 
																			कार्तिक कृष्ण त्रयोदशी देखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिनलाई यमपञ्चक भनिन्छ । यो पर्व यम दिपदानले पनि महत्व राख्छ । यसै पाँच दिनसम्म यमराजलाई सम्झेर बत्ती बालिन्छ ।
यमपञ्चकका पाँच दिनहरूलाई क्रमशः काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा, गोवर्धन पूजा, र भाइटीका भनिन्छ । कहिलेकाहीँ यमपञ्चक तिथि घटेको कारणले ४ दिनमै सकिन्छ भने कहिलेकाहीँ तिथि बढेको कारणले यमपञ्चक ६ दिनको हुन जान्छ ।
जुन यसपालि कार्तिक १३ गते भोलि मङ्गलबारबाट धन त्रयोदशी सुरु भएर १८ गते आइतबार भाइटीकाको दिन यमपञ्चक सकिन्छ । हाम्रो दोस्रो महान चाड ‘तिहार’ यस शब्द हिन्दीको ‘त्योहार’ शब्दबाट विकृत हुँदै ‘तिहार’ भएको हो भन्न सकिन्छ ।
यो पर्वलाई दीपावली अनि दिवाली नामले पनि चिनिन्छ । किनभने यसमा दियो, बत्ती र दीपहरू बालिन्छन् । जसले प्रकाश र सकारात्मकताको प्रतीकात्मक गर्छ । तिहार र दिपावलीको प्रमुख उद्देश्य सबै प्रकारको अन्धकारबाट प्रकाशतर्फको यात्रा र दुखको अन्त्य गर्दै सुख सहित राम्रा कार्यको महत्त्वलाई उजागर गर्नु हो ।
यमपञ्चकको पाँच दिन
यमपञ्चकको पहिलो दिन कागको पूजा गरिन्छ, जसलाई सन्देश वाहक चराको प्रतीक मानिन्छ । धन त्रयोदशीको किनमेल अनि धनतेरस पूजा गरी लक्ष्मीलाई आमन्त्रित पनि यसैदिन गरिन्छ ।
तर यसपटक काग तिहार धन त्रयोदशीको भोलिपल्ट परेको छ । अर्को दिन कुकुरलाई श्रद्धा र सम्मान देखाएर पूजा गरिन्छ । किनभने कुकुर यमराजका सहायक र भैरवजीको वाहन मानिन्छ ।
पहिलो दिन बिहानै नर्के नुहाइन्छ । नजिकैको धारा, कवा, नदि, तलाउ वा खोला किनारमा गई पितृ उद्धारको लागि किसिम किसिमका टपरीमा यमराजलाई बत्ती बालेर नर्के बगाउने गरिन्छ । दोस्रो दिन कार्तिक कृष्ण औँसीका दिन धनकी देवी लक्ष्मीको पूजा गरिन्छ ।
सो दिन घर घरमा दियो बालेर लक्ष्मीलाई पूजा गरी प्रसन्न पार्ने प्रयत्न गरिन्छ । धन, सम्पत्ति, सुख, कृति र ऐश्वर्य अभिवृद्धिको मनोकामना सहित माता लक्ष्मीको विशेष रूपमा व्रत, जप, पाठ र पूजा गरि आफ्ना घर, कोठा, कारखाना, पसल, कार्यालय आदिमा दराज, सेफ, थैली, ढिकुटी, भण्डार आदिमा स्वस्तिक चिह्न अङ्कित गरेर वा शुभलाभ लेखेर कुवेरजीको पनि पूजा गरिन्छ, जुन हाम्रो धार्मिक परम्परा हो ।
यसै दिनबाट भैलो पनि खेल्ने गरिन्छ, जुन सांस्कृतिक परम्परा हो । यसपाली कुकुर तिहार, नरक चतुर्दशी र लक्ष्मीपूजा एकै दिन पर्न गएको छ ।
यमपञ्चकको चौथो दिन गोवर्धन पूजा, जसलाई ‘हलितिहार’ पनि भनिन्छ । यसैदिन गोवर्धन पर्वतको पूजा गरिन्छ । साथै गोरु पूजा गरि मनपर्ने परिकार खान दिइन्छ । यसपाली गाई पूजा, गोवर्धन पूजा र गोरु पूजा एकै दिन पर्न गएको छ ।
यसै दिनबाट देउसी खेल्ने गरिन्छ, जुन हाम्रो परम्परा हो ।
यमपञ्चकको अन्तिम दिन दाजुभाइ र दिदीबहिनीको सम्बन्धलाई बलियो बनाउने दिन हो, जसलाई भाइटीका भनिन्छ । यसैदिन दिदी बहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाएर दीर्घायु र समृद्धिको कामना गर्दछन् ।
पौराणिक कथामा यमपञ्चकलाई मृत्यु देवता यमराज र उनकी बहिनी यमुनासँग जोडिएको छ । हाम्रो यो महान पर्व धार्मिक, सांस्कृतिक र पारिवारिक रूपमा महत्वपूर्ण छ।किनकि यस चाडले परिवारसँगको सम्बन्ध, आफन्त र साथीहरूसँग प्रेम, सद्भाव र स्नेह बढाएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4