी अंग हो, जसले बाह्य वातावरणसँग प्रत्यक्ष सरोकार राख्छ । वातावरणमा रहेको धुलोको कण, संक्रमण गराउने विभिन्न भाइरस नाक मार्फत् मानव शरीरमा प्रवेश गर्छन् ।  एलर्जी गर्ने ‘प्रोटिन’ कण पनि नाकको माध्यमबाट शरीरमा पुग्छ ।

नाक सफा गर्नुपर्छ ? नाकलाई स्वस्थ राख्न के गर्नुपर्छ ? यसबारे खासै हेक्का हुँदैन । बेलाबखत नाक बन्द हुँदा वा सास फेर्न असहज हुँदा मात्र हाम्रो ध्यान नाकतर्फ जान्छ ।

नाकको संरचना

नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. अरुण अधिकारीका अनुसार नाकको संरचनालाई बाहिरी र भित्री दुई भागमा विभाजन गर्न सकिन्छ । नाकको बाहिरी भागमा नाकको डाँठ, नाकको टुप्पो र नासिका हुन्छन् ।

‘नाकको माथिल्लो भाग हड्डीले बनेको हुन्छ भने तल्लो भाग कुरकुरे हड्डीले बनेको हुन्छ’ डा.अधिकारी भन्छन्, ‘जसले नाकलाई आकार प्रदान गर्छ ।  नाकको छाला माथिल्लो भागमा पातलो र तल्लो भागमा बाक्लो हुन्छ ।’

नाकको भित्री संरचनामा नासिका मार्ग, म्यूकस झिल्ली, साइनस, टर्बिनेट्स र गन्ध संवेदक हुन्छ । नासिका मार्ग नाकको भित्री खोक्रो भाग हो, जुन दुई नासिकाद्वारबाट सुरु हुन्छ र घाँटीसम्म जोडिन्छ । नाकको भित्री भागमा म्यूकस झिल्ली हुन्छ, जसले धुलो, किटाणु र अन्य कणहरूलाई रोक्छ ।

नाकको वरिपरि चार जोडी साइनस हुन्छन्, जसले श्वासप्रश्वासमा सहयोग गर्ने अधिकारीले जानकारी दिए ।

उनका अनुसार टर्बिनेट्स नाकको भित्री भागमा रहेका हड्डीका संरचनाहरू हुन्, जसले हावालाई तातो, नम र फिल्टर गर्छ ।  नाकको माथिल्लो भागमा गन्ध पहिचान गर्ने संवेदकहरू हुन्छन्, जुन मस्तिष्कसँग जोडिएर गन्धको जानकारी दिन्छन् ।

नाकको काम

नाकले मुख्यतया सास फेर्ने, गन्ध थाहा पाउने, हावालाई तातो वा चिसो बनाउने, तल्लो श्वासप्रश्वास मार्गको सुरक्षा गर्ने, नाक बन्द हुँदा स्वर परिवर्तन हुने लगायतका काम गर्ने डा. अधिकारी बताउँछन् ।

नाकले हावालाई श्वासमार्गमा प्रवेश गराउँछ’ डा.अधिकारी भन्छन्, ‘यसले हावालाई फिल्टर, तातो र नम बनाउँछ, जसले फोक्सोलाई स्वस्थ राख्छ । साथै नाक र साइनसले वातावरण अनुकूल ‘एयर कन्डिसनर’को रूपमा पनि काम गर्छ ।

नाकले गन्ध पहिचान गर्छ, जुन मस्तिष्कको स्नायु मार्फत प्रसारित हुन्छ । यो खानाको स्वाद थाहा पाउन र वातावरणको जानकारी लिन पनि सहयोगी हुने उनले बताए ।

नाकको रौँ र म्यूकसले धुलो, किटाणु र अन्य हानिकारक कणहरूलाई रोक्छ । नाकले आवाजलाई स्पष्ट र गुणस्तरीय बनाउन सहयोग गर्छ । साइनसले अनुहारको हड्डीलाई हल्का बनाउने र श्वासप्रश्वासमा सहयोग गर्ने अधिकारी बताउँछन् ।

‘कुनै बाहिरी वस्तु वा कण सासमार्फत प्रवेश गर्दा नाकको प्रतिक्रिया सुरु हुन्छ र हाछ्युँ आउँछ, जसले ती बाहिरी कणहरूलाई फोक्सोमा पुग्नबाट रोक्छ । यसरी नाकले हाम्रो तल्लो श्वासप्रश्वास मार्गको सुरक्षा गर्न पनि मद्दत गर्छ’ डा. अधिकारी भन्छन् ।

नाकले यसरी गर्छ वायु शुद्धीकरण

नाकको प्रवेशद्वारमा रहेका साना रौँहरूले धुलो, फोहोर र ठूला कणहरूलाई रोकेर श्वासप्रश्वासमा प्रवेश गर्नबाट जोगाउने डा. अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार नाकको भित्री सतहमा रहेको म्यूकसको तहले साना कण, ब्याक्टेरिया र भाइरसहरूलाई टाँस्छ । यो म्यूकसले हावामा रहेका प्रदूषकहरूलाई समातेर शुद्ध हावा मात्र फोक्सोमा पुग्छ ।

नाकको भित्री भागमा रहेका सिलिया नामक साना रौँजस्ता संरचनाहरूले म्यूकसमा टाँसिएका कणहरूलाई बाहिर निकाल्न वा घाँटीतर्फ पठाउन मद्दत गर्छन्, जसले गर्दा ती कणहरू निलिन्छन् वा खोकेर बाहिर निस्किने अधिकारीले बताए ।

‘नाकले बाहिरी हावालाई शरीरको तापक्रममा तताउँछ र आर्द्रतायुक्त बनाउँछ, जसले फोक्सोलाई उपयुक्त हावा प्रदान गर्छ । यसले हावामा रहेका केही प्रदूषकहरूलाई पनि कम गर्छ’ अधिकारी भन्छन्, ‘नाकको म्यूकसमा रहेका इन्जाइम र प्रतिरोधी तत्वहरूले ब्याक्टेरिया र भाइरसलाई नष्ट गर्न मद्दत गर्छ ।’

आयुर्वेदमा नाकको महत्व

आयुर्वेदमा नाकको विशेष महत्व छ, किनभने यो श्वासप्रश्वासको प्रमुख मार्ग हो र प्राणवायुको प्रवेशद्वार मानिन्छ । नाकले शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्ने आयुर्वेदिक चिकित्सक तथा मनोविद् डा. शान्ति तिमल्सिना बताउँछिन् ।

तिमल्सिनाका अनुसार आयुर्वेदमा नाकलाई शारीरिक र आध्यात्मिक स्वास्थ्यको आधार मानिन्छ । यसको नियमित हेरचाह, नस्य कर्म र प्राणायाम जस्ता अभ्यासले शरीर र मनलाई स्वस्थ तथा सन्तुलित राख्ने काम गर्छ ।

‘नाक मार्फत प्रवेश गर्ने प्राणवायुले शरीरको सम्पूर्ण कार्यलाई नियन्त्रित गर्छ ।  श्वासप्रश्वासले दोष वात, पित्त, कफको सन्तुलन कायम राख्छ । नाकको माध्यमबाट सही श्वासप्रक्रियाले मनलाई शान्त र शरीरलाई ऊर्जावान बनाउँछ ।

नाकलाई स्वस्थ राख्न के गर्ने ?

अशुद्ध हावा नाक हुँदै फोक्सोमा पुग्छ । त्यसैले नाकको ख्याल राख्नु आवश्यक छ । तर नाकलाई सफा र स्वास्थ राख्न जथाभावी कोट्याउन हुँदैन । अनावश्यक सफा गर्नु हुँदैन । धुलो र प्रदूषणबाट जोगिने, धुम्रपान नगर्ने, प्रदूषित ठाउँमा जानै परे मास्कको प्रयोग गर्नुपर्ने नाक, कान, घाँटीरोग विशेषज्ञ डा. ढुण्डीराज पौडेल बताउँछन् ।

प्रशस्त मात्रामा पानी पिउने र भिटामिन सीयुक्त खानेकुरा खानुपर्छ  । भिटामिन सी भएको खानेकुराले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने डा.पौडेलको भनाइ छ । ‘नाक, मुख र घाँटीलाई चिसो राख्न पानी र धेरै तरल पदार्थ पिउने गर्नुपर्छ’ डा.पौडेल भन्छन्, ‘यसले ब्याक्टेरिया वा भाइरसको प्रवेश रोक्न सहयोग गर्छ । नाक, घाँटी सुक्खा हुँदा भाइरस वा ब्याक्टेरियाले आफूलाई वृद्धि गर्ने अवसर प्राप्त गर्छ ।’

कुनै लक्षण क्रमशः बढ्दै गएको छ भने तुरुन्तै चिकित्सकसँग परामर्श लिनुपर्ने उनको सुझाव छ ।

नाकसम्बन्धी समस्याहरू

भाइरसका कारण नाक बन्द हुने, सिंगान बग्ने आदि हुन्छ । साइनसमा संक्रमण हुँदा टाउको दुख्ने, नाक बन्द हुने, ज्वरो आउने आदि लक्षण देखिन्छ । धुलो, परागकण वा अन्य एलर्जीका कारण नाक बन्द हुने, हाच्छ्युँ आउने जस्ता समस्या हुने पौडेले बताए ।

नाकको भित्री भागमा मासु पलाउने समस्या, जुन श्वासप्रश्वासमा बाधा पुर्‍याउँछ । नाकको हड्डी बाङ्गो हुने समस्या हुँदा श्वास फेर्न गाह्रो हुन्छ । सुख्खा वातावरण, चोट वा उच्च रक्तचापका कारण पनि नाकबाट रगत बग्न सक्ने डा.पौडेलको भनाइ छ ।

नाकको सरसफाइ कसरी गर्ने ?

सामान्यतया नाकको सफा गर्न जरुरी छैन । नाकको बनावट नै सफा गरिरहनुपर्ने खालको छैन । सिंगान आउनेबित्तिकै नाक सफा हुन्छ । तर, आयुर्वेदमा नाकलाई सफा गर्ने विधिबारे उल्लेख भएको आयुर्वेदिक चिकित्सक तिमल्सिना बताउँछिन् ।

तिमिल्सिनाका अनुसार नाक सफा गर्न आयुर्वेदमा जलनेती विधिबारे उल्लेख छ । जलनेती एक प्राचीन र प्राकृतिक क्रिया हो । नाक सफा गर्ने यस प्रक्रियामा नाकबाट फोहोर हटाउन नाक नुन पानीले धोइन्छ । यसले पिनासबाट छुटकारा पाउन पनि मद्दत गर्नुका साथै नाकमा फोहोर जम्न दिंदैन र जम्मा भएका कीटाणु पनि निकाल्छ ।  कुनै पनि योगाभ्यास गर्न राम्रोसँग सास लिन सहज बनाउन जलनेतीले मद्दत गर्छ ।

यो अभ्यास पहिलोपटक गर्दा योग प्रशिक्षक तथा आयुर्वेदिक चिकित्सकको निगरानीमा मात्र गर्नुपर्ने उनको सुझाव छ । ‘नाकमार्फत गरिने प्राणायाम जस्तैः अनुलोम–विलोमले पनि नाक शुद्धिकरण गर्छ र चक्रहरूलाई सन्तुलित बनाउँछ’ तिमल्सिना भन्छिन् ।’

आयुर्वेदको पञ्चकर्ममा ‘नस्य’ एक महत्वपूर्ण उपचार हो, जसमा नाकमार्फत औषधीय तेल, घिउ वा चूर्णको प्रयोग गरिन्छ । नस्यले टाउको, नाक, घाँटी र मस्तिष्कसम्बन्धी रोगहरू जस्तैः माइग्रेन, साइनस, अनिद्रालाई निको पार्छ ।  नाकलाई मस्तिष्कको प्रवेशद्वार मानिन्छ, त्यसैले नस्यले मानसिक स्पष्टता र स्मरणशक्ति बढाउने उनले बताइन् ।

नाक वायु श्वासप्रश्वास
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नाकले कसरी वायु शुद्धीकरण गर्छ ?

नाकले कसरी वायु शुद्धीकरण गर्छ ?

सेतो कोटको ‘मौन विद्रोह’

सेतो कोटको ‘मौन विद्रोह’

लगातारको झरीसँगै हैजाको जोखिममा काठमाडौं !

लगातारको झरीसँगै हैजाको जोखिममा काठमाडौं !

शेफाली जरीवालाको मृत्युपछि चर्चामा आएको एन्टी-एजिङ उपचार के हो ?

शेफाली जरीवालाको मृत्युपछि चर्चामा आएको एन्टी-एजिङ उपचार के हो ?

उपचार असफलतामा दोषारोपणको अपूर्ण न्याय

उपचार असफलतामा दोषारोपणको अपूर्ण न्याय

गर्भाधानका लागि सबैभन्दा उपयुक्त उमेर कुन हो ?

गर्भाधानका लागि सबैभन्दा उपयुक्त उमेर कुन हो ?