+
+
Shares
समाजका कुरा :

ल बताउनोस् गाउँका कुरा

गाउँहरू रित्तिएको, विद्यार्थी अभावमा विद्यालयहरू बन्द भएको र कैयौं घरमा वृद्धवृद्धा मात्रै भएको धेरैले बताउँदै आएका छन् । यसपटक गाउँ जाँदा मलाई पनि एक किसिमको सन्नाटा जस्तो, एउटा खल्लोपन जस्तो, के–के नपुगे जस्तो लागिरह्यो ।

नारायणी देवकोटा नारायणी देवकोटा
२०८१ कात्तिक १० गते १९:५०

दशैंका विविध आयाममध्ये शहर वा विदेश बसेका मानिसले हरेक वर्ष गर्ने गाउँको परिवर्तनको मूल्याङ्कन पनि एक हो । साथै लामो बिदाका कारण र दशैंको टीकाका कारण एकै मानिसले दुई वा बढी गाउँहरू बीचको विविध अनुभव र तुलना एकैसाथ गर्ने अवसर पनि हो ।

हुन त नेपालका कैयौं गाउँका धेरै घर खाली खाली रहन थालेका छन् । कैयौं गाउँका विद्यालयहरू विद्यार्थीको अभावमा बन्द भएका छन् भने मानिस भएका घरमध्ये पनि धेरै घरमा वृद्धवृद्धा मात्रै छन् भनेर धेरै जनाले धेरै ठाउँमा लेख्नुभएको तथा सार्वजनिक मञ्चमा बोल्नुभएको छ । यसपटक गाउँ जाँदा मलाई पनि एक किसिमको सन्नाटा जस्तो, एउटा खल्लोपन जस्तो, के के नपुगे जस्तो लागिरह्यो । गाउँमा रहँदा र गाउँबाट शहर फर्केपछि क्याम्पस तहमा शिक्षण गरिरहेका साथीहरूले सुनाएका कुराकानीमा आधारित भएर तयार गरिएको हो ।

वृद्धवृद्धा काममा, युवाहरू मोबाइलमा

गाउँमा निरन्तर बसिरहेका मानिसहरूले केही न केही खेतीपाती, बस्तुभाउको पालन गरिरहेका छन् । दशैं चाडबाडको समय मात्रै होइन खेती–बाली थन्क्याउने समय पनि हो । घरमा पालिरहेका बस्तुभाउलाई घाँस काट्ने काम त नेपालीका घरमा भात पकाउनु जस्तै नै हो ।

चाडबाडको बेलामा अरू बेलाको भन्दा काम धेरै हुन्छ, विशेषगरी घरभित्रको काम र त्यो घरभित्रको काममा महिलाहरू धेरै लाग्नुपर्ने पक्षको बारेमा पहिल्यै चर्चा गरिसकिएको छ । दशैंमा देखिए–भोगिएको अर्को एउटा विरक्तलाग्दो दृश्य हो– घरमा भएका युवाहरू (महिला पुरुष दुवै) मोबाइल, टिभीमा वा गफमा भुलिरहेको अनि वृद्ध भएका बा–आमा गोठ वा खेतबारीमा काम गरिरहेको ।

बाबियोको डोरी नबाटिनुको पछाडि बाबियो बाट्न जान्ने युवा पुस्ता कि विदेशमा छ, कि शहरबाट दुई–चार दिनको लागि मात्रै गाउँमा आउँछ । भएका पीङमा अब नाइलनका मोटा–मोटा डोरी प्रयोग गर्न थालिएको छ ।

छोराछोरीलाई आफूले जस्तो मेलापात, गोठ–गोबर, हिलो, धुलोमैलो खेलाउन नपरोस् भनेर हुर्काएका बा–आमाहरू दशैंमा छोराछोरी र उनीहरूको परिवार आए भनेर खुशी त देखिन्थे नै । साथसाथै, आफैंले गरिरहेको परिश्रमको क्षेत्रमा अर्को पुस्तालाई आउन रोकिरहेका पनि थिए । म पनि काम गर्छु भनेर अगाडि सर्ने अर्को पुस्तालाई, ‘तिमीहरू दुई दिन आएर गरिदिंदैमा हुने केही होइन’ भनेर पन्छाउने गरेको पाइन्छ । जसले गर्दा हातमा मोबाइल भएका मानिसहरू समय कटाउन सामाजिक सञ्जाल, गेममा भुलिरहेका भेटिन्थे ।

गाउँमा पीङ छैनन्, भएका पीङमा मानिस छैनन्

शहरमा बनाएका दशैंका विज्ञापन, पोस्टकार्डमा देखिने लिंगेपीङ पछिल्ला दशैंमा विस्तारै हराउँदै गएका छन् । टीकाको दिन काठमाडौंमा टीका लगाएर पूर्वी तराई र पहाडका जिल्लाहरूमा एकफन्को मारेर टीका थाप्दै हिंडेका मेरा एक जना साथी भन्छन्, ‘एक त गाउँमा पहिला जस्ता पीङ नै छैनन्, भएका पीङमा पनि पहिला जस्तो दशैंको समयमा मानिस झुम्मिएका, रमाइलो गरिरहेका थिएनन् । सातमध्ये एउटा गाउँमा मात्रै पीङ थिए र ती कुनै पीङ पनि बाबियो बाटेर बनाइएका थिएनन् ।’

लिङ्गे पीङ बनाउने क्रममा गाउँलेहरू मिलेर बाबियोको लट्ठा बाट्ने एउटा प्रमुख प्रक्रिया हो । यसले गाउँलेहरूलाई एकताको सूत्रमा मात्रै बाँध्ने नभई परम्परागत सीपको जगेर्ना, स्थानीय सामग्रीको प्रयोग र मानिसहरूको बीचमा सामूहिक भावनाको निर्माण गर्दथ्यो । मेरा एक साथीका अनुसार बाबियोका लट्ठा बाबियो नभएका कारण नबनाइएको भने होइन । उनी भन्छन्, ‘बाबियो नभएर होइन, बारीका डिलमा बाबियो झुलिरहेको छ, घाँस काट्ने क्रम कम भएका कारण पहिलाभन्दा बढी बाबियो गाउँमा छ ।’

भएको बाबियोको डोरी नबाटिनुको पछाडि बाबियो बाट्न जान्ने युवा पुस्ता कि विदेशमा छ, कि शहरबाट दुई चार दिनको लागि मात्रै गाउँमा आउँछ । भएका पीङमा अब नाइलनका मोटा–मोटा डोरी प्रयोग गर्न थालिएको छ । तिनै पीङमा पनि ‘दशैंको दिनमा एकै मिनेट भए पनि भुईं छोड्न पर्छ अरे’ भन्दै ठेलमठेल गरिरहने मानिसहरूको भीड छैन । पीङमा झुम्मिने, चिच्याउने, कराउने मानिसहरूको भीड कता गयो कता !

पहाडका गाउँमा अब दूध पाइँदैन

पहाडका गाउँमा लामो समयसम्म टिक्ने र विशेषगरी दशैंमा खल्पी बनाइने मादले काँक्राहरू हराएका छन् । सट्टामा छन् बजारमा बाह्रै महिना पाइने खिरा काँक्रो जसको ताजा अचार बनाउन त सकिन्छ तर बट्टामा राखेर अमिल्याउन मिल्दैन

‘चिया पिएर त जानुहोस्’ अर्थात् जसको घरमा गए पनि पहिलो पटक सोधिने, आग्रह गरी–गरी खुवाइने चिज चिया । चिया अर्थात्, दूध, चिनी, चियापत्ती र मसला सहितको चिया । त्यसमाथि दशैं बालबालिका सहित मानिसहरूको जमघट र बच्चालाई खुवाउने गाई वा भैंसीको दूध । अहिले पहाडका अधिकांश घरमा कालो चिया पाक्छ, बच्चालाई खुवाउन दुध पाइँदैन ।

गाउँमा ‘दूध हालेको चिया खान मन लाग्दैन’ भन्ने प्रश्न सोध्ने हो भने थप आधा घण्टा सुस्केरा सहितका फेहरिस्त सुन्न तयार भएर मात्रै सोध्नुपर्ने हुन्छ । ६० वर्षभन्दा माथि उमेर पुगेका गाउँका धेरै मानिसलाई डाक्टरले ‘दूध खानुपर्छ है’ भन्दै दिने सल्लाह र आफ्नो मनले एक डाडु वा एक गिलास ‘ताजा’ दूध माग्ने कुरा मिलिरहन्छ । त्यसमाथि मिल्छ, छोराछोरी, बुहारी वा ज्वाईंले ‘एक लिटर दूध किनेर खानु है, पैसा म पठाउँला’ भन्ने अनुरोध पनि । तर सबैभन्दा ठूलो समस्या पहाडका धेरै गाउँमा गाई वा भैंसी पाल्ने मानिसको (श्रम शक्तिको) कमिका कारण गाई–भैंसी पाल्ने मानिस निकै कम हुँदै गएको छ, अलि–अलि पालिरहेका मानिसहरूले आफ्नो परिवारलाई मात्रै पुग्ने गरी पालिरहेका कारण पहाडी गाउँघरमा ताजा दूध पाउन गाह्रो हुन थालेको छ ।

काँक्रो र कुभिन्डोको सट्टा खिरा र काउली

पछिल्लो पटक नेपालले देखिने गरी विकास गरेको भनेको सडक बाटोको सञ्जाल हो; चाहे त्यो पिच होस् या डरलाग्दो गरी डोजरले खनेको धुले बाटो नै किन नहोस् । साथसाथै सामाजिक रूपमा जस्तातस्ता पक्की घर ।

सडक सञ्जाल र कंक्रिटका घरको विकासका राम्रा नराम्रा विविध पाटाहरू छन्, तीमध्ये एउटा ठ्याक्कै दशैंमा देखिने पाटो हो खल्पी हाल्ने काँक्रो र कुभिन्डोको संकट । पहाडका गाउँमा लामो समयसम्म टिक्ने र विशेषगरी दशैंमा खल्पी बनाइने मादले काँक्राहरू हराएका छन् । सट्टामा छन् बजारमा बाह्रै महिना पाइने खिरा काँक्रो जसको ताजा अचार बनाउन त सकिन्छ तर बट्टामा राखेर अमिल्याउन मिल्दैन । घरमा नभए पनि स्थानीय बजारमा पनि त्यस्ता काँक्रा पाउन कम वा निकै गाह्रो हुन थालेको छ ।
पहाडका गाउँमा महिनौं राख्न मिल्ने मादले काँक्रा मात्रै होइन ठूला ठूला फर्सी पनि हराउँदै गइरहेका छन् । त्यसैगरी तराईका गाउँहरूमा खल्पी बनाउन प्रयोग गरिने कुभिन्डो

पनि विस्तारै लोप हुने क्रममा छन् । यी बाहेक गाउँमा धेरै स्थानीय बीउबिजन हराउँदै गएका छन् । त्यसको ठाउँमा तराई वा पहाडमा एकै प्रकारका फलफूल, तरकारी र अन्न पाइन्छन् । मानिसको बजारसम्म पहुँच त बढिरहेको छ, तर बदलामा आफ्ना पुराना खाद्यपदार्थ हराउँदै गइरहेको छ ।

तराईमा धान काट्न भारतीय मजदुर

असोज र कात्तिक दशैं–तिहारको रमझमका साथसाथै खेतीपाती थन्क्याउने महिना पनि हुन् । नेपालको तराईलाई अन्नको भण्डार भनिन्छ । अहिले तराईका धेरै जिल्लामा मानिस र जनावर (गोरु, राँगा) को श्रमको सट्टा प्रविधिको प्रयोग गरिन्छ । र, धेरै ठाउँमा अहिले धान रोप्न, गोड्न र काट्न भने मानवीय श्रमको प्रयोग गरिन्छ । उक्त श्रमका लागि पनि नेपालका तराईका कतिपय जिल्लामा स्थानीय मानिस भन्दा बढी भारतीय श्रमिक काम गर्न आउने गरेका छन् । श्रमिकहरूको आगमन हरेक वर्ष बढ्दो मात्रामा छ ।

अर्थात् तराईका जिल्लाका मानिसहरूले धान खेती त गर्छन् तर श्रमिकका लागि पारिकै भर छ । दशंैमा घरभरि भएका परिवारका सदस्यहरू मिलेर पनि गर्न सकिने काम गरौं नभनेर टाढाबाट आउने श्रमिक कुर्नका लागि फेरि त्यही ‘आफूले जस्तो हिलो, धुलो, मैलो पछिल्लो पिंढीले गर्न नपरोस्’ भन्ने मानसिकताले काम गरिरहेको पाइन्छ । र, एउटा आफैंलाई प्रश्न के पढे–लेखेर शहर वा विदेशमा केही वर्ष बसेपछि खेतबारी, गोठ, बस्तुभाउबाट टाढा नै हुनुपर्ने हो त ?

अन्त्यमा एउटा सकारात्मक पक्ष

गाउँमा पछिल्लो समय कुरा गर्दा मानिसहरूका बीचमा हुने जातीय विभेद विरुद्ध, महिला सशक्तीकरण, यौनिकताका सवालमा, स्वास्थ्यका विषयमा सचेतना बढेको पाइयो । केही वर्ष अगाडि परम्परामा आधारित रुढीवादी विचारहरू व्यक्त गर्ने मानिसहरूले नै पनि पछिल्ला समयमा फरक विचार व्यक्त गर्न थालेको पाइन्छ ।

यहाँ गरिएका कुरा कुनै गम्भीर समाज अध्ययनको उपज होइनन्; सर्सर्ती गरिएको अवलोकनमा देखिएका विषय मात्र हुन् । तर, यी कुराहरू गम्भीर सामाजिक अध्ययनका विषय भने हुनसक्छन् ।

लेखक
नारायणी देवकोटा

देवकोटा समाजशास्त्री हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?