News Summary
Generated by OK AI. Editorially reviewed.- क्यान्सर काउन्सिलले कुकुरले छाला, कोलोरेक्टल, फोक्सो, डिम्बाशय, प्रोस्टेट र स्तन क्यान्सर पत्ता लगाउन सक्ने दावी गरेको छ।
कतिपय जनावरहरूको सुँघ्ने शक्ति मान्छेकोभन्दा कैयौँ गुणा बढी हुन्छ । त्यस्तोमा कुकुर पनि पर्छ । कुकुरमा भएको यही क्षमताका कारण मान्छेहरूले यसलाई विस्फोटक पदार्थ, लागुऔषध र अन्य अवैध वस्तुहरू पत्ता लगाउन प्रयोग गर्छन् ।
क्यान्सरजस्ता रोगहरू पत्ता लगाउन पनि कुकुरलाई प्रयोग गर्न सकिन्छ भन्ने कुरा वैज्ञानिकहरूले पत्ता लगाएका छन् । यही आधारमा अहिले यो विषयमाथि विभिन्न अनुसन्धानहरू भइरहेका छन् ।
यसबारे २०२३ मा ताइवानका वैज्ञानिकहरूले यसबारे अनुसन्धान गरेका थिए ।जसमा कुकुरले फोक्सोमा भएको क्यान्सर पत्ता लगाउन कुकुरको प्रयोग गरिएको थियो । नेशनल लाइब्रेरी अफ मेडिसिन जर्नलमा अनुसन्धानको रिपोर्टमा उल्लेख गरिएअनुसार ६ वटा कुकुरलाई तीन चरणमा तालिम दिएर क्यान्सर भएका बिरामीको पहिचान गर्न सक्छ कि सक्दैन भन्ने अध्ययन गरिएको थियो ।
काओसुङ चाङ गुङ अस्पतालमा उपचारका लागि आएका ५३ जना फोक्सो क्यान्सरका बिरामी र २० जना स्वस्थ व्यक्तिलाई अध्ययनमा समावेश गरिएको थियो । क्यान्सर भएका व्यक्ति र स्वस्थ व्यक्तिको श्वास र पिसाबको नमुना लिएर तालिमप्राप्त कुकुरलाई सुँघाएर अध्ययन गरिएको थियो । यसमा कुकुरले क्यान्सर भएका बिरामी पहिचान गर्ने दर करिब ८४ प्रतिशत रहेको अध्ययनकर्ताको दावी छ ।
कुकुरले कसरी पत्ता लगाउँछ क्यान्सर ?
सामान्य भाषामा भन्दा कुकुरले क्यान्सरको गन्ध पत्ता लगाएर रोगबारे जानकारी दिने गर्छ । यसमा कुकुरको सुँघ्ने क्षमताको विशेष भूमिका छ ।
क्यान्सर जस्ता रोग लाग्दा मान्छेको शरीरबाट विशेष गन्ध निस्कने गर्छ । क्यान्सर भएका कोषहरू वा क्यान्सरबाट प्रभावित स्वस्थ कोषहरूले यी गन्धहरू उत्पादन गर्छन् । चिकित्सा विज्ञानमा त्यस्तो गन्धलाई ‘भोलटाइल अर्गानिक कम्पाउन्ड’ (भीओसी) भनिने गरिएको छ ।
कुकुरहरूले मान्छेको छाला, सास, पिसाब, दिसा वा पसिना सुँघेर त्यस्तो गन्धहरू पत्ता लगाउने गर्छन् । र, मालिकलाई जानकारी दिने गर्छन् ।यसरी रोग पत्ता लगाउन भने तालिमप्राप्त कुकुरहरू हुनुपर्छ । उनीहरूलाई ‘मेडिकल डिटेक्सन डग’ पनि भन्ने गरिएको छ । यस्ता कुकुरहरूले धेरै कम मात्रामा भएका पदार्थ (छाला, श्वास, पिसाब/दिसा वा पसिना आदि)हरू पनि पत्ता लगाउन सक्छन् ।
क्यान्सर काउन्सिल नामक संस्थाले आफ्नो वेबसाइटमा उल्लेख गरेअनुसार कुकुरले धेरै प्रकारका क्यान्सरहरू पत्ता लगाउन सक्ने सामर्थ्य राख्छन् ।
मेलानोमा (छालाको क्यान्सर), कोलोरेक्टल क्यान्सर, फोक्सोको क्यान्सर, डिम्बाशयको क्यान्सर, प्रोस्टेट क्यान्सर, स्तन क्यान्सर आदि पत्ता लगाउने दावी गरिएको छ ।
केही घटनामा भने तालिमप्राप्त नगरेको कुकुरले पनि यस्तो क्षमता देखाएका छन् । मेडिकल न्युज टुडेका अनुसार ७५ वर्षीय वृद्धको कान पछाडिको घाउमा कुकुरले बारम्बार चाट्न थालेपछि उनी डाक्टरकहाँ गएका थिए । डाक्टरले परीक्षण गर्दा उनलाई घातक छाला क्यान्सर रहेको पुष्टि भयो ।
यो घटनामा संलग्न कुकुरलाई क्यान्सर पत्ता लगाउन तालिम दिइएको थिएन । तर क्यान्सर पत्ता लगाउने धेरैजसो अनुसन्धानहरूमा कुकुरलाई विशेष क्यान्सर पत्ता लगाउन सिकाइन्छ ।
के बाट कुन क्यान्सर पत्ता लाग्छ ?
प्राय: मानिसको सास र दिसाबाट कुकुरहरूले कोलोरेक्टल क्यान्सर पत्ता लगाउन सक्छन् । त्यस्तै मानिसको सासबाट फोक्सोको क्यान्सर पत्ता लगाउन सक्छन् । यसैगरी रगत वा पिसाबबाट डिम्बाशय क्यान्सर र प्रोस्टेट क्यान्सर थाहा पाउन सक्छन् ।
अर्को अध्ययनमा तिनै कुकुरहरूले पिसाबका नमूनाबाट पनि फोक्सो क्यान्सर छुट्याउन ७६ प्रतिशतसम्म सफल भएका थिए ।
सन् २०२१ मा गरिएको एक अनुसन्धानमा २०० व्यक्तिको पिसाब परीक्षण गरिएको थियो । जहाँ तालिम प्राप्त कुकुरले स्तन क्यान्सर भएका ४० जना शतप्रतिशत थाहा पाएका थिए ।
यद्यपि हाल भएका अनुसन्धानहरूको मात्रा अत्यन्त सानो छ । भविष्यमा ठूलो जनसंख्यामाथि अनुसन्धान गरेर यो कुरालाई थप वैज्ञानिक बनाउन सकिन्छ । किनकि कुकुरहरूबाट क्यान्सर पत्ता लगाउने तरिका सरल हुन्छ । त्यतिधेरै असर पनि देखिँदैन । तर, क्लिनिकल अभ्यासमा गर्न यो विधिमाथि थप अनुसन्धान आवश्यक छ ।
प्रतिक्रिया 4