काठमाडौं । सेफ सन्तोष र नारायण श्रेष्ठले नेपाली र विदेशी पाहुनालाई पाककलाको जादूले लोभ्याए । मिथिला थाली गैह्रीधारामा आयोजित ‘भिक्ट्री प्लेट’ नाम दिइएको कार्यक्रममा नेपालका यी दुई उत्कृष्ट पाककलाले नेपालको रैथाने स्वादसहित खाना र डिजर्ट पस्किए ।
उनीहरुले रैथाने खानामा इस्कुस, आलु र याक चिजले भरिएको समोसा, जुम्ली स्याउको चटनीसँग पोलेको तरुल, ओएलको अचारसँग सौंफ मिश्रित रोटी, सुन्तलाको कुराउनी, खुर्सानी, टिमुर, गुँदपाक र उकृष्ट बेकरी रेसिपी पस्किएका थिए । जसको पाहुनाहरुले खुलेरै प्रशंसा गरे ।
बेलायती राजदूतकी श्रीमती जुलिया फेनले नेपाली परिकारको मौलिक स्वाद र प्रस्तुतिले आफूलाई लोभ्याएको बताउँदै सांस्कृतिक सम्पदाको उत्कृष्ट प्रतिनिधित्व गरेकोमा दुवै सेफको प्रशंसा गरिन् ।
कार्यक्रममा पुगेका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यस्ता रैथाने खानेकुरा खान पाउँदा नोस्टाल्जिक भएको बताए । इन्फ्लुएन्सर मानसी अग्रवालले भनिन्, ‘इस्कुस पनि यति मीठो हुँदो रहेछ भनेर पहिलोचोटि थाहा भयो ।’
व्यवसायी राजेन्द्र खेतानले त्यहाँ मेन्युमा राखिएको खानेकुराले पेट भरिए पनि मन नभरिएको बताए । कार्यक्रममा नेपालको पहिलो फुड रियालिटी शो ‘सेफ नेपाल’का अन्तिम तीन प्रतियोगीसहित गेट कलेजमा हस्पिटालिटी अध्ययनरत विद्यार्थीसँगै भान्से लक्ष्मणले समेत सघाएका थिए ।
कार्यक्रमका डा. भगवान कोइराला, पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ, अस्मी श्रेष्ठका साथै राजनीतिज्ञ, कलाकार, व्यवसायी, पर्यटन क्षेत्रका विशिष्ट पाहुना, एनआरएनएका प्रतिनिधि, डेनमार्क, बेलायत, जर्मनी, अमेरिका लगायत अन्य कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति थियो ।
प्रतिक्रिया 4