‘आमा यता’ दुई जना अधबैंसे युवक बूढीआमालाई माया गरेर डोर्याउँदै मेरो पछाडि उभिन आइपुगे । आमाका वरिपरि अरू चार–पाँच जना अधबैंसेहरू पनि थुप्रिए ।
छोराहरूले बूढीआमालाई माया गरेर डोर्याएको देखेर मलाई रमाइलो लाग्यो । आफ्नी स्वर्गीय आमाको सम्झना आयो । बूढीआमालाई हेरिरहें ।
बूढीआमाले हरियो साडी, पहेंलो चोलो लगाएर कम्मरमा सेतो पटुका कसेर पटुकामा फुर्के थैली झुण्ड्याएकी थिइन् । टाउकोमा पहेंलो मजेत्रो ओढेकी थिइन् । भित्र पसेका सेता आँखाभित्र चनाखा नानी टलपल नाँचिरहेका थिए । चाउरी परेका गाला, मिलाएको सेतो कपाल । दाँत झरेर खुम्चिएको गाला, छिप्पिएको छालाको मुजा परेको निधार, घामले डढेको हातगोडाका झोलिएको छाला । थोरै कुप्री । लट्ठी नटेकी हिंड्ने । हिंड्दा अलि अलि धर्मराउने । तर स्वस्थ र फूर्तिलो हाउभाउ थियो, उनको ।
जेठ महिना, चितवनमा बिहानैदेखि गर्मीको उखरमाउलो राप थियो । म अलिकति जग्गा बेच्नु परेकाले किशोरलाई साथी लिएर मालपोत कार्यालय पुगेको थिएँ । आइतवार भएर होला मालपोत कार्यालयमा सेवाग्राहीहरूको बेस्सरी भीड थियो । लेखनदासहरूको वरिपरि मान्छेहरू झुम्मिएका थिए । भीडभाडले कार्यालयमा काम गर्ने वातावरण नै थिएन । जता गयो उतै लाम । सरकारी अफिसहरू पूर्णरूपमा अटोमेसन हुन सकेका थिएनन् । देशव्यापी रूपमा कृषिभूमि टुक्रिएका समाचारहरू यत्रतत्र आइरहेका थिए । जग्गा टुक्र्याउने र बेच्ने प्रवृत्ति चितवनमा पनि चर्कै थियो । घरजग्गा किनबेच गर्ने कार्य पनि एउटा पेशा बन्दै गएको थियो ।
‘गर्मी भयो, आमा ? पानी पिउने ? दही खाने ?’ सबै छोराछोरीले एकसाथ बूढीआमालाई सोध्दै थिए ।
कति धेरै माया गरेका ? मेरो मन रमाइरह्यो ।
‘घाम छ । चिसो पानी पिउन मन लाग्यो’ बूढीआमाले भनिन् र थ्याच्च भुईंमा बसिन् ।
दौडेर गई एउटाले उत्तिनैखेर पानीको बोतल र गिलास ल्यायो । बोतल खोल्यो । गिलासमा पानी खन्यायो र दुईहात जोडेर आमालाई दियो ।
बूढीआमाले कलकल पानी पिइन् र मतिर हेरिन् ।
०००
‘आमा, कति वर्ष हुनुभयो, सर ?’ मैले एउटा अधबैंसेसँग सोधें ।
‘त्रियासी वर्ष लाग्नुभयो । उमेरले पाको भएर मात्रै हो । नत्र आमा हामीभन्दा दह्री हुनुहुन्छ । बारीबाट आफैं तरकारी टिपेर ल्याउनुहुन्छ । पकाउनुहुन्छ’ अधबैंसेले मुस्कुराउँदै भने ।
‘हजुरहरू छोराछोरी ?’ मैले जिज्ञासा राखें ।
‘हो, म जेठोे, ऊ माइलो, ऊ कान्छो छोरा । उनी छोरी हुन् । नर्स छिन् । उचाहिं आमाको जेठो नाति बाह्र पढ्दैछ’ एक जनाले सबैलाई चिनाए ।
‘किन डोर्याउनुभएको त आमालाई, दह्रै हुनुहुन्छ जस्तो छ ?’ मलाई जान्ने जिज्ञासा आयो ।
नयाँ ठाउँमा हिंड्दा झुक्किनुहुन्छ, धर्मराउनुहुन्छ । लड्नुहुन्छ कि भनेर भर दिएको’ अर्को अधबैंसेले आमाको पाखुरा समात्दै छोटो जवाफ दिए ।
‘त्रियासी वर्षमा पनि आमा बलियो नै हुनुहुँदोरहेछ’, मैले बूढीआमाको प्रशंसा गरें ।
बूढीआमा प्रशंसाले मुसुक्क मुस्कुराइन् ।
‘मालपोत कार्यालयमा कति कामले आउनुभएको थियो त, आमालाई लिएर ?’ मैले उत्सुकता राख्न छोडेको थिइनँ ।
‘आमाको नाममा अलिकति जग्गा छ । घरव्यवहार मिलाउन बेच्नु परेकाले लिएर आएको’ अधबैंसेले स्पष्ट गरे ।
‘ए ! आमा त जग्गाधनी हुनुहुँदोरहेछ हगि ! माया गरेर जतनले, राख्नुपर्ने’ मैले जिस्क्याउँदै भनें ।
अधबैंसे मुस्कुराए ।
‘यै धन भएर त मलाई स्यारेका छन् नि बाबु, यिनारुले । यिनारुका बाले मर्ने बेलामा तैंले दुःख पाउँछेस् कि मेरो सेखपछि भनेर जग्गा जोडिदिनुभएको थियो अलिकति’ बूढीआमा टाउको उठाएर मलाई हेर्दै फिस्स हाँसिन् र बोलिन् ।
बूढीआमाका कान टाठा रहेछन् ।
‘आमा ! सबै जग्गा बेच्न लाग्नुभएको त ?’ मैले सुस्तरी थोरै जिज्ञासा प्रकट गरें ।
‘छोराहरूले काम गर्न पर्यो, जग्गा बेचम् आमा भनेर धुरुक्कै पारेपछि क्यारम त बाबु ? राखेर पनि क्यारम खै ? तिम्रो चौरासी पनि गरम्ला नि आमा, भन्छन्’, बूढीआमाको ओठमा मुस्कान दौडियो । चौरासी पूजा गर्ने धोको पोखियो ।
हाँस्दा मान्छे राम्रो देखिन्छ । हाँसोले बूढीआमाको सुन्दरता उद्घाटन गर्यो ।
‘चौरासी पूजा बुढ्यौलीको चाड हो । कहिले गर्ने त आमा चौरासी पूजा ?’ मलाई जिज्ञासा लागेर सोधें ।
‘पण्डितले १००८ चन्द्र दर्शन भैसक्यो आमा, अब जहिले गरे पनि हुन्छ, भन्नुभएको छ । जग्गा बेचेपछि चौरासी पूजा गरिदेओ भन्छु बाबु’, बूढीआमाले खुसी हुँदै सुनाइन् ।
‘चौरासी पूजामा निम्ता पठाउनुहोला, म आउँछु आशीर्वाद थाप्न’, मैले हाँस्दै भनें ।
‘किन नडाक्नु ? यति रमाइलो मान्छेलाई’, बूढीआमा पनि हाँसिन् ।
‘सबै जग्गा बेच्ने हो र आमा ? अलिकति राख्दा राम्रो हुन्थ्यो नि ! सम्पति नभएका बाबुआमालाई छोराछोरीले एक्लै पार्छन् । हेलाँ गर्छन् भन्छन्’, मैले सबैलाई छलेर सुटुक्क बूढीआमाको कानमा सल्लाह दिएँ ।
‘सबै बेच्छन् कि, अलिकति बेच्छन् उनै जानुन्, बाबु । पाल्ने उनै हुन् । छोराछोरीले चौरासी पूजा गर्र्दिए भने भयो बाबु मलाई’, कार्यालय परिसरको पीपलको रूखलाई ढोग्दै बूढीआमाले लामो सास तानिन् ।
बूढीआमाका छोराछोरी हुरुर्र आमालाई घेर्न आइपुगे । मलाई उनीहरूले घुरे जस्तो पनि लाग्यो । त्यसपछि म चुप लागें ।
‘सनाखत गर्दा हाकिमले पैसा पाउनुभयो आमा, भनेर सोध्छन्, पाएँ भन्नुस् है आमा’, छोरीले सिकाउँदै थिइन्, बच्चालाई बाह्रखरी सिकाए झंै ।
म नसुने झैं पनि सुनिरहेको थिएँ ।
‘ल, ल’ झिनो स्वरमा मन नपरे झैं बूढीआमाले जवाफ दिइन् ।
म लामको काम सिध्याएर हिंडें ।
केहीबेरपछि बूढीआमासँग सनाखत गर्ने ठाउँमा भेट भयो ।
‘जग्गा बेचेर पैसा पाउनुभयो, आमा ?’ झ्यालमा हेर्दै कर्मचारीले भित्रबाट सोधे ।
‘पाएँ भन्नुस् आमा, पाएँ भन्नुस्’, भन्दै चार–पाँच जनाले एकैचोटि खुसखुस सिकाइरहे ।
‘भन्छु क्या भन्छु, नकराओ तिमीहरू’ बूढीआमाले फूर्तिसाथ सिकाएको जबाफ दोहोर्याइन्, ‘पाएँ बाबु, पैसा पाएँ !’
लेखनदासले पालैपालो बूढीआमाको दाहिने र देब्रे हातको बूढीऔंला समातेर कालोमा डोब्दै तमसुकमा छाप लगाइदिए । अधिकृत कर्मचारीले सनाखत सिध्याउँदै तमसुकमा रातो मसीले सही गरिदिए ।
‘ल काम भयो’ भन्दै छोराहरूले आमालाई तान्दै भीडबाट निकाले ।
‘आउनुस् है आमा’ लेखनदास र जग्गा किन्ने मानिससँग छोराछोरी एउटा कुनातिर लागे ।
बूढीआमा एक्लै बिलखबन्दमा परे झैं उभिइरहिन् ।
‘आमा आउनुस्’ मैले एक्लै परेकी बूढीआमालाई डोर्याउँदै पीपलको रूखको चौतारीमा बसाइदिएँ ।
‘आमा, म एकैछिन जिल्ला प्रशासन कार्यालय पुगेर आउँछु, बस्नुस् है’ जेठो छोरो जिल्ला प्रशासन कार्यालयतिर लागे ।
‘भैंसी दुहुन ढिलो हुन्छ, छिटो आएस्’, बूढीआमाले जेठालाई सम्झाउँदै भनिन् ।
‘हुन्छ, हुन्छ’, जेठो छोरा निस्किए ।
‘म हस्पिटल गए, आमा । हतार छ । राम्ररी घर जानु है’, छोरी भरतपुर हस्पिटलतिर लागिन् ।
‘जा, जा’, बूढीआमाले छोरीलाई पनि अनुमति दिइन् ।
‘आमा, महानगरपालिकामा मेरो अलिकति काम छ, म जान्छु । बाबु, तँ हजुरआमासँग बस् है’, बूढीआमाको नातिलाई अथ्र्याउँदै माइलो छोरा पनि निस्किए ।
‘जा, जा म बसम्ला यै नातिसँग’, बूढीआमाले नातिलाई आफूतिर तान्दै भनिन् ।
‘हजुरआमा अब घर जाने’ नाति आएर हजुरआमाको छेउमा बस्यो ।
‘जाम हिंड् । त्यै कालाभन्जार त हो । पहिले पहिले हामी हिंडेरै नारायणगढ आउने–जाने गर्दथ्यौं । अहिले त पिच बाटो छ । बस छ, टेम्पो छ । चौबिसकोठीबाट चढेपछि भैगो । जाम बाबु । अरू आफ्नो आफ्नो सुरले आउँदै गर्छन्’, बूढीआमा उठिन् ।
‘हिंड्न गाह्रो हुन्छ नि हजुरआमा’, नातिले माया गर्यो ।
‘सक्छु, तँ भएसी’, बूढीआमाले आत्मविश्वास प्रकट गरिन् ।
‘आइज रोशन, एकैछिनलाई नारायणगढ जाम’ बूढीआमाको कान्छो छोराले हजुरआमासँगै बसिरहेको नातिलाई डाक्यो ।
‘नाइँ, म हजुरआमासँगै घर जान्छु’, नातिले जवाफ दियो ।
‘तेरो बा आएर हजुरआमालाई लैजानुहुन्छ’, बूढीआमाको कान्छो छोराले रोशनसँग जोड गर्यो ।
‘हजुरआमा एक्लै हुनुहुन्छ । जान्नँ, काका म’, नाति हजुरआमालाई छोडेर जान मानेनँ ।
‘आइज के, म एक्लै भएँ । तेरो बा आइपुग्नुहुन्छ, एकैछिनमा’, कान्छो काकाले जोड गरेपछि नाति पनि फुत्त मोटरसाइकल पछाडि बस्यो ।
बूढीआमालाई एक्लै छोडेर छोराछोरीहरू पालैपालो मोटरसाइकल घ्यार्रघ्यार्र पार्दै बाहिर निस्किंदै गएको मैले हेरिरहें । बूढीआमाले कसलाई पो रोक्न सक्थिन् र !
लेखनदासले हाम्रो काम अबेर गरी सकिएको जानकारी दिए । केहीबेरपछि चौतारीमा नदेखेपछि बूढीआमा उठेर कता गइछन् भन्दै मैले आँखा घुमाएँ । मालपोत कार्यालयको गेटबाट एक्लै धर्मराउँदै बूढीआमा बाहिर जाँदै थिइन् ।
कहिलेकाहीं कसैको बारेमा धेरै चासो किन आइरहन्छ ? म भन्न सक्दिनँ । आफ्नी आमा जस्तो लागेर होला, मलाई बूढीआमाको बारेमा चासो परिरहेको थियो । आँखाहरू बूढीआमालाई खोजिरहेका हुन्थे ।
काम सकिएपछि म र किशोर मालपोत कार्यालयबाट बाहिर निस्किएर चियासिया खान एउटा खाजा पसलतिर लाग्यौं । आँखाहरू बूढीआमाको पछि लागिरहेका थिए । मूल बाटोको किनार किनार ‘एक्ली आमा’ धर्खराउँदै हिंडिरहेको देखें ।
दायाँबायाँ हेरें । उनलाई अघिसम्म डोर्याउने, माया गर्ने, स्याहार गर्ने छोराछोरी नातिहरू कोही थिएनन् । मेरो मनमा माया र स्वार्थको पीङ मच्चिन थाल्यो । म त कता हराएँ, कता !
‘बूढीआमालाई एक्लै छोडेर कता हिंड्ेछन् त सबै छोराछोरी ?’ किशोरले एउटा कुर्सी तानेर मलाई दिंदै प्रश्न गर्यो ।
‘हो त, एक्ली आमा एक्लै मूल बाटोमा । आफ्नै आमालाई एक्लै छोडे जस्तो लाग्यो मलाई’, मैले किशोरसँग नरमाइलो पोखें ।
‘छोराछोरीको जातै स्वार्थी’, किशोरले कुर्सीमा बस्दै भन्यो ।
‘एक–दुई जना त बूढीआमाको साथमा हुनुपर्ने नि ! हेर त, बूढीआमा एक्लै घर जान हिंडे जस्तो छ’, मैले सोचें ।
आपटारी वाइपास रोड, बाटोमा गाडीहरू एकनाश ओहोरदोहोर गरिरहेका थिए । बूढी एक्ली आमा दायाँबायाँ गर्दै हिंडिरहेको देख्दा मलाई डर लाग्यो । मेरा आँखाहरू केहीबेर अगाडि स्याहार गर्नेहरू भेटिन्छन् कि भनेर खोज्दै थिए । मन ‘आमालाई छेउ लगाउन जा’ भन्दैथियो ।
पसलेले दुई कप चिया टेबुलमा राखेर गयो । मन चियातिर लहसियो । किशोर र म चिया पिउँदै गफ गर्न थाल्यौं ।
ठूलो आवाज गर्दै ट्रिपर बेतोडसँग दौडेर आयो । चुईईय…. ब्रेक लगायो । हामी जुरुक्क उठ्यौं । ट्रिपरले पछाडिबाट बूढीआमालाई ठक्कर दियो । हेर्दा हेर्दै बूढीआमा उछिट्टिइन्, कपडाको पुतली झैं ।
‘बूढीआमालाई हान्यो, ट्रिपरले’ किशोर र म दौडिएर गयौं ।
बूढीआमा पाखामा पछारिएकी थिइन् । शरीर थर्थराउँदै थियो । आँखाबाट आँसु पीडा लिएर बगिरहेको थियो । रगत भुलभुल निस्किंदै बालुवामा जम्दै गयो । बूढीआमाका आँखाहरू केही भन्न खोजे जस्ता टाठा देखिन्थे ।
‘आमा !’ बूढीआमाको टाउकोलाई काखमा राख्दै म जोडले चिच्याएँ । वरिपरि मान्छेहरू झुम्मिए ।
बूढीआमाले आँखा पुर्लुक्क पल्टाइन् । देब्रे हात अलिकति उठाइन् ।
‘बाबु, चौरासी पू…जा….’ बूढीआमाका ओठहरू मात्रै चले । वाक्य पूरा हुन सकेन । निमेषभरमा प्राण गयो ।
उफ् ! मलाई नरमाइलो लाग्यो । बूढीआमालाई काखमा लिइरहें । केहीबेर अगाडि जग्गा बेच्दा दुवै हातका बूढीऔंलामा लगाएको कालो आलै थियो । ‘पाएँ बाबु, पैसा पाएँ’ भनेर बूढीआमाले दिएको जवाफ मेरो कानमा गुन्जिरह्यो । पैसा समात्नेहरू कता गए, कुन्नि । म के गरुँ, के नगरुँ भएँ । मन रोयो । आँखाहरू रोए ।
बूढीआमाका निर्जीव आँखाहरू ट्वाल्ल आकाशतिर हेर्दै केही खोजे जस्ता देखिन्थे । मैले दुवै परेला ढाकिदिएँ र एक्ली आमाको निर्जीव शरीर हेरिरहें । आँखामा आँसुको बादल लाग्यो । हेर्न सकिनँ । आकाशतिर हेरेर आँसु पिएँ ।
एकैछिनमा पुलिस आयो ।
आमा भनेर स्याहार गर्नेहरू कोही थिएनन् । एक्ली आमा, बेसहारा आमा । पुलिसले बूढीआमालाई भ्यानमा लिएर गयो । म भावशून्य मन लिएर गइरहेको पुलिसको भ्यानलाई हेरिरहें, ओझेल नपरेसम्म ।
प्रतिक्रिया 4