+

के व्यायामले क्यान्सरको असर कम गर्न सक्छ ?

२०८२ असार  २३ गते १३:०९ २०८२ असार २३ गते १३:०९
के व्यायामले क्यान्सरको असर कम गर्न सक्छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिनको अध्ययनले व्यायामले क्यान्सरको पुनरावृत्ति र मृत्यु जोखिम कम गर्ने देखाएको छ।
  • अध्ययनले ६ महिनासम्मको व्यायाम कार्यक्रमले क्यान्सर बिरामीको शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव देखाएको छ।
  • विज्ञले व्यायामलाई क्यान्सर उपचारको अनिवार्य हिस्सा बनाउन र दैनिक जीवनशैलीमा समावेश गर्न सुझाव दिएका छन्।

हामी सबैलाई थाहा छ, शारीरिक व्यायाम गर्नुका फाइदा अनेक छन् । मधुमेह, उच्चरक्तचाप र मुटु रोगजस्ता दीर्घ रोगलाई समेत नियन्त्रण गर्ने तागत व्यायाममा छ । यी रोग मात्र होइन, दिनहुँ व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा पुग्ने विज्ञहरू बताउँछन् ।

न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिनले गरेको एक नयाँ अध्ययन अनुसार व्यवस्थित व्यायाम कार्यक्रममा संलग्न भएका क्यान्सरका बिरामीहरूमा क्यान्सरको पुनरावृत्तिको सम्भावना कम देखिएको छ ।

उनीहरू अरु क्यान्सर बिरामीको तुलनामा लामो समयसम्म बाँच्न सफल भएका छन् ।

कसरी व्यायामले क्यान्सरमा सुधार गर्‍यो ? यो अध्ययनले दिन खोजेको मूल जानकारी के हो  ?

यसै विषयमा इर्मेजेन्सी फिजिशियन तथा जर्ज वासिङटन युनिर्भसिटीकी विशेषज्ञ डा. लियाना वेनसँग गरिएको कुराकानी :

सीएनएन : यो अध्ययनको नतिजा किन महत्वपूर्ण छ ?

वेन : विगतमा क्यान्सर पीडितका लागि व्यायाम फाइदाजनक भनेर मात्र अध्ययनहरू आइरहेका थिए । अहिलेको नयाँ न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिनको अध्ययनले भने व्यायामले क्यान्सरका बिरामीमा के फाइदा हुन्छ , कसरी गर्छ ? भनेर ट्रायल गरेको छ । जसमा क्यान्सर बिरामीमा उल्लेखनीय सुधार देखिएको तथ्यांक पेस भएको छ ।

अध्ययनकर्ताहरूले ६ वटा देशको ५५ क्यान्सर केन्द्रबाट ९०० बिरामी जम्मा गरेका थिए, जो कोलोन क्यान्सरको तेस्रो र दोस्रो चरणमा थिए ।

अमेरिकन सोसाइटी अफ क्लिनिकल अंकोलोजीका अनुसार क्यान्सरको उपचार शल्यक्रिया, केमोथेरापी गरेपछि पनि पुनः पछि ३० प्रतिशतमा कोलोन क्यान्सर देखिन्थ्यो । जसकारण कयौं रोगले मृत्युको मुखमा पुग्थे ।

अध्ययनमा सहभागी भएका बिरामीहरूलाई दुई समूहमा विभाजन गरिएको थियो । एउटा समूहलाई स्वस्थ खानपान र सामान्य शारीरिक गतिविधिको साधारण स्वास्थ्यसम्बन्धी जानकारी दिइएको थियो ।

यो हालको मानक उपचार प्रक्रिया हो ।

अर्को समूहलाई हेल्थ कोचको साथमा व्यायाम गर्ने खाका सहितको कार्यक्रम दिइयो । सुरुको ६ महिनासम्म दुईपटक प्रति महिना प्रशिक्षकसँग सल्लाह हुने र त्यसपछि महिनोमा एकपटक सल्लाह हुने व्यवस्था गरिएको थियो ।

यो समूहले नियन्त्रित व्यायाम, प्रेरणा, र निरन्तर निगरानी पायो ।

सहभागी हुनेमा व्यायाम गर्नेहरूमा उच्च सुधार देखिएको थियो । उनीहरूले ६ मिनेटमा हिँड्न सक्ने दुरी र ‘भीओ२ म्याक्स’ शरीरले अक्सिजन ग्रहण गर्ने अधिकतम क्षमता नाप्ने मेशिनबाट गरिएको हो ।

यी दुवै मापदण्डहरू मुटु तथा रक्तसंचार प्रणालीको स्वास्थ्य संकेत हुन् । त्यसैले, व्यायामले उनीहरूको शारीरिक फिटनेसमा प्रत्यक्ष र सकारात्मक प्रभाव पारेको देख्न सकिन्छ ।

दुई समूहलाई करिब आठ वर्षसम्म अनुगमन गर्दा, सामान्य सल्लाह पाउने समूहमा १३१ जनामा क्यान्सर दोहोरियो र ६६ जनाको मृत्यु भएको थियो । जब कि संरचित व्यायाम गर्ने समूहमा ९३ जनामा मात्र क्यान्सर पुन: देखियो र ४१ जनाको मृत्यु भयो ।

यसले व्यायाम गर्ने समूहमा क्यान्सर दोहोरिन सक्ने जोखिम २८ प्रतिशत कम र मृत्युको जोखिम ३७ प्रतिशत कम थियो । अध्ययनले क्यान्सरपछि रोगमुक्त जीवन लम्ब्याउन व्यायाम अत्यन्त प्रभावकारी रहेको र उपचारको अनिवार्य हिस्सा हुनुपर्ने प्रमाणित गर्छ ।

सीएनएन : अध्ययनको नतिजाले कसरी उपचारमा परिवर्तन ल्याउन सक्छ ?

वेन : कल्पना गर्नुहोस्, कुनै नयाँ औषधिको क्लिनिकल ट्रायल भएको छ र त्यसले पुनः क्यान्सर हुने वा नयाँ क्यान्सर विकसित हुने सम्भावना २८ प्रतिशतले घटाउने देखाएको छ ।

त्यस्तै, उपचार अवधिभर मृत्युको जोखिम ३७ प्रतिशतले कम भएको देखिएको छ भने कस्तो हुन्थ्यो होला ? बिरामी र चिकित्सकहरूले यसलाई एक ठूलो सफलता मान्थे र नयाँ उपचारको रूपमा प्रयोग गर्न उत्साहित हुन्थे ।

ठिक यस्तै स्तरको परिणाम यस अध्ययनले देखाएको छ । मलाई लाग्छ, यसले क्यान्सर उपचारको अहिलेको अभ्यासमा ठूलो परिवर्तन ल्याउन सक्छ । हाल क्यान्सरको शल्यक्रिया, किमोथेरापी वा रेडिएसनपछि बिरामीलाई व्यायाम गर्न सुझाव त दिइन्छ, तर धेरैजसो बिरामीले स्वास्थ्य प्रशिक्षक वा कोचको सेवा लिँदैनन् । र, चिकित्सकहरू वा प्राथमिक उपचार दिने पनि पछिल्लो भेटघाटमा उनीहरूको व्यायाम कार्यक्रमको विषयमा सोधपुछ नगर्न सक्छन् ।

तर अब यी तथ्यांक हेर्दा यो अवस्था बदलिनुपर्ने स्पष्ट देखिन्छ । अब बिरामीलाई ‘व्यायाम गर्ने तरिकाको अभ्यास’ दिन सकिन्छ । र, स्वास्थ्यकर्मीहरूले नियमित रूपमा उनीहरूको व्यायाम गतिविधि ट्र्याक गर्न सक्छन् ।

बीमा कम्पनीहरूले पनि क्यान्सरका बिरामीका लागि स्वास्थ्य प्रशिक्षकको खर्च व्यहोर्ने सोच गर्न सक्छन्, किनभने यसले भविष्यमा हुने महँगो किमोथेरापी वा अन्य उपचार आवश्यकतालाई घटाउन मद्दत गर्न सक्छ ।

यो भविष्यमा लाग्ने उपचार खर्च घटाउने एक लगानीको रूपमा पनि हेरिन सक्छ ।

सीएनएन : व्यायामले कसरी क्यान्सरको जोखिम घटाउँछ त  ?

वेन : नियमित शारीरिक गतिविधिले केही प्रकारको क्यान्सर जोखिम कम गर्ने जनसंख्यामा आधारित अध्ययनहरूले पनि देखाउँदै आएका छन् । यसले क्यान्सर घटाउँछ भन्ने केही सिद्धान्तहरू छन् ।

एक भनाइ अनुसार व्यायामले मानिसलाई स्वस्थ तौलमा रहन मद्दत गर्छ । किनभने मोटोपन आफैँमा क्यान्सर हुनसक्ने जोखिम कारकमा गनिन्छ ।

त्यसैगरी, व्यायामले शरीरमा हुने केही हर्मोनहरूको सन्तुलनमा सहयोग गर्छ । जुन हर्मोनहरू क्यान्सरको विकासमा संलग्न हुन्छन् । साथै, व्यायामले शरीर सुन्निन सक्ने प्रतिक्रियालाई घटाउन सक्छ । जुन क्यान्सरसँग सम्बन्धित हुनसक्ने अर्को कारण हो ।

सीएनन : व्यायाम कति मात्रामा गर्न जरुरी हुन्छ ?

वेन : अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले वयस्कहरूलाई हप्तामा कम्तीमा १५० मिनेट मध्यमदेखि उच्च स्तरको शारीरिक गतिविधिमा सहभागी हुन सिफारिस गरेको छ ।

यदि कोही हप्तामा पाँच दिन व्यायाम गर्छन् भने दैनिक झन्डै ३० मिनेटजति व्यायाम गर्न सकिन्छ । जस्तै, तीव्र गतिमा हिँड्ने, दौडने, साइकल चलाउने वा पौडी खेल्ने-गर्नु पर्याप्त हुन्छ ।

यी व्यायामका फाइदाहरू संचित हुने खालका हुन्छन् । अर्थात्, एकैपटक सबै गर्नुपर्दैन । जसले व्यायामका लागि लामो समय छुट्याउन सक्दैनन्, उनीहरूले आफ्नो दैनिक जीवनशैलीमै शारीरिक गतिविधि कसरी समावेश गर्न सकिन्छ भन्नेबारे सोच्न सक्छन् ।

के काममा लिफ्टको सट्टा भर्‍याङ प्रयोग गर्न सकिन्छ ? यदि दिनमा पाँचपटक यसो गरियो भने १० मिनेटजति अप्रत्यक्षरुपमा व्यायाम हुन सक्छ । फोन, मिटिङ डेस्कमा बस्ने सट्टा छिमेकमा हिँड्दै गर्न सकिन्छ । के पार्किङ थोरै पर गरेर केही मिनेट हिंड्न सकिन्छ ?

साना-साना परिवर्तनहरूले ठूलो प्रभाव पार्न सक्छन् । सल्लाह दिए अनुसार वयस्कले सातामा कम्तीमा १५० मिनेट मध्यम देखि तीव्र खालको व्यायाम गर्नुपर्छ ।

सीएनएन : व्यायाम सुरु गर्न चाहने व्यक्तिहरूका लागि अरु सुझाव के छन् ?

वेन : सातामा १५० मिनेट व्यायाम गर्नु आदर्श मानिन्छ । तर, थोरै मात्रामा गरिने शारीरिक गतिविधि पनि महत्वपूर्ण फाइदा दिनसक्छ । मैले दिन सक्ने सबैभन्दा राम्रो सल्लाह भनेको ‘छिटो नतिजा नखोजी निरन्तर प्रयास गर्नुपर्छ । आज र भोलिमै परिवर्तन देखिँदैन ।’

१५ वा ३० सेकेन्डजति छोटो समयका व्यायाम गर्न सकिन्छ । जस्तै, केही स्क्वाट गर्नु, घरायसी काम गर्नु । कुर्सीबाट उठेर थोरै हिँडडुल गर्नु नै शरीरका लागि फाइदाजनक हुन्छ ।  विशेषतः डेस्कमा धेरै समय बिताउने काम गर्नेहरूका लागि, बसिरहँदाको नकारात्मक असरलाई सन्तुलनमा ल्याउन थप व्यायाम आवश्यक पर्छ ।

सीएनएनबाट

क्यान्सर व्यायाम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय