+
+

घरको छानामा हुकापाती राखेर मनाइने मधेशको तिहार

डा. बालकृष्ण साह डा. बालकृष्ण साह
२०८१ कात्तिक १५ गते ७:३०

दशैको आफ्नै मौलिकता भए जस्तै मधेशमा तिहारको पनि आफ्नै मौलिकता छ । दशैं सकिने बित्तिकै मधेशका महिलाहरु घर–आँगन सिंगार्न थाल्छन् । थारु, राजवंशी र मधेशीहरुको आ–आफ्नै मौलिकता भएको चित्र र कलासहित घर रंगाउने, बुट्टा बनाउने र भित्तामा चित्रहरु कोर्ने हुन्छन् । तर बढ्दो सहरीकरण तथा ‘अकल्चराइजेसन’ले संस्कृति र संस्कारमा धनी रहेको मिथिला संस्कृति दिनदिनै खस्किंदै गएको छ भन्दा फरक न पर्ला ।

यसैको एउटा उदाहरण हुनसक्छ दीपावली अर्थात् तिहार । दियाबाती, त्योहार, दीपावली, हुकापाति, हुराहुरी, भरदुतिया आदि विभिन्न नामले चिनिने उज्यालोको पर्व तिहारको मधेशी समाजमा छुट्टै उल्लास अझै पनि छ । तिहार पहिलो दिन दियाबाती (दीपावली) तथा हुकापाति, दोस्रो दिन हुराहुरी र तेस्रो दिन भरदुतिया (भातृ द्वितीया) वा भाइदुज गरी तीन दिन मनाइन्छ ।

गर्मीबाट चियो मौसम भित्रिने बेलामा तिहारको रौनक सुरु हुन्छ । गर्मीका लुगाहरु थन्काउँदै चिसोका लुगाहरु निकाल्नु र सफा गर्नु, घर-आँगन सफाइ गरेर लिपपोत गरेर अन्न भित्र्याउने तयारी गर्ने अवसरका रुपमा पनि तिहारको तयारी हुने गर्छन् । तिहार लागेपछि घरका भित्ताहरु सजाउनु अनिवार्य जस्तै हुन्छ । पक्की घर हुनेले रङरोगन गर्छन् । कच्ची घर भएकाहरू माटोले बनाइएको घरको टाटी (भित्ता) माटोले लिपपोत गर्न जुट्छन् ।

माटोलाई जम्मा गरी रातभरि पानी हालेर गिलो बनाउँछन् । त्यसमा धानको भुस हालेर खुट्टाले कुल्चेर लेदो बनाएर टाटी तथा भुईंमा लगाइन्छ । र, माटो सुकेपछि चिप्लो, पहेंलो, रातो माटो घोलेर लिपेर कच्ची घर आकर्षक बनाइन्छ । त्यसमा परम्परागत रङले भित्तामा मिथिला चित्रहरु बनाइन्छ ।

कागतिहार र कुकुर तिहारको त्यति धेरै प्रचलन नभए पनि कार्तिक कृष्ण त्रयोदशी अर्थात् धनतेरसका दिनदेखि शाकाहारी विधिले पूजापाठ सुरु गरेर दीपावलीलाई स्वागत गरिन्छ ।

दियावाती तथा हुकापाती

लक्ष्मीपूजाका दिन बिहान गोवरले आँगन पोत्ने र साँझ हुनुअघि नै आँगनमा पहेंलो माटो घोलेर थरीथरीका रंगोली बनाउनु, काँचो माटोका दियोहरु बनाएर बाल्नु, मुलुकको अन्य भागमा जस्तै गाईलाई लक्ष्मी मानेर पूजा गर्नु,  अन्य बिजुलीबत्ती तथा मैनबत्ती बालेर घरहरू झकिझकाउ गर्ने गरिन्छ ।

दियाबातीकै रात परिवारका सदस्यहरुले हुकापाती (पश्चिमतिर ‘उकालोली’ भनिन्छ) खेलिन्छ । पछिल्लो चरणमा सहरतिर हुकापाती खेल्ने न त स्थान छ, न त हुकापाती बनाउन जानेका छन् । त्यसैले यो खेलिने क्रम घट्दो भएपनि मधेशका धेरै स्थानमा यो परम्परा अझै पनि जीवितै छ । यसमा सन्ठी (पाटबाट जुट निकालेपछि रहेको, चाँडै बल्ने) र खर मिसाएर हुकापाती (उक) बनाउँछन् । हरेक घरको छानामा हुकापाती राख्नु र बेलुका यसलाई बालेर खेल्ने चलन मधेशको तिहारको मुख्य विशेषता मानिन्छ । यसको बनावटले मधेशको सभ्यता झल्काउँछ । घरको मूल पुरुषले पूजाकोठामा बालिएको दियोबाट आफ्नो हुकापातीमा आगो सल्काउँदै लैजान्छन् र उनीसँगै घरका केटाकेटी, विशेषगरी अन्य पुरुषहरु आ-आफ्ना हुकापाती बाल्दै फराकिलो ठाउँमा टोलका अन्य घरका सदस्यहरुसँग संयुक्त रुपमा खेल्ने गर्छन् । र, खेलिसकेपछि सबै डढ्न लागेको हुकापातीहरु एकै ठाउँमा राखेर पाँचपटक नाघेर (तर्पण गरेर) निभाइन्छ । यसरी खेल्नाले घरबाट रोग-व्याधि, दुःखकष्ट भाग्ने, यो मौसममा आएका कीरा-फट्याङ्ग्रा डढ्ने र देवी लक्ष्मीको बास हुने जनविश्वास रहिआएको छ । घरको छानामा राखिएको हुकापाती चाहिं सामाचकेवा पर्वमा वा अन्न भित्र्याइने पर्व ‘नेमान’मा त्यसैलाई बालेर धानको लाबा बनाउँदा प्रयोग गरिन्छ ।

हुराहुरी

दोस्रो दिन अर्थात् गोवर्द्धन पूजा । बिहान घरका महिला गोठ सफा गरेर गोठमा नै गोवरबाट मूर्ति बनाएर गोवर्द्धन पूजा गर्न व्यस्त हुन्छन् भने पुरुषहरु गाई-गोरुलाई रङ्गाउने, सिङमा तेल तथा रङ लगाउने तथा दाम्लो-डोरीहरु, घाँटीमा गल्दामी (डोरीले बनाएको) समेत रङ्गाएर आकर्षक बनाउन व्यस्त  हुन्छन् । यस दिन गाईवस्तुलाई सिंगारेर मात्र छोड्दैनन्, मीठो र पौष्टिक खानेकुराहरु (बरबकाईन) पनि खुवाइन्छ ।

यस दिन गाईवस्तु तथा हलो जोत्ने हरुवाहरुको विशेष दिनका रुपमा मनाइन्छ । अझै पनि कतै-कतै दिउँसोतिर गाउँभरिको गोरु, भैंसीहरुको प्रदर्शनी तथा जुधाउने खेलहरु हुन्छन् । कतै-कतै बलियो भैंसी छानेर हुराहुरीमा जुधाउने चलन पनि छ । सुँगुरको कलिलो बच्चालाई बाँधेर ढोल बजाउँदै भैंसीबाट मार्न लगाउने खेललाई हुराहुरी भनिन्छ ।

भरदुतिया

तेस्रो दिन भरदुतिया उल्लासपूर्वक मनाइन्छ । यस पर्वलाई भाइदुज, भरदुतिया, भातृद्वितीया, भाइटीकाका नामले मनाइन्छ । रक्षाबन्धनमा दिदीबहिनी दाजुभाइको घर गएजस्तै यस दिन दाजुभाइ नै दिदीबहिनीको घरमा भार (मीठो पकवान सहितका सनेस तथा लुगा) लिएर पुग्ने गर्छन् । भरदुतियामा दिदीबहिनीले घर-आँगन लिपेर चोख्याउँछन् । आँगनमा पिर्का राखेर त्यसमाथि अरिपन (माटो घोलेर बनाइने मिथिला चित्र) बनाएर सिन्दूरको थोपा पनि लगाउँछन् । दिदीबहिनीले दाजुभाइलाई अरिपन दिइएको पिर्कामा बसाउँछन् । त्यसपछि दाजुभाइको अञ्जुलीमा पानको पात, सुपारी, ओखर, फलफूल राखेर यमुनाले भाइ यमराजलाई पूजा गरेजस्तै लामो आयुका लागि ‘न्यौत’ लिन्छन् । त्यसपछि दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी टीका र माला लगाइदिएर दीर्घायुको कामना गर्छन् । धेरै दिदिबहिनी भएका दाजुभाइहरुले सबै कहाँ पुग्नुपर्ने भएकाले त्यसैदिन पनि दिदीबहिनीहरुले आफ्ना दाजुभाइहरुलाई खुवाएर गच्छेअनुसार सुपाडी, फलफूल, लुगा आदि दिएर बिदाइ गर्ने हुनसक्छ ।

लक्ष्मीपूजा गर्नु अनि गोवर्द्धनपूजामा फरक तरिकाले गोरु पूजा गर्नु, भाइटीकामा दाजुभाइलाई स्वागत गर्नुसँगै हुकापाती खेल्नु, हुराहुरीको रमाइलो हेर्न पाउनुले मधेशमा तिहारलाई रमाइलो बनाएको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?