८ कात्तिक, काठमाडौं । बंगालको खाडीमा शक्तिशाली चक्रवाती तुफान विकसित भएको छ । ‘दाना’ नाम दिइएको यो तुफान १२० किलोमिटर प्रतिघण्टाको वेगमा अघि बढेको छ ।
यसले क्षति पुर्याउन सक्ने भएकाले भारतको मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन भनेको छ । मौसमविदहरुको सुझावको आधारमा पश्चिम बंगाल र ओडिशा सरकारले जोखिम क्षेत्रबाट तीन लाख जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
एक सयभन्दा बढी रेलको सेवा स्थगित गरिएको छ । विद्यालयसहितका सबै शैक्षिक संस्थालाई २५ अक्टुबरसम्म बन्द गरिएको छ । कर्मचारी, चिकित्सक र स्वास्थ्यकर्मीहरुको बिदा रद्द गरिएको छ । साथै हवाई र तटरक्षकसहितका उद्धारकर्ताहरुलाई हाई अलर्टमा राखिएको छ ।
यो तुफान आज साँझ ओडिशाको पुरी र पश्चिम बंगालको सागर द्वीपको किनारमा पुग्ने अनुमान छ । भारत मौसम विज्ञान विभागको महानिर्देशक मृत्युञ्जय महापात्रका अनुसार पश्चिम बंगालको मेदिनीपुर, परगाना र झाडग्राम जिल्ला बढी प्रभावित हुने अनुमान छ । ती जिल्लाका एक वा दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना छ ।
भारतको मौसम पूर्वानुमान विभागले २४ र २५ अक्टुबरको दिन कोलकाता, सावडा, हुगली, परगना, पुरुलिया, बाँकुरा र आसपासका जिल्लामा मेघगर्जन र चट्याङसहित अति भारी वर्षा हुने सम्भावना औंल्याएको छ ।
प्रभावित व्यक्तिहरुलाई राख्नका लागि ओडिशा सरकारले ८०० अस्थायी आश्रयस्थल निर्माण गरिएको छ । यीबाहेक थप ५०० स्कुल, कलेज लगायतका सार्वजनिक स्थानलाई पनि अस्थायी शिविरको रुपमा प्रयोग गर्ने तयारी छ ।
प्रतिक्रिया 4