News Summary
Generated by OK AI. Editorially reviewed.- बढ्दो आधुनिकीकरण र शहरीकरणले मानिसहरूलाई प्रकृतिबाट टाढा गराएको छ, जसले मानसिक र शारीरिक स्वास्थ्यमा असर पुर्याएको छ।
- विश्वका विभिन्न अध्ययनहरूले प्रकृतिमा समय बिताउँदा डिप्रेसन कम हुने, प्रतिरक्षा प्रणाली बलियो हुने र मानसिक स्वास्थ्य सुधार हुने देखाएका छन्।
बढ्दो आधुनिकीकरण र शहरीकरणसँगै आजको समाजका मानिसहरू वाह्य वातावरण र प्रकृतिबाट क्रमशः टाढिँदै गएका छन् । एक समय थियो, जब जतिखेरको जीवनशैली खेतबारी, वनजंगल, खोला-नदी र पहाडसँगै जोडिएको हुन्थ्यो ।
विकासका नाममा आज अधिकांश मान्छेहरू शहरमा कंक्रिटका महलमा बसोबास गरिरहेका छन् । मान्छे नै मान्छे भएका शहरका अग्ला-अग्ला घरमा बसेर पनि उनीहरू एक्लोपनको अनुभूति गरिरहेका छन्।
हरेक दिनको हतार, ट्राफिकको कोलाहल, कृत्रिम प्रकाश र डिजिटल यन्त्रहरूको संसारमा बाँच्न बाध्य मानिसको शरीर र मस्तिष्क दुवै थकित भइरहेको हुन्छ ।
अहिलेको पुस्ताले एउटा नयाँ विकारको सामना गरिरहेको छ, जसलाई ‘प्रकृति अभाव विकार’ भनिन्छ । यो सुन्दा सामान्य लाग्छ तर यथार्थमा निकै ठूलो सामाजिक समस्या हो ।
प्रकृतिको अनुपस्थिति वा प्रकृतिसँगको दूरीले मानिसको शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ ।अधिकांश समय घरभित्रै बिताउने जीवनशैलीले मानिसहरूलाई आत्मिक सन्तुलन गुमाउन बाध्य पारेको छ । आत्मा र शरीर दुवैलाई प्रकृतिसँग निरन्तर र सजीव सम्पर्क आवश्यक छ, जुन केवल विदाको दिनको केही घण्टामा सम्भव हुँदैन ।
हामीले कहिल्यै विचार गरेका छौं, दिनको कति समय हामी खुला आकाशमुनि बिताउँछौं ? खुल्ला आकाशमुनि समय बिताउने क्रम निरन्तर घट्दो छ ।
कोभिड-१९ महामारीपछि झनै मान्छेको दैनिको घरमै सीमित हुनथाल्यो । अनलाइन पढाइ, अनलाइन कामको बढ्दो प्रवृत्तिले सक्रिय जीवनशैली लाई विस्थापित गरिरहेको छ । प्रकृतिसँगको निकटता अभावमा शरीरमा देखा पर्ने समस्याहरू केवल अनुमानमा आधारित छैनन्, धेरै वैज्ञानिक अध्ययनहरूले यसको पुष्टि गरेका छन् ।
सूर्यको प्रकाशबाट टाढा हुनु, हावामा ननिस्कनु, माटोसँग सम्पर्क नगर्नु-यी सबै मोटोपन, मानसिक तनाव, रोगप्रतिरोधी क्षमतामा कमी ल्याउने जीवनशैली रहेको वैज्ञानिकहरूले प्रमाणित गरिसकेका छन् । यस्तो दैनिकी अनेकौँ आधुनिक रोगहरूको स्रोत बन्न सक्ने पनि प्रमाणित भइसकेको छ ।
सूर्यको किरणले शरीरमा भिटामिन डी को उत्पादन बढाउँछ, जसले नयाँ बोसोको कोष बनाउने प्रक्रिया रोकेको हुन्छ । यस अर्थमा, खुला हावामा ननिस्किने मानिसहरू मोटोपनको उच्च जोखिममा रहने कुरा इटालीको मिलान विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अध्ययनले पत्ता लगाएको छ ।
त्यसैगरी, बेलायतका महामारीविशेषज्ञ ग्राहम रुकले भनेका छन्, ‘बालबालिकालाई खुला वातावरणमा खेल्न नदिँदा उनीहरूको शरीरले आवश्यक जीवाणुहरूसँग सम्पर्क गर्न पाउँदैन, जसले प्रतिरक्षा प्रणालीको विकासलाई कमजोर बनाउँछ ।
मानसिक स्वास्थ्यको सन्दर्भमा पनि प्रकृतिले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । एसेक्स विश्वविद्यालयले गरेको एक अध्ययन अनुसार, हरियाली वातावरणमा हिँडडुल गर्ने ७१ प्रतिशत मानिसहरूमा डिप्रेसनको लक्षणमा कमी आएको देखिएको छ ।
हाम्रो मस्तिष्कमा रहेको एमिग्डाला नामक भाग तनावको प्रतिक्रिया दिने भाग हो । पार्क वा वनजंगलमा एक घण्टा समय बिताउँदा यसको सक्रियता घट्छ । अर्थात्, हाम्रो चिन्ता, भय र मानसिक बोझमा कमी आउँछ भन्ने कुरा ‘मोलेकुलर साइक्याट्री’ मा २०२२ मा प्रकाशित अध्ययनले उल्लेख गरेको छ ।
शारीरिक व्यायाम पनि प्रकृतिसँग जोडिएको अर्को महत्त्वपूर्ण पक्ष हो । धेरै मानिसहरूलाई नियमित व्यायाम गर्न गाह्रो लाग्छ यस्तो अवस्थामा प्राकृतिक पार्क वा बोटबिरुवाले भरिएको ठाउँमा बिस्तारै घुम्दा पनि शरीर सक्रिय हुन्छ, जुन निष्क्रिय व्यायामको एउटा स्वरूप हो । बेइजिङमा गरिएको अध्ययन अनुसार, पार्कमा समय बिताउने व्यक्तिहरूले दिनको न्यूनतम व्यायामको आवश्यकता पूरा गरेका हुन्छन ।
प्रकृतिले केवल मानसिक र शारीरिक स्वास्थ्य सुधार गर्न मात्रै होइन, प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्छ । फिनल्याण्डमा गरिएको एक अनुसन्धान अनुसार, हरियालीमा दिनको केही घण्टा बिताउने बालबालिकाहरूको प्रतिरक्षा प्रणालीमा सकारात्मक परिवर्तन आएको देखियो ।
यस्तै अर्को रोचक तथ्य के छ भने, प्रकृतिले आन्द्राको स्वास्थ्यमा समेत असर पार्दछ । बोटबिरुवा, माटो, हावा र समुद्री वातावरणमा पाइने सूक्ष्मजीवहरूसँगको सम्पर्कले आन्द्राको माइक्रोबायोममा सकारात्मक परिवर्तन ल्याउँछ भन्ने कुरा ‘ल्यान्सेट ग्यास्ट्रोएन्टेरोलोजी एण्ड हेपाटोलोजी’ मा २०२४ मा प्रकाशित एक समीक्षामा उल्लेख गरिएको छ।
माइक्रोबायोम हाम्रो पाचन, प्रतिरक्षा प्रणाली तथा मानसिक स्वास्थ्यसँग सीधा जोडिएको हुन्छ । त्यसैले, प्रकृतिसँग सम्पर्क हुनु केवल बाहिरी अनुभव होइन, यो हाम्रो आन्तरिक शरीरका लागि पनि अत्यावश्यक प्रक्रिया हो ।
यी तथ्यहरूलाई ध्यानमा राखेर अहिले विश्वभरका स्वास्थ्य संगठनहरू, चिकित्सक र मनोवैज्ञानिकहरूले ‘ग्रीन प्रेस्क्रिप्सन’ को सिफारिस गर्न थालेका छन् । अर्थात्, बिरामीलाई औषधिको सट्टा वा औषधि सेवको साथसाथै पार्कमा हिँड्ने, हरियालीमा समय बिताउने वा बगैंचामा काम गर्ने सल्लाह दिइन्छ । बेलायतको एक्सेटर विश्वविद्यालयको अध्ययन अनुसार हप्तामा २ घण्टा भन्दा बढी समय प्रकृतिमा बिताउनेहरूले मानसिक र शारीरिक दुवै स्वास्थ्यमा उल्लेखनीय सुधार पाएका छन् ।
प्रकृति केवल उपचारको साधन होइन, यो जीवनकै अभिन्न अंग हो । बच्चाहरू माटोमा खेल्दा, वयस्कहरू रूखमुनि बसेर श्वास तान्दा, वृद्धहरू पार्कको कुनामा चुपचाप घुम्दा—प्रत्येक गतिविधिले कुनै न कुनै रूपमा जीवनको गुणस्तरमा सुधार ल्याइरहेको हुन्छ । जीवनको हरेक मोडमा प्रकृतिको उपस्थिति आवश्यक हुन्छ, चाहे त्यो हाम्रो जन्म, रोग, विश्राम वा मृत्यु नै किन नहोस् ।
हामी सबै शहरको व्यस्ततामा थिचिएका छौं । तर, यथार्थ यही हो कि स्वास्थ्य, सन्तुलन र सन्तोष प्राप्तिका लागि प्रकृतिसँग पुनः सम्बन्ध जोड्नु जरुरी छ । कहिलेकाहीँ केवल एउटा सानो गमलाको बोट हेर्दा पनि मानसिक रूपमा सान्त्वना मिल्छ ।
हावा चलेका बेला रुखको पात सरर्र बज्दा आउने आवाज, पानी परेका बेला बोटविरुवाका पातमा ठक्कर खाएर आउने आवाज, हामीले यस्ता अनुभूतिहरू गुमाउँदै गएका छौं ।
कञ्चन पानी बग्ने खोला किनारको सुगन्ध, खुल्ला चौरमा बसेर आकाशमा बनेका बादलहरूका अनेक आकृति हेर्दा आउने आनन्दको अनुभूति हामीले गुमाइरहेका छौँ ।
स्वस्थ्य र गुणस्तरीय जीवनका लागि प्रकृतिसँग ढाडिँदै गएको हाम्रो जीवनशैली बदल्न जरुरी देखिन्छ ।
प्रतिक्रिया 4