+

निरुता महिला भलिबल टोलीको नयाँ कप्तान नियुक्त

२०८३ जेठ  १ गते २२:३८ २०८३ जेठ १ गते २२:३८
निरुता महिला भलिबल टोलीको नयाँ कप्तान नियुक्त

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय महिला भलिबल टिमको नयाँ कप्तानमा आउटसाइड हिटर निरुता ठगुन्ना नियुक्त भएकी छिन् ।
  • नेपाल भलिबल संघको ६९औं कार्यसमिति बैठकले निरुतालाई कप्तान नियुक्त गरेको भलिबल संघले जनाएको छ ।
  • निरुताले जेठ ८ गतेदेखि काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालको कप्तानी सम्हाल्नेछिन् ।

१ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमको नयाँ कप्तानमा निरुता ठगुन्ना नियुक्त भएकी छिन् ।

नेपाल भलिबल संघको शुक्रबार बसेको ६९औं कार्यसमिति बैठकले २८ वर्षीय आउटसाइड हिटर निरुतालाई कप्तान नियुक्त गरेको भलिबल संघले जनाएको छ ।

अब निरुताले यही जेठ ८ गतेदेखि घरेलु कोर्टमा आयोजना हुने काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालको कप्तानी सम्हाल्नेछिन् ।

घरेलु भलिबलमा नेपाल एपीएफ क्लबबाट खेल्दै आएकी निरुट्टासँग फ्रेन्चाइज भलिबलको कप्तानी गरेको अनुभव छ । उनले एभरेष्ट महिला भलिबल लिगमा लगातार दुई सिजन मधेश युनाइटेडको कप्तानी समेत गरेकी थिइन् ।

सन् २०१९ मा बंगलादेशको ढाकामा भएको एभिसी एसियन महिला सेन्ट्रल जोन च्याम्पियनसिपमा पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएकी निरुताले डेब्यु प्रतियोगितामा स्वर्ण जितेकी थिइन् । त्यसयता एभिसी एसियन सेन्ट्रल जोनको दोस्रो संस्करण बाहेक उनले लगातार नेपालको लागि अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्दै आएकी छिन् ।

यसअघिकी कप्तान अरुणा शाही पछिल्लो समय अस्ट्रेलिया गएपछि नेपाल भलिबल संघले काभा महिला भलिबल च्याम्पियनसिपका लागि बोलाएको २० जनाको बन्द प्रशिक्षणमा अरुणा समावेश थिइनन् । अरुणा प्रशिक्षणमै नभएपछि महिला टोलीले नयाँ कप्तान पाउने पक्का थियो ।

त्यसमा सन् २०१९ मै नेपालको राष्ट्रिय टिममा डेब्यु गरेका केही पुराना र अनुभवी खेलाडीहरु नै कप्तानका लागि दाबेदार थिएन । अनुभवी खेलाडीलाई नै कप्तान बनाउने विगतको प्रचलन थियो । त्यही अनुसार निरुता यस पटक नेपालको कप्तान बनेकी हुन् ।

सन् २०१९ मा नेपाली महिला भलिबलले एउटा स्वर्णिम यात्राको थालनी गर्दा निरुताले पनि राष्ट्रिय टिममा इन्ट्री मार्दै त्यो यात्रालाई निरन्तरता दिएकी हुन् ।

उनले नेपाली टिमबाट एक उपाधि जितेकी छन् भने दुई रजत पदक र एक कांस्य पदक जितेकी छन् । यस्तै नेपालले सन् २०२३ मा पहिलो पटक सहभागिता जनाएको १९औं एसियन गेम्समा पनि उनी नेपाली टिममा थिइन् ।

यस्तै उनले नेपाल पुलिस क्लबबाट खेल्दै माल्दिभ्समा पहिलो संस्करणको काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेकी थिइन् ।

दार्चुलाबाट काठमाडौं आएर सुरुमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट भलिबल खेल्न सुरु गरेकी निरुताले काभा क्लब च्याम्पियनसिपमा पुलिसबाट खेलेपछि नेपालको तीनवटै विभागीय टोलीबाट प्रतिनिधित्व गरिसकेकी छन् ।

दार्चुला नौगाड गाउँपालिका ६, धुलिगडा निरुताले सुरुमा सुदूरपश्चिमबाट भलिबल खेल्न थालेकी हुन् । उनले स्कुल पढ्दा सबैखाले खेलहरु खेलेको उनलाई व्यक्तिगत विधामा खेलहरु अझ मन पर्‍थ्यो ।

विस २०६८ मा कक्षा ७ पा पढ्दा उनले राष्ट्रपति रनिङ शिल्डमा एथ्लेटिक्सको दौडदेखि हाइजम्प, लङजम्पमा प्रतिस्पर्धा गरिन् । सुरुमा उनको ध्यान एथ्लेटिक्सतिरै थियो । तर जिल्लास्तरीय खेल हुन थालेपछि भने उनले भलिबल पनि खेल्न थालिन् ।

किशोराअवस्थामै उनको खेल राम्रो देखेपछि उनको एथ्लेटिक्सका शिक्षक निल अवस्थीले नै निरुतालाई भलिबल खेल खेल्न सुझाए । भलिबलमा खासै रुचि नभएकी निरुता त्यसपछि भने भलिबल खेल्न थालेकी हुन् । निल गुरुको सुझाव नै उनलाई भलिबल खेलाडी बन्ने प्रेरणा बन्यो ।

२०७२ सालमा दार्चुलामा जिल्लास्तरीय राष्ट्रिपति रनिङ शिल्डमा छनोट भएकी उनले त्यही वर्ष एसएलसी परीक्षा सकेपछि प्रदेशमा खेल्न थालिन् ।

सुदूरपश्चिम प्रदेशको भलिबल टिममा पहिलो पटक खेल्दा उनी वैकल्पिक खेलाडी थिइन् । त्यो बेला खेल्नका लागि जुत्ता पनि थिएन । धुलो चौरमा उनी जुत्ताबिनै स्पाइक हान्थिन् ।

निरुताले २०७३ को सातौं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमको टिमबाट खेलेकी थिइन् । त्यही खेलर देखेर विभागीय टोली त्रिभुवन आर्मी क्लबले निरुतालाई करारमा अनुबन्ध गर्‍यो । त्यो बेला आर्मीको प्रशिक्षक थिए, जगदिश भट्ट । भट्टकै प्रशिक्षणमा राष्ट्रिय टिममा डेब्यु गरेका निरुता अहिले जगदिश भट्ट नै मुख्य प्रशिक्षक हुँदा नेपाली राष्ट्रिय टिमको कप्तान समेत बनेकी छिन् ।

महिला भलिबल टिम

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय