हरेक वर्ष फेब्रुअरीको अन्त्यतिर अथवा मार्चको पहिलो हप्तामा ओस्कार अवार्डको नतिजा घोषण हुने गर्दछ। अन्य कार्यक्रमहरू (सन्डान्स फिल्म फेस्टिभल र बाफ्टा अवार्डस्) सँग नजुधोस् भन्ने उद्देश्यले एकेडेमीले यस वर्षको नतिजा सार्वजनिक गर्न मार्च २ को मिति तय गरेका छन्।
सधैं झैं मेरा नजरहरू ‘विदेशी भाषाको उत्कृष्ट फिल्म’ विधामा भिडिरहेका फिल्महरूमा हुनेछन्। यस विधाको भिडन्त सधैं रोमाञ्चक हुने गर्दछ, कम्तीमा मलाई लाग्ने गर्छ। यो वर्ष नेपालबाट मीन भामको ‘शाम्बाला’ पठाइएको छ, उत्साहित हुनुपर्ने कारण यो पनि हो। ‘शाम्बाला’ले आफ्नो यात्रा कहाँसम्म तय गर्छ, त्यो विस्तारै थाहा होला।
यो वर्ष मलाई विशेष लाग्नुको अर्को कारण हो इरानी फिल्म, ‘द सिड अफ द सेक्रेड फिग’, जसलाई यसपटक मुख्य दाबेदारीको रूपमा हेरिएको छ। विषयवस्तु मात्रै नभई निर्देशक मोहम्मद रसोउल्फका कारणले पनि अहिले चर्चामा रहेको छ, ‘द सिड अफ द सेक्रेड फिग’। फिल्म केही समयअघि मात्रै कान्स फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको प्रतिस्पर्धामा थियो, जहाँ जुरीले फिल्मलाई स्पेशल अवार्डबाट सम्मानित गरेका थिए।
जब फिल्म कान्समा मुख्य प्रतिस्पर्धाका लागि छानिएको थियो, इरानी अधिकारीहरूले फिल्मका कलाकार तथा निर्देशकलाई सोधपुछका लागि बोलाएका थिए। उनीहरूलाई देश छाड्न रोक लगाइयो। त्यति मात्रै नभई फिल्मलाई अन्तर्राष्ट्रिय प्रतियोगिताबाट फिर्ता लिन समेत दबाब दिए, तर मोहम्मद रसोउल्फले मानेनन्।
फिल्म कान्स महोत्सवमा प्रिमियर हुनुअघि निर्देशक रसोउल्फलाई राष्ट्रिय सुरक्षा विरुद्ध षड्यन्त्र गरेको आरोपमा दोषी ठहर गर्दै आठ वर्षको जेल सजाय (पाँच वर्ष तुरुन्तै लागू हुने र थप तीन वर्ष निलम्बन हुने गरी) साथै कोर्रा हान्ने, जरिवाना र सम्पत्ति जफत गर्ने सजाय सुनाइयो। त्यसपश्चात् रसोउल्फले आफूलाई बचाउन फिल्मका अन्य केही कलाकारहरू सहित इरानबाट भाग्ने योजना बनाए।

उनी एउटा गाइडको सहयोगमा इरानी सिमानासम्म २८ दिनको लामो र पीडादायी पैदल यात्रा गरे। सिमाना पार गर्न उनी त्यही क्षेत्रमा रहेको गाउँमा उपयुक्त समयको प्रतीक्षामा लुकेर बसिरहे। त्यहाँबाट उनलाई गैर-इरानी बसोबास गर्ने गाउँको कुनै सुरक्षित घरमा सारियो, जहाँ उनले लामो समय लुक्नुपर्यो। त्यसपछि उनलाई त्यहाँबाट जर्मन दूतावास भएको शहरमा सारियो। उनको राहदानी इरानी अधिकारीहरूले जफत गरेको कारण उनीसँग कुनै प्रकारको कागजात थिएनन्। उनी पहिले पनि जर्मनीमा बसेको हुँदा, औंलाछापको माध्यमबाट उनलाई जर्मन अधिकारीहरूले सजिलैसँग पहिचान गर्न सके। त्यसपछि उनलाई अस्थायी यात्राको निमित्त कागजात दिलाइयो, जसको प्रयोग गरेर उनी जर्मनी हुँदै कान्स फिल्म फेस्टिभलमा पुगे, आफ्नो फिल्मको निमित्त विद्रोहको बिम्ब बनेर।
सन् २०१० मा उनलाई अनुमति विना फिल्म खिचेको आरोप लगाएर छ वर्षका लागि जेल सजाय सुनाइएको थियो जुन पछि घटाएर एक वर्षमा ल्याइयो। सन् २०१७ मा उनको राहदानी जफत गरियो जसले गर्दा उनी देशबाट बाहिर जान प्रतिबन्धित बने। सन् २०१९ मा उनलाई राष्ट्रिय सुरक्षा विरुद्ध षड्यन्त्र र व्यवस्था विरुद्ध प्रचारप्रसार गरेको आरोपमा एक वर्षको जेल सजाय, विदेश यात्रामा रोक एवम् कुनै प्रकारका सामाजिक तथा राजनीतिक गतिविधिमा सहभागी हुन प्रतिबन्ध लगाइयो। सन् २०२० मा उनलाई पुन: एक वर्षको जेल सजाय सुनाइयो, दुई वर्षसम्म फिल्म बनाउन प्रतिबन्ध लगाइयो। सन् २०२२ मा सरकारले जनतामाथि गरेको दमनको आलोचना गरेपछि उनलाई पुन: गिरफ्तार गरियो। पछि सन् २०२३ फेब्रुअरीमा स्वास्थ्य कारणले उनलाई अस्थायी रूपमा जेलबाट रिहा गरियो।
यसरी उनी आफ्ना फिल्म तथा अभिव्यक्तिका कारण इरानी सरकारसँग बेलाबेला कानुनी संघर्षमा होमिरहन्छन्। शक्ति तथा शासन प्रणाली विरुद्ध प्रोपोगान्डाका रूपमा फिल्म र डकुमेन्ट्री बनाएको आरोपमा उनी वर्षौंदेखि गिरफ्तारी, कैद, यात्रा प्रतिबन्ध तथा फिल्म निर्माण गतिविधिमा प्रतिबन्धको सामना गर्दै आएका छन्। उनले सरकारको कदम विरुद्ध निरन्तर रूपमा प्रतिरोध पनि गर्दै आइरहेका छन् फिल्म बनाएर। ‘द सिड अफ द सेक्रेड फिग’ उनको पछिल्लो उदाहरण हो जुन उनको निर्देशनमा बनेको दशौं फिल्म हो।
फिल्मको टाइटलले प्रतीकात्मक रूपमा एक प्रकारको रूखलाई जनाउँदछ जसको लहराले अर्को रूखलाई विस्तारै आफ्नो बाहुपासमा बेर्दै लैजान्छ र अन्ततः त्यसलाई मार्दछ। यस किसिमको छविलाई निर्देशकले इरानको धार्मिक शासनको प्रतीकका रूपमा देखाउन खोजेका छन्। उनले ‘द सिड अफ द सेक्रेड फिग’ मार्फत अधिनायकवाद र आफ्नो मातृभूमिको दमनकारी राजनीतिक वातावरणको निरन्तर रूपमा आलोचना तथा विरोध गरेका छन्, उनका अघिल्ला फिल्महरूमा जस्तै।
यस पोलिटिकल थ्रिलरलाई उनले आफैंले लेखेका हुन्। उनलाई राजनीतिक निर्देशक भन्दा फरक पर्दैन। सन् २०२० मा ‘देअर इज नो इभिल’बाट गोल्डेन वेयर जितेका उनले देशको दमनकारी शासन र धार्मिक तानाशाहीलाई प्रत्यक्ष रूपमा सामना गर्न कुनै प्रकारको संकोच मानेका छैनन्। उनी कत्ति पनि डराउँदैनन्, आफ्ना फिल्महरूमा देशको सर्वांग रूप देखाउन। त्यसैले पनि उनी सन् २०१० देखि नै इरानी अधिकारीहरूको आँखामा काँडा भएर बसेका छन्।
तीन घण्टा लामो डार्क थ्रिलर ‘द सिड अफ द सेक्रेड फिग’ इरानको कठोर कानूनी प्रणाली र त्यसले मानव मनोविज्ञानमा पारेको प्रभावबारे केन्द्रित रहेको छ। निर्देशक आफैं पनि यस विषयसँग नजिकबाट परिचित छन् तर उनले फिल्म आफूमाथि नभई देशको शक्तिको चेपुवामा एक दशकभन्दा बढी समयदेखि च्यापिएर कष्टकर जीवन बाँचिरहेका अन्य व्यक्तिहरूमाथि केन्द्रित गरेका छन्।

सन् २०२२ सेप्टेम्बर १३, इरानको तेहरानमा बाइस वर्षीय महसा अमिनीलाई आफ्नो हिजाब (टाउकोमा लगाउने एक विशेष बस्त्र) सही ढङ्गले नलगाएको भन्दै गस्तीमा रहेका केही प्रहरी अधिकारीहरूले निर्घातसँग कुटपिट गरेका थिए। सोही दिन उनको मृत्यु भएको थियो हिरासतमा जसलाई पछ्याउँदै देशभरि विरोधको लहर फैलिएको थियो। उक्त विरोध प्रदर्शनले इरानको समकालीन राजनीतिक र सामाजिक रूपलाई फरक आकार दिलाएको थियो। सुरुमा त्यो विरोध अमिनीको न्यायको लागि मात्र थियो। विस्तारै त्यसले विकराल रूप लिंदै गयो। विरोधमा अधिकांश महिला प्रदर्शनकारीहरू थिए, उनीहरू महिला तथा मानवअधिकारका निमित्त सडकमा उत्रिएका थिए। त्योसँगै विरोधले इस्लामिक गणराज्यको अन्त्यको माग पनि गर्न थाल्यो।
विरोधको प्रतिरोधमा प्रदर्शनकारीहरूमाथि इरानी सरकारले क्रूरतापूर्वक प्रतिक्रिया जनाउन थाल्यो, टियर ग्याँस र गोली बर्साउँदै। सेप्टेम्बर २०२३ सम्ममा विरोधको क्रममा लगभग ६०० जनाले मृत्युवरण गरे जसमा धेरै संख्यामा नाबालिगहरू थिए। १९ हजारभन्दा बढीलाई गिरफ्तार गरियो। संयुक्त राष्ट्रसंघले इरानी सरकारमाथि मानवता विरुद्ध अपराध गरेको आरोप लगाए तापनि इरानी सरकारले उक्त विरोधलाई विदेशी प्रभावले सिर्जना गरेको दंगा भनेर खारेज गरेका थिए। उक्त घटना र त्यसले निम्त्याएको अवस्थालाई इरानको पछिल्लो राजनीतिक इतिहासमा एउटा महत्वपूर्ण क्षणको रूपमा लिइन्छ जसले मानवअधिकार, शासन र महिलाका अधिकारहरूबारे इरानमा मात्रै नभएर अन्य अन्तर्राष्ट्रिय मैदानमा समेत प्रभावित पारेको छ।
सोही घटनामा आधारित छ ‘द सिड अफ द सेक्रेड फिग’। अधिकांश समय तेहरानको एउटा अपार्टमेन्टमा खिचिएको फिल्मले एउटा चार सदस्यीय परिवारको कथालाई प्रस्तुत गर्दछ जसमा इमानदार ‘इमान’ भर्खरै अनुसन्धान न्यायाधीशको रूपमा नियुक्त भएको छ, तेहरानको क्रान्तिकारी अदालतको। सरकारबाट उनलाई राम्रो पारिश्रमिक, अपार्टमेन्ट र इरानको न्यायिक श्रेणीमा राम्रो पदको आश्वासन दिइन्छ। उनकी पत्नी नज्मेह र उनका दुई छोरीहरू, रेजवान र सना सबै खुशी छन्। त्यही समयमा देशभर विरोध चर्किन थाल्छ, विधार्थी तथा महिला प्रदर्शनकारीहरूद्वारा जसको प्रतिरोधमा उनीहरूमाथि सरकारले आफ्नो कुरुप र क्रूर अनुहार देखाउन थाल्छ।
विस्तारै देश भयावह अवस्थामा पुग्छ। इमानले थाहा पाउँछ ऊ अनुसन्धान न्यायाधीश आफ्नो क्षमता र योग्यताले नभई राष्ट्रव्यापी रूपमा भइरहेको राजनीतिक प्रदर्शन गर्ने विरोधीहरू विरूद्ध विना प्रमाण फैसला गर्न भएको हो। यसरी ऊ एक प्रकारले सरकारको कठपुतली हुन पुग्छ। ऊ आफूभन्दा सिनियरहरूको आदेशमा मृत्युदण्डका फैसलाहरू गर्न पनि अभिशप्त हुन्छ। त्यही कारणहरूले उसलाई आफ्नो र परिवारको सुरक्षाको निमित्त बन्दुक दिइन्छ। आफ्नो पेशा र पहिचानलाई गुमनाम राख्न दबाब दिइन्छ। आफ्ना छोरीहरूलाई सामाजिक सञ्जालबाट टाढा राख्न लगाइन्छ।
विस्तारै छोरीहरू रेजवान र सनालाई पनि बुबाको कामबारे थाहा हुन्छ। उनीहरू सरकारदेखि रूष्ट र बुबादेखि असन्तुष्ट हुन्छन्। यसरी एउटै परिवार दुई भागमा विभाजित हुन पुग्छ, बीचमा तटस्थ भएर फँस्छिन् उनीहरूकी आमा, नज्मेह। पछि उनी पनि विस्तारै आफ्नै पतितिर ढल्किन पुग्छिन्। आफ्ना छोरीहरूलाई क्रान्तिकारी साथीहरूबाट टाढा रहन सल्लाह दिन्छिन्। यसरी अभिभावक र छोरीहरूबीचको सम्बन्ध क्रमशः बिग्रँदै जान्छ। आफ्नै सन्तानहरूबाट असन्तोष र विरोधको एक चरण नाघिसकेपछि घरबाट इमानको बन्दुक हराउँछ जसले फिल्म र कथालाई नयाँ मोड दिन्छ। इमान आफ्नै परिवारमा आफूलाई सुरक्षित महसुस गर्न छाड्छ।

मोहम्मद रसोउल्फले फिल्मको छायांकन लुक्दै गोप्य रूपमा गरेका थिए, लगभग ७० दिनसम्म। फिल्म बनाउँदा उनलाई निकै नै गाह्रो भएको थियो। उनी केही दिन बाहिर निस्किएर छायांकन गर्थे र तुरुन्तै ब्रेक लिइहाल्थे। उनले फिल्म छायांकनकै क्रममा आफ्नो जेल सजाय थपिएको जानकारी पनि पाएका थिए। उनले जति कष्टले फिल्म बनाएका थिए, फिल्म हेर्दा पनि त्यतिकै कष्ट हुन्छ। उनको हिम्मत र बहादुरीलाई सलाम।
निर्देशकको कथा आफैंमा एउटा फिल्म जस्तो छ, तर ‘द सिड अफ द सेक्रेड फिग’ले इरानमा व्याप्त पुरुषप्रधानता साथै धार्मिक शासनलाई पनि देखाएको छ। परिवारको आन्तरिक द्वन्द्वसँगै देशको अवस्था पनि समानान्तर रूपमा अघि बढ्दै जान्छन्, फिल्ममा। रसुलोफले राजनीतिक तत्वलाई केवल कथानकको उपकरणका रूपमा मात्र प्रयोग गरेका छैनन्, बरु उनले हामीलाई राजनीतिक अशान्ति कस्तो देखिन्छ भनेर नजिकबाट देखाएका छन्। लहरा मात्रै देखाएका छैनन् उनले लहराको जरा पनि चिनाएका छन्।
जब इमानको पहिचान बाहिर सार्वजनिक हुन्छ, ऊ आफ्नो परिवारलाई लिएर भाग्छ जुन परिवारप्रति उसको शंकाको उचाइ बढ्दै गइरहेको हुन्छ। त्यसपछि के हुन्छ ? फिल्मको अन्त्यले पक्कै सबैलाई तरङ्गित पार्नेछ। ‘द सिड अफ द सेक्रेड फिग’ले उत्पीडनको कथा मात्रै नभई आशा र प्रतिरोधको कथा पनि भन्छ। स्वतन्त्रताको नयाँ भाषा प्रदान गर्दछ।
सन् २०११ मा, कान्समा फिल्म ‘गुडबाइ’बाट उत्कृष्ट निर्देशकको अवार्ड पाएका रसोउल्फले महसा अमिनीको समयमा भएको प्रदर्शन तथा सरकारले देखाएको हिंसात्मक रूपका वास्तविक फुटेजहरू फिल्ममा पनि उनेका छन्, जस्ताको त्यस्तै। महसा अमिनीकै केही फुटेजहरू पनि फिल्ममा समावेश छन्। ‘द सिड अफ द सेक्रेड फिग’ एउटा यस्तो शक्तिशाली दस्तक हो अहिलेको राजनीतिक अवस्थाको, जसको गुन्जन विश्वभर सुनिनुपर्छ। रसोउल्फले फिल्म मार्फत इरानी समाजभित्र रहेका दायराहरूलाई प्रतिनिधित्व गर्ने एउटा परिवारभित्रका दरारहरूलाई सूक्ष्म रूपले देखाएका छन्।
इरानको निरंकुशताबाट जर्मनीमा शरण लिन पुगेका रसोउल्फको ड्राक्र थ्रिलर ‘द सिड अफ द सेक्रेड फिग’ २०२५ को ओस्करमा जर्मनीको प्रतिनिधित्व गर्दै भिड्नेछ, अन्य फिल्महरूसँग। जर्मनको फिल्म ज्यूरीले ‘द सिड अफ द सेक्रेड फिग’लाई इरानको धर्मतन्त्रलाई हिंसा र भयमा कोरिएको एउटा भयावह मानसिक चित्रको संज्ञा दिएका छन्।
जर्मनीले ओस्करको सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा अहिलेसम्म अविस्मरणीय इतिहास बनाएको छ। यही वर्षको मार्चमा आयोजित ओस्कार समारोहमा इल्कर काटाकको ‘द टिचर्स लाउन्ज’ नोमिनेसनमा परेको थियो। त्यसअघि एडवार्ड बर्गरको ‘अल क्वाइट अन द वेस्टर्न फ्रन्ट’ले ओस्कार हात पारिसकेको छ। फ्लोरियन हेनकेल भोन डोनर्स मार्कको ‘नेभर लुक अवे’ र मारेन एडेको ‘टोनी एर्डमन’ पनि विगतमा नोमिनेसनमा परेका थिए, जर्मनबाट। पन्ध्र वटा फिल्मको लङलिस्ट यही डिसेम्बर १७ मा घोषणा हुनेछ। १७ जनवरीमा पाँच वटा सहितको सर्टलिस्ट घोषणा हुनेछ। रसोउल्फको ‘द सिड अफ द सेक्रेड फिग’ को यात्रा कहाँसम्म पुग्छ, हेरौं।
                    
                                    
                                                        
                                                        
                                                        
                                                        
                                                        
                                                        
                                                        
                                                        
                                                        
                                                        
                                                        
                                                        
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4