
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको एउटा अन्तरिक्षयान सूर्यको सबैभन्दा नजिक पुगेर मात्र होइन असाधारण तापक्रम रहेको त्यस क्षेत्रमा समेत सामान्य रुपमा काम गरेर इतिहास रचेको छ । यसअघि कुनै पनि अन्तरिक्षयानहरु सूर्यको त्यतिधेरै नजिक पुग्न सकेका थिएनन् ।
शुक्रबार नासाका वैज्ञानिकहरुले एउटा संकेत प्राप्त गरे कि निकै उच्च तापक्रमयुक्त वातावरणमा कैयन् दिनसम्म उडान भरेपश्चात् उक्त यानको सञ्चार सम्पर्क विच्छेद भएको थियो ।
नासाका अनुसार पार्कर सोलार प्रोब नामक उक्त यान अहिले पनि सुरक्षित छ र यो सूर्यको सतहभन्दा ६१ लाख किलोमिटरको दूरीमा पुग्नुका बाबजुत पनि यसले सामान्य तबरले काम गरिरहेको छ ।
स्मरण रहोस् नासाले सन् २०१८ मा पार्कर सोलार प्रोबलाई सौर्यमण्डलको केन्द्रमा पठाइएको थियो ।
वैज्ञानिकहरुका अनुसार क्रिसमसको अघिल्लो दिन यो यान सूर्यको बाह्य वातवारणमा प्रवेश गरेको थियो । तथापि अति उच्च तापक्रम र विकिरणसँग जुध्नुका बाबजुत यसले आफ्नो अस्तित्व बचाएर राख्यो । अन्तरिक्ष यानको यस्तो उडानबाट सूर्यको काम गर्ने तरिकाका विषयमा थप तथ्यहरुको खुलासा हुने बताइएको छ ।
पार्कर सोलार प्रोब सूर्यको निकट पुगेसँगै नासाका वैज्ञानिकहरुको मुटुको ढुकढुकी बढेको थियो । उनीहरुले लगातार त्यसबाट संकेतहरु पर्खिरहेका थिए । ती संकेतहरु २८ डिसेम्बरको बिहान ५ बजेसम्म प्राप्त हुने अपेक्षा गरिएको थियो ।
त्यतिधेरै तापक्रम अन्तरिक्ष यानले कसरी सहन सक्यो ?
नासाको वेबसाइटका अनुसार पार्कर सोलार प्रोब ६.९२ लाख किलोमिटर प्रतिघण्टाको गतिमा आफ्नो यात्रा गर्दा ९८० डिग्री सेल्सियसको तापक्रम पनि सहन गर्न सक्यो ।
नासाले भनेको छ – पार्कर सोलार प्रोबको तर्फबाट सूर्यको यति नजिक अध्ययनबाट यसको तापमान लिन सकिन्छ । यसबाट त्यस क्षेत्रमा कसरी कुनै पदार्थहरु लाखौं डिग्री सेल्सियससम्म तातो हुन सक्छन् भन्ने कुराको बारेमा बुझ्न पनि मद्दत मिल्नेछ ।
यसबाट सौर्यबतासको उत्पत्ति तथा ऊर्जायुक्त कणको गति पक्रिएर प्रकाशको गतिसम्म पुग्नुको कारणका बारेमा पनि पत्ता लाग्न सक्छ ।
नासाको विज्ञान विभागका प्रमुख डाक्टर निकोला फक्सले यसअघि बीबीसीसँग भनेकी थिइन्- सदियौंदेखि मानिसहरुले सूर्यको अध्ययन गरिरहेका छन् । तर, जबसम्म उनीहरू त्यहाँ पुग्दैनन् तबसम्म त्यहाँको वातावरणको अनुभव गर्न पाउने छैनन् । त्यसैले जबसम्म तपाईंले सूर्यको नजिकैबाट उडान भर्नुहुन्न तबसम्म त्यहाँको माहोल कस्तो छ भन्ने कुरा बताउन सकिने छैन ।
पार्कर सोलार प्रोब सन् २०१८ मा प्रक्षेपण गरिएको थियो । त्यसयता यसले सौर्यमण्डलको केन्द्रतर्फ आफ्नो यात्रा जारी राखेको थियो ।
यसले सूर्यलाई २१ पटक सूर्यको नजिक गएको छ र हरेक पटक यो पहिलेको तुलनामा सूर्यको नजिक पुगिरहेको थियो । तर, क्रिसमसको पूर्वसन्ध्यामा यो सूर्यको सबैभन्दा नजिक पुग्यो र अहिलेसम्मकै रेकर्ड ब्रेक गर्यो ।
तर, अहिलेसम्मकै सबैभन्दा नजिक पुग्नुका बाबजुत पनि यो अझै सूर्यभन्दा ६१ लाख किलोमिटर टाढा थियो । तथापि यो दूरीले सूर्य र उक्त यानबीचको दूरीलाई नयाँ सिराबाट परिभाषित गर्दछ ।
डाक्टर फक्सका अनुसार पृथ्वी र सूर्यबीचको दूरी ९ करोड ३० लाख माइल छ । यदि हामी सूर्य र पृथ्वीलाई एक मिटरको दूरीमा राख्यौं भने सोलार प्रोब सूर्यबाट केवल ४ सेन्टिमिटरको दूरीमा रहेको छ । वास्तवमा सोलार प्रोब सूर्यको निकै नजिक पुगेको हो ।
यो अन्तरिक्षयान १४ सय डिग्री सेल्सियस तापक्रम पनि सहन सफल भयो । यति उच्च तापक्रमले यानमा रहेका उपकरणहरुलाई खरानी बनाउन सक्थ्यो ।
तर, यानमा चारैतिर लगाइएको ११.५ सेमीको मोटो कार्बन कम्पोजि शील्डले यसलाई बचाएर राखेको छ । यद्यपि यो यानको रणनीति भनेको सूर्यको वातावरणमा तीव्र गतिमा घुस्नु र त्यसपछि उत्तिकै गतिमा बाहिर निस्कनु हो ।
वास्वतवमा यो कुनै पनि मानव निर्मित वस्तुको तुलनामा उच्च गतिमा चलेको छ । यसको गति ४ लाख ३० हजार माइल प्रतिघण्टा थियो । अर्थात् ३० सेकेण्डभन्दा पनि कम समयमा यसले लण्डनदेखि न्युयोर्कसम्मको दूरी पार गर्यो । पार्करलाई यो गति सूर्यतिर जाँदै गर्दा प्राप्त भएको अत्यधिक सशक्त गुरुत्वाकर्षण बलका कारण हासिल भएको थियो ।
सूर्यलाई छुने कोसिस किन भइरहेको छ ?
वैज्ञानिकहरुको अपेक्षा के छ भने जब पार्कर सोलार प्रोब सूर्यको बाहिरी वातावरण अर्थात् कोरोनामा प्रवेश गरेको बेला त्यसले यस्ता धेरै तथ्यहरु संकलन गरेको हुनसक्छ जसले लामो समयदेखि विद्यमान रहस्यलाई सुल्झाउन सक्दछ ।
वेल्सस्थित फिफ्थ स्टार ल्याबका खगोलशास्त्री डाक्टर जेनिफर मिलार्डका अनुसार कोरोना वास्तवमा निकै तातो छ र त्यहाँ किन त्यतिधेरै तापक्रम छ भन्ने कुराको जानकारी हामी कसैलाई पनि छैन ।
उनका अनुसार सूर्यको सतहको तापक्रम करिब ६ हजार डिग्री सेल्सियस हुन्छ । तर, यसको बाहिरी हिस्सा अर्थात् कोरोना (जसलाई हामीले सूर्यग्रहणका बेला पनि देख्न सक्छौं) मा तापक्रम लाखौं डिग्रीस्म्म पुग्दछ र यो सूर्यभन्दा धेरै टाढा पनि छ । आखिर त्यहाँको वातावरण त्यतिधेरै तातो किन भइरहेको छ ? भन्ने कुरा रहस्यको गर्भमै छ ।
नासाको यो मिसनले सौर्य आँधी अर्थात् सूर्यको कोरोनाबाट लगातार निस्किरहेका चार्जयुक्त कणको बहावका विषयमा पनि अध्ययन गर्नेछ ।
जब यी चार्जयुक्त कण पृथ्वीको चुम्बकीय क्षेत्रको सम्पर्कमा आउँछन् तब आकाशमा निकै धेरै चमक पैदा हुन्छ । तर, अन्तरिक्षको यो घटनाले मौसमसँग सम्बन्धित विभिन्न समस्याहरु पनि पैदा गर्न सक्दछ । यसले ऊर्जा ग्रिड, विद्युतीय तथा सञ्चार प्रणाली ध्वस्त पार्न सक्दछ ।
डाक्टर मिलार्ड भन्छिन्- पृथ्वीमा हाम्रो दैनिक जीवनका लागि सूर्य, यसका गतिविधिहरु, अन्तरिक्षको मौसम तथा सौर्य बतासको बारेमा थाहा पाउनु निकै अहम हुन् ।
पार्कर सोलार प्रोब सम्पर्कविहीन हुँदा नासाका वैज्ञानिकहरु चिन्तित बनेका थिए ।
डाक्टर फक्सको विश्वास थियो कि जब यसबाट संकेत प्राप्त हुनेछ तब उनको टिमले त्यसलाई हरियो रंगको मुटुको चिह्न पठाउनेछ, अर्थात् यो उक्त यानले सही काम गरिरहेको कुराको संकेत हुनेछ ।
आफू नासाको उक्त दुस्साहसिक प्रयासका बारेमा पहिले निकै चिन्तित रहेको भए पनि उक्त यानमाथि भने भरोसा रहेको उनले बताए ।
उनी भन्छन् – मलाई प्रोबका बारेमा अबपनि चिन्ता हुनेछ । तर हामीले यसलाई यस्तो प्रकारले डिजाइन गरेका छौं कि यसले निकै कठिन तथा निमर्म अवस्थामा पनि काम गर्न सकोस् । सानो आकारको यो अन्तरिक्षयान भित्रबाट भने निकै शक्तिशाली छ ।
प्रतिक्रिया 4