७ कात्तिक, काभ्रे । गत असोज ११ र १२ गते आएको अविरल वर्षा पछिको बाढीपहिरोका कारण काभ्रेका १७९ वटा विद्यालयमा क्षति पुगेको छ ।
जिल्लामा रहेका १३ स्थानीय तहमध्ये १२ वटा स्थानीय तहका १७९ वटा विद्यालयमा क्षति पुगेको शिक्षा विकास तथा समन्वय इकाइ काभ्रेपलान्चोकले जानकारी दिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ काभ्रेका प्रमुख देवका ढकालले १३ पालिकामध्ये महाभारत बाहेक सबै १२ वटा स्थानीय तहका विद्यालयमा क्षति पुगेको जानकारी दिइन् ।
सोमबारसम्म जिल्लाको रोशी गाउँपालिकामा २९, चौरीदेउराली गाउँपालिकामा २८, बेथानचोक गाउँपालिकामा २६, धुलिखेल नगरपालिकामा १८, पनौती नगरपालिकामा १८, नमोबुद्ध नगरपालिकामा १४, पाँचखाल नगरपालिकामा १२, भुम्लु गाउँपालिकामा १०, मण्डनदेउपुर नगरपालिकामा ९, तेमाल गाउँपालिकामा ७, तथा खानीखोला गाउँपालिका र बनेपा नगरपालिकामा ४/४ विद्यालयमा बाढीपहिरोका कारण क्षति पुगेको छ ।
‘अझै पनि कतिपय विद्यालय छुटेको हुन सक्छ, आ–आफ्नो स्थानीय तहमा रहेका विद्यालयको तथ्याङ्क अद्यावधिक गर्न स्थानीय तहहरूलाई आग्रह गर्दछु’, उनले भनिन् ।
धेरै जसो विद्यालय पूर्ण रूपमा क्षति भएका छन् । केही विद्यालयमा छाना खस्ने, विद्यालयको घेरा पर्खाल, घेराबार, विद्यालय नजिक पहिरो आएको, केही विद्यालयको कक्षाकोठामा बाढी पसेको, खेलकुद मैदान क्षति, शौचालय र खानेपानीमा समेत क्षति पुगेको विवरण प्राप्त भएको शिक्षा इकाइ कार्यालयले जनाएको छ ।
बाढी र पहिरोका कारण काभ्रेका विभिन्न ठाउँमा २० जना भन्दा बढीले विद्यार्थीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा शिशु कक्षादेखि क्याम्पस तहसम्म अध्ययन गर्ने विद्यार्थीहरु छन् ।
विद्यालय तिहारपछि खुल्ने
जिल्लाका बाढी प्रभावित क्षेत्रका विद्यालयहरु तिहारपछि मात्र खुल्ने भएका छन् । जिल्लाका बनेपा लगायतका शहरी क्षेत्रमा पढाइ भइरहे पनि अन्य पालिकामा भने दशैंदेखि तिहारसम्म विद्यालय बिदा गरिएको छ ।
बाढी र पहिरो प्रभावित क्षेत्रमा विद्यालय खोल्ने बेलासम्ममा आंशिक क्षति भएका विद्यालयको मर्मत तथा पूर्ण क्षति भएका विद्यालयहरुमा अस्थायी सिकाइ केन्द्र निर्माण गर्नुपर्ने चुनौती छ ।
रोशी पालिकाकामा २९ वटा विद्यालय क्षति भएकामध्ये ६ वटा विद्यालयमा वैकल्पिक व्यवस्था नगरी पठनपाठन नै नहुने अवस्था रहेको रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।
उनका अनुसार रोशीका देविश्वरी प्रावि रोशी ८, विद्याविकास प्रावि रोशी ५, महाभारत प्रावि रोशी १०, अमरनाथ प्रावि रोशी ७, भुमेस्थान प्रावि रोशी ३, डुम्बर प्रावि रोशी १ को विद्यालय भवन पूर्ण रुपमा क्षति भएकोले अस्थायी सिकाइ केन्द्र नवनाई पठनपाठनमा समस्या हुने जानकारी दिए ।
त्यस्तै बेथानचोक गाउँपालिकामा ३० वटा विद्यालयमध्ये २३ वटामा क्षति पुगेको छ । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीका अनुसार बेथानचोकका कालिका मावि बेथान ४, ज्ञानज्योति प्रावि बेथान ३, गोरखनाथ प्रावि र वालहित प्रावि बेथान २ को भवन पूर्ण रुपमा क्षति भएको छ ।
अन्य विद्यालयमा सफाइ र सामान्य मर्मत गरेर पठनपाठन गराए पनि ४ वटा विद्यालयमा वैकल्पिक व्यवस्था नगरी पठनपाठन सम्भव नभएको अधिकारीको भनाइ छ ।
त्यस्तै पनौतीको पनौती १२ को इन्द्रादेवी आधारभूत, वडा नं १ मा रहेको फुलचोकी आधारभूत र भालचन्द्र मावि, वडा नं ११ को लड्केश्वर आधारभूत कमलादेवीमा पठनपाठन गर्न सम्भव नभएको जानकारी दिए ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रणराज न्यौपानेका अनुसार ती विद्यालयहरुमा अस्थायी सिकाइ केन्द्र बनाउने ठाउँ समेत नभएको कारण वैकल्पिक व्यवस्था नभई पठन पाठन गराउन नसकिने जानकारी दिए ।
शिक्षा विकास तथा समन्वय इकाइ काभ्रेका प्रमुख देवका ढकालले तिहारपछि पठनपाठन सुरु हुने समयसम्म क्षति भएका विद्यालयहरूमा नियमित पठनपाठन गराउने वातावरण बनाउन स्थानीय तहहरूसँग समन्वय गर्ने बताइन् ।
‘स्थानीय तहहरूले बाढीपहिरोबाट क्षति भएका विद्यालयहरूको तथ्याङ्क एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइईएमआइएस) मा अपलोड गर्दै गरेको र कुन विद्यालयमा कति अस्थायी सिकाइ केन्द्र निर्माण गर्नुपर्ने, अन्य के के पूर्वाधार निर्माण गर्नुपर्ने भन्ने विषयमा जानकारी आएपछि थप कार्य अगाडि बढ्छ’, उनले भनिन् ।
प्रतिक्रिया 4