१३ कात्तिक, चितवन । जिल्लामा गत वर्षको तुलनामा यस वर्ष फूलखेती घटेको छ । तिहारको समयलाई लक्षित गर्दै लगाइँदै आइएको सयपत्री फूलको क्षेत्रफल यस वर्ष घटेको हो ।
फ्लोरिकल्चर एसोसिएसनका जिल्ला अध्यक्ष तेजेन्द्र सापकोटाका अनुसार गत वर्ष तिहारको समयलाई लक्षित गर्दै ५० बिघा क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको थियो ।
अहिले सो क्षेत्रफल घटेर ४० बिघामा झरेको छ । अहिले तिहार लक्षित फूलखेती गर्ने किसानको सङ्ख्या पनि घटेको उनले जानकारी दिए । ‘गत वर्ष राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताले फूलखेती गरेका थिए, अहिले गरेनन्’, उनले भने । गत वर्ष जिल्लामा लगाइएको फूल बिक्री हुनसमेत निकै समस्या भएको उनले बताए ।
चितवनमा यस वर्षको तिहारमा तीन लाख ५० हजार फूलका मालाको माग हुने अनुमान गरिएको छ । अध्यक्ष सापकोटाका अनुसार यहाँ उत्पादित फूलले चितवनलाई पुग्ने हुँदा यस वर्ष भारतबाट आयात गर्नुपर्ने अवस्था छैन ।
गत वर्ष केही भारतीयले भारतबाट बढी फूल आयात गरिदिँदा यहाँका किसानले उत्पादन गरेका फूलले बजार पाउन नसकेको भए पनि यस वर्ष त्यस्तो अवस्था नआउने उनले विश्वास व्यक्त गरे । एसोसिएसनले जिल्लामा मालाको मूल्य तोकेको छ । ‘थोक मूल्य प्रतिमाला ६० र खुद्रा मूल्य १०० रुपैयाँ तय गरिएको छ’, उनले भने ।
जिल्लामा व्यावसायिक रुपमा फूलखेती गर्ने तीन/चारजना भएको भए पनि ‘सिजनेवल’ फूलखेती गर्नेहरु आमा समूहदेखि व्यक्तिहरुसमेत हुने गरेका छन् ।
एक कट्ठादेखि बिगौं बिघा क्षेत्रफलसम्म फूलखेती गर्नेहरु रहेको सापकोटाले बताए । भरतपुर महानगरपालिका–७ उज्ज्वलटोलका ईश्वरकुमार श्रेष्ठले यस वर्ष १३ कट्ठा क्षेत्रफलमा फूलखेती गरेका छन् ।
जिल्लामा यस वर्ष फूलको माग बढी हुने उनले बताए । उनका अनुसार गत वर्ष भारतीय फूल बढी आयात हुँदा यहाँ उत्पादन भएका फूलमाला कम बिक्री भएका थिए ।
त्यस कारण गत वर्षको तुलनामा फूल उत्पादन गर्ने किसान कम हुँदा यस वर्षको तिहारमा फूलको माग बढी हुने सापकोटाले बताए ।
तिहारमा मखमली र सयपत्री फूलको माग बढी हुने गरेको छ । त्यसमा पनि सयपत्रीको माग उच्च हुन्छ । असोजदेखि फागुनसम्म विभिन्न चाडपर्व र विवाहको समय पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ ।
पछिल्लो समय सभासमारोहमा समेत सयपत्री फूलको माला प्रयोगमा आएसँगै बाह्रै महिना फूलखेती गर्नेहरु पनि रहेका छन् ।
प्रतिक्रिया 4