+

लगातारको झरीसँगै हैजाको जोखिममा काठमाडौं !

२०८२ असार  २० गते १७:१२ २०८२ असार २० गते १७:१२

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल नै वि.सं. १९९० मा ‘कलेरा अस्पताल’ को नामले स्थापित भएको हो । यो बाट पनि थाहा हुन्छ, बिगतमा काठमाडौंमा हैजा विकराल समस्याको रुपमा थियो ।

Shares
लगातारको झरीसँगै हैजाको जोखिममा काठमाडौं !

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा एकदुई वर्षको अन्तरालमा हैजा देखिने गरेको पाइन्छ । मनसुन सुरु भएसँगै झाडापखालाका बिरामीको ग्राफ बढेको छ ।
  • व्यक्तिगत सरसफाइ र पानी मात्र नभई गर्मी महिनामा घरबाहिर खाने बढ्दो प्रचलनले पनि हैजाको जोखिमलाई बढाएको देखिन्छ ।
  • हैजाको जोखिम कम गर्न स्वास्थ मन्त्रालय मात्र नभई खानेपानी तथा गृह मन्त्रालयको पनि उत्तिकै अनि महत्वपूर्ण भूमिका वा सहकार्य हुनु जरुरी हुन्छ।

आजभोलि दैनिक जसो झरी परिरहेको छ । अझ यो पटक मनसुन औसत भन्दा बढी लम्बिन सक्ने प्रक्षेपण मौसमविद्हरूले गरेका छन् । वर्षाजन्य प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षतिलाई ध्यानमा राखेर त्यसका लागि पूर्वतयारी पनि गरिरहेको छ, गृह मन्त्रालयले ।

मनसुनी झरीसँगै विभिन्न प्रकारका, विशेषगरी पानीजन्य संक्रमणको जोखिन पनि बढ्ने गर्दछ । पानीजन्य संक्रमणहरू मध्ये हैजा पनि पर्छ । संक्रामकता र घातकताका आधारमा हैजालाई गम्भीर स्वास्थ्य समस्याका रुपमा लिने गरिन्छ ।

काठमाडौंमा पनि एकदुई वर्षको अन्तरालमा हैजा देखिने गरेको पाइन्छ । मनसुन सुरु भएसँगै अस्पताल आउने झाडापखालाका बिरामीको ग्राफ ह्वात्तै बढेको छ ।

त्यसो हो भने के काठमाडौंमा हैजाले प्रकोपको रुप लेला ?

केहि वर्ष अगाडि कपिलवस्तुको कृष्णनगर नगरपालिका-७, ८ र ९ मा हैजा फैलिँदा केही बिरामीको मृत्यु भएको थियो । यो नै पछिल्लो पटक हैजाको कारणले मृत्यु भएको तथ्यांक हो। त्यसपछि पनि बेला-बेलामा हैजा देखिने गरेको छ तर मृत्यु भने भएको देखिँदैन।

हैजाले कडा रुप लिएको केही घण्टामै उपचार नपाएमा बिरामीको मृत्यु समेत हुने गर्दछ । सामान्यतया प्रत्येक १० संक्रमित मध्ये एकलाई कडा हैजा हुने गर्छ। कपिलवस्तुको कृष्णनगरमा हैजाबाट भएको मृत्युको कारण ढिलो उपचार नै देखिन्छ ।

काठमाडौंमा सम्भवत: स्वास्थ संस्था/अस्पतालहरू धेरै भएकाले पनि हैजाका बिरामीको मृत्यु खासै नभएको देखिन्छ । कडा झाडापखाला देखिएको खण्डमा तुरुन्तै नजिकैको अस्पतालमा लगी उपचार गरे मृत्युको सम्भावना लगभग शून्य प्राय हुने गर्दछ । सन् २००९ को मे महिना देखि जुलाई सम्मको अवधिमा जाजरकोटमा १११ जनाले हैजाको करण मृत्युवरण गर्नुपरेको थियो ।

कडा हैजा फैलिँदा गाउँ होस् वा शहर यदि उपचारमा ढिलासुस्ती भएमा मृत्यु हुने जोखिम उच्च हुने गर्दछ ।

हैजा ‘भिब्रियो कोलेराई’ नामक ब्याक्टेरियाको कारणले हुने गर्छ । नेपालमा यो रोग शताब्दीऔँ अगाडिदेखि नै देखिँदै आइरहेको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल नै वि.सं. १९९० मा ‘कलेरा अस्पताल’ को नामले स्थापित भएको हो । यो बाट पनि थाहा हुन्छ, बिगतमा काठमाडौंमा हैजा विकराल समस्याको रुपमा थियो ।

म दुई दशक भन्दा बढी अवधिदेखि यस अस्पतालमा कार्यरत रहँदै गर्दा हैजाको प्रकोपलाई नजिकैबाट लियालेको छु । बिगतको तुलनामा हाल अस्पताल भर्ना हुने हैजा बिरामीको संख्यामा उल्लेखनीय कमी आएको छ । यद्यपी हैजा प्रकोपको जोखिम काठमाडौंमा यथावत नै देखिन्छ ।

वर्षेनी मनसुनमा हुने भारी वर्षाबाट उत्पन्न बाढी जस्ता प्राकृतिक प्रकोपले हैजाको जोखिमलाई अरु थप बढाइ दिएको देखिन्छ । संक्रमण भएको १२ घण्टा देखि ५ दिन सम्ममा हैजाका लक्षणहरू देखिने गर्दछ । अचानक चामल पखालेको चौलानीजस्तो अत्यधिक/तारन्तार दिसा हुनु, बान्ता तारन्तार हुनु, पेट तथा खुट्टाका मांशपेशी बाउँडिनु, तिर्खा लाग्नु, बेचैनी हुनु हैजाका प्रमुख लक्षणहरू हुन् ।

अधिकांश संक्रमितमा यी लक्षणहरू कडा देखिँदैन । तर हैजा कडा नभएता पनि वा संक्रमित लक्षण रहितको अवस्थामा भए पनि १० दिनसम्म संक्रमितको दिसामार्फत जीवाणुहरू निस्कने क्रम जारी रहन्छ ।

तसर्थ यदि संक्रमित व्यक्तिले दिसा गरिसकेपछि हात साबुन पानीले राम्ररी नधुने वा शौचालयमा नभई जथाभाबी दिसा गर्ने गरेमा हैजा फैलने सम्भावना उच्च रहन्छ । व्यक्तिगत सरसफाइ मात्र होइन, सफा र सुरक्षित पानीको प्रयोग नगर्ननाले पनि हैजा फैलने जोखिम रहन्छ । बिगत अनि हालको तथ्यांकलाई विश्लेषण गर्ने हो भने हैजा फैलनुमा पानीको  प्रमुख भूमिका रहेको पाहिन्छ ।

काठमाडौंमा पहिले धारा तथा इनारको पानी बढी प्रयोग गर्ने गरिन्थ्यो । यी पानीको शुद्धिकरणमा ध्यान नदिँदा झाडापखाला अनि हैजा जस्ता रोगहरू फैलने गर्दथ्यो ।पछिल्लो केहि वर्ष यता काठमाडौंमा जारमा बन्द व्यवसायिक पानीको व्यापक प्रयोग बढेको छ । विद्यालय, कार्यालय, घर, चमेना गृह/रेस्टुरेन्ट वा सार्वजनिक स्थानमा जारका पानीको उपभोग व्यापक बढ्दो छ ।

स्थापित कम्पनीबाट उत्पाधित पानीमा समस्या खासै देखिएको त पाहिँदैन । तर गर्मी महिना लागेसँगै पिउने पानीको माग ह्वात्तै बढ्ने तर त्यही माग अनुरुप आपूर्ति हुन नसक्दा निर्मुलिकरण (सुरक्षित) नगरिएका जारका पानी बजारमा विक्री वितिरण गर्ने गरेको बिगतका अनुभवहरूले देखाउँदछ ।

त्यस्ता जारका पानीको विभिन्न समयमा गरिएका प्रयोगशाला परीक्षणहरूमा ‘फिकल कलिफोर्म’ प्रमाणित हुने गरेको देखिन्छ । अर्थात् त्यस्ता जारका पानी दिसा मिश्रित अनि स्वास्थका लागि पिउन योग्य नभएको भन्ने हो ।

निरन्तरको झरीसँगै बाढी/पहिरो जस्ता प्राकृतिक विपदमा हैजा लगायत पानीजन्य लेप्टोइस्पाइरोसिस, कमलपित्त जस्ता अन्य संक्रमणहरू समेत फैलने सक्ने सम्भावना हुन्छ । प्राकृतिक विपदमा असुरक्षित पिउने पानी अनि अव्यवस्थित शौचालय भएर संक्रमण फैलने गर्दछ ।

व्यक्तिगत सरसफाइ र पानी मात्र नभई गर्मी महिनामा घरबाहिर खाने बढ्दो प्रचलनले पनि हैजाको जोखिमलाई बढाएको देखिन्छ । काठमाडौंमा केही वर्षअगाडि अस्पताल भर्ना भएका हैजाका बिरामीले पनि बाहिरका (सडकमा राखिएका) खानेकुरा खाँदा बिरामी भएको भनेका थिए । तसर्थ खाना ताजा र सुरक्षित छ/छैन भन्नेमा विशेष ध्यान दिन जरुरी छ ।

घर बाहिरको मात्र नभई आफ्नै घरको चुलोमा बनेको असुरक्षित खानेकुराबाट पनि हैजा सर्न सक्ने भएकाले खानेकुरा राम्रोसँग पकाएको ताजा खानु पर्दछ।

हैजाको शंका लागेमा वा  पुष्टि भएको अवस्थामा तुरुन्त अस्पताल गई उपचार गर्नुपर्छ । प्रकोप फैलिएको क्षेत्रमा बसोबास गरिरहेको वा सो क्षेत्रको भ्रमण गरेपछि हैजाको जस्तै मिल्दो जुल्दो लक्षण देखिएमा विशेष ख्याल गर्नुपर्छ । ओआरएस अर्थात् ओरल रिहाइड्रेशन सोलुसन वा जीवनजल प्रशस्त पिउनसके बिरामीले छिटो स्वास्थ लाभ गर्न सक्दछ । हैजा विरुद्धको खोप पनि विकास भइसकेको छ ।

यद्यपि धेरैलाई खोपबारे थाहा नभएको देखिन्छ । नेपाल सरकारले केही जिल्लालाई लक्षित नमुनाको रुपमा खोप अभियान पनि शुरु गरेको थियो । तर त्यसको नतिजा के भयो अनि खोप थप अरु जिल्लामा विस्तार गर्ने/नगर्ने भन्ने नीतिगत निर्णय भने सार्वजनिक भएको देखिँदैन ।

कडा हैजाबाट हुने मृत्युदर द्रुत उपचार पाउने/नपाउने अवस्थामा भर पर्ने भएकाले भौगोलिक विकटताले पनि असर पार्छ । हैजाबाट धेरै मृत्यु हुनेमा उपचार केन्द्रसम्म पुग्न समय लाग्ने गाउँ/ठाउहरूकै व्यक्तिहरू हुन्छन् । यस्तो ठाउँमा बसोबास गर्नेका लागि खोपको विशेष महत्व रहन्छ ।

यसर्थ त्यस्ता ठाउँको पहिचान गरी हैजा विरुद्धको खोप दिन सके हैजाबाट हुने सक्ने मृत्युदरलाई कम गर्न ठूलो मद्दत पुग्छ ।

अन्तमा,
हैजा नेपालका लागि नौलो रोग होइन । तर वर्षेनी हैजा प्रकोपको जोखिम भने कायमै रहेको छ ।हाल काठमाडौंमा झाडापखालाका बिरामीहरू ह्वात्तै बढेको अनि उनीहरू मध्ये कतिपमा हैजासँग मिल्दोजुल्दो लक्षण देखिएकाले आगामी दिनमा हैजा पुष्टि भए वा फैलिएमा अचम्मित मान्नु पर्ने छैन।

हैजाको जोखिम कम गर्न स्वास्थ मन्त्रालय मात्र नभई खानेपानी तथा गृह मन्त्रालयको पनि उत्तिकै अनि महत्वपूर्ण भूमिका वा सहकार्य हुनु जरुरी हुन्छ । हैजाको मृत्युदरलाई शून्यमा बनाउन स्वास्थ्य संस्थाको पहुँच बनाउने र भौगोलिक विकटताको कारणले उपचार कन्द्रसम्म पुग्न समय लाग्ने क्षेत्रमा हैजाविरुद्धको खोप पुराउनु जरुरी छ ।

काठाडौं मनसुन हैजा
डा. शेरबहादुर पुन
लेखक
डा. शेरबहादुर पुन
सरुवारोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३४७७ एमडी, पीएचडी, संक्रामकरोग विज्ञ सरुवारोगमा दुई दशकभन्दा बढीको अनुभव, हाल शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

लगातारको झरीसँगै हैजाको जोखिममा काठमाडौं !

लगातारको झरीसँगै हैजाको जोखिममा काठमाडौं !

शेफाली जरीवालाको मृत्युपछि चर्चामा आएको एन्टी-एजिङ उपचार के हो ?

शेफाली जरीवालाको मृत्युपछि चर्चामा आएको एन्टी-एजिङ उपचार के हो ?

उपचार असफलतामा दोषारोपणको अपूर्ण न्याय

उपचार असफलतामा दोषारोपणको अपूर्ण न्याय

गर्भाधानका लागि सबैभन्दा उपयुक्त उमेर कुन हो ?

गर्भाधानका लागि सबैभन्दा उपयुक्त उमेर कुन हो ?

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर