मान्छे जन्मिएपश्चात् मर्नु नै पर्छ। यो शाश्वत सत्य हो। प्रकृतिको नियमविपरीत धर्ती नै उल्टिए पनि, शास्त्रमा उल्लेख गरिए जस्तो सञ्जीवनी बुटी नै पिलाए पनि मृत्यु स्वीकार्नुको विकल्प नभेटिंदो रहेछ।
असह्य पीडा, अनगिन्ती प्रश्न, आशाको अन्त्य सबै स्वाभाविक बन्दोरहेछ, जब आफ्नाको मृत्यु हुन्छ। नजिकका मान्छे गुमाउनुको पीडा सायद म नजिकबाट महसुस गर्न सक्छु। म सहने कल्पना गर्न सक्दिनँ तर हिम्मतका साथ बडो दरिलोसँग खडा हुन सक्छु।
मैले महसुस गरेकी छु! गर लाखौं विलौना यमराजै समक्ष-बगेको खोला फर्किदैन जसरी उसै गरी असम्भव छ मानवीय अन्त्येष्टि पछि। लाग्दो हो सबैलाई मलाई जस्तै, फर्किउन् कोही, बेरौं अँगालोमा, चुमौं निधारमा, भनौंला अलबिदा हल्लाउँदै बिदाइका हातहरू … तर सम्भव नहुँदो रै’छ।
जब मान्छे खुशीको आकाशबाट पछारिएर सत्यको भुईंमा बजारिन्छ, अनि एकाएक छ्याङ्ग भएर खुलिदिन्छन् बादल रूपी खुशीहरू। अनि एकाएक चौडा भएर आउँछ जिम्मेवारीको आकाश। टेक्नैपर्छ वास्तविकताका नाङ्गा खुट्टाले धर्ती। महसुस गर्नैपर्छ मुटुले चिसो। भरिएकै हुन्छ आँखामा आँसु।
म प्रायः सोच्ने गर्छु, अन्तिम क्षणमा मान्छेले के सम्झिंदो हो ? कसैको प्रेम, कसैको मोह या आफ्नो जीवन? अझ भनौं, बितेका जीवन या बिताउन चाहेको जीवन ?
कल्पना गर्छु, मेरी आमाले अन्तिम क्षणमा मेरा बालाई सम्झिइन् होला जसलाई उनी मनभरिको प्रेम गर्थिन्। हामीलाई सम्झिन् होला जसमा उनका सपनाको खेती अङ्कुराउँदै थिए। या त पक्कै पनि उनले घर सम्झिइन् होला जसलाई उनले थोपा-थोपा पसिनाले सिञ्चिएकी थिइन्।
अँ! मेरो भाइले के सम्झिएको हुँदो हो ? आउनै लागेको उसको परीक्षाको नतिजा। दिदीको माया या खोजिरहेको स्केटिङ्ग जुत्ता? सताएको हुँदो हो, ठूलो खाटमा ढिकिच्याउँ खेलेको। दिदीहरूको जीउमा चढेर हामीलाई घोडा बनाएर हट घोडा हट खेलेको। अनि सम्झिन्छ होला स-परिवार आँगनीमा नाचेको !
तपाईं कल्पना गर्न सक्नुहुन्छ? जिउँदो मान्छेले पनि अन्तिम क्षण महसुस गर्न सक्छ। मैले गरेकी छु, जब म आफ्नाहरूको चिन्ताले घेरिएकी थिएँ। भारी मन, टुक्रिएका भावना, स्मरण शक्ति हराएको मस्तिष्क, ढक्क फुलिरहेको श्वास प्रश्वास प्रणाली, परेलीरुपी आलीमा टलपलाइरहेको आँसु!
हातमा कुश बेरेर एक अञ्जुली तिलानीपानी बोकेर एक थुङ्गो फूल अन्तिम पटक तिमीलाई नियाल्दै गर्दा, मलाई हरेक फन्कोमा जिम्मेवारीले बाँध्दै थियो।
के मात्रै आएनन् होला यादमा, पहिलो फन्को! तिम्रो माया सम्झिएँ, तिम्रो हातको खाना, तिम्रो काख, अंकमाल, सिस्नु पानी, दुई चुल्ठी कपाल, एक तरेली २३ वर्षसम्मको न्यानोपन झलझली याद आए।
दोस्रो फन्को, तिम्रा कष्टप्रद जीवन, तिम्रो ममता, तिम्रो जीवनी, तिम्रा सगरमाथा जस्ता हिम्मत मानसपटलमा बयली खेल्न थाले!
तेस्रो फन्को घुम्दै गर्दा, मैले तिमी विनाको घर, जिउँदा लास भएका परिवार सम्झिए र खै कताबाट एकाएक आइपुग्यो आमाका ममताको भारी अनि घरको ठूली छोरीको जिम्मेवारी!
अन्तिम थुङ्गा फुल चढाएँ जब भाइ र तिम्रो चितामाथि, चुमेर तिम्रो निधार- ढोगेर पाउ तिम्रा, सल्काइयो आगो तब म पनि जल्दै थिएँ। फरक यत्ति हो तिमी चितामा निर्जीव थियौ म बगरमा जिम्मेवारीको थैला समेट्ने कोशिश गर्दै थिएँ।
मन थियो समाहित होऊँ तिमी जलिरहेको आगोमा, बगिजाऊँ तिम्रो अस्तित्व खरानी भएको खोलामा तर, बाँकी परिवार हेरेर आफूलाई घरको थाम देखेपछि फर्किएकी हुँ, नाङ्गो खुट्टाले बगरमा टेकेर काँडा! यो समाजलाई तिमी फर्किन्छौ भन्ने कत्रो फिक्री रहेछ। समाजको विज्ञान किताबी विज्ञान भन्दा धेरै फरक भेटें।
तिम्रा अवशेषहरू समेट्न कोशिश गर्दैछु, बाबाको लागि छोरा अनि बहिनीहरूको लागि आमा बन्ने प्रयत्न गर्दैछु। अन्तिम क्षणका स्मृतिहरू मेरा पैताला र मुटुमा यसरी गडेको छ, चाल्दा हरेक पाइला म यसरी बिझ्छु, लाग्छ योभन्दा कष्टप्रद दुखाइ अरू छैन।
मेरा मुटु रक्तसंचारको लागि जति पटक धड्किन्छ, त्यति पटक ती काँडा यसरी बिझाउँछन् कल्पना गर्नै सक्दिनँ योभन्दा पीडा अरु के हुन सक्छ?
मेरो मन, मस्तिष्क, श्वास सबैतिर तिमी एकछत्र राज गर्छ्यौ, मेरो भाइ मेरा सपना-विगत-वर्तमान सबै तिमीबाट सुरु हुन्छन्। बस् यो जिम्मेवारीको भारी सधैं उठाउन सकुँ, जुन लोकमा भए पनि खुशी हुनु, सत्मार्गमा हिंड्ने शक्ति दिइरहनु, आशीर्वादले डोर्याइरहनु!!
अलविदा प्रेमिल मनहरू!!
अलविदा !
प्रतिक्रिया 4