 
																			“यही नै हाम्रो भाग्य हो, नियति हो जसलाई नचाहेर पनि जिउन हामी बाध्य छौं छोरी”, उनको कानको पछाडिबाट एक मधुर आवाज गुन्जियो। उनी फरक्क फर्केर हेरिन्, हातमा न्यानो पानीको गिलास लिएर आमा उभिइरहनुभएको रहेछ।
हो ! तिनै छोरीलाई जन्म दिने आमा। आमाले त्यो पानीको गिलास अलक्क जमिनमा राखिदिएको देख्दा उनी अकमक्क परिन् किनभने उनलाई जन्मदिने ती आमा आज भन्दा पहिले यति नजिक भएर पनि यति टाढा कहिल्यै देखिएकी थिइनन्।
लगभग दिउँसोको ३ बजेको हुँदो हो, ढकमक्क अन्धकार कोठा थियो, सबै झ्याल र ढोकाहरू पर्दा समेत बन्द गरिएका थिए अनि उनको हातमा एउटा घन्टी थमाइएको थियो। चिन्तित, थकित, अचम्मित अथवा अविश्वास। उनी केमा थिइन् उनलाई थाहा थिएन उनको मनोभाव।
सधैं सुत्नको लागि आमा चाहिने उनी आज तिनै आमाले आफ्नो लागि अलग ओछ्यान तयार पार्दै गरेको त्यही कुनामा बसेर एकटकले हेर्दै थिइन्। सायद त्यो ओछ्यानले पनि उनलाई गिज्याइरहेको थियो अझै भनौं त्यो ओछ्यानमा टालोले बेरेर लुकाउन खोजिएका तर प्रस्टै देखिने रगतका टाटाहरूले उनलाई झस्काइरहेका थिए जुन उनको आमाले सायद आफू महिनावारी हुँदा प्रयोग गर्नुभएको थियो।
आखिर उमेर कति नै थियो र सबै बुझाउन खोजिएका कुरा बुझ्नको लागि तिनै लुक्न नसकेका दशकौं अगाडिका रगतका टाटाको बुट्टा भरिएको त्यो ओछ्यानलाई सुमसुम्याउँदै गर्दा गालाको बाटो हुँदै आँसुले आफ्नो गन्तव्य खोजिहाल्यो।
एकातिर यो परिस्थितिको असमन्जस्यता त अर्कोतिर जीवनमा कहिल्यै अनुभव नगरेको महिनावारीको अत्यन्तै कष्टकर दुखाइ अनि आफ्नै आमाले गरेको त्यो अनौठो व्यवहारको कारणले असहाय महसुस गर्दै थचक्क ओछ्यानमा बस्छिन्।
११ वर्ष ६ महिना अनि ८ दिनको उनको उमेरसम्म कहिल्यै छुन समेत अनुमति नभएको त्यो ओछ्यानलाई आज उनले एउटा ओछ्यानको रूपमा मात्र स्वीकार गर्दै थिइनन्, उनले त्यो ओछ्यानसँगै उनको जीवनमा आएको एउटा अनौठो अनि कष्टकर लडाइँ पनि स्वीकार गरिन् जुन अब उनले जीवनका हरेक महिनाहरूमा लड्नुपर्ने थियो।
सायद नजानिंदो तरिकाले आफ्नो स्त्रीत्त्वलाई पनि उनी स्वीकार गर्दै थिइन् जसमा महिनावारी पनि पर्यो । जुन उनी छोरीको रूपमा जन्मिंदैदेखि उनको भाग्यमा लेखिएको थियो । तर, (उनलाई के थाहा यो त एउटा छोरीलाई छोरी भएको कारणले यो सृष्टि धान्न अनि अगाडि बढाउन भनी पाएको अभिभारा रहेछ जुन यो समाज अनि परिवारले न आफूले बुझ्न सक्यो न त्यो नाबालकलाई बुझाउन सक्यो)।
घन्टीको आवाजसँगै आमाले बाहिरबाट लगाइएको ढोकामा आएर ढोका खोल्नुभयो, ताजा रगतको थोपातिर औंल्याउँदै उनले ओठ कमाउँदै विस्तारै भनिन्, “सरी आमा यस्तो के के भयो मलाई त थाहा नै भएन !”
ओठमा फिका मुस्कान ल्याउँदै आमाले भन्नुभयो, “ठिक छ छोरी मलाई थाहा थियो यो सब केही होइन ठिक छ।”
अचम्मित अनि सशंकित हुँदै आमातिर हेर्दै उनले भनिन्, “यदि यो सबै पहिल्यै हजुरलाई थाहा थियो भने मलाई यो अनि यसको समाधानको बारेमा किन केही नभन्नुभएको?”
आमाले फेरि भन्नुभयो, “मेरो पालामा यस्तो भएको थिएन तिमीलाई भयो तर सबै नर्मल हो चिन्ता नगर।”
फेरि उनी तुरुन्तै सोध्छिन्, “हजुरलाई के भएको थिएन?” “रगत बगेको थिएन”, आमाले भन्नुभयो।
फेरि अचम्मको मुद्रामा उनले सोध्छिन्: “पहिलो पटक महिनावारी हुँदा हजुरलाई केके भएको थियो ? के हजुर पनि म जस्तै शान्त अनि संयमित हुनुभएको थियो?”
आमा पुनः मुस्कुराउँदै भन्नुहुन्छ, “यो बारेमा फेरि कुनै बेला कुरा गरौंला अहिले तिम्रो रक्तास्राव ठिक गरौं।”
यति भनेर आमा कोठाबाट निस्किनुभयो। के गर्ने के नगर्ने अलमलमा परेकी उनी केहीबेर धैर्य साथ पर्खिन्।
केही बेरमा दुवै हातमा केही लिएर आमा फर्केर आउनुभयो। उहाँको दाहिने हातमा एक सुतीको सफा कपडा थियो भने देब्रेतिर केही नौलो वस्तुको प्याकेट थियो। आमाले ल्याएका दुई कुराहरूमा एउटा प्याडको प्याकेट पनि रहेछ।
त्यी दुवै वस्तु देखाउँदै उहाँले भन्नुभयो, “यी दुईमध्ये जुन मन लाग्छ तिमी प्रयोग गर्न सक्छ्यौ। यी दुवै चिजले रगत बग्न रोक्छन् अनि तिमीलाई सफा र स्वस्थ राख्न मद्दत गर्छन्।”
ती दुवै विकल्पको बारेमा खासै ज्ञान नभएकी उनले दुवै सामान समातिन् अनि आमासँग सोधिन्, “आमा के म बाथरुम जान सक्छु?” आमा केही नबोली बाहिर गएर यताउता हेर्न थाल्नुभयो। उनी अकमक्क परेर आमालाई हेरिरहिन्।
उनको अन्योलता बुझेर होला आमाले भन्नुभयो, “बाबा र भाइ कतै तिमीले देख्ने ठाउँमा छन् कि छैनन् भनेर हेरेकी, अब तिमीले केही दिन बाबा र भाइलाई हेर्न हुँदैन नि!”
कुनै पनि पुरुष सदस्यले छोरीलाई देख्न नसक्ने निर्क्योल गरेपछि आमाले एउटा कम्बलले छोपेर बाथरुम जाने अनुमति दिनुभयो। घामको किरणले आफूलाई छोए पाप लाग्छ भन्ने थाहा पाएकी उनी आमाले भने जस्तै गरिन्।
आमाको निर्देशन अनुसार नै कपडाको टुक्रा प्रयोग गर्दै ती सानी बालख गहभरि आँसु पार्दै ओछ्यानमा पल्टिएर आफैंसँग लडिरहेको यो विशाल अनि अपत्यारिलो संघर्षको बारेमा नानाथरी सोच्दै शोकमा डुब्न थालिन्।
महिनावारीको पीडा, त्यो असाधारण भेदभाव, आफ्नै परिवारले भनौं वा समाजले लगाइदिएको प्रतिबन्ध यस्तै कतिऔं पीडाहरू थिए जसको बोझ ती ११ वर्षकी सानी बालखले धान्न असम्भव थियो। उनको आफ्नो पहिलो महिनावारीको त्यो बन्द कोठाभित्रको धेरैजसो समय रोएर अनि आफू छोरी भएकोमा धिक्कारेर नै बित्यो।
एउटा छोरी भएकै कारण यो बज्रपात सहनुपरेको थाहा पाउँदा कुन ११ वर्षको बच्चालाई आफूप्रति गर्व लाग्ला?
दु:ख पीडा त छँदै थियो त्यो बाहेक उनले आफ्नो जीवनकालको पहिलो महिनावारीमा केही सिक्ने मौका पनि पाइन्। सुरुमा कपडाको टुक्रा प्रयोग गरेकी उनलाई त्यो खासै सहज लागेन त्यसैले प्याड प्रयोग गर्ने कोसिस गरिन् तर उनलाई त्यसको बारेमा केही पनि ज्ञान भने थिएन न त उनको आमाले नै पहिले प्रयोग गरेकी थिइन्।
प्याकेटमा लेखिएको जानकारी हेर्दै उनले प्याड प्रयोग गर्ने कोसिस गरिन्। आफ्नी आमाले नगरेको त्यो प्याडको टुक्रा आफूले प्रयोग गर्न पाएको कुरालाई उनले एउटा सानो परिवर्तन त हो भन्ने मानिन् र अब आफू यसरी धेरै बस्न नसक्ने निश्चय गर्दै अब परिवर्तन र सुधारको कोसिस गर्ने हिम्मत गरिन्।
लगातार पाँच दिनसम्मको बन्दी जीवन, पूर्ण अन्धकार र अत्यधिक कष्टपछि अन्ततः उनलाई त्यो अँध्यारो कोठाबाट बाहिर निस्कने मौका मिल्यो। पहिलो पटक घामको केही किरणले उनलाई छोयो, अनि उनले आफू सधैं खेल्ने सानो भाइलाई फेरि देख्न पाइन्।
उनी खुशीले आकाशमै उडिरहे जस्तो महसुस गरिन्, किनभने अब उनी विद्यालय जान र फेरि सामान्य जीवन जिउन सक्ने भइन्। तर जब उनलाई ११ दिनसम्म भान्सामा जानुहुँदैन भनियो उनको खुशी केही मिनेटमै समाप्त भयो।
फेरि उनी निकै दुःखी भइन्, तर आफ्ना कुनै पनि कुरा आफ्नो नियन्त्रणमा नभएकाले उनले आमाको कुरा शिष्टतापूर्वक मानिन् र पहिलो महिनावारीको छैटौं दिनमा विद्यालय गइन्।
दिनहरू बित्दै गए, अर्को महिना आयो, र उनी गत महिनामा भोगेका परिवर्तनहरूलाई लिएर बिल्कुलै बेफिक्री थिइन्। उनी खुशीसाथ आफ्नो सामान्य जीवन बिताइरहेकी थिइन्।
पाँच महिनापछि, एकदिन जब उनी विद्यालयमा थिइन्, उनले आफ्नो सिटमा रातो दाग देखिन्। उनी तुरुन्तै बाथरुमतर्फ दौडिन्, राम्रोसँग हेरिन् अनि देखिन् यो उनको लागि त्यही ‘हाउगुजी’ थियो, जसलाई महिनावारी भनिन्थ्यो। उनी केही सोच्न सकिनन्, केवल रोइन् र टिचरसँग आमालाई बोलाउन अनुरोध गरिन्।
आमा चिन्तित मुद्रामा आत्तिंदै तथा असिन-पसिन हुँदै छोरीतर्फ दौडेर आइन्। उनले छोरीलाई सोधिन्, “के भयो, छोरी? कसैले तिमीलाई केही गर्यो?” उनी रोइ मात्र रहिन् केही बोलिनन्।
दुवै जना घर गए। घरमा गएर आमालाई अँगालो हाल्दै रुँदै उनले भनिन्, “आमा यो फेरि आयो, यो महिनावारी फेरि आयो मैले केही गरेकी छैन आमा आफैं आयो अब मलाई फेरि थुनेर सजाय नदिनु है आमा!” उनी मन थाम्न नसकेर डाँको छोडेर रोइन्।
आमाले उनको कपाल सुमसुम्याउँदै नम्र अनि मायालु स्वरमा भन्नुभयो– “नरोउ छोरी। यसपटक तिमीलाई अँध्यारो कोठामा बन्द गर्दिनँ, तर तिमीले अरू सबैसँग अलिकति टाढा रहनुपर्छ, कसैलाई छुन हुँदैन, भान्सामा जान हुँदैन है त!”
सानी छोरीले फेरि सोधिन्, “तर किन आमा ? मैले बाबा अनि भाइलाई किन छुन हुँदैन ? आफ्नै घरको भान्सामा किन जान हुँदैन।”
“छोरी, यो कुरा मलाई मेरी आमाले र समाजले सिकाएको हो। महिनावारीको समयमा हामीलाई गर्न नदिइने सबै कुरा हाम्रो आफ्नै भलाइको लागि नै हो भन्ने मान्यता छ रोएर के गर्छ्यौ नरोऊ अबदेखि तिमीले यो हरेक महिनामा सहनुपर्ने हुन्छ। यो त एउटा प्राकृतिक प्रक्रिया हो। तिमी र मैले यसलाई बदलेर केही गर्न सक्दैनौं, किनभने यो परम्परा आजसम्म यस्तै चल्दै आएको छ। मन त मलाई पनि पर्दैन यस्तो, तर म बाध्य छु म केही गर्न सक्दिनँ। मेरी सानु, अब तिमी सानो बच्ची रहेनौ। आउ, यसलाई मैले स्वीकारे झैं तिमीले पनि स्वीकार गर”, आमाले भन्नुभयो।
उनी फेरि आमातिर हेर्दै रुँदै भन्छिन्, “हामी यसलाई परिवर्तन गर्नै सक्दैनौं त? के यसलाई सामान्य रूपमा नै स्वीकार गर्न सम्भव छैन त?”
आमाले फेरि भनिन्, “यो क्रमिक प्रक्रिया हो, छोरी। समाज अहिले मेरो समयमा भन्दा धेरै अगाडि बढिसकेको छ। मेरो पहिलो महिनावारी भएको बेला म १५ वर्षकी थिएँ। म ठूलो भइसकेको थिएँ र मेरी ठूली दिदीको महिनावारी सुरु भइसकेको थियो, त्यसैले मैले यसबारेमा थाहा पाएकी थिएँ। तर जब मैले यो कुरा मेरी आमा, अर्थात् तिम्री हजुरआमालाई भनें, उनले मलाई गोठमा पुर्याइन्। तिमीलाई यसको बारेमा थाहा छ, हैन?”
आमाले फेरि थपिन्, “मैले गोठमा एक्लै बिताएकी थिएँ। म माथिल्लो तलामा थिएँ अनि भैंसी र गोरु तल्लो तलामा थिए सोच त मलाई कस्तो भयो होला त्यो अनुभव? म रातभर डरले काँपिरहें। न त सुत्न सक्थें न जागिरहन। त्यो समयमा प्याडहरू उपलब्ध थिएनन्, त्यसैले कपडाको टुक्राले नै सबै गर्नुपर्ने हुन्थ्यो मलाई त झन् परालमा अनि पुरानो र च्यातिएको गुन्द्रीमा सुत्नु परेको थियो।
बिहान ४ बजे नदीमा नुहाउन जानुपर्थ्यो, ताकि सूर्य उदाउनु अघि म घर फर्किसक्नुपर्थ्यो अनि मलाई कसैले देख्न नसकोस्। म ११ दिनसम्म गोठमै बसेकी थिएँ र अन्ततः १२औं दिन म त्यहाँबाट बाहिर निस्कें, तर २१ दिनसम्म पानी छुन अनुमति थिएन। म भाग्यशाली थिएँ कि मेरी आमाले मलाई अरूको गोठमा पठाइनन्, त्यो समयमा मानिसहरूलाई अरूको गोठमा सुत्न जानुपर्दथ्यो।”

उनले फेरि उत्सुक हुँदै आमालाई सोधिन्, “अनि हजुरले हजुरआमासँग केही भन्नुभएन? हजुरले यो सबै परिवर्तन गर्नको लागि केही पनि गर्नुभएन?” आमाले लामो सास तान्दै भनिन्, “नाइँ छोरी मैले मेरी आमा अनि दिदीलाई यही गरेको देखेकी भएर मलाई यो नै नर्मल हो भन्ने लाग्यो।” यति सुनेपछि उनी चुपचाप बसिरहिन्।
यो प्रक्रिया चलिरह्यो, उनको महिनावारी हरेक महिना आइरह्यो। उनलाई आफूलाई त्यो समयमा गरिएको विभेद कहिल्यै मन परेन। समय बित्दै जाँदा समयसँगै उनी पनि ठूली हुँदै गइन्, अनेकौं अनुभव अनि पढाइको कारणले यो विषयमा ज्ञान हासिल गर्दै गइन्। उनले नियाल्दै अनि बुझ्दै थिइन् समय अनि दुनियाँले कति छिटो फड्को मार्दैछ तर उनको परिवार अनि कथित समाज र यसका मान्यताहरू भने जहाँको त्यहीं छन्। उनी महिनावारीलाई सामान्य बनाउनको लागि सधैं विद्रोह गरिरहिन् तर केही परिवर्तन भएन।
निरन्तर बाबा–आमासँग बहस गरिन् तर केही परिवर्तन भएन। किताब परिवर्तन भए, त्यसमा लेखिएका कुराहरू समय अनुसार बदलिए तर व्यवहार जहाँ थियो त्यहीं रहिरह्यो। हरेक पटकको महिनावारीमा उनी धेरै समय रोएर व्यतीत गरिन् अनि भुइँमा सुतेर आफैंलाई निरन्तर यातना दिइन्। अनेकौं दु:ख भोग्दा पनि परिवर्तन २० को १९ भएन। कविता लेखिन्, कविता पढिन्, ठाउँ–ठाउँमा कविता वाचन गर्दै कविताकै माध्यमबाट परिवर्तन खोजिन् तर सकिनन्।
वर्षौंसम्मको कठोर मिहिनेत, निरन्तर प्रयास, सयौं असफलता र आफ्नै भन्नेहरूसँगको निरन्तर संघर्षपछि अन्ततः उनले आफ्नी आमालाई एउटा शर्तमा नै भए पनि महिनावारीलाई सामान्य रूपमा लिन राजी गराउन सकिन्। शर्त के भने उनले आफ्नो महिनावारी भएको कुरा कसैलाई पनि थाहा दिनुहुँदैन, आमालाई पनि।
त्यसपछि मात्र उनी भान्छामा प्रवेश गर्न वा आफ्नो मनले चाहे अनुसारका काम गर्न पाउने भइन्। उनले यो शर्त स्वीकार गरिन्। उनले आफ्नो अध्ययनलाई निरन्तरता दिइन् र समयसँगै अघि बढ्दै गइन्। उनको मनमा सधैं एउटै सपना थियो– यस्तो क्षेत्रमा काम गर्ने, जहाँ उनले अरूलाई शिक्षित गर्दै महिनावारीलाई सामान्य बनाउन सकून्।
समयसँगै उनका आमा र बाबा पनि प्रगतिशील बन्न थाल्नुभयो। भनिन्छ नि, आमाबुवाले सधैं आफ्ना सन्तानको राम्रो चाहन्छन्, उनका आमा र बाबाले पनि उनलाई सहयोग गरे र हौसला दिंदै गए।
उनकै आमा थिइन् जसले छोरीको महिनावारीलाई सहज बनाउन एक कदम अघि बढ्दै उनलाई पहिलो पटक ‘मेस्ट्रुअल कप’ सँग परिचय गराइन्। ११ वर्षको उमेरमा महिनावारी सुरू गरेकी उनी अब १६ वर्षकी भइसकेकी थिइन्, तर अब उनी आफैं धेरै कुरा जानेकी अनि बुझेकी भइसकेकी थिइन्। कपडा, प्याड र कपको ज्ञान, समाजका नियम र मान्यताहरूको ज्ञान, र उनले ल्याउन चाहेको तथा देख्न चाहेको क्रान्तिको ज्ञान सबै ज्ञानले ओतप्रोत थिइन्।
उनी अहिले २० वर्षकी भइसकेकी छिन्। मानिसहरूको स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने ‘जनस्वास्थ्य’ विषयमा स्नातक गर्दै छिन्। विद्यालयका बालबालिकालाई महिनावारी स्वच्छता व्यवस्थापनका बारेमा विभिन्न कार्यक्रम सञ्चालन गरेर शिक्षित गराइरहेकी छन्।
प्रगतिशील सोच राख्ने उनी महिनावारीलाई सामान्य र सम्मानजनक रूपमा हेर्ने समाज देख्न चाहन्छिन्। यसैअनुरुप मर्यादित महिनावारी सम्बन्धी विविध कार्यक्रमको सक्रिय सदस्य भएर दत्तचित्त भएर आफूले भोगेको पीडा र देखेको संघर्ष अरु साना नानीहरूले भोग्न अनि देख्न नपरोस् भनी लागिपरेकी छन्।
यस्तो समाजको परिकल्पना गर्दैछिन् जहाँ हरेक छोरीले एक छोरी भएकै कारण यो विभेद भोग्न अनि सहन नपरोस् ! हरेक छोरीले शिर ठाडो पारेर भन्न सकुन्– “हो म महिनावारी भएको हो अनि म महिनावारी भएकै कारण यो संसार चलेको हो मलाई महिनावारीको समयमा अछुतो देख्ने ती मानिसहरूको जन्म पनि यही महिनावारीकै देन हो त्यसैले म महिनावारी हुदाँको त्यो ५ दिन त्यही व्यवहार चाहन्छु जुन नहुँदाका २५ दिन मलाई गरिन्छ।”
म त्यही केटी हुँ जो ११ वर्ष ८ महिना अनि ६ दिनको उमेरमा घामको किरण देख्नको लागि समेत तड्पिएकी थिएँ। हो म त्यही केटी हुँ जसलाई छोरी हुनु नै अभिशाप हो भन्ने लागेको थियो। तर अहिले म २० वर्षको हुँदा नहुँदै म धन्य छु यो सुन्दर जीवनको लागि जसले यो सृष्टि धान्ने अनि अघि बढाउने क्षमता राख्न सक्छे।
मेरो सपना साकार पार्नका लागि मैले अझै धेरै संघर्षहरू गर्न तयार छु। म त्यस्तो समाज बनाउन संघर्ष गरिरहेकी छु। म महिनावारीलाई सम्मानजनक बनाउने यो यात्रामा संघर्षरत छु। म बोल्दैछु। म लेख्दैछु। म गाउँदैछु।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4