+

शेफाली जरीवालाको मृत्युपछि चर्चामा आएको एन्टी-एजिङ उपचार के हो ?

२०८२ असार  २० गते १३:०२ २०८२ असार २० गते १३:०२
शेफाली जरीवालाको मृत्युपछि चर्चामा आएको एन्टी-एजिङ उपचार के हो ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शेफाली जरीवालाको २८ जुनमा मृत्यु भएको कारण अझै स्पष्ट छैन।
  • प्रहरीले उनका औषधि र इन्जेक्सनका नमुनाहरू संकलन गरी अनुसन्धान गरिरहेको छ।
  • प्रसिद्ध अभिनेत्रीहरूले प्राकृतिक सौन्दर्य र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गरे पनि, एन्टी–एजिङ उपचारको चर्चा तीव्र भएको छ।

४२ वर्षको उमेरमा बलिउड अभिनेत्री शेफाली जरीवालाको अचानक मृत्यु भएको कारण अझैसम्म पत्ता लागेको छैन ।

उनको मृत्युको अनुसन्धानमा जुटेका केही प्रहरी अधिकारीहरूले भनेका छन् शेफालीले एन्टी–एजिङ ट्याब्लेटसहित विभिन्न औषधिहरू लिइरहेकी थिइन् । सम्भवतः यी औषधिहरू खाली पेटमा लिँदा उनको रक्तचाप अचानक घट्यो ।

एक प्रहरी अधिकारीले बताए अनुसार, २८ जुनको दिउँसो शेफालीले एउटा इन्जेक्सन लिएकी थिइन्, जुन सम्भवतः एन्टी–एजिङ इन्जेक्सन थियो ।

प्रहरी अधिकारीको अनुसार उनको रक्तचाप तीव्र रूपमा घटेर जाडो महसुस भएपछि परिवारका सदस्यहरूले उनलाई अस्पताल पुर्‍याए ।

शेफाली जरीवालालाई २८ जुनको राति अँधेरीको बेलेभ्यू मल्टी स्पेशियालिटी अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरे । प्रहरीलाई राति १ बजे यो सूचना प्राप्त भयो र त्यसपछि उनको शवलाई पोस्टमार्टमका लागि कपूर अस्पताल पठाइयो ।

प्रहरीका अनुसार, ‘अम्बोली प्रहरीले हालसम्म १२ जनाको बयान लिइसकेको छ, जसमा शेफालीका पति, आमा बुबा र घरमा काम गर्ने सहयोगी पनि सामेल छन् । ती सबै त्यतिबेला घरमै थिए । यद्यपि, अहिलेसम्म कुनै शंकास्पद कुरा फेला परेको छैन ।’

अनुसन्धानका क्रममा एक प्रहरी टोली फरेन्सिक विशेषज्ञहरूसँग उनको घर गएर विभिन्न सामग्रीका नमुनाहरू संकलन गरेको छ । यसमा शेफालीका औषधिहरू र इन्जेक्सनहरू पनि सामेल छन् ।

शेफालीले साँच्चै एन्टी-एजिङ उपचार लिइरहेकी थिइन् कि थिइनन् भन्ने पुष्टि भएको छैन । तर उनको मृत्युपछि एन्टी-एजिङ उपचारको विषयमा चर्चा तीव्र भएको छ ।

प्रसिद्ध अभिनेत्रीहरूले के भने ?

शेफाली जरीवालाको मृत्युपछि अभिनेत्री मल्लिका शेरावतले इन्स्टाग्राममा एउटा भिडियो सेयर गरिन् र आफ्ना प्रशंसकहरूलाई स्वस्थ जीवनशैली अपनाउन सुझाव दिइन् ।

उनले भनिन्, ‘मैले कुनै फिल्टर प्रयोग गरेकी छैन, कुनै मेकअप गरेकी छैन । यहाँसम्म कि कपाल पनि बनाएकी छैन । म यो भिडियो तपाईँहरूसँग सेयर गरिरहेकी छु ता कि हामी सबै मिलेर बोटक्स, कृत्रिम कस्मेटिक पिलरहरूलाई ‘नो’ र स्वस्थ जीवनशैलीलाई ‘एस’ भन्न सिकौँ ।’

त्यस्तै, एक अन्तर्वार्तामा अभिनेत्री करिना कपुरले पनि भनेकी छन् ‘म बोटक्सको विरुद्धमा छु ।’ यद्यपि, उनले उमेर बढ्दै जाँदा अभिनेत्रीहरूले सामना गर्नुपर्ने चुनौतीहरूको बारेमा कुरा गरिरहेकी थिइन् र उनलाई सोधिएको थियो कि, के उनी पनि चाउरीपना र उमेर बढ्ने कुराबाट डराउछिन् ।

यसमा करिनाले भनेकी थिइन् ‘म बोटक्सको विरुद्धमा छु, म आफ्नो ख्याल राख्ने पक्षमा छु, जसको अर्थ हो स्वस्थ रहनु, राम्रो महसुस गर्नु यी प्राकृतिक थेरापी हो । यो आफ्नो र आफ्नो प्रतिभालाई जोगाउने कुरा पनि हो किनभने यो नै मेरो हतियार हो । यसको अर्थ हो समय-समयमा बिदा लिनु, परिवार र साथीहरूसँग समय बिताउनु, सेटमा गर्ने कुराबाट केही फरक कुरा गर्नु । सुई र शल्यक्रियामा अल्झिनु होइन ।’

यद्यपि, यी दुवै अभिनेत्रीहरूले आफ्नो बयानमा शेफाली जरीवालाको नाम उल्लेख गरेका छैनन्, तर उनको मृत्युपछि आएका यी बयानहरूलाई यसैसँग जोडेर हेरिएको छ ।

एन्टी–एजिङ उपचार के हो ?

जसरी हाम्रो उमेर बढ्छ, त्यसै गरी अनुहारमा रेखाहरू, चाउरीहरू देखिन थाल्छन्, अनुहारको छाला पनि बिस्तारै झोल्लिन थाल्छ । तर, यसलाई रोक्नका लागि आजकाल कस्मेटिक सर्जरी, इन्जेक्टेबल फिलरहरू, बोटक्स आदिको प्रचलन बढेको छ ।

एन्टी–एजिङ उपचारका केही औषधि र यस्का कम्पाउन्डहरूको संयोजनबाट हुन्छ जसले उमेर बढ्ने प्रभावलाई ढिलो गर्न मद्दत गर्छ ।

यी सबैमा सबैभन्दा प्रचलित बोटक्स हो, जुन एक शक्तिशाली इन्जेक्सन हो, जसले हाम्रो मांसपेशीहरूलाई सानो हिस्सामा आराम दिन्छ । निधारको रेखाहरू वा आँखाको वरिपरि देखिने रेखाहरू, नाकको वरिपरि देखिने रेखाहरूलाई कम गर्न बोटक्सको प्रयोग गर्न सकिन्छ ।

२२ वर्षभन्दा पहिले फुड एन्ड ड्रग्स एडमिनिस्ट्रेशनले कस्मेटिक प्रक्रियाहरूमा यसको प्रयोगलाई अनुमति दिएको थियो ।

द एस्थेटिक क्लिनिक्सका वरिष्ठ कस्मेटिक सर्जन डा. देबराज शोमले एउटा कार्यक्रममा भनेका थिए डर्मल फिलरहरू इन्जेक्सन हुन् जुन छालाको भित्र दिइन्छ यी ती पदार्थहरूबाट बन्छन्, जसबाट हाम्रो छालाको कोशिकाहरू बनेका हुन्छन् ।

उनले भने ‘उमेरसँगै छालामा कोलेजन कम हुन थाल्छ, तर फिलरहरूको मद्दतले कोलेजन फेरि राखिन्छ र अनुहार जवान देखिन थाल्छ ।’

त्यस्तै, एन्टी–एजिङका लागि धेरैले ग्लूटाथियोन इन्जेक्सनको पनि प्रयोग गर्छन् । यो एक एन्टिअक्सिडेन्ट हो, जसले हाम्रो शरीरको कोशिकाहरूलाई हुने क्षतिलाई रोक्न काम गर्छ । ग्लूटाथियोन प्रायः इन्जेक्सन र ट्याब्लेटहरूको माध्यमबाट लिइन्छ ।

कैलाश अस्पतालको डर्मटोलोजी विभागकी वरिष्ठ परामर्शदाता डा.अञ्जु झाले बताइन् ‘ग्लूटाथियोन हाम्रो शरीरमा पहिलेदेखि नै हुन्छ । तर उमेरसँगै शरीरले ग्लूटाथियोन बनाउन कम गर्छ । त्यसैले यसलाई बाहिरबाट लिइन्छ । यो पनि मानिन्छ कि ग्लूटाथियोन लिनेहरूको छालाको रङ्गमा केही निखार आउँछ । यदि इन्जेक्सनमार्फत ग्लूटाथियोन लिइयो भने यसको नतिजा अझ राम्रो मानिन्छ । तर यसका साइड इफेक्टहरू पनि छन् । यो एफडीएद्वारा स्वीकृत छैन ।’

यो उपचार कति सुरक्षित छ ?

द इन्डियन एक्सप्रेससँग कुरा गर्दै दिल्लीको सर गंगाराम अस्पतालको डर्मटोलोजी विभागका अध्यक्ष डा.ऋषि पराशर भन्छन्, ‘केही अपवादहरू बाहेक यस्ता इन्जेक्सनहरू हालसम्म सुरक्षित साबित भएका छन् । तर सबैभन्दा महत्त्वपूर्ण कुरा यिनलाई कुनै दर्ता भएको डर्मटोलोजिस्टको निगरानीमा मात्र लिनुपर्छ ।’

यही समाचारमा यो पनि बताइएको छ कि, बोटक्सका जोखिमहरूबारे अप्रिल २०२२ मा चर्चा तीव्र भएको थियो जब यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले चेतावनी जारी गर्दै भनेको थियो कि २२ देखि ६५ वर्षका २२ महिलाहरूमा बोटक्सका हानिकारक प्रतिक्रियाहरू देखिएका छन् ।

तीमध्ये ११ जनालाई अस्पताल भर्ना गर्नुपर्‍यो र ६ जनामा यस्तो अवस्था देखियो, जहाँ बोटक्समार्फत दिइएका टक्सिनहरू फैलेर नर्वस सिस्टमसम्म पुगे । यो यस्तो अवस्था हो, जसमा मृत्यु पनि हुन सक्छ ।

यसमा डा.पराशरले भने,‘यो प्रमाणित भएको छ कि, यी सबै महिलाहरूले बिनालाइसेन्स वा अप्रशिक्षित व्यक्तिहरूबाट यस्ता ठाउँमा इन्जेक्सन लिएका थिए, जो स्वास्थ्य केन्द्रहरू पनि थिएनन् ।’

यी औषधिहरूबाट हुने जोखिममा डा.अञ्जु झा भन्छिन्, ‘एफडीएले ग्लूटाथियोनलाई स्वीकृति नदिनुको कारण यो हो कि यसका केही साइड इफेक्टहरू देखिएका छन् । यसबाट केही बिरामीहरूलाई एनाफाइलेक्सिस हुन सक्छ, इन्जेक्टेबल औषधिहरूबाट स्टीभन जोन्सन जस्ता रोगहरू हुन सक्छन् । यी औषधिका प्रतिक्रियाबाट उत्पन्न हुने अवस्थाहरू हुन्, जसमा मृत्युको सम्भावना पनि हुन्छ । यद्यपि, यो धेरै दुर्लभ छ ।’

उनी भन्छिन् कि छाला उज्यालो बनाउन वा गोरो बनाउन यी औषधिहरू प्रयोग गर्नेहरूमा यसको प्रभाव तबसम्म रहन्छ जबसम्म उनीहरूले यो लिइरहन्छन् । यसको प्रभाव सधैँ रहँदैन ।

डा.अञ्जु भन्छिन्, ‘कति औषधि लिइरहेको छ र यो लिनुपर्छ कि पर्दैन भन्ने धेरै महत्वपूर्ण छ । पहिलेदेखि कुनै समस्या त छैन, जुन यी औषधिहरूले थप बढाउँछ । यी सबैका लागि राम्रो डर्मटोलोजिस्टको सल्लाह चाहिन्छ ।’

यस्ता औषधिबाट हृदयाघात हुँदैन । तर कहिलेकाहीँ डोज धेरै लिँदा यसले कलेजो, मिर्गौलामा असर गर्न सक्छ । यस्ता अप्रत्यक्ष प्रभावहरू छन् । त्यसैले उपचार कुनै विशेषज्ञले गर्नुपर्छ जसलाई कुन मांसपेशीमा इन्जेक्सन दिने र कति दिने भन्ने थाहा होस् । यो आफैँले गर्नुहुँदैन, कुनै पार्लरमा पनि गर्नु हुँदैन साथै यस विषयमा ज्ञान नभएका डाक्टरबाट पनि गराउनु हुँदैन ।

बीबीसी

एन्टी– एजिंग शेफाली जरीवाला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

शेफाली जरीवालाको मृत्युपछि चर्चामा आएको एन्टी-एजिङ उपचार के हो ?

शेफाली जरीवालाको मृत्युपछि चर्चामा आएको एन्टी-एजिङ उपचार के हो ?

उपचार असफलतामा दोषारोपणको अपूर्ण न्याय

उपचार असफलतामा दोषारोपणको अपूर्ण न्याय

गर्भाधानका लागि सबैभन्दा उपयुक्त उमेर कुन हो ?

गर्भाधानका लागि सबैभन्दा उपयुक्त उमेर कुन हो ?

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

गर्भवती भएको कसरी थाहा पाउने ?

गर्भवती भएको कसरी थाहा पाउने ?