+

महिला भलिबलमा नेपाल र भारतको ‘राइभलरी’

२०८३ जेठ  १ गते १६:५६ २०८३ जेठ १ गते १६:५६

महिला भलिबलमा पछिल्लो समय नेपाल र भारतबीचको ‘राइभलरी’ ले खुबै चर्चा पाउन थालेको छ । कुनै समय भारतलाई एक सेट हराउन पनि मुस्किल पर्ने नेपालले भारतलाई पराजित नै गर्न सफल भइसकेको छ ।

महिला भलिबलमा नेपाल र भारतको ‘राइभलरी’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली महिला भलिबल टोलीले जेठ ८ देखि १५ गतेसम्म काठमाडौंमा हुने काभा वुमन्स भलिबल च्याम्पियनसिप २०२६ मा भारतसँग पहिलो खेल खेल्नेछ।
  • नेपालले २०२४ मा घरेलु कोर्टमा काभा नेसन्स लिगको लिग चरणमा भारतलाई ३-२ को सेटमा हराएको थियो तर फाइनलमा पराजित भएको थियो।
  • नेपाली टोलीमा नयाँ खेलाडीहरु समावेश भएका छन् र प्रशिक्षक जगदिश भट्टले घरेलु कोर्टमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

३१ वैशाख, काठमाडौं । चिरपरिचित प्रतिद्वन्दी भारतसँग प्रतिस्पर्धा गर्दै नेपाली महिला भलिबल टोलीले घरेलु मैदानमा हुने काभा वुमन्स भलिबल च्याम्पियनसिप २०२६ को यात्रा सुरु गर्नेछ ।

सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) ले सार्वजनिक गरेको च्याम्पियनसिपको खेलतालिका अनुसार नेपाल र भारतसँगै कीर्गिस्तान र माल्दिभ्स समूह ए मा छन् । ८ टोली सहभागी हुने च्याम्पियनसिपको समूह बी मा इरान, कजाखस्तान, श्रीलंका र बंगलादेश छन् ।

काभाले आयोजना गर्ने पछिल्ला प्रतियोगिताहरुमा नेपालले नियमितजसो भारतसँग खेल्दै आएको छ । त्यति मात्र नभई दक्षिण एसियाली खेलकुद, एसियन गेम्समा पनि नेपाल र भारतले एक आपसमा खेल्दै आएका छन् ।

महिला भलिबलमा पछिल्लो समय नेपाल र भारतबीचको ‘राइभलरी’ ले खुबै चर्चा पाउन थालेको छ । कुनै समय भारतलाई एक सेट हराउन पनि नेपाललाई मुस्किल पर्थ्यो । तर पछिल्लो समय नेपालले भारतसँग नियमित खेल्दा भारतविरुद्ध सेट जित्ने मात्र होइन भारतलाई नै पराजित गर्न समेत नेपाल सफल भइसकेको छ ।

नेपालले दुई वर्षअघि घरेलु कोर्टमै भारतलाई काभा नेसन्स लिगमा पराजित गरेको थियो । यस पटक जेठ ८ देखि १५ गतेसम्म घरेलु कोर्टमै काभा वुमन्स भलिबल च्याम्पियनसिप आयोजना हुँदैछ र फेरि एक पटक नेपालले भारतसँग खेल्ने पक्का भएको छ ।

एकै समूहमा रहेका यी दुई टोली पहिलो खेलमै आमने सामने हुनेछन् । दुवै टोलीका लागि सेमिफाइनल पुग्नका लागि पहिलो खेल महत्वपूर्ण हुनेछ । नेपालले पहिलो खेल जित्दै विजयी सुरुवात गर्ने लक्ष्य राखेको छ ।

पहिलो खेलमै भारतसँग खेल्नका लागि नेपाली टोली उत्साहित छन् र समर्थकहरुको उत्साह पनि झन बढेको छ । पहिलो खेलमै नेपाल र भारतबीचको खेल हुँदा सबै हिसावले यो राम्रो हुने नेपालका मुख्य प्रशिक्षक जगदिश भट्टले बताए ।

‘पहिलो कुरा हामीले धेरै पटक भारतसँग खेलिसक्यौँ । पछिल्लो समय भारत र नेपालको टिम उस्तै उस्तै हो । पहिलो खेलमै भारतसँग खेल्दा यसको चार्म र चर्चा पनि बढी हुन्छ, भट्टले अनलाइनखबरसँग भने, ‘उद्घानटन खेलमा भारतसँग खेल्दा यस खेललाई हेर्ने दर्शक, दुई टिमको विगतको प्रतिस्पर्धा र नेपालको राष्ट्रिय खेल भलिबललाई प्रमोट गर्ने सबै हिसाबले राम्रो हुन्छ जस्तो लाग्छ ।’

अर्कोतर्फ पहिलो खेलमै भारतसँग घरेलु कोर्टमा खेल्दा नेपाललाई त्यसको पनि फाइदा पुग्ने प्रशिक्षक भट्टको विश्वास छ । ‘भारतसँग उद्घाटन खेलमै खेल्दा फाइदा हुन्छ । विदेशमा गएर बलियो टिमसँग खेल्दा गाह्रो हुन्थ्यो तर पहिलो खेलमै बलियो टिमसँग घरेलु कोर्टमा खेल्दा राम्रो हुन्छ’ भट्टले भने, ‘पहिलो खेलमा भारतलाई हरायौं भने हाम्रो लागि राम्रो हुन्छ । यदी प्रतिस्पर्धात्मक खेल भयो भने पनि राम्रो हुन्छ ।’

घरेलु कोर्ट भएकोले पहिलो खेलमा भारतसँग खेल्दा नेपाल भन्दा भारतलाई नै बढी दबाब हुने प्रशिक्षक श्रेष्ठको बुझाई छ । ‘उनीहरु फरक ठाउमा तयारी गरेर आएका हुन्छ । त्यसैले आउँदा आउँदै खेल्नुपर्ने भएकोले नेपाललाई भन्दा भारतलाई बढी प्रेसर हुन्छ । नेपाललाई घरेलु कोर्टको फाइदा हुन्छ ।’

***

भारतका लागि पनि विगतमा नेपालको कोर्ट सुखद बनिरहेको छ । भारतले सन् २०१९ मा दशरथ रंगशाला कभर्डहलमै नेपाललाई हराएर १३औं सागको उपाधि जितेको थियो । यस्तै सन् २०२४ मा भएको काभा नेसन्स लिगको फाइनलमा पनि भारतले नेपाललाई नै पराजित गरेको थियो । दुवै पटक रोमाञ्चक र प्रतिस्पर्धा फाइनल हुँदा नेपाल थोरैले चुक्दा उपाधि जित्नबाट बन्चित भएको थियो ।

अहिले नेपाली महिला भलिबल टोली काभा वुमन्स भलिबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्नका लागि तयारी गरिरहेका छन् । २० खेलाडीलाई सुरुवाती बन्द प्रशिक्षणमा बोलाइएकोमा अहिले घटाएर १६ खेलाडी राखिएको छ । अब त्यहीबाट अन्तिम टोली घोषणा गरिनेछ ।

नेपालका सफल भलिबल प्रशिक्षक जगदिश भट्टले नेपाली टोलीलाई प्रशिक्षण दिइरहेका छन् भने भट्टलाई रुपेश विष्ट र लोकेश बुढाले सघाइ रहेका छन् । खेलाडीहरु पनि घरेलु कोर्टमा खेल्नका लागि उत्साहित छन् ।

यस्तै भारतसँग पहिलो खेल खेल्न नेपाली खेलाडीहरु पनि उत्साहित र तयार रहेको प्रशिक्षक भट्टले बताए । ‘खेलाडीहरुको मानसिकता पनि हामीले राम्रो खेल्नुपर्छ भन्ने छ । भारतसँग पहिलो खेल खेल्दा घरेलु मैदानमा नेपाललाई एडभान्टेज हुन्छ भन्ने खेलाडीको मानसिकता छ’ उनले भने ।

यसपटक नियमित कप्तान अरुणा शाही देखि केही सिनियर खेलाडीहरु नेपाली टोलीमा छैनन् । त्यसले गर्दा नयाँ खेलाडीहरु पनि राष्ट्रिय टिममा पर्ने पक्का छ । निरुता ठगुन्ना, उषा भण्डारी, सलिना श्रेष्ठ, कामना विष्ट, सुमित्रा रेग्मी जस्ता खेलाडीहरु नै अहिले टिमको सबैभन्दा अनुभवी खेलाडीको रुपमा छन् ।

सिनियर खेलाडीहरु नहुँदा नयाँ खेलाडीले अवसर पाउने अवसर बनेको छ । नयाँ खेलाडीहरुका लागि घरेलु कोर्टबाटै राष्ट्रिय टिमको यात्रा सुरु गर्ने सुनौलो अवसर बन्नेछ ।

प्रशिक्षक भट्टले नेपाली टोलीमा युवा खेलाडीहरु भएपनि अहिले राम्रो टिम बनेको बताए । ‘हाम्रो टिममा नयाँ खेलाडीहरु धेरै छन् । तर उनीहरुमा युवा जोश छ । ट्रेनिङमा पनि राम्रो गरिरहेका छन् । यदि नेपालले कोर्टमा त्यही अनुसार उत्कृष्ट प्रदर्शन गर्‍यो भने यस पटक राम्रो नतिजा ल्याउन सक्छौं ।’

समूहको पहिलो खेलमै नेपालले बलियो टोली भारतसँग खेल्ने हुँदा यो खेलमा सकरात्मक नतिजा ल्याउन सके पछिका खेललाई फाइदा पुग्ने टिमको विश्वास छ । ‘यस पटक समूह चरणमा सबैले ३-३ खेल खेलेपछि नकआउट चरणमा खेल्ने भएकोले समूह चरणमा राम्रो गरे माथि पुग्ने सम्भावना बलियो छ’ भट्टले भने, ‘हामीले भारतसँग पछि नकआउट चरणमा पनि फेरि खेल्नुपर्ने सम्भावना पनि हुन्छ ।त्यसैले पहिलो खेलमा राम्रो गर्‍यौं भने त्यसले मोरल बुस्ट गर्छ’ भट्टले भने ।

नेपाल र भारतबीचको विगत

महिला भलिबलमा दुई छिमेकी नेपाल र भारतले नियमित जसो प्रतिस्पर्धा गर्दै आइरहेका छन् । सुरुमा दक्षिण एसियाली खेलकुद (साग) मा मात्र सिमित हुने यी दुईको प्रतिस्पर्धा पछिल्लो समय भने अन्य प्रतियोगितामा पनि पुगेको छ ।

विगतमा दक्षिण एसियाली खेलकुद, सन् २०१३ मा काठमाडौंमै भएको प्रथम दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिप, मैत्रीपूर्ण खेलहरु, काभाको प्रतियोगिता हुँदै १९औं एसियन गेम्ससम्म नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै आएको छ ।

त्यसमध्ये नेपालले भारतलाई अहिलेसम्म जम्मा एक पटक मात्र पराजित गरेको छ । बाँकी खेलमा भने भारत हावी बनेको छ ।

यहाँ नेपाल र भारतबीच सन् २०१९ यता भएका पछिल्ला ५ खेलको चर्चा गरिएको छ । यी सबै खेलमा नेपालको कप्तानी अरुणा शाहीले गरेकी थिइन् । तर अब भने नेपालले नयाँ कप्तानको नेतृत्वमा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

सन् २०१९ मा काठमाडौंमै भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा नेपाल भारतसँग ३-२ को सेटमा पराजित भएको थियो ।

नेपालले महिला भलिबलमा कुनै पनि खेलमा पहिलो पटक भारतविरुद्ध सेट जितेको थियो । फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै जित नजिक पुगेपनि अनुभवको कमीले गर्दा नेपाल पराजित हुँदा रजत पदकमै समेटिएको थियो ।

त्यसभन्दा अघि दक्षिण एसियाली खेलकुदमा नेपाल भारतसँग सहजै पराजित हुँदै आएको थियो ।

यस्तै नेपालले काभाको पछिल्लो दुई प्रतियोगिता र १९औं एसियन गेम्समा गरी पछिल्लो तीन वर्षभा भारतसँग ४ पटक प्रतिस्पर्धा गरिसकेको छ । जसमा भारतले तीन खेल जित्दा नेपालले जम्मा १ खेल जितेको छ ।

सन्‌ २०१९ मा‌ स्वदेशमा आयोजना भएको १३औं‌ दक्षिण एसियाली खेलकुद (साग) को फाइनल खेलमा पनि भारतविरुद्ध जितको‌ नजिक पुगेर नेपाली टोली ३-२ सेटमा पराजित भएको थियो ।

यस्तै सन् २०२३ मा काठमाडौंमै भएको काभा वुमन्स भलिबल च्यालेन्ज कपमा नेपाल भारतसँग ३-१ को सेटमा पराजित भएको थियो । समूह चरणको खेलमा भारतले नेपाललाई २५-१२, २६-२४, २१-२५, २५-११ ले पराजित गरेको थियो ।

यसैगरी सन् २०२३ मा चीनको हान्झाउमा भएको १९औं एसियन गेम्समा नेपाल भारतसँग ३-१ को सेटमा पराजित भएको थियो । त्यसबेला भारतले नेपाललाई २५-२३, २६-२८, २५-२३, २५-१७ ले पराजित गरेको थियो ।

सन् २०२४ मा घरेलु कोर्टमै भएको काभा महिला नेसन्स लिगको लिग चरणमा नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको थियो । तर फाइनलमा भारतसँगै पराजित हादा उपाधि नजिक पुगेर पनि चुकेको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भलिबल कभर्ड हलमा नेपालले लिग चरणमा भारतलाई ३-२ को सेटमा हराएको हो । नेपालले २५–१८, १२–२५, २५–१७, १८–२५, १५-१३ ले हरायो ।

फाइनलमा नेपाल भारतसँग प्रतिस्पर्धात्मक खेलमा ३-२ कै सेटमा पराजित भयो । भारतले नेपाललाई २३-२५, २५-१४, २२-२५, २५-१२, १५-५ ले पराजित गर्दै उपाधि जितेको थियो ।

फेरि एक पटक नेपालले भारतसँग घरेलु कोर्टमै प्रतिस्पर्धा गर्दैछ । यस पटक पहिलो खेलमै भारत प्रतिद्वन्द्वी भएकोले नेपाल भारतलाई हराएर शानदार सुरुवात गर्ने लक्ष्यमा छ ।

हेड टु हेड

नेपाल र भारतबीच अहिलेसम्म अन्तर्राष्ट्रिय स्तरमा प्रतियोगिता र मैत्रीपूर्ण खेल गरी १० पटक खेल भएको छ । जसमा नेपालले जम्मा १ खेल मात्र जितेको छ भने ९ खेलमा भारत विजयी भएको छ ।

सन् १९९८ मा श्रीलंकामा भएको रुपबाहिनी महिला भलिबलमा नेपालले भारतसँग पहिलो पटक खेल्दा सोझो सेटमा पराजित भएको थियो । यस्तै १९९९, २००६ र २०१६ को दक्षिण एसियाली खेलकुद (साग) मा पनि नेपाल भारतसँग सोझो सेटमै पराजित भएको थियो भने सन् २०१४ मा काठमाडौंमै भएको प्रथम दक्षिण एसियाली महिला आमन्त्रण भलिबल प्रतियोगितामा पनि नेपाल भारतसँग पराजित भएको थियो ।

पछिल्लो समय भने नेपालले भारतलाई कडा टक्कर दिन थालेको छ । सन् २०१९ मा काठमाडौंमै भएको १३औं सागमा भने नेपाल र भारतबीच फाइनलमा प्रतिस्पर्धात्मक खेल हुँदा नेपाल ३-२ को सेटमा पराजित भएको थियो ।

यस्तै २०२३ मा भएको १९औं एसियन गेम्स र काभा महिला भलिबलमा नेपाल भारतसँग पराजित भएको थियो । २०२४ मा भएको काभा महिला च्यालेन्ज कपमा भने नेपालले भारतविरुद्ध समूह चरणमा ऐतिहासिक जित हासिल गरेको थियो तर फाइनलमा भने भारतले नेपाललाई पराजित गरेको थियो ।

यसबाहेक नेपाल र भारतबीच केही मैत्रीपूर्ण खेल पनि भएका छन् जसमा नेपाल भारतसँग पराजित भएको थियो ।

काभा महिला भलिबल नेपाली महिला भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय