दशैंले छोपिसकेको थियो । यो सुकिलो याम र फुर्सदिला दिनहरुलाई हामीले त्यसै उम्कन नदिने निर्णय गर्यौं । यसका लागि सर्वोत्तम विकल्प हुन्थ्यो भ्रमण । हामीले तिलिचोलाई लक्ष्य बनाएर यात्रा गर्ने निधो गर्यौं । यसका योजनाकार थिए किशोर हेका ।
उनकै अग्रसरतामा पञ्चरत्न ज्यापु, तुलसीराम अवाल, आशिष हेका जोडिए । अन्ततः हामीले दशैंको तेस्रो दिन काठमाडौं छाड्यौं ।
काठमाडौंबाट गाडीमा हामीले यात्रा सुरु गरेका थियौं । रातको आठतिर हामी लमजुङस्थित बेसीसहर पुग्यौं । त्यसदिनको हाम्रो बासस्थान थियो बेसीसहर । भोलि बिहान चाँडै उठ्नुपर्ने र अफरोड यात्रा तय गर्नुपर्ने भएकाले हामी खाना खाएर छिटो-छिटो न्यानो ओछ्यानमा घुस्रियौं ।
भोलि बिहान सामान्य किनमेलपछि हामी फेरि बाटो लाग्यौं । बेसीसहरसम्म पुग्दा बाटो राम्रो थियो र यात्रा रमाइलो थियो । तर त्यहाँबाट जति जति अगाडि बढ्यौं बाटोले हामीलाई अत्याउन थाल्यो ।
उकाली, ओराली, खोंच हुँदै हामी मर्स्याङ्दी नदीको तिरैतिर अगाडि बढ्दै थियौं । बाटोमा भेटियो, मनमोहक झरना । हामीले झरनामा भिज्दै र फोटो खिच्दै केही समय बितायौं ।
यात्राको सौन्दर्य के भने पाइलैपिच्छे नयाँ परिवेश र दृश्य साक्षात्कार गर्न पाइन्छ । तर यात्राको यथार्थ के भने आफूलाई जतिसुकै राम्रो ठाउँ लागेपनि त्यसलाई छाडेर अगाडि बढ्नुपर्छ । झरनालाई छाडेर हाम्रो यात्रा अगाडि बढ्यो । जंगलको माझमा एक व्यक्ति केरा बेच्न बसेका रहेछन् । हामीले भोक र थकान एकसाथ मेट्यौं, दुई दर्जन केराले ।
हामी जति जति माथि उक्लिंदै थियौं, उत्ति नै बाटोले हामीलाई ‘च्यालेन्ज’ गर्थ्यो । साँघुरो अनि भिरालो पनि । गाडीले थोरै सन्तुलन गुमायो भने सोझै खोलामा पुगिने डर । यस्तो बाटोमा गाडी कुदाउने चालकलाई भने मान्नैपर्छ ।
हाम्रो टोलीमा भने किशोर हेकाले गाडी चलाएका थिए । ३० वर्ष गाडी चलाएको उनको अनुभव यो खतरनाक बाटोमा काम लाग्यो । उनले कुशलतापूर्वक गाडी मनाङको खंसारसम्म पुर्याए ।
बिहान खाना नखाई हिंडेको । भोक असाध्यै लागेको थियो । जगत भन्ने ठाउँमा खानपानपछि फेरि हामी उक्लियौं । त्यहाँ सादा खानाको ५०० रुपैयाँ पर्ने रहेछ ।
मनाङको सदारमुकाम चामे पुग्दा झमक्क रात परिसकेको थियो । हामी सोध्दै–खोज्दै खांसार पुग्यौं । त्यहाँ पुग्दा रातको ९ बजिसकेको थियो । बेसीसहरबाट ७२ किलोमिटरको यात्रा तय गर्न हामीलाई आठ घण्टा लाग्यो । यात्राका क्रममा मोटरसाइकल, फोर ह्वील गाडी र अधिकांश विदेशी पर्याटक बाटोमा हिंड्दै गरेको भेटिए । दोस्रो दिनको यात्रा हामीले खांसारमै बिट मार्यौं ।
तेस्रो दिन खंसारदेखि तिलिचो आधार शिविरसम्मको थियो । त्यो यात्रा पैदल हिंड्नुपर्ने । त्यसैले अघिल्लो रात हामीले चाँडै खाना खाने तयारी गर्यौं । त्यहाँ सादा खाना ६०० रुपैयाँ, अम्लेटको २५० रुपैयाँ र गार्लिक सुपको ३०० रुपैयाँ पर्ने रहेछ ।
हामी बिहान चाँडै उठ्यौं र सूर्योदयको फोटो खिच्न साथीसँग नजिककैको पहाड उक्लियौं । बिहानको घामको किरणले धर्तीमा नटेक्दै साथी र म करिब १०० मिटरमाथि चढेर फोटो खिच्न बस्यौं । सूर्यको किरणले आसपासका हिमालमा चुम्बन गर्न लाग्दाको दृश्य अति मनमोहक देखिन्थ्यो । रातो तिलिचो हिमाल, पहेंलो जस्तो देखिने पहाड । त्यसैको पृष्ठभूमिमा बारीमा काम गर्दै गरेकी महिला, चौंरी गाई असाध्यै सुन्दर क्यानभासमा देखिए ।
दुई घण्टा जति हामी त्यही डाँडामा बसेर फोटो खिच्यौं । त्यसपछि नास्ता खाएर पैदल यात्रा सुरु गरियो । यतिबेला बिहानको १० बजिसकेको थियो । सुरुमा त हाम्रो फूर्ति बेग्लै थियो । फटाफट हिंड्यौं । तर एक घण्टापछि हाम्रो गति र चाल उस्तै रहेन । हाम्रा पाइला सुस्त भइसकेका थिए । श्रीखर्कमा गार्लिक सुप खाएर ज्यान तताएपछि फेरि हामी हिंड्यौं ।
बाटाभरि हामीजस्तै पैदल यात्री भेटिन्थे, स्वदेशी, विदेशी । सबैको यात्रा उस्तै थियो, गन्तव्य उही थियो । हामी जति जति गन्तव्यको दूरी घटाउँदै थियौं, उत्ति नै यात्रा कठिन हुँदै थियो । बाटो कस्तो भने माथितिर भीर, तल पनि भीर । भीरैभिरको माझमा सानो बाटो । न आरामले सुस्ताउन मिल्ने, न बेपर्वाह हिंड्न नै सकिने ।
एकले अर्कालाई ढाडस दिंदै करिब ७ घण्टाको बाटो छिचोलेपछि हामी तिलिचो बेस क्याम पुग्यौं । यतिबेला साँझको ६ बजिसकेको थियो । त्यहाँ हामीले होटल बुक गरेका थियौं, त्यसैले गाँसबासका लागि त्यति कठिन भएन । तर कतिपयले कोठा बुक गरेका हुँदैनन् । उनीहरुलाई त्यहाँ बसोबासको समस्या हुने रहेछ । यद्यपि होटलवालाले डाइनिङ हलमा सुत्ने व्यवस्था गरिदिने रहेछ ।
त्यहाँ खानेकुरा चाहिं अलि महंगो । सादा खानाको ८०० रुपैयाँ, मासुभातको ११ सय रुपैयाँ । खानाको के कुरा गर्नु ? एक थर्मस तातो पानीको ४०० रुपैयाँ लाग्ने ।
भोलि बिहान चाँडै हिंड्नुपर्ने भएकाले हामी करिब ७ बजे खाना खाएर सुत्ने तरखरमा लाग्यौं । यात्राको यो चौथो दिन थियो र अब हामी गन्तव्य नजिक पुगिसकेका थियौं । बिहान तीन नबज्दै हामी तिलिचो ताल जानका लागि तयार भयौं । बिहान चाँडै भएकाले केही खानेकुरा खाइएन । बरु बीच बाटोमा चाहिन्छ भनेर चकलेट, बिस्कुट बोकियो ।
यात्रा निकै कठिन हुने भएकाले होला, ठाउँठाउँमा घोडाको सुविधा पनि थियो । करिब चार घण्टाको निरन्तर यात्रापछि २२ घुम्ती भन्ने ठाउँमा पुगियो । त्यो यस्तो ठाउँ रहेछ, जहाँ पुग्दा ज्यान थाकेर लखतरान भइयो । त्यहाँबाट घोडा चढ्न प्रतिव्यक्ति २५ सय रुपैयाँ लाग्नेरहेछ । हामीसँगै गएका दुई साथीले घोडाको सहारा लिए ।
करिब ७ घण्टाको हिंडाइपछि हामी पुग्यौं तिलिचो ताल ।
विश्वकै अग्लो स्थानमा रहेको ताल हो यो । हेर्दा मन नअघाउने । जति हेरेपनि हेरिरहूँ लाग्ने । आकाशको प्रतिविम्बलाई आफूभित्र समेटेर बसेको यो ताल आफैंमा ध्यानमग्न लाग्यो । शान्त र स्निग्ध ।
तर यात्राको यथार्थ भनेको जतिसुकै सुन्दर वा मोहक लागेपनि आखिर त्यो ठाउँ छाड्नैपर्छ । तिलिचोमा हावा चल्न थालेपछि भने बस्न अलि असहज हुने रहेछ । एक घण्टा पनि राम्ररी सुस्ताउन नपाई हामी त्यहाँबाट फेरि हतार-हतार फर्कियौं, पहिलेकै पदचाप पछ्याउँदै ।
अन्य तस्वीरहरु
प्रतिक्रिया 4