+
+
Shares

संस्कृति, प्रकृति र आत्मगौरवको संगम बन्दै आठपहरिया होमस्टे

स्थानीय युवाहरू अहिले पर्यटन व्यवस्थापन, गाइडिङ र पाहुना सेवामा दक्ष बन्दै गएका छन् । यसले उनीहरूलाई गाउँमै रोजगारीको अवसर प्रदान गरेको छ भने वैदेशिक रोजगारीप्रति निर्भरता पनि घटाउँदै लगेको छ ।

ईश्वर थापा ईश्वर थापा
२०८३ जेठ २ गते ८:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनकुटाको स्याउलेमा आठपहरिया समुदायले सञ्चालन गरेको 'स्याउले सिप्तिङ सामुदायिक होमस्टे'ले पर्यटनमार्फत आफ्नो संस्कृति र पहिचान जोगाइरहेको छ।
  • होमस्टेले पर्यटकलाई स्थानीय परिकार, सांस्कृतिक कार्यक्रम र परम्परागत जीवनशैलीको प्रत्यक्ष अनुभव गराउँदै समुदायको आत्मगौरव बढाएको छ।
  • स्थानीय युवाहरू पर्यटन व्यवस्थापन र गाइडिङमा दक्ष हुँदै गाउँमै रोजगारी पाउँदै वैदेशिक रोजगारीमा निर्भरता घटाइरहेका छन्।

२ जेठ, धनकुटा । पूर्वी पहाडको शान्त वातावरण, हरियालीले ढाकिएका डाँडाकाँडा र मौलिक संस्कृतिको मिठासको संगम रहेको ठाउँ हो धनकुटाको स्याउले ।

धनकुटा नगरपालिका वडा नं. ३ मा पर्ने स्याउले पुगेपछि महसुस हुन्छ, पर्यटन भनेको घुमफिर मात्रै नभएर जीवनशैली, परम्परा र पहिचानसँगको गहिरो सम्बन्ध पनि हो ।

यस्तै सन्दर्भलाई उजागर गर्दै आठपहरिया समुदायले सञ्चालन गरेको ‘स्याउले सिप्तिङ सामुदायिक होमस्टे’ नयाँ पहिचान बन्दै उभिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको बढ्दो आकर्षणसँगै होमस्टे केवल बसोबासको स्थानमा सीमित नरही समुदायको आत्मगौरव, अतिथिसत्कार र प्राकृतिक सौन्दर्यको जीवन्त अनुभव दिने केन्द्रका रूपमा विकास हुँदै गएको हो ।

सीमान्तकृत आठपहरिया समुदायको धनकुटा नगरपालिका क्षेत्रमा मात्रै मुख्य बसोबास रहेको छ । धनकुटा नगरपालिकाको भुमि पुत्र भन्न रुचाउने आठपहरिया समुदायको चाडपर्व मान्न तथा पितृ कार्य गर्न धनकुटा नगरपालिकाको क्षेत्रमा भेला भएर सामूहिक रुपमा मनाउनु पर्ने चलन रहेको छ ।

कुनै बेला आठपहरिया समूदायमा अरुण र तमोर नदी कटेर जान हुन्न भन्ने मान्यता रहेको थियो अहिले भने विस्तारै रोजगारीको शिलशिलामा बाहिर जान थालेका छन् ।

यी र यस्तै कारणले एक समय ओझेलमा परेको यो समुदाय अहिले आफ्नै संस्कृति र परम्परालाई आधार बनाएर पर्यटनको माध्यमबाट पुनर्जागृत हुँदैछन् ।

पाहुनालाई स्वागत गर्ने शैलीदेखि खानपान, रहनसहन र मनोरञ्जनसम्म सबैमा मौलिकताको झल्को पाइन्छ । आगन्तुकहरूलाई रातो टीका र फूलको मालाले स्वागत गरिन्छ, जसले नेपाली आतिथ्य संस्कारको आत्मीयता झल्काउँछ । यस्तै होमस्टेले लोपोन्मुख आठपहरिया समुदायको सांस्कृतिक धरोहरलाई पर्यटनसँग प्रभावकारी रूपमा जोडेको छ ।

यहाँ आउने पर्यटकलाई मौलिक तथा स्थानीय परिकारको स्वाद चखाउने मात्र होइन, समुदायको जीवनशैली, परम्परा र संस्कृतिको प्रत्यक्ष अनुभव गराइन्छ । आठपहरिया समुदायले सञ्चालन गरेको होमस्टे केवल बस्ने ठाउँ मात्रै होइन, जीवित संग्रहालय जस्तै बन्दै गएको छ । जहाँ प्रत्येक गतिविधिमा संस्कृति बोल्छ वा संस्कृतिको झल्को आउने गरेको छ ।

होमस्टेमा आउने पर्यटकले स्थानीय परिकारको स्वाद लिन पाउँछन् । जसमा गाउँघरमै उत्पादन भएका अर्गानिक सामग्रीको प्रयोग गरिन्छ । परम्परागत भान्साको बास्नाले आगन्तुक वा पाहुनालाई गाउँले जीवनसँग नजिक बनाउने गरेको छ ।

त्यति मात्र होइन, यहाँको अनुभव प्रकृतिसँग पनि गासिएको छ । सिजनअनुसार सुन्तला बगैंचामा गएर फल टिप्ने, मौरीपालनबारे जानकारी लिने, स्थानीय बीउबिजनबारे बुझ्ने अवसरले पर्यटकलाई नयाँ अनुभूति दिन्छ ।

साँझपख हुने सांस्कृतिक कार्यक्रमहरु ढोल नाच, लोकगीत र परम्परागत नृत्यले वातावरणलाई अझ जीवन्त बनाउँछ । होमस्टेका अध्यक्ष हिराबहादुर आठपहरियाका अनुसार यहाँ एकैपटक करिब १७ जना पाहुनालाई सेवा दिन सकिन्छ । तर, उनीहरूको प्राथमिकता संख्या बढाउनु होइन, गुणस्तरीय अनुभव दिनु हो । ‘हामी पर्यटकलाई केवल सेवा मात्र होइन, हाम्रो पहिचान पनि दिन चाहन्छौं’, उनी भन्छन् ।

पर्यटकलाई आठपहरिया समुदायको इतिहास, संस्कार र जीवनशैलीबारे जानकारी दिइनुका साथै कृषि, संस्कृति र प्रकृतिसँग नजिकबाट परिचित गराइन्छ । अध्यक्ष आठपहरियाका अनुसार आधुनिकताको प्रभावले नयाँ पुस्तामा परम्परागत संस्कृतिप्रति आकर्षण घट्दै गए पनि होमस्टे सञ्चालनमार्फत ती कला–संस्कृतिको संरक्षणमा समुदाय सक्रिय रूपमा लागिरहेको छ ।

आधुनिकताको तीव्र प्रभावले धेरै परम्परागत कला र संस्कृतिहरू लोप हुँदै गएको अवस्थामा आठपहरिया समुदाय भने त्यसलाई जोगाउने अभियानमा जुटेका छन् । नयाँ पुस्तालाई आफ्नै परम्परा चिनाउने र त्यसप्रति गर्व गर्ने वातावरण सिर्जना गर्न होमस्टे महत्वपूर्ण माध्यम बनेको छ ।

२०७८ सालको जनगणनाअनुसार आठपहरिया समुदायको जनसंख्या ५ हजार ८ सय ७८ रहेको छ । धनकुटा नगरपालिकालाई आठपहरिया समुदायको उद्गमस्थल मानिन्छ । होमस्टेमार्फत उनीहरूले आफ्नो भाषा, गीत, नृत्य र संस्कारलाई जीवित राख्दै आएका छन् । आठपहरियाको होमस्टे निर्माणमा विभिन्न संघसंस्थाको साथ पनि उल्लेखनीय रहेको छ ।

होमस्टे स्थापनामा गर्न इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभ्लप्मेन्ट (इसिमोड) र कम्युनिटी होमस्टे नेटवर्क (सीएचएन) ले स्थापना र व्यवस्थापनमा सहयोग पुर्‍याएका छन् । त्यसैगरी नेपाल पर्यटन बोर्ड र युनाइटेड नेशसन डेभ्लप्मेन्ट प्रोग्रामको सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजनाले क्षमता अभिवृद्धि र प्रवर्द्धनमा टेवा दिएको छ ।

स्थानीय युवाहरू अहिले पर्यटन व्यवस्थापन, गाइडिङ र पाहुना सेवामा दक्ष बन्दै गएका छन् । यसले उनीहरूलाई गाउँमै रोजगारीको अवसर प्रदान गरेको छ भने वैदेशिक रोजगारीप्रति निर्भरता पनि घटाउँदै लगेको छ ।

     

लेखक
ईश्वर थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?