या देवी सर्वभूतेषु लक्ष्मीरुपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥
हिन्दु धर्ममा धनतेरसलाई विशेष गरी धन र समृद्धिको पर्वको रूपमा मान्ने गरिन्छ । “धन” भनेको सम्पत्ति भन्ने बुझिन्छ र “तेरस” भनेको त्रयोदशी तिथि हो, यी दुई शब्द मिलेर धनतेरस शब्द बनेको हो । जसलाई हामी कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिमा मनाउँछौं ।
यसै दिन बेलुकाबाट यमदीपदान सुरु हुन्छ । यस दिनलाई धन त्रयोदशी वा धनतेरस भनिन्छ । तिहारको पाँच दिन यमराजसँग बढी सम्बन्धित भएको हुनाले तिहारको पाँच दिनलाई यमपञ्चक भनिएको हो । परिवारमा जति पनि सदस्य छन्, तिनको नाम लिएर प्रत्येक दिन साँझमा दक्षिणतर्फ फर्केर यमदीपदान गर्ने परम्परा छ । यसो गर्नाले परिवारमा सुख, शान्ति र पारलौकिक सद्गति पनि प्राप्त हुने शास्त्रमा उल्लेख गरिएको छ ।
धनतेरसका दिन देवी लक्ष्मीजीको विशेष पूजा श्रद्धा र भक्तिपूर्वक आफ्नो गच्छेअनुसार गर्नुपर्छ । यस दिन घरमा सरसफाइ गरी लक्ष्मीपूजाको तयारी गरिन्छ, ताकि लक्ष्मी घरमा बास गरुन् र परिवारमा समृद्धि होस् । धनतेरसमा विशेषगरी चाँदी, सुन, भाँडा र अन्य मूल्यवान् वस्तुहरू साथै कौडी, कमल गट्टा, बेसारको पन्ना, कुचो, बिमिरो, धनियाँको दाना, पदचिह्न, तोरण, स्वस्तिक, श्रीयन्त्र, लावा, रातो कपडा, पान आदि किन्न शुभ मानिन्छ । जसलाई लक्ष्मीको प्रतीक मानिन्छ र यस दिनको किनमेलले समृद्धि बढ्ने विश्वास गरिन्छ ।
धनतेरसको बेलुका यमराजको लागि दीपदान गर्ने चलन छ, जसले मृत्युका देवता यमराजबाट आफ्नो परिवारलाई सुरक्षा मिलोस् भन्ने कामना गरिन्छ । विशेषगरी घरको मुख्य ढोका र आँगनमा दियो बालेर सजाइन्छ । यसै दिन भगवान धन्वन्तरीको जन्म भएको दिन पनि मानिन्छ, जो आयुर्वेदका देवता र स्वास्थ्यको संरक्षक हुन् । तसर्थ, यस दिन स्वास्थ्य र दीर्घायुको कामना गर्दै भगवान विष्णु स्वरुप धन्वन्तरीको पूजा पनि गरिन्छ । धनतेरस तिहारको उत्साहको सुरुवात हो, जहाँ मानिसहरूले नयाँ उमङ्ग र आशाका साथ लक्ष्मीको स्वागत गर्छन् र सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि प्रार्थना गर्ने गरिन्छ ।
पौराणिक कथा अनुसार समुद्र मन्थनबाट जब लक्ष्मीदेवी प्रकट भइन्, त्यो दिन कात्तिक कृष्ण त्रयोदशी आजकै दिन थियो । यसै दिनलाई लक्ष्मीको आगमनको प्रतीक मान्दै धनतेरसमा नयाँ वस्तु खरिद गरी घरमा लक्ष्मीलाई स्वागत गर्ने परम्परा चलेको हो र यसले घरमा धन, समृद्धि र शान्ति ल्याउँछ भन्ने विश्वास गरिन्छ । धनतेरसको हार्दिक शुभकामना ।
प्रतिक्रिया 4