+
+
गाजा युद्धको एकवर्ष  :

विपिन जोशीसँग सँगै बंकरमा रहेका चौधरीले सुनाए त्रासदीको क्षण

हमासको बन्धकमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था के होला ? हमासले बन्धक बनाउनुअघि जोशीसँगै रहेका धनबहादुर चौधरीले हिमालय रोडिज सिजन ६ को पछिल्लो एपिसोडमा यसबारे मर्मस्पर्शी अनुभव पोखेका छन् ।

विष्णु शर्मा विष्णु शर्मा
२०८१ कात्तिक ६ गते १५:१६

६ कात्तिक, काठमाडौं । एकवर्ष बित्यो प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमाथि आक्रमण गरेको । यही एक वर्षभित्र प्यालेस्टाइन-इजरायल युद्धमा हजारौंले ज्यान गुमाएका छन् । विद्रोही हमासको हमलामा ज्यान गुमाउनेमा नेपाली पनि छन् ।

हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्युको पुष्टि भएपनि विपीन जोशीको अवस्था अझै अज्ञात छ ।

जोशीको रिहाइका लागि सरकारले राष्ट्र संघीय मञ्चदेखि हमास निकट मुलुकका प्रमुखसँग कूटनीतिक पहललाई तीव्र तुल्याएको दाबी गर्दै आएको छ । तर नतिजा शून्य छ । भूराजनीति पेचिलो बन्दा युद्ध रोकिने छाँटकाँट छैन ।

गतसाता हमासका मुख्य नेता याहा सिनवार इजरायली आक्रमणमा मारिए । सिनवारको मृत्युपछि पनि दुबै पक्ष युद्धविरामका लागि तयार नभएको देखिएको छ ।

बरु हमासले इजरायलले युद्ध नरोकेसम्म बन्धक बनाइएकालाई पनि नछाड्ने अडान लिइरहेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सिनवारको मृत्युपछि पनि गाजा क्षेत्रमा आक्रमण जारी रहने बताइरहेका छन् ।

यस्तोमा, हमासको बन्धकमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था के छ भन्ने अझै अन्योल छ ।

जोशीका परिवारले छोराको रिहाइका लागि सरकारसँग गुहार मागिरहेका छन् । हमासले बन्धक बनाउनुअघि जोशीसँग सँगै रहेका धनबहादुर चौधरीले हिमालय रोडिज सिजन ६ को पहिलो एपिसोडमा यसबारे मर्मस्पर्शी अनुभव पोखेका छन् ।

चौधरीले आफ्नै आँखाअघि साथीहरुको मृत्यु देख्दाको युद्ध त्रासदीलाई टेलिभिजनमा सुनाए– महाभारतमा धृतराष्ट्रलाई संजयले युद्धको वर्णन सुनाएजसरी ।

चौधरीको यो अनुभवले आङ सिरिङ बनाउँछ, कुनै युद्ध फिल्मको पटकथाजस्तै । आफूलाई ‘वार सर्भाइभल’ भन्न रुचाउने चौधरी युद्ध त्रासदी मेटाउन, आम युवामा हिम्मत भर्न र जीवनप्रति आशा जगाउने उद्देश्यले हिमालय रोडिज पुगेका हुन् ।

चौधरीले गाजा हमलाको वर्णन गर्दा ग्याङ लिडर पनि भावुक भए र आँसु खसाले । होस्ट रेमनदास श्रेष्ठले जोशीको रिहाइको लागि आफूहरुले पनि आवाज उठाउने बताए ।

चौधरीले हिमालय रोडिजमा यसरी युद्ध त्रासदीको अनुभव बाँडेका छन्:

‘म कृषिको विद्यार्थी हुँ । स्नातक सकेपछि २०२३ अक्टोबरमा इन्टर्नको रुपमा इजरायल गएको थिएँ कलेजबाट । छेउमा गाजा र प्यालेस्टाइन थियो । हामी बोर्डर साइडमा रमाइरहेका थियौं । अक्टोबर ७ को बिहान शनिबार एक्कासी माथि माथिबाट मिसाइलहरु जान थाल्यो । थुप्रै बंकर हुन्छ बोर्डर साइडमा । त्यहाँबाट हामी बंकरमा भाग्यौं ।

सुरुमा इजरायल नर्मल थियो । मिसाइल गइरहेको छ, केही हुदैन जस्तो लाग्यो । एक घण्टापछि एक्कासी बाहिर गोलीबारीको आवाज आउन थाल्यो । २ जनाका साथीहरु बाहिर निस्किए । ‘वी आर नेपाली, वी आर नेपाली’ भन्दै दुईजना साथी बाहिर निस्किए । तिनीहरु त्यहीँ मारिए ।

गोलीबारीको २ मिनेटपछि दुईवटा ग्रिनेड बंकरभित्र फाले आतंकवादीले । एउटाचाहिँ विपिन जोशी सायद बन्धकमै छ अहिले सुन्नुभुएको होला ! उसले एउटा ग्रिनेड बाहिर फाल्यो । अर्को चाहिँ बंकरभित्रै पड्किहाल्यो । त्यसपछि हामी सबैजना ‘ब्ल्याकआउट’ जस्तै भयौं ।

७० जना थियौं, दुई जना त गोली लागेर त्यहीँ ढले । केही मिनेटपछि हेर्दा २/३ जना साथीको खुट्टा नै थिएन । मेरो पनि खुट्टा ग्रिनेडको छर्राले रक्ताम्मे भएको थियो । सपना जस्तै लाग्न थाल्यो । हामी आत्तियौं । त्यसपछि अरु साथीहरुलाई फोन गर्न थाल्यौं । त्यसको आधा घण्टापछि इजरायली पुलिस आए । त्यसपछि आतंकवादी ग्रिनेड फालेर पछि हटे । उद्धार गर्न ३ जना पुलिस आएका थिए । धेरै पनि आएका थिएनन् ।

म त रक्ताम्मे भएर घिस्रिन सक्ने तर हिँड्न नसक्ने भइसकेको थिएँ । त्यतिबेला २/३ जना साथीहरु मरिसकेका थिए । १० जनाचाहिँ सुरक्षित थिए । उनीहरु अर्को बंकरमा सरेका थिए । मलाई पनि अर्को बंकरमा सिफ्ट गर्न प्रयास गरे तर सकेनन् । मलाई बंकरको बाहिर राखे ।

अहिले सबै साथीले भनिरहेका हुन्छन्–त जहाँ गएपनि विपिन जोशीलाई नर्बिसेस् । सरकारसँग गएर हुन्छ, जहाँ गएर हुन्छ उसलाई फर्काएर ल्याइदेऊ भन्छन् ।

‘माथिबाट मिसाइल गइराखेको छ निरन्तर । यहाँ बाहिर बस्यो भने त बाँचिन्न’ जस्तो लाग्यो । त्यसपछि बंकरबाट घिस्रिँदै आफनो बेडरुममा गएँ । अब अट्याक भयो भने, म भित्र सेफ छु जस्तो भयो । त्यसपछि दुईटा साथी बंकरदेखि कोठाभित्र आए । एउटा साथी आएर म छेउको बेडमा सुत्यो ।

अर्को साथी फोन गर्दै थियो, पैताला थिएन उसको ।

बाहिर एम्बुलेन्स आयो, एम्बुलेन्स आयो भन्यो उसले । बाहिर फेरि दुई सट् गोली खायो । एउटा घाँटी र अर्को छातीमा । बाहिरबाट सट् आइरहेको छ, ऊ भित्र आयो र मेरो काखमा सुत्यो । तन्ना च्यातेर उसको गोली लागेको घाँटी र छातीमा बाँधिदिएँ । म त मर्छु होला, मेरो अन्तिम इच्छा मलाई पानी खुवाइदेऊ भन्यो । त्यसपछि कल गर्दै बाथरुमसम्म गएर त्यहाँबाट एक बोतल पानी ल्याएर उसलाई खुवाएँ ।

ऊ अर्को बेडमा गएर पल्टियो, म यताको बेडमा पल्टेको थिएँ । आधीघण्टा पछि ऊ पनि… । ऊ रहेन । मलाई पनि महसुस भयो कि ऊ रहेन । हल्लिन छोड्यो नि त । अर्को साइडमा पनि अर्को साथी पनि बित्यो ।

आशै थिएन, म पनि बाँच्छु होला भन्ने त्यतिबेला ।

१ घण्टापछि अट्याक भएन भने म पनि बाँच्छु होला भनेर भित्री महसुस भयो । अब चाहिँ म बाँच्नुपर्छ भन्ने फिलिङ आयो । त्यसपछि मैले तन्ना च्यात्दै पट्टी बाँधे, टिस्यु पेपरले घाउ सफा गर्नतिर लागेँ ।

अहिले पनि सर्जरी भएको छ खुट्टा सबै । त्यतिबेला बिहान १ बजेतिर पहिलो आक्रमण भएको थियो । दिउँसोको १२ बजिसक्या थियो । मैले ४/५ घण्टा बाँच्नको लागि संघर्ष गरेको थिएँ । मलाई भोक लाग्न थालेको थियो । त्यसपछि मैले कोठाको स्टकहरु खोज्दै खान थालेँ ।

बाहिर गोलीको आवाज आयो । झ्यालबाट हेर्दा उनीहरु इजरायली पुलिस रहेछन् । त्यसपछि मैल ढोका खोलेँ । हात माथि गरेँ । दुईटा पुलिस आएर काँध लगाएर मलाई लगे । एस्कर्टिङ गरेर हामीलाई फार्मको चोकमा लगियो । अर्को चोकमा जाँदा अर्को बंकरमा सिफ्ट गरिएका १० जना साथीमध्ये २ जनालाई मात्र देख्छु ।

ती साथीलाई सोधेको, ‘खै त अरु साथी ?’

‘त्यहाँ पनि गन अट्याक भयो । त्यहाँ त १० जना सुरक्षित थिए जस्तो लाग्या थियो । त्यहाँ पनि २ पटक गन अट्याक भयो यार, म त किचनको र्‍याकमा लुकेर बाँचें’भन्यो साथीले ।

अनि हस्पिटलमा लगे मलाई, हस्पिटलभरि युद्धबाट आएका मान्छे मात्रै थिए ।

सबै चेकअप गरेर ५ दिनपछि मलाई डिस्चार्ज गरियो । अक्टोबर १२ मा धेरै पहल गरेर चार्टर्ड प्लेनमा गयौं । २५० विद्यार्थीलाई त्यो दिन उद्धार गरे । सबैजना नेपालमा सुरक्षित अवतरण त भए तर, त्यतिबेला म सुरक्षित छैन भन्ने किसिमको महसुस भइरहेको थियो ।

म मात्रै हिँड्न नसक्ने, ह्विलचेयरमा आएँ । यहाँ आएर मलाई यत्तिकै छोडिदियो । १ महिनाजति म चोटमा थिएँ । रगतबाहेक मैले सपना देखिनँ । सुत्दा रगतको मात्रै सपना देख्थेँ । टिचिङमा गएर थेरापी पनि गरेँ । अहिले यसरी हाँसेर हजुरलाई भेट्न पाएको छु । एकदमै भाग्यमानी महसुस गरिरहेको छु ।

अहिले सबै साथीले भनिरहेका हुन्छन्–त जहाँ गएपनि विपिन जोशीलाई नर्बिसेस् । सरकारसँग गएर हुन्छ, जहाँ गएर हुन्छ उसलाई फर्काएर ल्याइदेऊ भन्छन् ।

अरु त बितेर गए । ऊ बित्या छ कि छैन, उसको घरमा ऊ एक्लो छोरो थियो । छोरा छ कि छैन भन्ने होला, उसको घरमा के भइरहेको होला ! उसको बुवाको दैनिक पोस्ट देखिरहेको हुन्छु । उहाँको ठाउँमा राखेर मैले आफूलाई हेर्न पनि सक्दिन, के भइराखेको होला । आफ्नो छोरा पनि छ कि छैन भनेर ।

अनि होस्ट रेमदास श्रेष्ठले विपिन जोशीको खोजीका लागि आफूहरुले पनि आवाज उठाउने बताए । ग्याङ लिडर लाउरेले आफूले पनि कन्सर्ट गर्न जाँदा बंकर देखेको अनुभव सुनाए ।

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?