+
+
Shares

अब पुरानै ढंगले चल्दैन, यही जीवनशैली र कार्यशैलीले हुँदैनः प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १० गते १७:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको पुरानो कार्यशैलीले अघि नबढ्ने र नयाँ कार्यविधि अपनाउनुपर्ने बताएका छन्।
  • प्रचण्डले नेताहरूको सम्पत्ति छानबिन आयोग गठन गरी सबै नेताको सम्पत्ति सार्वजनिक गर्नुपर्ने प्रस्ताव राखेका छन्।
  • प्रचण्डले केन्द्रीय समिति भंग गरी मंसिरमा विशेष महाधिवेशन गर्ने र आफू कार्यवाहक अध्यक्ष बन्ने प्रस्ताव राखेका छन्।

१० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै कार्यशैली र जीवनशैलीले पार्टी अगाडि नबढ्ने बताएका छन् ।

काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले भने, ‘अब पुरानै ढंगले चल्दैन, नयाँ कार्यविधि र ढंगबाट अघि बढ्नुपर्छ ।’

पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्नेमा पनि प्रचण्डको जोड रहेको छ ।

नेताहरूको सम्पत्ति छानबिन आयोग गठन गर्नुपर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्नुपर्ने पनि उनले बताएका छन् ।

संगठनात्मक कार्यशैली मात्र नभएर व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक रहेको प्रचण्डको भनाइ छ ।

उनले नेताहरूको खानपान, लवाइ–खवाइदेखि जनसामान्यसँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउन के के गर्ने भनेर लिखित सुझाव पठाउन समेत नेता–कार्यकर्तालाई भनेका छन् ।

बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको डकुमेन्ट प्रस्तुत भएका थिए । प्रचण्डले केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका छन् । आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको चुनाव पछाडि महाधिवेशन गर्नु उपयुक्त हुने बताएका थिए । नेतृत्वको सन्दर्भमा अध्यक्ष प्रचण्डले छोड्ने र कार्यवाहक अध्यक्ष आफूले पाउनुपर्ने प्रस्ताव राखेका थिए ।

उपमहासचिव जनार्दन शर्माले सबै पदाधिकारी नआउने गरी नयाँ टिम ल्याउने प्रस्ताव राखेका थिए । हाल रहेका पदाधिकारी निर्देशक समितिमा रुपान्तरित भएर रहने उनको प्रस्ताव थियो ।

तीन वटै प्रस्तावमाथि छलफल गरेर समूहगत निष्कर्ष प्रस्तुत गर्नेक्रम सकिएको छ । त्यसपछि प्रचण्डले जवाफ दिन थालेका हुन् ।

नेताहरूका अनुसार १० वटै समूहले अध्यक्ष प्रचण्डकै प्रस्तावमा समर्थन जनाएका छन् । एक नेता भन्छन्, ‘९५ प्रतिहशत बढी मत अध्यक्षको प्रस्तावको समर्थनमा प्रष्ट छ । केही प्रतिशत तटस्थ जस्तो छ र उपमहासचिव शर्माको प्रस्तावमा केही समर्थन छ ।’

समूहगत निष्कर्ष प्रस्तुत गर्दा सँगै पदाधिकारीहरूले पनि धारणा राखेका थिए । धारणा राखेका पदाधिकारीमध्ये राम कार्की बाहेक अधिकांशले प्रचण्डकै प्रस्तावमा समर्थन जनाएका थिए । कार्कीले भने प्रदेश अध्यक्ष कामय राख्ने र अन्य सबै समिति भंग गरेर महाधिवेशनमा जाने प्रस्ताव राखेका थिए ।

नेताहरूको प्रश्नमा प्रचण्डले जवाफ दिएपछि केन्द्रीय समिति बैठक समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?