+
+
Shares

चो?लुङ पार्क : इतिहास, संस्कृति र पर्यटनको संगम (तस्वीरहरू)

पुराना पुस्ताले प्रयोग गर्ने घरेलु सामग्री, कृषि औजार, बाजागाजा, भाँडाकुँडा तथा परम्परागत वेषभूषा क्रमश: संग्रह गरिंदैछ । यसले भावी पुस्तालाई आफ्नो इतिहास र पहिचानसँग जोड्ने विश्वास गरिएको छ ।

प्रकाश पाक्साँवा प्रकाश पाक्साँवा
२०८३ जेठ २ गते ८:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेह्रथुमको लालीगुराँस नगरपालिकाले लिम्बु सभ्यताको मौलिकता जोगाउन 'चो?लुङ पार्क' निर्माण गरेको छ।
  • पार्कले लिम्बु समुदायको इतिहास, जीवनशैली र संस्कृतिलाई जीवित संग्रहालयको रूपमा प्रस्तुत गरेको छ।
  • पर्यटकको बढ्दो चहलपहलले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ र रोजगारी सिर्जना भएको छ।

२ जेठ, तेह्रथुम । प्रकृतिलाई पुज्ने, ढुंगालाई इतिहासको प्रतीक मान्ने लिम्बु सभ्यता । यही सभ्यताको मौलिकता, संस्कृति र इतिहासलाई नयाँ पुस्तासम्म जोगाइराख्ने उद्देश्यसहित तेह्रथुमको लालीगुराँस नगरपालिका ले निर्माण गरेको ‘चो?लुङ पार्क’ अहिले पूर्वी नेपालको चर्चित सांस्कृतिक पर्यटकीय गन्तव्य बनेको छ ।

ढुंगैढुंगाले बनाइएको यो पार्क अहिले केवल घुम्ने स्थल मात्र बनेको छैन, लिम्बु समुदायको इतिहास, जीवनशैली र सभ्यताको जीवित संग्रहालयका रूपमा स्थापित हुँदै गएको छ । सामाजिक सञ्जालमा पार्कका तस्वीर र भिडियो भाइरल बन्न थालेपछि यहाँ दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेका छन् । पार्कमा आउने पर्यटकको संख्या बढेसँगै यो अहिले नगरपालिकाको महत्वपूर्ण आम्दानीको स्रोतसमेत बनेको छ ।

लिम्बु समुदायलाई प्रकृति पुजक समुदायका रूपमा चिनिन्छ । जंगल, नदी, माटो र ढुंगासँग उनीहरूको जीवन गहिरोसँग जोडिएको हुन्छ । विशेष गरी ‘लुङ’ अर्थात् ढुंगा लिम्बु सभ्यताको महत्वपूर्ण प्रतीक मानिन्छ । जन्मदेखि मृत्युसम्मका संस्कारमा ढुंगा गाड्ने परम्परा लिम्बु समुदायमा प्राचीनकालदेखि चल्दै आएको छ । नवजात शिशुको जन्म, विवाह, कुलपूजा, न्याय–निसाफ तथा मृत्यु संस्कारसम्म ढुंगाको प्रयोग गरिन्छ । यही मौलिक सभ्यतालाई संरक्षण गर्दै नयाँ पुस्तालाई परिचित गराउने उद्देश्यले चो?लुङ पार्क निर्माण गरिएको हो ।

चो?लुङ लिम्बुभाषाको शब्द हो । लिम्बु भाषामा ‘चो’ को अर्थ लक्ष्य र ‘लुङ’ को अर्थ ढुंगा भन्ने बुझिन्छ । अर्थात् ‘चो?लुङ’ भनेको लक्ष्य प्राप्तिको प्रतीकात्मक ढुंगा हो । पार्कभित्र प्रवेश गर्नेबित्तिकै विभिन्न आकारका अग्ला–अग्ला ढुंगाका स्तम्भहरूले आगन्तुकलाई स्वागत गर्छन् । ती ढुंगाहरू केवल सजावटका सामग्री होइनन, लिम्बु सभ्यताको मौन इतिहास हुन् ।

पार्कका विभिन्न भागमा गाडिएका ढुंगाका स्तम्भहरूले प्राचीन लिम्बु समाजको सामाजिक संरचना, न्याय प्रणाली र सांस्कृतिक अभ्यासको झल्को दिन्छन् । कुनै समय गाउँमा विवाद समाधान गर्दा, सामाजिक निर्णय सुनाउँदा वा सम्झौता गर्दा ढुंगा गाड्ने परम्परा रहेको स्थानीय बुढापाकाहरू बताउँछन् ।

अर्जुन माबोहाङ का अनुसार लिम्बु समुदायको ऐतिहासिक पहिचान हराउँदै जान थालेपछि पार्क निर्माणको अवधारणा अघि सारिएको हो । उनले भने, ‘हिजोको जीवन पद्धति, न्याय–निसाफ र सामाजिक संरचनालाई ढुंगामार्फत अभिव्यक्त गर्ने परम्परा हराउँदै गएको थियो । त्यसलाई संरक्षण गर्दै पर्यटनसँग जोड्ने उद्देश्यले पार्क निर्माण गरिएको हो । अहिले यो पार्क नगरपालिकाको आम्दानीको राम्रो स्रोत बनेको छ ।’

नगरपालिकाका अनुसार पार्क अवलोकनका लागि आउने पर्यटकबाट संकलन हुने टिकट शुल्कबाट सरकारलाई आम्दानी हुन थालेको छ । यसले पार्कलाई केवल सांस्कृतिक केन्द्र मात्र नभई स्थानीय अर्थतन्त्रसँग जोडिएको परियोजनाका रूपमा स्थापित गरेको छ ।

पछिल्लो समय तेह्रथुम, धनकुटा, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरीलगायतका जिल्लाबाट मात्र नभई भारतको सिक्किम र दार्जिलिङ क्षेत्रबाट समेत पर्यटक आउन थालेका छन् । मिक्लाजुङ गाउँपालिका बाट पार्क घुम्न आएका उपाध्यक्ष सन्तोष सेर्मा लिम्बु ले सामाजिक सञ्जालमा मात्र देखेको पार्क प्रत्यक्ष हेर्दा फरक अनुभूति भएको बताए ।

उनले भने, ‘यहाँ आएपछि यो केवल पार्क नभई एउटा जीवित इतिहास रहेछ भन्ने महसुस भयो । लिम्बु सभ्यता बुझ्न चाहनेका लागि यो उत्कृष्ट स्थल बनेको छ ।’

त्यस्तै भारतको सिक्किमबाट आएकी पर्यटक सन्ध्या सुब्बाले पार्कले लिम्बु समुदायको मौलिक पहिचानलाई जीवन्त बनाएको बताइन् । ‘परम्परागत भेषभूषा, सांस्कृतिक सामग्री, ढुंगाका संरचना र ऐतिहासिक प्रतीकहरू एकै ठाउँमा देख्दा आफ्नै संस्कृतिसँग जोडिएको अनुभूति भयो’, उनले सुनाइन् ।

पार्कलाई अझ व्यवस्थित र आकर्षक बनाउन अहिले विभिन्न भौतिक संरचनाहरू निर्माण भइरहेका छन् । पार्कभित्र मौलिक शैलीका ऐतिहासिक घर, युमा संग्रहालय, युमा पोखरी, देवारी घर तथा श्रीजंगा पुस्तकालय निर्माण भएका छन । यी संरचनाहरूले लिम्बु समुदायको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पक्षलाई अझ स्पष्ट रूपमा उजागर गर्ने अपेक्षा गरिएको छ ।

विशेष गरी युमा संग्रहालयलाई पार्कको प्रमुख आकर्षणका रूपमा हेरिएको छ । लिम्बु समुदायकी इष्टदेवीका रूपमा पूजिने युमासँग सम्बन्धित सामग्री, धार्मिक अभ्यास तथा पुराना सांस्कृतिक अवशेषहरू संग्रहालयमा राख्ने तयारी भइरहेको छ । पार्कको अर्को विशेषता भनेको लिम्बु समुदायको आदिमकालीन जीवनशैलीलाई दृश्यात्मक रूपमा पुनर्जीवित गर्नु हो ।

किंवदन्तीअनुसार लिम्बु जातिकी इष्टदेवी युमाले प्रयोग गरेको तान बुन्ने स्थान र धागो अड्याउने खम्बाको प्रतिरूप यहाँ निर्माण गरिएको छ । यसले परम्परागत सीप, हस्तकला र महिलाहरूको भूमिकालाई समेत उजागर गर्छ ।

पुराना पुस्ताले प्रयोग गर्ने घरेलु सामग्री, कृषि औजार, बाजागाजा, भाँडाकुँडा तथा परम्परागत वेषभूषा क्रमश: संग्रह गरिँदैछ । यसले भावी पुस्तालाई आफ्नो इतिहास र पहिचानसँग जोड्ने विश्वास गरिएको छ । यहाँ पर्यटकको चहलपहल बढेसँगै स्थानीय होटल, होमस्टे, यातायात तथा साना व्यापार व्यवसायसमेत चलायमान बन्न थालेका छन् । स्थानीय परिकार तथा सांस्कृतिक कार्यक्रममार्फत आम्दानी गर्न थालेका छन् । यसले गाउँमै रोजगारी सिर्जना गरेको छ ।

आधुनिक जीवनशैलीसँगै मौलिक संस्कृति ओझेलमा पर्दै गएको चिन्ताबीच चो?लुङ पार्क अहिले नयाँ पुस्तालाई आफ्नो इतिहास र पहिचानसँग जोड्ने माध्यम बनेको छ । विद्यालय तथा कलेजका विद्यार्थीहरू अध्ययन भ्रमणका लागि यहाँ पुग्न थालेका छन् भने अनुसन्धानकर्ता र संस्कृतिविद्हरूका लागि पनि पार्क अध्ययन केन्द्र बन्दै गएको छ ।

ढुंगाले बोलेको इतिहास, प्रकृतिसँग गाँसिएको सभ्यता र मौलिक पहिचानलाई एकै ठाउँमा अनुभव गर्न सकिने भएकाले चो?लुङपार्क अहिले लिम्बु सभ्यताको गर्विलो प्रतीक बनेको छ । पूर्वी पहाडको काखमा निर्माण गरिएको यो पार्कले केवल सांस्कृतिक पर्यटन प्रवर्द्धन मात्र होइन, हराउँदै गएको सभ्यतालाई पुनर्जीवित गर्दै स्थानीय सरकारको आम्दानीको आधारसमेत निर्माण गरिरहेको छ ।

लेखक
प्रकाश पाक्साँवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?