८ कात्तिक, गुल्मी । केही समयअघिसम्म गुल्मीमा व्यावसायिक रुपमा फूल खेती नहुँदा फूल चाहिए बुटवल लगायत अन्य सहरको भर पर्नुपर्ने अवस्था थियो । जिल्लामा हुने साना ठूला मेला महोत्सवमा बुटवलबाटै फूलका माला ल्याउनुपर्ने बाध्यता थियो ।
तर पछिल्लो समय जिल्लाका ग्रामीण बस्तीमा व्यवसायी फूल खेती सुरु हुन थालेका छन् । जिल्लामा तिहार लगायत विभिन्न मेला महोत्सव लक्षित गरेर व्यावसायिक रुपमा फूल खेती हुन थालेको हुन् ।
गुल्मी जिल्लाका ग्रामीण बस्तीमा व्यावसायिक रुपमा फूल खेती गर्ने कृषकहरु बढ्दै जान थालेका छन् । पहिले गाउँ घरमा वरपर मागेर फूलका माला बनाउने प्रचलन रहेको थियो ।
तर पछिल्लो समय घर घरमा फूल खेती नगर्नु र स्थानीय तहले कृत्रिम फूलका माला निषेध गरेकाले व्यावसायिक रुपमा फूल खेती गर्ने कृषकहरु बढदै गएका हुन् ।
उत्पादन घट्यो
गुल्मीमा करिब ३० जना कृषकले धेरै परिमाणमा उत्पादन गर्ने व्यावसायिक रुपमा फूल खेतीमा आबद्ध छन् । तिनैमध्येका एक हुन्, रेसुंगा नगरपालिका–६ का प्रेम नेपाली ।
नेपालीले जग्गा भाडामा लिएर यस वर्ष २ रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा फूल खेती गरेका छन् । अघिल्लो वर्षबाट फूल खेती सुरु गर्नु भएका नेपालीको फर्ममा यतिबेला तिहार पर्वलाई लक्षित गरेर रोपिएका फूल ढकमक्क फुलेका छन् ।
अघिल्लो वर्ष तीन रोपनी क्षेत्रफलमा फूल खेती गरेका नेपालीले यसवर्ष २ रोपनीमा मात्रै गरेका छन् । अघिल्लो वर्ष बिक्री कम भएकाले क्षेत्रफल घटाएको नेपालीको भनाइ छ । यद्यपि, अहिले गाउँ घरमा पनि कम फूलहरु फूलेकाले माग उच्च हुन सक्ने अनुमान उनको छ ।
त्यस्तै रेसुंगा नगरपालिका–१० मा विनोद कुँवरले पनि फूल खेतीको उत्पादन क्षेत्रफल घटाएका छन् । उनले अघिल्लो वर्ष १ रोपनी क्षेत्रफलमा मात्रै फूल खेती गरेका छन् ।
इस्मा गाउँपालिका–३ मा गोकर्ण नेपालीले पनि क्षेत्रफल घटाएर एक रोपनी क्षेत्रफलमा फूल खेती गरेका छन् । त्यस्तै छत्रकोट गाउँपालिका–३ का भुवन खराल, सत्यवती गाउँपालिका–१ का महेन्द्र खत्रीले पनि पनि यसवर्ष उत्पादन क्षेत्रफल घटाएका छन् ।
अघिल्लो वर्ष उत्पादन धेरै भएपनि जिल्ला बाहिर फूल निर्यात गर्न नसक्दा कृषकहरुले उत्पादन क्षेत्रफल घटाएका हुन् । जिल्लाभर साना ठूला गरेर १ सय जना कृषकहरु फूल खेतीमा आवद्ध छन् ।
अघिल्लो वर्ष १ सय रोपनी क्षेत्रफलमा फूख खेती भएको थियो । तर यसवर्ष ५० रोपनी क्षेत्रफलमा मात्रै फूल खेती गर्दै आएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए ।
अघिल्लो वर्ष फूल धेरै उत्पादन भएको र बिक्री कम भएकाले कृषकले उत्पादन क्षेत्रफल घटाएको भण्डारीले बताए । फूल खेती विस्तार गर्न कृषि ज्ञान केन्द्र गुल्मी प्राविधिक ज्ञानसँगै समूहमा बीउ वितरण गर्ने गरेको छ ।
जिल्लामा फूल खेती गर्ने कृषकहरुलाई आवश्यक तालिमहरु पनि प्रदान गर्ने गरेको भण्डारीले बताए । तिहारको पाँचौं दिन भाइटीकाको दिन टीकासँगै फूलका माला लगाउने प्रचलन छ ।
त्यसैले गर्दा यस समयमा विभिन्न जातका फूलको माग बढी हुन्छ । जिल्लामा धेरै जसो कृषकले सयपत्री फूल खेती गर्दैआएका छन् । अहिले ग्रामीण भेगमा रहेका रैथाने फूल, थुंगे, मखमली लगायत विभिन्न जातका फूलहरु हराउदै गएका छन् ।
उन्नत जातका बीउका फूलहरु लगाउने गर्नाले रैथाने जातका फूलहरु पाउन मुस्किल पर्न थालेको कृषि ज्ञानकेन्द्र प्रमुख भण्डारीले बताए । सामान्य मेहनत र थोरै लगानीले धेरै आम्दान गर्न सकिने नगदे बालीका रुपमा फूल खेतीलाई लिइन्छ ।
तिहार लगायत, बिवाह, पूजा तथा मेला महोत्वसमा फूलको माग बढी हुन्छ । जिल्लामा यसवर्ष तयारी प्रति मालाको २ सय रुपैयाँ र प्रति केजी ५ सय रुपैयाँमा बिक्री हुने गरेको छ ।
थप तस्वीरहरु :
प्रतिक्रिया 4